scheduleबुधवार बैशाख ११ गते, २०७६

विप्लव भारत रहेको प्रहरी अनुमान, वलीसँगै महत्वपूर्ण सूचना हात पारेको दावी

काठमाडौं, १० चैत । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका मध्यक्षेत्रीय कमान्डर हेमन्तप्रकाश ओली सुदर्शनको पक्राउलाई नेपाल प्रहरीले ठूलो उपलब्धिको रुपमा व्याख्या गरेको छ ।

विद्रोही नेकपाका तेस्रो वरियताका नेता रहेका ओलीकै आडमा विप्लवले दोस्रो वरियताका नेता खड्कबहादुर विक प्रकाण्डविरुद्ध दुई लाइन संघर्ष छेडेको प्रहरी अनुमान छ ।

ओलीलाई पक्राउ गरेपछि अर्को निशानामा रहेका विप्लव भने नेपालमा नरहेको प्रहरीले निष्कर्ष निकालेको छ । उनी हाल भारतमा रहेको एक प्रहरी उच्चाधिकारीले बताए । यद्यपि, प्रहरी विप्लवलाई पक्राउ गर्न निरन्तर क्रियाशील नै छ ।

नेपाल प्रहरीका एक उच्च अधिकारीको हवाला दिँदै बीबीसीमा प्रकाशित खबरका अनुसार ओलीसँगै नेपाल प्रहरीले विद्रोही नेकपासँग सम्बन्धित महत्वपूर्ण दस्तावेजहरु हाता पारेको छ । त्यहाँबाट प्राप्त सूचना र रणनीतिका आधारमा प्रहरीले अन्य नेताहरु पक्राउ गर्ने र विद्रोही नेकपाको गतिविधि ठप्प बनाउने योजना बनाइरहेको छ ।

प्रहरी दावीअनुसार ओलीको साथबाट प्रहरीले ल्यापटप, मोबाइल फोन र अन्य सामग्री पनि जफत गरेको छ ।

पक्राउ परेका नेताहरुलाई प्रहरीले उनीहरुलाई विभिन्न घटनासँग जोडेर मुद्दा लगाउने तयारी गरिरहेको छ । कतिपयलाई ज्यान मुद्दा नै लगाउने तयारी छ भने कतिपयलाई चन्दा उठाएको सामान्य मुद्दा मात्रै लगाउने तयारी रहेको प्रहरी स्रोतले जनाएको छ ।

पक्राउ परेका नेताहरुलाई प्रहरीले अदालतमा उपस्थित गराइसकेको छ । आइतबार ओलीसहित ९ जनालाई जिल्ला अदालत ललितपुरमा न्यायाधीश चुडामणी खड्काको ४ नम्बर इजलासले ८ दिनका लागि म्याद थप गरेको छ ।

ओलीका तर्फबाट बरिष्ठ अधिवक्ता एकराज भण्डारीसहित ६ जना अधिवक्ताले थुनछेक बहस गरेका छन् । उनीसहित ९ जनाबिरुद्ध संगठित अपराध, राज्य विरुद्धको अपराध, हातहतियार र खरखजाना र बम विस्फोटको मुद्दा लगाइएको छ ।

ओलीसहित गिरफ्तार गरिएकाहरुलाई नेकपामा केन्द्रीय सदस्य विजय श्रेष्ठ, रामकृष्ण खतिवडा, शंकर अधिकारी, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे, धर्मराज राजबाहक, र लोकेन्द्र खड्कालाई पनि सोही मुद्दा लगाएको छ ।

ओलीलाई अदालतमा उपस्थित गराएपछि आइतबार बिहानैबाट अदालत परिसरमा संचारकर्मीहरु जम्मा भएका थिए । तर प्रहरीले उनीसँग पत्रकारलाई कुरा गर्न दिएन ।

यो पनि पढ्नुहोस्-
यसरी बन्यो विप्लवलाई पेरुको गोञ्जालो बनाउने ओली-प्रचण्ड रणनीति

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob