scheduleबुधवार बैशाख ११ गते, २०७६

चिवा भञ्ज्याङ-झुलाघाट डायरी–४

माघ २६ गते बिहान । पश्चिमतिर लाग्नु थियो । हामीले खुर्कोटबाटै मध्यपहाडी लोकमार्गको ट्रयाक छोडिसकेका थियौं । सिन्धुलीको खुर्कोटदेखि नुवाकोटको पाटीभन्याङ्गसम्म । समयले साथ दिए हिडौंला भविष्यमा कुनै दिन । सम्भव भएन यसपटक । तर ट्रयाक ठाउँठाउँ छोड्न बाध्य भए पनि जिल्ला नछोड्ने निर्णय भएको थियो । त्यसैले रामेछाप, काभ्रे र सिन्धुपाल्चोक छोइयो । अब बाटो सोझ्याउन पुग्नु थियो, नुवाकोट ।

खुर्कोट–नुवाकोट–आरुघाट सडक निर्माण सबैभन्दा सुस्त देखियो । किन होला ? कुरैकुरामा डा.भट्टराईको उत्तर थियो, ‘खुर्कोटदेखि काठमाडौं-मुग्लिन सडकलाई नै मध्यपहाडीको खण्ड मान्न सडक डिभिजनका कर्मचारीहरुले प्रस्ताव गरेका थिए । मैले मानिनँ । यो खण्डको सर्वे, रेखांकन, डिजाइन र ठेक्का अन्यत्रभन्दा ढिलो भयो ।’

नुवाकोट जान मुख्य तीनवटा बाटो छन्, काठमाडौंबाट । नागार्जुन-ककनीको बाटो । टोखा-गुर्जु भन्ज्याङ्ग-छहरेको बाटो । गल्छी-बट्टारको बाटो । दोस्रो बाटो जाने तय भएको थियो, सेड्युलमा । छहरेमा जनसंवादको कार्यक्रम थियो । साथीहरु केही अगाडिदेखि नै तयारीमा थिए । तर, बिहानै खबर आयो, टोखाको बाटो कठिन छ । २३ गते बेलुकादेखि शुरुवात भएको हिउँदे झरी र हिमपात अझै रोकिएको थिएन । २५ गते आराम गर्ने दिन धोएको कपडा नसुकेर आइरन दलेर सुकाउनु परेको थियो । टोखा–गुर्ज भन्ज्याङ्गको बाटो निर्माणाधिन छ । पानी पर्ने बित्तिकै ठूल्ठूला आहाल र पोखरी बन्छ त्यसमा । छहरेको कार्यक्रम रद्द गरेर साथीहरु सिधै बट्टार लाग्ने भए । हामी गल्छीको बाटो जाने भयौं ।

पश्चिम लाग्दा टोलीहरु पुनर्संयोजित भएका थिए । अब प्रभुजी थिएनन्, म प्रभुजीको गाडीमा थिइन । गंगा श्रेष्ठ– पार्टी संगठन विभाग प्रमुख, प्रशान्त सिंह– प्रवक्ता, सुदर्शन खतिवडा– प्रचार विभाग उपप्रमुख, रमेश पोख्रेल– युवा शक्ति नेपालका संघीय अध्यक्ष र म । हाम्रो टोली बन्यो । हामी प्रशान्तजीको त्यही बलियो हाइलक्समा थियौं जुन गाडी बाक्लो हिउँमा पनि सजिलै हिंड्न सक्थ्यो । प्रभुजी जस्तै प्रशान्तजी पनि आफ्नो गाडी आफै ड्राइभिङ्ग गर्ने । ड्राइभिङ्गमा असाध्यै आत्मविश्वास भएको मान्छे । ड्राइभिङ्ग संगसंगै उत्तिकै बौद्धिक बहस गर्ने, कहिल्यै थाकेको नदेखिने मान्छे । एकप्रकारले ‘इस्पातको मान्छे’ भन्न मिल्ने मान्छे ।

काठमाडौं–नागढुंगा–नौबिसे हुँदै गल्छी पुगेर मूलबाटो छोडियो । त्यहीबाट कालोपत्रे सडक सकियो, कच्ची बाटो शुरुवात भयो । सुदर्शन भाइ धादिङे । उनको गाउँ कल्लेरी बाटोबाट देखिन्थ्यो । तर, उनी आफैं यो बाटोमा केही प६क मात्र हिंडेका थिए, त्यही पनि विदुरसम्म । बाटोबाट रसुवा र नुवाकोटका नजिक-नजिकसम्मका डाँडाहरुमा हिउँ परेको देखिन्थ्यो ।

बट्टार–नुवाकोट सदरमुकाम विदुर नगरपालिकाको मूल बजार । वरपरका डाँडामा गत राति परेको हिउँको आलो दृश्य । भरखरै रोकिएको हिउँदे झरी । चिसा सडक । मध्ह्यान्हमा पनि कलिलो लाग्ने घाम । उत्सुकतापूर्वक जनसंवाद टोलीलाई पर्खिरहेका मान्छेहरु । सबैथोक फरक-फरकझैं, गज्जब-गज्जबझैं लाग्ने वातावरण ।

डम्बर खतिवडा

दिउँसो जिल्ला समन्वय समितिको हलमा अन्तर्क्रिया भयो । जिल्लाका अनेक समस्याहरु सुनियो । नुवाकोट पञ्चायतकालदेखि नै केही प्रभावशाली नेताहरुको जिल्ला । काठमाडौं नजिकको जिल्ला । पृथ्वीनारायण शाहले दिव्योपदेश दिएको नुवाकोट दरबार भएको जिल्ला । नेपाल-भोट-चीनसम्बन्धको परम्परागत बाटो केरुङ–काठमाडौंले छुने जिल्ला ।

तर यहाँ पनि उत्तिकै अल्पविकास, समस्या जनगुनासाहरु थिए । टोखा–छहरे सुरुङ्गमार्गको कुरा वर्षौवर्षदेखि गफ मात्र भइरहेको थियो । गर्जु भञ्ज्याङको बाटो भर्खरै बन्दै छ । बर्षौं अघि खुलेको गल्छी–बट्टारको बाटो अझै कच्ची छ, कालापत्रे छैन । कुनै जिल्ला त होस् जहाँ अलिक राम्रो र सन्तोषको कुरा सुन्न पाइयोस् । अहँ, नुवाकोटमा त त्यो छाँट पिटिक्कै देखिएन ।

जिल्ला समन्वय समितिका सभापति सन्तमान तामाङ भन्दै थिए– ‘पहाडमा थोरै फाँट बेसी छन् । प्लटिङ्ग त्यही भइरहेको छ । डाँडामा खेती हुन्न । नुवाकोटमा कृषियोग्य जमिन नै रहँदैनजस्तो छ । छहरे–मैलुङ्ग–स्याफ्रुबेसी सडकको मुआब्जाको समस्या अझै हल भएको छैन ।’

अन्ततः उनले डा. भटटराईलाई व्यङ्ग्य गरे– तपाईले गोर्खातिरबाट भूकम्प पनि पठाइ दिनुभो । नुवाकोटे बिचल्लीमा छन् । अब मध्यपहाडी पठाई दिनु भाको छ, त्यसले कतिलाई सुकुम्बासी बनाउने हो ?’

सामरी बास
बट्टारको कार्यक्रम सकेर देउडी, कागुने हुँदै सामरीभञ्ज्याङ पुग्दा रात बाक्लो भइसकेको थियो । यात्राको अर्को चिसो रात थियो यो । च्याङ्गथापु र प्याउलीपछिको अर्को चिसो रात । स्थानीय साथीहरु बास मिलाउन दौडधुप गरिरहेका थिए । हामी झोला समातेर सडकमै उभियौं करिब १ घण्टा । टाउकोमा कुरुसले बुनेका फुर्के झोला बोकेका एक हुल मान्छेहरु भञ्ज्याङको ओरालो झरिररहेका थिए । उनीहरु तामाङ भाषाको गीत गाउँदै थिए– हामीले बिल्कुलै नबुझ्ने ।

सम्पूर्ण डंगोलको घरमा हाम्रो टिमले बास पायो । उनी ग्रिल उद्योगी रहेछन । अहिले त टिपर मालिक भइसकेका । ग्रिल कामदार रहँदा उनी एफएम रेडियोका टावरहरु बनाउन नेपालका अधिकांश ठाउँ पुगेका रहेछन् । ग्रिल कारिगरीमा आधारित नयाँ मोडेलको थियो उनको घर । हामी पुग्ने बित्तिकै उनले अनुरोध गरे, ‘यो असाध्यै जाडो ठाउँ हो । आज वरिपरि हिउँ परेको छ, झनै जाडो छ । यहाँ अलिअलि रक्सी पिउनुलाई समाजले नराम्रो मान्दैन । इच्छा गर्नु हुन्छ भने मसंग घरमै छ ।’ तर, हामीले इच्छा गरेनौं ।

२७ गते बिहान राम्रो घाम लाग्यो । आज बसन्तपंचमी थियो । विद्यार्थीहरु बिहानैदेखि पूजाको थाली बोकेर स्कुलतिर गएको देखिए । हाम्रो यात्राका सहभागी गायक मित्र राजन बमको घर यही गाउँमा थियो । पार्टीका जिल्ला संयोजक डा. भीमलाल तामाङ पनि यही इलाकाका थिए । उनीहरुले भने अनुसार सरस्वती पूजाको दिन स्कुलहरुले डा. भटटराईसँग विद्यार्थीहरुबीच प्रस्तुत गर्न चाहेका छन् । स्कुलहरुमा नजाने, स्कुले विद्यार्थीहरु बीच राजनीतिक कुराकानी नगर्ने आचारसंहिता थियो हाम्रो । तर, स्थानीय अभिभावकहरुको अनुरोध इन्कार गर्न पनि सजिलो थिएन ।

सल्लाह भयो– राजनीतिक कुरा बिल्कुलै कम, शैक्षिक मुद्दाहरुमा मात्र बहस छलफल गर्ने । सामरी भन्ज्याङ, सामरी टक्सार कुन्डलादेवी लगायतका स्कूलमा कार्यक्रम भए आज । विद्यार्थीहरु बीच डा. भटटराईका नैतिक तथा उत्प्रेरणात्मक प्रवचन निकै महत्वपूर्ण र प्रेरणादायी रहे ।

मेघाङ गाउँपालिका थियो यो । यो तामाङभाषी क्षेत्र हो । ‘मे’ भनेको बाख्रा । गाङ भनेको गाउँ । अर्थात् बाख्रा गोठ भएको गाउँ । यसलाई नेपालीकरण गर्ने हो भने बाख्रीगोठे गाउँपालिका भन्नु पर्थ्यो होला । पृथ्वी नारायण शाहका सेनाहरु नुवाकोट दरबार आक्रमण गर्नु अघि यही भन्ज्याङमा आएर लुकेका थिए । पैसाको अभाव नहोस् भनेर टकमारी गर्ने मेसिनसंगै बोकेर आएका थिए । त्यही मेसिन राखेको ठाउँको नाम हो– सामरी टक्सार । नुवाकोट त्यतिखेर काठमाडौंका राजा जयप्रकाश मल्लको अधिनमा थियो ।

सामरीसँग हाम्रा टोली नेता डा. भटटराईको नोस्टाल्जिया जोडिएको थियो । एसएलसीमा बोर्डफष्ट भएपछि अस्कल पढ्न पहिलोपटक काठमाडौं आउँदा उनी गोर्खाबाट यही बाटो हिंडेर आएका थिए । करिब ५० बर्ष अघि । त्यतिखेर बास दिने एउटा घर थियो रे– नेवार साहुको । एक रुपैयाँ दिएपछि अलिकति दाउरा, भात पकाउने भाँडा र सुत्ने सुकुल पाइन्थ्यो रे । उनले आफू बासको घर सम्झे भाषणमै । भीडबाट एकजना मानिस जुरुक्क उठेर भने– ‘त्यो साहुको छोरो मै हुँ । त्यो हाम्रो घर थियो ।’ एकक्षण रमाइलो भो सबैका लागि ।

सेम्जोङको इतिहास

नुवाकोट र धादिङको सीमाना हो– थोपल खोला । यहाँ नजिकै एउटा तीर्थस्थल छ– भर्‍याङभुरुङ । नयाँ शक्ति पार्टीका प्रदेश संयोजक राजु नेपालको घर यही इलाकामा पर्छ । उनीले मलाई भन्दै थिए– ‘भर्‍याङभुरुङ यो इलाकाको निक्कै चर्चित क्षेत्र हो ।’ भर्‍याङभुरुङबाट नुवाकोटको टोली बिदा भयो । धादिङे टोली यथासमयमा आइसकेको थियो । डा. भरत सिम्खडा– कृषि वैज्ञानिक तथा हाम्रो पार्टीको विज्ञ परिषद सदस्यले भने– ‘भर्‍याङभुरुङ र सम्जोङसंग जोडिएका थुप्रै कथाहरु छन्, मौका परे सुनाउँला ।’ तर, त्यस्तो मौका परेन । हामी फरकफरक गाडीमा थियौं । उत्रिएर गफ गरी बस्ने समय हामीसँग थिएन ।

सेम्जोङको चौतारोमा ठूलो भीड जम्मा भएको थियो । सेम्जोङ कुनै समय तामाङ राज्यको राजधानी थियो । वाइवा राजाहरु थिए । वाइवा राजाका दरबारको भग्नावशेष छँदैछन् अद्यापी । तामाङ भाषाले प्रादेशिक राजकीय भाषाको मान्यता पाउँनु पर्छ भन्ने भावना बलियो छ अहिले पनि । सुकराम तामाङ सञ्चालक थिए, यो कार्यक्रममा । वीरबहादुर तामाङ, नयाँ शक्ति पार्टीका जिल्ला संयोजक छन् । नयाँ शक्ति पार्टी, नेपालको इन्द्रेणी राष्ट्रियताको अवधारणाले कहिँ न कहिँनेर यहाँका जनताको मन छोएको छ । सुकराम गत स्थानीय चुनावमा वडाअध्यक्षको उम्मेद्वार थिए । दोस्रो भए, थोरै भोटले मात्र हारे । भोट, संगठन र क्रियाकलाप सबै हिसाबले नयाँ शक्ति पार्टी, तेस्रो पार्टीजस्तो छ धादिङमा ।

सेमजोङको इतिहास मेरा लागि नयाँ उत्सुकता र अध्ययनको विषय हुनेछ । सन्दर्भ सामग्री पाइए गरौंला कुनै दिन । यो भूगोल, यहाँका मान्छे, सभ्यता र संस्कृतिको फरक आभाषबाट प्रष्ट हुन्छ– सेमजोङको इतिहासमा थुप्रै मणिहरु गडेर बसेका छन्, त्यसको उत्खनन भइसकेको छैन ।

बाइबाइ सल्यानटार
त्यो दिनको अन्तिम कार्यक्रम– धादिङ्गको कटुन्जे गुरुङ डाँडामा थियो । उत्तिकै ठूलो भीड थियो यहाँ । सम्जोङ्गको भन्दा ठूलो । रामरिजन यादव– तराईको मान्छे । पहाडको यो भित्र गाउँमा रामरिझन सरको भाषण खुबै जम्यो । वाक्यवाक्यमा ताली बज्यो । बडो गज्जबको राजनीतिक सनसनी । लाग्थ्यो– धादिङ्गेहरु मूलधार पार्टी र नेताहरुबाट वाक्कदिक्क भएका छन् । नयाँ पार्टी र वैकल्पिक विचारप्रति उत्सुक हुँदै गएका छन् ।

गुरुङ डाँडादेखि खहरेसम्मको बाटो हाम्रो यात्रा अवधिकै सबैभन्दा खराब र जोखिमपूर्ण बाटो थियो । बेत्रावत्ती खोला देखेको थिएँ, सुनेको थिएँ । तर, नेत्रावती भन्ने उत्रै ठूलो खोला रहेछ । यसैको किनारमा थियो– आँखुखहरे । करिब १२ किमी जोखिमपूर्ण यात्रापछि आँखुखहरेको फाँट देखियो । पूर्व माओवादीहरु बढी शक्तिशाली भएको क्षेत्र । हाम्रा साथीहरु आफ्ना पुराना कमरेडहरुसंग भेट्दै, गफिदै थिए । राजु नेपाल, कल्पना धमला, डा. भरत सिम्खडा, नारायण तिवारी, रिम बस्याल, विष्णु सापकोटा आदि नयाँ शक्ति अभियन्ताहरुको गृहक्षेत्र/कर्मक्षेत्र । आजको बास यही बस्नु थियो ।

२८ गते बिहान खहरेको कार्यक्रम सकेर सल्यानटारतिर लाग्यौं । सल्यानटार– देशकै ठूलो र चर्चित टारमध्ये एक । सल्यानटारमा सिंचाईको राम्रो व्यवस्था हुने हो भने यहाँको उब्जनीले धादिङको पूरै जनसंख्यालाई पाल्न सक्छ रे । यहाँ पुग्दा बाल्यकालमा रेडियो नेपालबाट सुनेको लोकगीत–‘पालुङटारको साँढेले सल्यानटारको बिउ खायो’ याद आयो । सुदर्शन भाइले गुन्गुनाए पनि एकक्षण । सल्यानटारको कार्यक्रम उत्तिकै जम्यो । पवन राई भाइले पूर्वेली भाकाका गीतहरु गाएर दर्शकहरुको ध्यान केन्द्रीकृत गर्न राम्रो भूमिका गरे ।

करिब ४ बजे हामीले सल्यानटारलाई बाईबाई गर्‍यौं । सल्यानटारको कार्यक्रम जनसंवादको ६७ औं कार्यक्रम थियो । अर्थात् प्रदेश ३ मा जम्मा २२ जनसंवाद कार्यक्रम भए । अब हामी बुढी गण्डकी तर्दै थियौं । गण्डकी प्रदेशमा प्रवेश गर्दै थियौं । प्रदेश ४ मा पार्टी इन्चार्ज रुद्रबहादुर गुरुङ र संयोजक देवीप्रसाद सुवेदीसहितको टोली बुढीगण्डकीको पुल पारी देखियो । बहादुरे तर्दा प्रभुजी र राजुले झैं यहाँ राजु र देवी दाईले छोछोटो भाषण गरी हात मिलाए । हामीले ताली बजायौं । अब हामी तामाङ भाषा, सभ्यता र संस्कृतिको केन्द्रबाट तमु भाषा, सभ्यता र संस्कृतिको केन्द्रमा प्रवेश गरेका थियौं ।

आरुघाट दुविधा
बूढीगण्डकी तर्ने बित्तिकै आरुघाट गाउँपालिका जनप्रतिनिधिहरुसँग एक भव्य अन्तर्क्रिया भयो । बूढीगण्डकी योजनालाई डा. भट्टराईले नै राष्ट्रिय गौरवका आयोजनामा समेटेका थिए । उनी गोर्खाका बासिन्दा पनि परे । बूढीगण्डकीसँग जोडिएका अनेक प्रश्न गोर्खालीहरु डा. भटटराईसँग गर्न रुचाउँनछन भन्ने हामीलाई पहिल्यै थाहा थियो । आरुघाट यसअघि पनि म एकपटक पुगेको थिएँ । त्यतिखेर बूढीगण्डकीको चर्चा भरखरै शुरुवात भएको थियो । अहिले यो आयोजना चर्चाको शिखरमा छ । बूढीगण्डकीबारे मान्छेको मनमा अनेक प्रश्नहरु छन् । अनेक दुविधाहरु छन् ।

बूढीगण्डकी एक बृहत्त रिजर्भवाइर आयोजना हो । यसले फेवा तालभन्दा १६ गुणा ठूलो ताल बनाउँछ । हिजो हामी बास बसेको आँखु, खहरे, आरुघाट बजार सबै डुब्छन् । माथिमाथि डाँडामा बस्ती सार्नुपर्ने हुन्छ । दुईचार घर हैन, हज्जारौं हज्जार घर, स्कुल, कलेज, मन्दिर सबै सार्नु पर्छ । अन्यत्रको मुआब्जा भइसकेको छ । तीनवटा ठूला बजारहरु– खहरे, आरुघाट र आर्खेत बाँकी छन् अब ।

भट्टराईको सोचमा ‘सबै जनतालाई पर्याप्त मुआब्जा दिनुपर्छ ताकी उनीहरु इच्छाएको ठाउँमा सहजै स्थान्तरण हुनु सकून् । स्कुल, कलेज, मन्दिरलगायत सबै सार्वजनिक संस्थाहरु आरुटारमा सार्नु पर्छ । वरिपरिका डाँडामा एकीकृत वस्ती विकासको योजना बनाउँनु पर्छ । मानिसहरुलाई कृषिबाट पर्यटनतिर सिफ्ट हुन प्रेरित गर्नुपर्दछ । बूढीगण्डकी भारत वा चिनियाँ कम्पनी गेजुवालाई दिनु हुन्न । नेपाल आफैले बनाउँनु पर्दछ ।’

तर डा. भटटराई र कांग्रेस/कम्युनिष्टका अन्य ठूला नेताहरु बीच यो आयोजनाबारे सोचमा भिन्नता छ । कांग्रेस यो योजना भारतलाई दिन चाहन्छ । कम्युनिष्टहरु चीनलाई दिन चाहन्छन । डा. भटटराईको सोचमा यसरी बूढीगण्डकीलाई भूराजनीतिक दाउपेजको गोटी बनाइएको छ, त्यो निन्दनीय छ । देउवा सरकारले भारतलाई दिने ठाडो निर्णय गर्‍यो । ओली सरकारले निर्णय उल्टाएर बिना ग्लोबल टेन्डर चिनियाँ कम्पनी गेजुवालाई दिने निर्णय गर्‍यो । गेजुवाको केस हिस्ट्री हेर्दा त्यो यति ठूलो आयोजना बनाउन सक्ने कम्पनी नै हैन । यो घटनमा ठूलो रकम ७ देखि ९ अर्बको कमिसन डिल भएको चौतर्फी आशंका छ ।

२९ गते बिहान भीमोदय क्याम्पस र अरुघाट बजारमा खुल्ला जनसंवाद कार्यक्रम भए । अधिकांश जनताले बूढीगण्डकी कै कुरा उठाए । बिहानको खाना आरुघाटमा खाएर हामी अगाडि बढ्यौं ।

नयाँ शक्तिको तीर्थस्थल
टारीफाँट, घ्याम्पेसाल, चोरकाटे हुँदै साँझ बास बस्न पालुङटार पुग्यौं । दरौदीले बनाएका फाँटहरु हुँदै हिड्छ यो बाटो । दरौदी र मर्स्याङ्दीले बनाएका फाँटहरु गोर्खाका सौभाग्य हुन् । अन्यथा कृषिको युगमा गोर्खाको महत्व खासै हुने थिएन । काठमाडौंको छेवैमा हुनुले यसको रणनीतिक महत्व थियो नै । तर, गोर्खाको तीव्रतर स्थानीय विकासको प्रक्रिया भने डा. भट्टराई कै उदयपछि सम्भव भएको देखिन्छ । यो अरु पार्टीका मान्छेले पनि सहजै स्वीकार गर्दछन् ।

करिब २५० वर्ष सत्ता र शक्तिको केन्द्रमा रहेका शाह राजाहरुको शासनकालमा गोर्खाको विकासले गति लिएन । उनीहरु हेलिकप्टर चडेर कुलदवीको पूजा गर्न जानेबेलामा मात्र गोर्खा सम्झिने भए, काठमाडौंको राजा हुन पाए, गोर्खा उनीहरुलाई किन चाहियो ? पञ्चायतकामा राजेश्वर देवकोटा शक्तिशाली रहे तर उनी विकासभन्दा बढी बौद्धिक हस्तक्षेपबाट राजनीतिमा टिक्ने खालका थिए ।

लोकतन्त्रपछि गोर्खामा कांग्रेस, त्यसमा पनि चिरिन्ञ्जवी वाग्लेको युग आयो । मान्छेका व्यक्तिगत काम गर्दिन, पार्टी संगठन बनाउन मेहनत गर्ने दृष्टिकोणले वाग्ले पनि खप्पिस नै थिए रे । तर, जिल्लाको समष्टिगत विकासमा भने उनको खासै योगदान रहन सकेन । प्रचण्ड कुनै समय आरुघाटमा विज्ञान/गणितका शिक्षक थिए । गोर्खाका धेरै मान्छेहरु प्रचण्डसंग पनि भावनात्मक रुपले जोडिएका छन । बाबुरामको गृह जिल्ला र प्रचण्डको कर्मजिल्ला भएर हुन सक्छ २०४६ पछि एमाले धार गोर्खामा कहिल्यै बलियो भएन । अहिले पनि छैन । त्यहाँ एकीकृत नेकपा भने पनि मुख्य शक्ति पूर्व माओवादी नै हो ।

नयाँ शक्ति अभियानमा जोडिनुअघि म गोर्खा पुगेको थिइन । यो पार्टी बन्ने बनाउने क्रममा कयौंपटक पुगे । आज गोर्खाका गाउँका नामहरु मलाई त्यसरी नै कन्ठस्थ छन्, जसरी सुनसरीका गाउँका नाउहरु । नयाँ शक्तिमा लाग्नु अघि हामी एउटा सानो वैचारिक मञ्च चलाउँथ्यौं । वैकल्पिक विचार मञ्च । कतिपयले भन्छन् कि भारतमा अरविन्द केजरीवालले जितेपछि त्यसको प्रेरणामा त्यो काम गरेका थियौं । बिल्कुल झुठो कुरा हो, त्यो । जतिखेर इटहरीमा हामीले वैकल्पिक विचार मञ्च बनाएका थियौं, त्यतिखेर दिल्लीमा केजरीवालको उदय त के अन्ना हजारेको जनलोकपाल आन्दोलन नै भएको थिएन ।

वैकल्पिक राजनीति मेरो जीवन, अध्ययन र अनुभवको बलियो कन्भिक्सन थियो । त्यो विश्वास आजका दिनसम्म आइपुग्दा झनै बलियो भइरहेको छ । तर, पार्टी बनाउने चलाउने ताकत, त्यो हाम्रो मात्र बुताले पुग्ने कुरा थिएन । व्यक्तिगत कुरा गर्ने हो भने म राजनीतिक जीवन नै सेलेन्डर गरेर बाँकी जीवन वैकल्पिक दर्शन, सिद्धान्त, साहित्य र भाष्यमा बिताउने निर्णय गरिसकेको मान्छे थिए । पुँजीवाद र साम्यवादजस्ता विचारबाट, कांग्रेस र कम्युनिष्टजस्ता पार्टीहरुबाट सम्पूर्णरुपमा विश्वास हराईसकेको, घाँटीघाँटी अघाइसकेको मान्छे । डा. बाबुराम भट्टराई साम्यवादी विचारको धारबाट वैकल्पिक राजनीतिको धारमा आउनु हाम्रा लागि अनपेक्षित कुरा थियो । सुखद आश्चर्यको कुरा थियो ।

हुनतः यसबारे मान्छेमा अनेक भ्रम छन् । अनेक आग्रह छन् । अनेक पूर्वाग्रह छन् । नयाँ शक्ति पार्टी, वैकल्पिक विचार आन्दोलनलाई हल्काफुल्का ढंगले बुझ्ने मान्छेहरु थुप्रै छन् । उनीहरुसंग मुखमुखै लाग्नुभन्दा समय पर्खिनु राम्रो हुन्छ । कर्मद्वारा पुष्टि गर्नु राम्रो हुन्छ । यतिसम्म भन्दा हुन्छ– लोकतन्त्रमा भोट धेरथोर हुनसक्छ । मुख्य कुरा धार र एजेण्डा हो । वैकल्पिक विचार र राजनीति अब नेपाली समाजको अभिन्न अंग बनिसक्यो । नयाँ शक्ति पार्टी मात्र त्यसको पूर्ण कारण हैन । वैकल्पिक धारका दलहरुको एकता मात्र सम्भव हुने हो भने तत्कालै नेपालको तेस्रो ठूलो राजनीतिक शक्ति बन्नेछ ।

तथापि कुरा शक्तिको मात्र हैन । फेरि पनि कुरा विचार, एजेण्डा, युग र वैश्विक परिप्रेक्ष्य कै हो । यो दृष्टिकोणबाट नयाँ शक्ति पार्टी निर्माणमा संलग्न भएबापत प्राप्त हुने भनेको गौरवै गौरव मात्र हो ।

यस अर्थमा गोर्खा पुग्दा मलाई नयाँ शक्ति पार्टीको तीर्थस्थल पुगेजस्तो लाग्छ । कम्तीमा त्यो जिल्लाले वैकल्पिक विचार र पार्टीको बिउ राख्ने बियाडको काम गर्दिएको छ । एकीकरणको युगका नायक पृथ्वीनारायण शाह त्यही जिल्लाका थिए । लोकतान्त्रिकरणको युगमा पनि कृष्णप्रसाद भट्टराईजस्तो नेता त्यो जिल्लाले जन्मायो । समृद्धिकरणको युगको राजनीतिक भाष्य निर्माता र त्यसको बिउको रक्षा गोर्खाले गर्नु हामी जस्तो वैकल्पिक शक्ति चाहने मान्छेहरुका लागि गोर्खाको ठूलो गुन हो । प्रकारान्तले यो देश, जनता र विश्व मानवताकै लागि एउटा ठूलो गुन बन्न सक्छ ।

२९ गते साँझ पालुङटार बास बस्यौं । धनकुटाबाट हिडेदेखि आफ्नो पार्टीले जितेको अर्को वडामा पुगेका थियौं । विकास घिमिरेझैं दीपक पाण्डेउत्तिकै सक्रिय युवा वडाध्यक्ष हुन् । संयोगले हाम्रो टिमको बास दीपककै घरमा पर्‍यो । फाल्गुन १ पालुङटारमा भव्य कोणसभा । त्यसपछि तनहुँको बाइसजाँगर र लम्जुङको राइनासकोट हुँदै बासबस्न सुन्दरबजार पुगियो ।

(जनसंवाद यात्रामा सहभागी नेता तथा स्तम्भकार डम्बर खतिवडाको संस्मरणका केही श्रृंखलाहरु क्रमशः प्रकाशन गरिनेछ)

क्रमशः ….

यो पनि-

चिवा भञ्ज्याङ्ग-झुलाघाट डायरी-१

चिवा भन्ज्याङ्ग–झुलाघाट डायरी–२

चिवा भन्ज्याङ्ग–झुलाघाट डायरी-३

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob