scheduleसोमवार भाद्र २ गते, २०७६

चिवा भञ्ज्याङ–झुलाघाट डायरी–५

लमजुङका सुन्दर फाँटहरु
यो यात्रामा यहाँसम्म आईपुग्दा विल्कुल पहिलोपटक पाइला टेकेको जिल्ला मेरा लागि लमजुङ थियो । कस्तो होला लमजुङ ? नेपालका पहाडी जिल्लाबीच भौगोलिक हिसाबले एउटै रेञ्जमा भएर पनि भू-बनौट, हावापानी, जनजीवन र भाषा-संस्कृतिमा पर्याप्त विविधताहरु छन् । मध्यपहाडी लोकमार्गले तनहुँ छुँदैन । तर, गोर्खा, तनहुँ र लमजुङ एकअर्कासंग नजिकबाट अन्तर्सम्बन्धित रहेनछन् ।

फाल्गुन १ गते अपरान्ह हामी गोर्खाको पालुङटार, तनहुँको बाइसजाँगर हुँदै लमजुङको धमिलीकुवा पुगेका थियौं । चेपेनदीका फाँटहरु देखिन थालेपछि युवा शक्ति नेपालका संघीय अध्यक्ष रमेश पोखरेलले हामीलाई यो क्षेत्रको भूगोल, इतिहास र जनजीवनबारे बताउन थाले ।

धमिलीकुवा नयाँ शक्ति पार्टीका सचिवायलय सदस्य मित्र देवेन्द्र पराजुलीको गृहथलो पनि हो ।

रमेशका कुरा सुन्दा लाग्छ, उनी आफैं नेपाली इतिहासको एउटा छोटो अध्याय हुन् । माओवादी जनयुद्धका प्रारम्भीक सहिद भीमसेन पोखरेलका साख्य भाइ हुन्, उनी । गोर्खा सिमानचोकका बासिन्दा । भीमसेन माओवादी आन्दोलनमा राज्यतर्फबाट मारिएका सबैभन्दा उपल्लो तहका नेता सुरेश वाग्लेसँगै मारिएका थिए । त्यतिखेर रमेश १४ वर्षका थिए रे । दाईको सहादतपछि उनी माओवादी सैन्य अभियानमा सामेल भए । त्यसक्रममा पश्चिम नेपालका सबै पहाडी गाउँहरु हिंडेरै पुगेका छन् उनी ।

पूर्वतिर त्यति गएनन् । नुवाकोटदेखि बैतडीसम्मकै भूभाग, गाउँका नाम, केही स्थानीय मान्छेहरु सबै कन्ठस्थ थाहा छ उनलाई । हामी जानुपर्ने बाटोका अनुकूलता र प्रतिकूलतालाई अगाडि नै अनुमान र व्याख्या गर्न सक्छन् । उनको शरिर अहिले पनि लडाकुको जस्तै लाग्छ, झट्ट हेर्दा । तर, त्यसका आफ्नै पीडा पनि छन । शरीरका अंगअंगमा चोटहरु छन् । नशाहरु खुम्चिन्छन् । पातो दुख्छ । घाँटी सजिलै घुम्दैन । गोलीहरु सबै निकालिएका छैनन् अझै शरीरबाट । कतिखेर शरीर कक्रिने हो, दुःख्ने हो, पत्तो हुँदैन । स्वास्थ्यमा स-साना समस्याहरु आइरहन्छन् । तथापि उनी दृढसंकल्पित छन् यो यात्रा छिचोल्न । यसअघि उनले पार गरेको जीन्दगीको बाटो यो यात्राभन्दा हज्जार गुणा बढी कष्टकर थियो । उनी युद्धका त्यस्ता रोमाञ्चक क्षण पनि बताउँछन् हामीलाई घरिघरि, सुन्दै हाम्रो आङ सिरिङ हुन्छ ।

लमजुङका फाँटहरु झनै राम्रा रहेनछन्, गोर्खाका भन्दा पनि सुन्दर । मध्यपहाडी लोकमार्गको यो खण्ड पूरा हुन लागेको रहेछ । तराईको राजमार्गमाझैं सरर गाडी कुद्न सक्ने । राइनासकोटमा अनपेक्षित भीडजम्मा भएको थियो । निक्कै ठूलो तयारीमा गर्नुपर्ने आमसभा जत्रो । धमिलीकुवाबाट सुन्दरबजार पुग्न कतिबेर लागेन । मध्यमर्स्याङ्दीको गेष्ट हाउसमा पर्‍यो हाम्रो बास ।

फाल्गुन २ गते बिहान । आज ‘भ्यालेन्टाइन डे’ रहेछ । कमला गुरुङ दिदीलाई भेनाको फोन आएछ बिहानैबिहानै । क्यान्टिनमा चिया खाँदा दिदीको सुझाव थियो– ‘सबैले आ-आफ्नालाई कम्तीमा एक फोन त गर ।’

लमजुङ कृषि क्याम्पसका विद्यार्थीहरु, युवायुवतीहरु ‘भ्यालेन्टाइन डे’ गिफ्ट र सिम्बोलहरु बोकेर क्याम्पस गेटबाट छिर्दै थिए । एकक्षण गमेँ– यो संस्कृतिक विनिमय हो कि अतिक्रमण ? भूमण्डलीकरणको युगमा संस्कृतिक विनिमयलाई स्वभाविक र आवश्यक ठान्छु मैले । मदन दाई बिहानै कृषि क्याम्पसका विद्यार्थीहरु बच विशेष प्रवचनका लागि आमन्त्रित थिए । त्यो सकेर क्याम्पस गेटबाहिर सार्वजनिक जनसंवादको ८३ औं श्रृंखला । त्यो सकेर फेरि तनहुँतिर लाग्यौं हामी ।

पौडेल-जोशी प्रेमघृणाको कथा
लमजुङ क्याम्पसपछाडि एउटा खोला थियो । त्यसको पारी– मानेचौका गाउँ भनौं वा स-सानो पहाडी बजार । त्यो तनहुँ रहेछ । त्रिभुवन उच्च मावि र क्याम्पस संगसंगै । क्याम्पसको सभाहलजस्तो जस्तापाताले छाएको टहरो । हामी पुग्दा त्यहाँ मान्छेहरु टनाटन थिए । बस्ने ठाउँको अभाव थियो, म फर्किएर क्याम्पसको चौरमा घाम ताप्दै बसेँ, एक्लै । उता डा. भट्टराईसंग जनसंवाद प्रारम्भ भयो ।

डम्बर खतिवडा

यता मलाई एक्लै देखेर वा हलमा बस्ने ठाउँको अभावले एकजना स्थानीय मेरो छेउ आए । परिचय भयो तर नाम बिर्सेँ अहिले । उनी मलाई भन्दै थिए– ‘यतिका मान्छेहरु यी तपाईको पार्टीका हैनन् । यहाँ थुप्रै कांग्रेसहरु आएका छन् । डा. भटटराईले के गर्न खोजेका हुन्, सबैमा जिज्ञासा छ । के तपाईहरु साँच्चै नयाँ लोकतान्त्रिक पार्टी बनाउनु हुन्छ ?’ म हाँसे मात्र । उत्तर दिन पाएकै थिइनँ । उनी मलाई तनहुँको राजनीति बुझाउन थाले ।

२००७ सालको क्रान्तिदेखि नै तनहुँको जनमत लोकतान्त्रिक छ । यहाँका मान्छेहरु वीपीको विचार र आदर्शबाट प्रेरित छन् । यो स्कूलमा कुनै समय गोविन्दराज जोशी हेडसर थिए । २०३६ पछि जोशी र रामचन्द्र पौडेल मिलेर यो जिल्लालाई झनै कांग्रेसको गढ बनाइदिए । जब उनीहरुबीच राजनीतिक टसल शुरुवात भयो, तनहुँ कांग्रेस ओरालो लाग्न थाल्यो । जोशी अख्तियारबाट डामिए । पैसा उनले नकमाएका हैनन्, तर उनी जत्तिकै वा झनै ठूला भ्रष्टाचारी यो देशमा हज्जारौं छन् । ती कसैलाई अख्तियारले छुन सकेको छैन । यसपालीको चुनावमा जोशीले स्वतन्त्र उम्मेद्वारी दिएका थिए । पौडेलले भ्रष्टाचारी भनेर दावी विरोधको निवेदन आफैंले हाले । तर, पनि पौडेल हारे ।

यो राजनीतिक एकप्रकारको निर्मम र क्रुर खेल रहेछ । दुनियाँले त जोशीलाई भ्रष्टाचारी भनेकै थियो, पौडेलले नै भ्रष्टाचारी किटेर निर्वाचन आयोगमा निवेदन दिए । तर पनि हार्नु नै रहेछ उनलाई । तनुहँमा कांग्रेस बिचल्लीमा छ यतिखेर । तपाईहरुले साँच्चै लोकतान्त्रिक विकल्प बनाउन खोजेको हो भने मान्छेहरुले नयाँ शक्तिबारे सोच्न सक्छन् ।

उनको व्याख्या मेरा लागि गम्भीर र दीर्घकालीन महत्वको कुरा थियो । छोटो समयमा मुखले उत्तर दिएर मैले उनलाई आश्वस्त गर्न सक्दिनथेँ । मैले उनलाई ‘जनताको प्रश्नः नयाँ शक्तिको उत्तर’ पुस्तिका दिँदै भने यो पढ्नु होला र विचार गर्नु होला ।

अर्को मध्यविन्दू
मानेचौकाबाट हामी हिड्यौं । कुन्छा, सोतीपसल, दुईपिप्ले हुँदै भोर्लेटार पुग्यौं । पूर्वपश्चिम राजमार्गको बीच नवलपुरमा एउटा नगरपालिकाको नाम नै राखेको छ– मध्यविन्दू । यहाँ अर्को नगरपालिका रहेछ–मध्य नेपाल । यो ठाउँ नेपालको सबैतिरबाट बीचमा पर्छ रे । अहो, यतिका दिन हिडेर लमजुङ आई पुगियो । भरखर आधा भएको रहेछ, बाटो । कति लामो छ त नेपाल ? किन र कस्ले सानो देश भन्न सिकाएका होलान हाम्लाई ? बेतुकको कुरा ।

भोर्लेटारबाट कास्कीको रुपा गाउँपालिका हुँदै बेगनासताल छेवैछेउको बाटो पोखरा तालचोक पुग्दा साँझ झमक्क हुन लागेको थियो । तर तालचोकको जनसंवाद बाँकी नै थियो । करिब २ घण्टा समय लियो, त्यस्ले । साँझ बास बस्न पुग्यौं मिडटाउन होटेल, पोखरा । नयाँ शक्ति पार्टी, गण्डकी प्रदेश संयोजक देवीप्रसाद सुवेदी र भाउजू– चर्चित लोकगायिका पार्वती जिसी पर्यटन व्यवसायी पनि हुन् । दाईभाउजूको आफ्नै होटल हो, यो । जनसंवाद यात्रा टोली आजका पाहुना थियौं ।

मुल्मी आक्रोस
३ गते बिहानका लागि पोखरामा आधा दर्जन बढी कार्यक्रम थिएन । भूपू गोर्खासंग अन्तक्रिया, उद्योग वाणिज्य संघसंग अन्तर्क्रिया । पत्रकार सम्मेलन । पर्यटन व्यवसायीसंग भेटघाट । पिएन क्याम्पसमा विद्यार्थीहरुको स्वागत कार्यक्रम । चिप्लेढुंगा चोकमा खुल्ला जनसंवाद आदि । यी सबै कार्यक्रमका आ-आफ्नो महत्व थियो । तर, मैले कोड गरे– मुल्मीको आक्रोस ।

मुल्मी अर्थात् आनन्दराज मुल्मी । देशको निजी क्षेत्रका सुनिदै आएका नाम । नेपाल उद्योग वाणिज्य संघको अध्यक्ष भइसकेका मान्छे । समृद्धिको सवाल, सुशासनको सवाल, आर्थिक विकासको सवाल– नयाँ शक्ति पार्टीले आफ्नो मुख्य राजनीतिक भाष्य मानेका यी सवालहरुलाई यो क्षेत्रले अचेल कसरी लिइरहेको छ, त्यो बुझ्ने उत्सुकता थियो ।

मुल्मीमा बढो प्रष्ट भिजन, सोच र धारणा पाएँ मैले । उनको विश्लेषण नयाँ शक्ति पार्टीको राजनीतिक भाष्यसँग मिल्दोजुल्लो थियो । उनी भन्दै थिए– ‘देशको अर्थतन्त्र मुस्किलले ३३ खर्बजतिको होला । अर्थतन्त्रको आकार वृद्धि गर्न उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्नुपर्दछ । त्यसका लागि औसत मुनाफाभन्दा ब्याजदर कम हुनुपर्दछ । तर यतिखेर देशमा वित्तिय सेन्डिकेट छ । बैंकहरुले ब्याज बढाए १६% पुर्‍याएका छन् । जबकी औसत मुनाफादर १०% छ । मरिमरि दुख्खले कमाएर बैंक पाल्न कस्ले व्यवसाय गर्छ ? अनि देशको अर्थतन्त्रको आकार कसरी बृद्धि हुन्छ ? यो कहाँको न्याय हो ? कहाँको लोकतन्त्र हो ? कसरी भयो वित्तिय प्रतिस्पर्धा ? ओभर लिक्वीडिटी भयो भनेर ८ % ब्याजदरमा ऋण दिने, ऋण दिइसकेपछि लिक्वीडिटी क्राइसिसको हल्ला पिटेर एकतर्फी १६% ब्याज पुर्‍याउने ? यो लुट हो कि हैन ? राजनीतिमा लुटतन्त्र भन्ने सुनिन्छ, वित्तिय सेण्डिकेट लुटतन्त्रकै एक कडी हो ।’


उद्योग वाणिज्य संघका पदाधिकारीसंगको कार्यक्रममा उनले थपे– ‘एकातिर शुद्ध तवरले पारदर्शी उद्योग व्यवसाय गर्न सकिने वातावरण देशमा छैन । अनेक प्रशासनिक झंझटहरु छ्न । अर्कोतिर राजनीतिमा सामानान्तर अर्थतन्त्र छ । हामी पुस्तौंपुस्तादेखि उद्योग व्यवसाय गरिरहेका छौं, २/४ लाख खर्च गर्ने बेला सोच्नु पर्दछ । जिन्दगीमा कुनै व्यवसाय नगरेका मान्छेहरु चुनावमा करोडौं खर्च गरिरहका छन् । त्यो कहाँबाट आयो ? त्यसको स्रोत के हो ? यसको अर्थ हो- राजनीति अन्डरवर्ल्डतिर गइरहेको छ । समानान्तर अर्थतन्त्र छ । यस्तो अवस्थामा सुशासन कसरी हुन्छ ? सुशासन विना समृद्धि हुन्छ ? कसैले बताइदिए हुने ?’

मुल्मीको भनाईमा विचित्रको आक्रोश थियो । उनी भन्दै थिए– ‘देशको कुल निवेशमा ३०% पनि सरकारको योगदान छैन । राजनीतिसंग जोडिएका धनीहरु शक्तिको नाजायज प्रयोग गर्दछन् । राजनीतिको शक्ति जोडिने बित्तिकै अर्थतन्त्र वायस हुन्छ, स्वच्छ प्रतिस्पर्धात्मक रहँदैन । ज्ञानेन्द्र शाह, पशुपति शमशेर, सुमार्गीजस्ता मान्छेहरु यो देशमा धनीको सूचीमा पर्दछन् । अर्थतन्त्रमा उनीहरुको योगदान के हो भनेर जनताले सूचित हुन पाउने कि नपाउने ?

उनी चिप्लेढुंगाको खुल्लासभामा सम्बोधन गर्न राजी भए । खुलेआम सार्वजनिक अपिल गरे– ‘नेपालको अर्थतन्त्र अनुद्यमशील, अपारदर्शी र भ्रष्टहरुको हातमा गएको छ । त्यसको मुख्य कारण निर्वाचन प्रणाली भएको छ । निर्वाचन जित्ने वा जित्नु पर्ने, त्यसका लागि खर्च बन्दोबस्त गर्नुपर्ने दबाबमा जताततै आर्थिक अनुशासनहीनता छ । निर्वाचन प्रणाली परिवर्तन गर्न सबैले जोड गरौं । अन्यथा नेपाल केही वर्षभित्रै टाट पल्टिन्छ ।’

पातीचौरको झरी
पोखराका कार्यक्रम सकेर पर्वततिर लाग्न ढिलो हुन थाल्यो । कास्कीकोट हुँदै नागडाँडा पुग्दा नपुग्दै फेरि सिमसिम पानी पर्न थाल्यो । जाडो उत्तिकै बढ्ने छाँट देखियो । पातीचौर पुग्नुअघि दुईवटा कार्यक्रम बाँकी नै थिए । ढिकुरपोखरी र लुम्ले । पातीचौर पुग्दा निरन्तरको झरी जारी थियो । रातको ९ बजेको थियो । यस्तो जाडो, यस्तो झरी, यति रात, सयौं मान्छेहरु जनसंवाद टोली पर्खिरहेका थिए । डा. भटटराईको सम्बोधन सुन्न मान्छे उत्तिकै ललायित थिए । ३ गतेको बास पातीचौरमा भयो ।

बागलुङः १००औं कार्यक्रमलाई पानी पनि बिथोलेन
४ गते बिहानै कुश्मा । त्यसपछि बागलुङ बजार । कुश्माको कार्यक्रम हलभित्र सामान्य रह्यो । बागलुङको बाघचोकमा भव्य जनसंवादको संकेत थियो । पहाडी बजारका चोक खासै व्यस्त हुँदैनन् । यातायातलाई व्यवधान नपुग्ने भएर होला, चोकै ढाकेर स्थानीयहरु जम्मा भएका थिए । तर, कार्यक्रममा डा. भट्टाईको बोल्ने पालो शुरुवात हुँदानहुँदै पानी दर्किन थाल्यो । कार्यक्रम भाँडियो भन्ने लागेको थियो । तर, त्यस्तो भएन । मानिस वरिपरिका घरमा ओतिए । छाता ओडेर डा. भट्टराईको लामै भाषण गयो । यो कार्यक्रम जनसंवाद यात्राको १०० औं कार्यक्रम थियो ।

बागलुङ बास बसेको रात यात्रा टोलीमा द्विविधा, निराशा र अन्यौल छाएको थियो । बागलुङ र रुकुमबीचको करिब १० किमी बाटो ६ फिट हिउँले ढाकिएको खबर आयो । यात्रा रोक्ने, गुल्मीको बाटो हुँदै सिधै मुसीकोट पुग्ने वा जबरजस्त हिउँबाटै जाने तीनवटा विकल्प थिए । यीमध्ये कुन विकल्प रोज्ने ? अन्यौल कायमै रह्यो ।

प्रशान्तजीको गाडीमा प्रशान्त, गंगा, रमेश र ईश्वर बाटोबारे जानकारी लिन टोलीभन्दा अगाडि नै जाने निर्णय भयो । ५ गते बिहान म फेरि यो टिमबाट छुटेँ । सुदर्शन भाइ पालुङटारबाटै काठमाडौं फर्किएका थिए । प्रचार विभागको काम हेर्न नागडाँडाबाट जोडिएका थिए– मनोज ढोडारी । मनोज र म फरकफरक गाडीमा भयौं । पार्टीका बागलुङ जिल्ला संयोजक चित्र सापकोटजीको भनाई थियो– ‘बागलुङ्गभरी बाटोमा कुनै समस्या छैन । हामी निर्धक्क निसीखोलासम्म पुग्न सक्छौं, त्यस उताको यात्राबारे भोलि नै सोचौंला ।’

अब हाम्रो गाडीमा प्रवास प्रदेशका संयोजक धन गुरुङ, गोर्खामा साथीहरु भीम श्रेष्ठ, महेश गुरुङ, यात्रा टोलीका स्वास्थ्य सहयोगी राकेश सिंह र म थियौं । गाडी चालक थिए– गोविन्द पौडेल । उनी पोखराका थिए । पालुङटारबाट भाडामा थपिएको थियो, यो गाडी ।

गल्कोट नोस्टाल्जिया
५ गतेको पहिलो कार्यक्रम विउँपोखरामा थियो । बागलुङ बजार मेरा लागि नौलो ठाउँ थिएन । बारम्बार पुगेको छु, त्यहाँ । पहिलोपटक प्लस शिक्षक युनियनको अतिथि भएर गएको थिए, केहीवर्ष अघि । बालकृष्ण कँडेल, मनोज खत्री, यामबहादुर अधिकारीजस्ता मनमिल्ने साथीहरु थिए । याम बहादुरजीले हो, मलाई पहिलोपटक पुरै बजार डुलाएको । बागलुङ कालिका मन्दिरदेखि, सहिद पार्कसम्म पुर्‍याएको । त्यसपछि धेरैपटक भए ।

बागलुङका कथाहरु कम रोचक छैनन् । बागलुङ कालिकाको डोला बिसाएको कथा । राजा महेन्द्रलाई महिलाहरुले घेरेको कथा । बागलुङेहरुले गल्कोटबाट अड्डा लुटेर ल्याएको कथा । पञ्चायतकालमा रापंस तेजेन्द्रविक्रम खड्काको शक्ति र शानको कथा । तर, बागलुङबजार उताको यात्रा भने विल्कुलै नयाँ थियो मेरा लागि ।

बागलुङे डाँडा र गाउँहरु असाध्यै सुन्दर र चिटिक्क परेका देखिन्थे । अरु पहाडी जिल्लाको तुलनामा यहाँको चेतना र आर्थिक जीवनस्तर माथि होला भनेर अनुमान गर्न सकिन्थ्यो । तर, फेरि पनि कारण त उही रेमिटेन्स नै हो । लाहुरे जाने चलन असाध्यै धेरै छ यहाँ । बाँकी वैदेशिक रोजगार । त्यही पैसा आउने हो गाउँमा ।


बुढीगण्डकीदेखि कालीगण्डकीसम्मको क्षेत्र मूलतः तमु सभ्यताको क्षेत्र हो । पर्वतदेखि नै गुरुङ गाउँहरु पातलिन थाल्छन् र मगरबस्तीहरु बाक्लिन थाल्छन् । गल्कोट पुग्दा नपुग्दै मगर बस्ती, भाषा, सभ्यता र संस्कृति प्रभावी हुन थाल्छ । दराम खोलातरेपछि भेरीसम्म जनजातीय दृष्टिकोणले मगर संस्कृतिको बलियो प्रभाव अनुभूत गर्न सकिन्छ ।

गल्कोटको कार्यक्रम स्थानीय उद्योग वाणिज्य संघले आयोजना गरेको थियो । सबै पार्टीका प्रतिनिधिहरु आएका थिए । गल्कोट कार्यक्रमका वक्ताहरुको कुरा सुन्दा मलाई लाग्यो– गल्कोट नोस्टाल्जिया मै छ अझै । इतिहासकै गौरव बखानेर बसेको छ । वर्तमानबारे कन्फयूज्ड छ । भविष्यको मार्गचित्र गल्कोटले कोरिसकेको छैन ।

गल्कोट गोर्खाको अधिन हुनु अघि २४ से राज्यमध्ये एक थियो । गल्कोट आफैंमा एक पूर्ण प्रशासनिक एकाई हुन सक्ने उपत्यका हो । भिन्नै जिल्ला बनाई दिएको भए हुन्थ्यो, पंचायतले बनाएन । सदरमुकाम वाङ्गलुङेहरुले लगे । तेजेन्द्रविक्रम खड्काको शक्ति अगाडि गल्कोटेहरुको केही लागेन । गल्कोट १७ वटा गाउँ पञ्चायतमा बाँडियो । पञ्चायतप्रति बदलाको भावनाले गल्कोटेहरु कम्युनिष्ट हुँदै गए । त्यो पनि चित्रबहादुर केसीको नेतृत्वमा मसाल पार्टी । केसी गल्कोट मावीका हेडसर थिए । उनैले झलनाथ खनाललाई मास्टर बनाएर काठमाडौंबाट गल्कोट लगे । खनालले गल्कोटमा मालेको बिउ रोपे । केसी र खनालका फरकफरक स्कुलिङ बीच लामो संघर्ष भयो, त्यहाँ । पहिला केसी स्कुलिङ बलियो थियो, अहिले केसी स्कुलिङ कमजोर र खनाल स्कुलिङ बलियो भएको छ । त्यतिखेर डा.बाबुराम भट्टराई पनि मसाल पार्टी मै थिए । पछि माओवादी भए ।

२०४६ पछि केसी समूहले निर्वाचन बहिष्कार गर्दा डा.भट्टराईको जनमोर्चाले चुनाव उपयोग गर्‍यो । पछि मसाल र राष्ट्रिय जनमोर्चाले भाग लिँदा डा. भट्टराई बहिष्कारको नीति लिएर गल्कोटका गाउँगाउँ डुले । यी सबै कथाहरु गल्कोटेहरुलाई कन्ठस्थ छन् । त्यसैमा रमाएका छन् । तर भविष्यको कुनै दृरदृष्टि छैन । मसाल पार्टीको अहिले पनि बलियो प्रभाव छ गल्कोट उपत्यकामा । उनीहरु नयाँ शक्ति, नयाँ विचारबारे सीतिमिती छलफल गर्न समेत तयार हुँदैनन् । मसाल अखण्डतावादी पार्टी हो । संघीयता गल्कोटेहरुलाई मन पर्दैन । उनीहरुले अखण्ड बागलुङको आन्दोलन गरे । त्यसबापत गाल्कोटलाई के फाइदा भयो वा बेफाइदा कसैले बताउन सक्दैन ।

झन्डै नेपालजस्तै लाम्चो छ– बागलुङ जिल्ला । काँकरभिट्टामा नेपालको राजधानी राखेजस्तो ठाउँमा छ– बागलुङ बजार । दरमखोलादेखि निसीखोलासम्म मान्छेहरुको आवतजावत सिधै बुटबल र दाङतिर हुन्छ । तर, जिल्ला भने अखण्ड चाहिएको छ । गल्कोटेहरु वक्ताहरु सगौरव भन्दै थिए– बढो यत्नले हामीले बागलुङको अखण्डता जोगायौं । तर, त्यस बापतको उपलब्धी के हो ? सबै कन्फयूज्ड । भन्न त मिलेन, मनमनै गमे– गल्कोटलाई ब्यूझाउँन हुँदैन अहिले, गल्कोटलाई नोस्टाल्जिया नै प्रिय छ ।
गल्कोटबाट पश्चिम लाग्दा निक्कै भिन्न अनुभूति भइरहेको थियो । दरमखोलको सङ्ग्लो पानी, हरिया फाँट, सुन्दर घर, अग्ला डाँडा र मगर सभ्यताको सुगन्ध । गल्कोट नोस्टाल्जियाको ह्याङ्गओभर कतै बाँकी थिएन ।

मुसीकोटदेखि मुसीकोटसम्म
खरवाङमा प्रदेश ५ को टोली आइपुगेको थियो । कारण, लोकमार्गको रुटले नछुने गुल्मी छिर्नु थियो । खरबाङ र मुसीकोटको कार्यक्रम सकेर बुर्तिबाङ पुग्नु थियो, बास बस्न । बुर्तिबाङ ढोरपाटन राष्ट्रिय आरक्षण क्षेत्रको पर्यटकीय बजार रहेछ ।

बजार पुग्दानपुग्दै ढोरपाटन नगरपालिकाका मेयर देव सुनारबारे अनेक रमाइला कुरा सुनिन थाले । उनले मेयरको तलबभत्ता लिदैनन् । काठमाण्डौंको कुनै पाँचतारे होटलभन्दा ठूलो होटल बनाउँदैछन् बुर्तिबाङमा । दरबन्दी कम भएका स्थानीय सरकारी स्कुलहरुमा १७ जना शिक्षक निजी पैसाबाट तलबभत्ता दिने गरी राखेका छन् । प्रचण्ड आउँदा उनको निर्माणाधिन होटलको छतमा हेलीकप्टर ल्याण्ड गरिएको थियो । तर, गत स्थानीय निर्वाचनमा माओवादीले उनलाई टिकट दिएन । नामांकन गर्ने अघिल्लो दिन एमाले प्रवेश गरे । एमाले असाध्यै कमजोर पार्टी थियो बुर्तिवाङ क्षेत्रमा तर उनले जिती दिए । दलित समुदायका एक व्यक्तिको यो पौरखको कथा सुन्दा कतिकति रमाइलो लाग्यो । तर, मनमनै कुरा खेल्यो– त्यत्रो पैसा चाहिँ कसरी कमाएका हुन उनले ?


५ गते दिनभरि सम्पर्क भएन बाटो बुझ्न गएका साथीहरुसंग । साँझ प्रशान्त र गंगाजीसंग सम्पर्क भयो । साथीहरु हिउँ पर्ने क्षेत्रबाट बासबस्न निसीखोला फर्किएका रहेछन् । सबै गाडीले करिब १० किमी ६ फिट हिउँ छिचोल्ने कुनै संभावना देखिएन । डा. भटटराईको गाडीसम्म कटाउन प्रशासन लागिपरेको थियो । डोजर अगाडि लगाएर हिउँ पन्छाउँदै गाडी छिराउने योजना बन्यो । तसर्थ, यात्राको टोली टुट्ने भयो । डा. भटटराई र प्रशान्तजीको गाडी त्यो बाटो बाट जाने । बाँकी गाडीहरु दाङको बाटो हुँदै मुसीकोट पुग्ने । ६ गते बिहानै बाटो फेर्नेहरु छुट्यौं । बुर्तिबाङ र निसीखोलाको कार्यक्रम सकेर डा. भटटराईको टोली हिउँको क्षेत्र काटेर लुकुम बास बस्न पुग्ने सल्लाह भयो । हामी बुर्तिबाङ फर्किएर गुल्मी मुसीकोटको बाटो लाग्यौं । हामीलाई पुग्नु थियो रुकुम मुसीकोट । अर्थात् आजको यात्रा मुसीकोटदेखि मुसीकोटसम्म ।

साथीहरु बीच केहीबेर गजलफसल भयो । प्रदेश ५ का संयोजक कमल खनालजीको भनाई थियो– रिडी हुँदै पाल्पा बुटबलको बाटो जाउँ, गाउँले बाटाहरुको भर हुँदैन । नवराज सुवेदीको भनाई थियो– इन्द्रगौडाबाट सिधै प्यूठान निस्कने । नवराज सर प्यूठानको मान्छे । स्थानीय बाटोहरुबारे जानकार मान्छे । हामी इन्द्रगौडाबाट इस्मा, धुर्कोट हुँदै सौतामारे चोक निस्कियौं ।
सौतामारे– ३ जिल्लालाई छुने चोक रहेछ । गुल्मी, अर्घाखाँची र प्यूठान । हामी प्यूठानतिर लाग्यौं । सौतामारे चोकबाट झिमरुकखोलको पुल बाघदुला पुग्दानपुग्दै ३ बज्यो । अब त डा. भटटराईलगायतका साथीहरुले हिउँ प्रभावित क्षेत्र कट्ने बेला भयो होला । बारम्बार फोन गरियो । कसैको फोन लागेन । मनमा एक किसिमको आतेस, चिन्ता र छटपटी हुन थाल्यो सबैको मनमा ।

४ बजेतिर सायद हामी भालुवाङ पुगेका थियौं, गोर्खा जिल्ला संयोजक ज्ञानेन्द्र कुमालले फोन गरे– ‘दाई हामी डा.सावको गाडीलाई पाती भञ्ज्याङसम्म पुर्‍याएर सबै साथीहरु फर्कियौं । त्यसउता हाम्रा दुईवटा गाडी, सडक विभागको डोजर र प्रहरीको गाडी मात्र छ । हिउँ कट्न एक घण्टा लाग्न सक्छ भन्ने कुरा छ । बुझदै गर्नुहोला ।’


त्यसपछि करिब २ घण्टा फेरि कसैको फोन लागेन ।

दाङ तुलसीपुर पुग्दा साँझ पर्‍यो । करिब ८ घण्टाको बाटो बाँकी थियो अझै । ७ बजेतिर गंगाजीको फोन लाग्यो । गंगाजीको भनाई थियो– ‘बढो मुस्किलले गाडीहरु हिउँबाट कटे । लुकुम पुग्न लाग्यौं । तपाईहरु लुमुकसम्म आउँदा ढिलो हुन्छ । लुकुमको कार्यक्रम हामी सकेर आउछौं । तपाईहरु रुकुमकोटसम्म आउनु होला ।’

सल्यानको कपुरकोट पुग्दा रातको ९ बजेको थियो । नवराज सरहरुको गाडीको टायर पञ्चर भयो । कपुरकोटमा १ घण्टा स्थानीय पसलेहरुसंग गफिएर बितायौं । थारमारे पुग्दा फेरि पानी पर्न र हिउँपात हुन थाल्यो । ठाउँठाउँ जोखिमपूर्ण थिए । गुरुजी निधाउलान् भन्ने डरले एकअर्कालाई हसाउने गरी गफिन्थ्यौं । पश्चिम रुकुमको मुसिकोट पुग्दा रातको २ बजेको थियो । त्यति रात, त्यो जाडो अमर ओलीजी पर्खेर बसेका थिए । हतारहतार सिरकमा घुस्रिएर निधाउने प्रयत्न गर्न थाल्यौं । अमरजी भन्दै थिए– ‘रुकुमकोटतिर डाँडामा हिउँपरेको खबर छ । भोलि त्यता जान सकिने हो की नसकिने हो ?’

(जनसंवाद यात्रामा सहभागी नेता तथा स्तम्भकार डम्बर खतिवडाको संस्मरणका केही श्रृंखलाहरु क्रमशः प्रकाशन गरिनेछ)

क्रमशः ….

यो पनि-

चिवा भञ्ज्याङ्ग-झुलाघाट डायरी-१

चिवा भन्ज्याङ्ग–झुलाघाट डायरी–२

चिवा भन्ज्याङ्ग–झुलाघाट डायरी-३

चिवा भञ्ज्याङ-झुलाघाट डायरी–४

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage