scheduleबुधवार बैशाख ११ गते, २०७६

बुटवलबाट प्रधानमन्त्रीको सन्देश विप्लवलाई


बुटवल, ८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले वितण्डा र अशान्तिको युग समाप्त भएको बताएका छन् । पूर्व पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकको चार लेनमा विस्तार तथा स्तरोन्नति गर्ने कार्यको आज बुटवलमा शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा विकासको अभियान शुरु भएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले मुलुकमा सुशासन र विकासको मार्ग अघि बढे त्यसले देशलाई आधुनिकतामा लैजाने उल्लेख गर्दै सबैतिर सन्तुलन मिलाएर विकास निर्माणको काम तीव्र बनाइने बताए । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई लक्षित गर्दै उनले भने, ‘कसैलाई बम पड्काउने, मान्छे मार्ने, अशान्ति मच्चाउने काम गर्ने सोचेको छ भने बन्द गर्नुपर्छ, त्यसैले बम पड्काउनेलाई निषेध गरिएको छ । कसैले यस्ता गलत काम गर्छ भने कानूनअनुसार कारवाही हुन्छ ।’

प्रधानमन्त्री ओलीले लुम्बिनीको बृहत्तर हितलाई ध्यान राखेर अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको जानकारी दिँदै कुनै पनि नागरिकलाई शिक्षा र स्वास्थ्यको अवसरबाट वञ्चित हुनुनपर्ने बताए । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि यस क्षेत्रमा उडान भर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरु आउने विश्वास व्यक्त गरे ।

लुम्बिनीलगायत यससँग सम्बन्धित क्षेत्रको विकासका लागि सरकार गम्भीरताका साथ लागेको बताउँदै उहाँले भैरहवा–लुम्बिनी–तिलौराकोटसम्मको सडक विस्तारका लागि काम अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिए । उनले भने, ‘राजमार्गदेखि लुम्बिनी पुग्ने सडक पनि फराकिला बनाउन आवश्यक छ काम थाल्नुस् ।’

उनले शिलान्यास गरिएको पूर्व पश्चिम राजमार्गको बुटवल नारायणगढ खण्ड मात्र नभएर अब सबैतिर नै विस्तार र स्तरोन्नतिको काम अघि बढाइने बताउँदै भने, ‘सबै सडकलाई विस्तार र स्तरीय बनाइन्छ, विसं २०८० सम्मको वर्ष निर्माणकै वर्ष हुनेछ ।’ रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob