scheduleआइतवार आषाढ़ १ गते, २०७६

चिवा भन्ज्याङ-झुलाघाट डायरी–६

नदेखेको लुकुम, देखेको रुकुम
माघ ७ गते बिहान अबेरसम्म सुतिएछ । सबै साथीहरु तयार हुँदा ९ बज्यो । हामीलाई छुटेको यात्राको रुट समात्न रुकुमकोट पुग्नु थियो । डा. भट्टराईलगायत साथीहरु लुकुम, भूमे, क्राकीका तीनवटा कार्यक्रम भ्याएर १ बजेभित्र रुकुमकोट आइपुग्ने सल्लाह थियो ।

यी मध्ये सबैभन्दा ठूलो जनसहभागिता लुकुममा हुनेवाला थियो । बुर्तिवाङदेखि निसीखोला, हिउँपरेको लेक–पातीभन्ज्याङ र लुकुम । करिब ६२ किमी यात्रा फेरि छोडनु पर्‍यो । यसबापत करिब २० घण्टा बाटो घुम्नु पर्‍यो ।

हाम्रा गाडी चालक भाइ गोविन्द पौडेल बारम्बार मसंग गुनासो गर्दै थिए, ‘बाबुराम सरको गाडी पास हुँदा हाम्रो पनि भइहाल्थ्यो नि सर । ती ठाउँ फेरि जिन्दगीमा पुगिने हो कि नपुगिने हो ? घुमाई पनि यति धेरै पर्‍यो ।’ तर, यो गुनासोको कुनै अर्थ थिएन अब । व्यवधानहरु छिचोलिए । यात्रा फेरि ठीक ठाउँमा आयो । यही ठूलो कुरा थियो ।

रुकुमकोटका डाँडामा राती हिउँ परेछ । तर बाक्लो रहेनछ । अक्करेभीर र निर्जन लेकहरु छिचोलेर रुकुमकोट पुग्दा निक्कै ठूलो युद्ध जितेजस्तो भाव उत्पन्न भयो, मनमा । यी क्षेत्रहरु देख्दा प्रष्ट अनुभूति हुन्थ्यो– नेपालको भूगोल नै छापामार युद्ध अनुकुल छ । यो पनि एउटा कारण होला, अंग्रेजहरु हार्नु, नेपाल सधै स्वतन्त्र रहनु, त्यति ठूलो माओवादी युद्ध संभव हुनु ।

लुमुक निक्कै मौलिक प्रकृतिको मगर गाउँ हो रे । यो गाउँका घरहरु डाँडामा चेनजस्तो गरी बनेका हुन्छन रे । एउटा घरको छत अर्को घरको आँगन हुन्छ रे । ५०० बढी घरहरु यसरी नै जोडिएकाछन रे । मान्छे भन्थे– संसारमा यस्तो गाउँ लुकुम बाहेक कुनै छैन । सडक र आधुनिकताको प्रवेशसंगै सायद त्यो घर बनाउने शैली हराउने छ । संगसंगै संसारबाट एउटा विचित्र प्रकारको मौलिक दृष्य पनि हराउने छ । गंगाजीले खिचेर फेसबुकमा हालेको फोटो हेर्दा मान्छेहरुको यो वर्णन होकी जस्तो लाग्यो ।

लुकुम देखिएन । रुकुमकोट भने गज्जबले हेरियो, घुमीघुमी । हामी त्यहाँ पुग्दा उपेन्द्रलाल कामी लगायतका स्थानीय साथीहरु जनसंवाद कार्यक्रमको माइकिङ्ग गर्दै थिए । कमल ताल र वरिपरि धुपीसल्लाका बोटहरु । नीला जस्तापाताले छाएका घर । पर क्षितिजमा देखिने सिस्ने हिमाल । शहरीकरण शुरुवात हुनै लागेको ग्रामीण परिवेश । रुकुमकोट मलाई ‘मिनी मिरिक’ जस्तो लाग्यो । गोर्खालैण्डको मिरिक लेक धेरै ठूलो छ कमल तालभन्दा । तर, तालको वरिवरि सल्लाका बोटहरु मिरिककै जस्तो उभिएका छन् कमलतालको वरिपरि ।

रुकुमकोट क्याम्पसको मैदानमा जनसंवादपछि फेरि हामी मुसीकोट नै फर्कियौं । बाटोमा जिल्ला बाँडिएको ठाउँ परेछ । यात्राको परम्परा अनुसार ५ नम्बर प्रदेशबाट कर्णाली प्रदेश प्रवेश गरेको अवसरमा कमल खनाल र शरुण बाठामगरले छोटो भाषण गरेर हात मिलाए । टोली अब कर्णाली प्रदेश प्रवेश गर्‍यो ।

होमस्टेको बास
आजको बास फेरि मुसीकोट । हिजो राति होटलमा सुतेका थियौं । आज होमस्टे । मुसीकोट बजारकै छेऊको डाँडोमा एउटा सानो गाउँ । त्यहाँ गाउँलेहरुले होमस्टेको अभ्यास गर्दै रहेछन् । आजको बासमा हामी नवराज सुवेदी, रामरिझन यादव, स्थानीय शिक्षक साथी मोहन सर र मसंगै पर्‍यौं । घर थियो– गणेशबहादुर केसीको । केसीजी पनि पेशाले शिक्षक रहेछन् । उनी सिस्ने हिमाल क्षेत्रका बासिन्दा थिए । जिल्ला सदरमुकाम बसाई सरेर आएका थिए, यहाँ । विद्यार्थी उमेरदेखि नै एमाले समर्थक रहेछन् । रुकुमजस्तो जनयुद्ध घनघोर चलेको जिल्ला– तथापि उनी सधै एमाले नै भएर बसे । एमाले शिक्षक संगठनको जिल्ला सदस्य रहेछन् ।

रामरिझन सर वनस्पतिशास्त्रको प्राध्यापक । तर, सिस्नो देख्नु, खानु भाको थिएन । आजको खाना मकैको ढीडो, सिस्नो, गुन्द्रुक र भटमास मिसाएको झोल । सिस्नोको स्वाद उहिल्यै बिर्सिसकेको थिएँ मैले, जीवनमा पहिलोपटक खाएझैं भयो । रात अबेरसम्म गफिएर बस्यौं । रुकुमको भूगोल, जनजीवन, राजनीति र अर्थतन्त्रबारे मोहन सर र घरबेटी केसीजीबाट अनेक जानकारी पाइयो । ती मध्ये अधिकांश मेरा लागि बिल्कुल नयाँ थिए ।

कुरो बुझ्दा रुकुम पश्चिमको राजनीतिमा यतिखेर माओवादी नेता जनार्दन शर्माले बलियो पकड बनाएका रहेछन् । तर, उनको कार्यशैलीबाट एमाले धार सन्तुष्ट छैन । युद्धकालमा एमालेका युदुकुमार गौतम र कांग्रेसका हरिभक्त ओली माओवादीका तर्फबाट मारिए । त्यसपछि यी दुबै दलमा नेतृत्व रिक्तता छायो । त्यो ग्यापलाई जनार्दनले आफ्नो पक्षमा भरे । अहिले पनि एमाले र कांग्रेसमा भोटर छन्, लिडर छैनन् । बरु नयाँ शक्तिका शरुण बाठा मगरको राम्रो इमेज र स्थापित परिचय छ जिल्लामा । अमर ओली, प्रेमकुमार आचार्यले राम्रो परिचय र इमेज निर्माण गर्दै लगेका छन् । तर, पार्टीको संगठन विस्तार भइनसकेको कारण ठूलो जनमत नयाँ शक्तितिर आश्वस्त भइसकेको छैन ।

चौरजहारीको पानी अभाव
८ गते बिहान मुसीकोटमा २ वटा जनसंवाद भए । क्याम्पसमा विद्यार्थीहरुसंग र चोकमा खुल्ला जनसंवाद । दुबै कार्यक्रममा राम्रो उपस्थिति थियो । रुकुममा जुनस्तरको माओवादी स्कुलिङ्गको कट्टरता होला भनेर सोचेको थिएँ मैले– त्यो देखिएन । मानिसहरुमा नयाँ शक्ति पार्टीप्रति उत्साह थियो, उत्सुकता थियो ।

युद्धकालीन कम्युनिष्ट कट्टरताको पारो झर्दै र मर्दै गइरहेको प्रष्ट देख्न सकिन्थ्यो । त्यहाँको जनमतले प्रचण्ड, बाबुराम र विप्लव– यी तीन नेताहरुले समातेको फरकफरक बाटो, कस्को बाटो कहाँ पुग्ने हो, कुन सही सावित हुने हो, कस्लाई साथ दिए देश र जनताको हित हुने हो भनेर नियालिरहेजस्तो प्रतीत हुन्थ्यो । यसपालीको भोट भवितव्य हो– अन्तिम हैन, प्रचण्ड–जनार्दनको कार्यदिशाबारे रुकुमेलीहरु प्रष्ट र आश्वस्त भइसकेका छैनन् है भन्नेहरु थुप्रै भेटिए ।

बिहानको खाना मुसीकोटमा खाएर हामी चौरजहारीका लागि हिड्यौं ।

बाटोमा मयुर र पैसेरु नाचको पोशाक लगाएका महिला- पुरुषका टोलीहरु भेटिन्थे । कहाँ हिडेका होलान यी ? महोत्सवको माहौल रहेछ यता । मुसीकोटमा दिउँसो प्रादेशिक साँस्कृतिक नाँचहरुको प्रतियोगिता छ रे । सानीभेरी र जौरजहारीमा महोत्सव । यिनै मध्येका कुनै कार्यक्रममा हिंडेका होलान् ।

मुसीकोट छोड्ने बित्तिकै सानीभेरीको किनार भेटियो । हामी सानीभेरीको किनारैकिनार पश्चिम लाग्यौं । पूर्वमा सुनकोशीको किरारैकिनार हिडेको याद आयो । फरक यति हो, सुनकोशी पूर्व लाग्छ, सानीभेरी पश्चिम । बाटोमा सानीभेरी महोत्सवका आयोजकहरुले टोलीलाई केहीबेर रोके । प्रदेश मन्त्री र सांसदहरु आएको थिए रे त्यहाँ कर्णाली प्रदेशका । उनीहरु डा. भट्टराईसँग बातचित गर्न लागे ।

मैले एक स्थानीयसँग परिचय गरे । उनी कृषि सेवाकेन्द्रका कर्मचारी टिकाराम गिरी रहेछन् । स्थानीय भूगोल र जनजीवनबारे छोटो जानकारी मागे । उनले भने– यहाँबाट ५ किमी अगाडि रिम्ना दोभान छ । त्यहाँ सानी भेरी र ठूली भेरी मिल्छन् । एउटै भेरी नदी हुन्छ । छेडीगाड जाजरकोटतिर बाट आउँछ,त्यो मिसिएपछि भेरी झनै ठूलो हुन्छ । उ त्यो पारी डाँडा– माओवादी जनयुद्धकालमा छापामारको तालिमकेन्द्र थियो, त्यो मौलाधारा हो । अहिले पर्यटकीय हिसाबले गुरिल्ला ट्रेल बनाउने प्रयास भइरहेको छ । नभन्दै केही हिडेपछि रिम्ना दोभान आयो ।

गाडी रोकेर फोटो खिच्ने काम भयो । मैले पनि रिम्ना दोभानको फोटो फेसबुकमा पोष्टिदिए ।

अब भेरी एउटै थियो– न सानी न ठूली । भेरी पारिपट्टी जाजरकोट खलंगा देखियो । पश्चिमा प्रशासनिक एकाइ बसको ठाउँलाई खलंगा भनिनेरहेछ । पूर्वको थुम, गौडा, गढी वा कोट भनेजस्तो । यहाँका केही जिल्ला सदरमुकामको नामै खलंगा । जस्तै– रुकुम खलंगा, जाजरकोट खलंगा, सल्यान खलंगा, प्यूठान खलंगा आदि । जौरजहारी पुग्दा तीन बज्न लागेको थियो ।

चौरहजारी भेरीकिनारको ठूलो फाँट रहेछ । बढो गज्जबको ठाउँ । अन्यत्रभन्दा फरक तर एकै प्रकारका घरहरु । पहाडको बीचमा हैन, चुरोफेदीको कुनै बाक्लो गाउँमा पुगेजस्तो भान हुने । मानौं कि यो सिन्धुलीको भीमान वा हेडौडा छेऊको अमलेखगञ्ज गाउँ हो । चौरजहारीको पिपलचौतारोमा जनसंवाद सकिँदा झमक्कै साँझ पर्‍यो । आजको बास प्रेमकुमार आयार्यको घरगाउँमा थियो ।

नयाँ शक्ति पार्टीका यो क्षेत्रका उदयमान नेता हुन्– प्रेम । लामो समय नेविसंघको राजनीति गरेका थिए उनले । पछि पेशाव्यवसायतिर लागे । नयाँ शक्ति बनेसंगै यसका संस्थापक छन् । गत निर्वाचनमा प्रदेशसभाको सदस्य उम्मेद्वार थिए । प्रेम जाजरकोटदेखि दैलेखसम्म हाम्रै गाडीमा गएका थिए । यो क्षेत्रको राजनीति र जनजीवनबारे उनीबाट धेरै कुरा सुन्न बुझ्न पाइयो ।

तर चौरजहारीका केही दूर्भाग्य रहेछन । यदि सुन्दर ठाउँ,यति राम्रो कृषियोग्य फाँट, विकासमा किन पछाडि छ ? मुख्य कारण देखिए– पानी, बाटो र पूल । जौरजहारी भेरीको किनारमा छ तर, पानी व्यवस्थापन र सिंचाइको कुनै योजना छैन । खानेपानीको समेत उत्तिकै अभाव । हरेक घरका अगाडि पानी संचय गर्ने ट्यांकी, ड्रम र गाग्रीहरु । भेरीको पानी बोकेर व्यवहार चलाउनु पर्ने । नत सल्यानतिर, नत छिन्चुतिरबाट मोटर बाटो पूर्ण भएको छ ।

ठीक भेरी पारी छ– जाजरकोट छिन्चु कालोपत्रे मार्ग तर भेरीमाथि पुल छैन । भेरीको मलेट पुल बन्ने बित्तिकै १० मिनेटमा जाजरकोट खलंगा पुग्न सकिन्छ । त्यो एउटा पूल नहुँदा सल्यान नेटा, सल्लीबजार,राकम हुँदै ६ घण्टा घुम्नुपर्छ । १० वर्ष भयो रे पुल ठेक्का भएको । जुन गतिमा बन्दै छ, त्यो पुरा हुन अरु १० वर्ष लाग्छ । एउटा सामान्य पुल बन्न २० वर्ष लाग्ने देशमा कहिले होला समृद्धि ?

९ गते बिहान डा. भटटराई लगायतको टोली हिडेर झोलुङ्गे पुलतरी जाजरकोट जाने कुरा भयो । तर गाडीहरु लानै थियो । १० मिनेटको बाटो ६ घण्टा घुम्न हामी बिहान ४ बजे उठेर हिड्यौं । तैपनि हामी पुग्दा जाजरकोट खलंगाको कार्यक्रम सक्किसकेको थियो ।

उदास जाजरकोट
जाजरकोट मैले टेकेका, देखेका जिल्लाहरुमध्ये सबैभन्दा कमजोर, निरीह र उदास पाए । भेरी तर्ने बित्तिकै मगर सभ्यता र संस्कृतिको क्षेत्र समाप्त भयो र प्रारम्भ भयो– प्राचीन खस राज्यको क्षेत्र । भेरीदेखि महाकालीसम्मै यहाँ कुनै मंगोल जनजातिको जनसंख्या शुन्य बराबर छ । दलित र बाहुनक्षेत्री मात्र छन । उपल्लो हिमाली क्षेत्रमा तिब्बती मूलका लामाहरु छन् । नत्र एकछत्र खसहरु । तर, गरिबी र अल्पविकासको यहाँभन्दा टिठलाग्दो दृष्य नेपालका अरु भागमा सायदै पाइएला । त्यसमा पनि जाजरकोट मानवीय विकासका हिसाबले झनै कमजोर जिल्ला रहेछ ।

जाजरकोट खलंगाबाट सुयडा जाने बाटो छेडीगाड नदीको किनार हुँदै पश्चिम लाग्यो । भक्तबहादुर शाहका अनुसार यहाँनेर मध्यपहाडी लोकमार्गको ट्रयाक खुल्नै बाँकी छ । हामी अर्कै स्थानीय बाटो हुँदै गइरहकेका थियौं । मध्यपहाडी लोकमागको ट्रयाक निर्माणमा व्यापक भ्रष्टाचार भएको छ रे । फिल्डमा कतै नदेखिने, नभेटिने बाटो कागजमा जाँचपास भइवरी भुक्तानी भएको छ भन्ने स्थानीयहरुको गुनासो थियो । अझै नेपालमा त्यो खालको नग्न लुट हुँदोरहेछ । कठै, नेपाल ।

जाजरकोटका पाखाहरु सुख्खा र अनुर्वरजस्ता लाग्थे । खलंगा छोडेर कतै एउटा पक्का वा जस्ताले छाएको देखिएन । रातो माटोका डाँडाहरुमा टाँसिएजस्ता रातो माटोकै दलान, भित्ता र ढुंगे छाना भएका घरहरु । पातुलो बस्ती । जजारकोटको उत्पादनले मुश्किलले ३ महिना मात्र खान पुग्छ रे । अधिकांश युवा जनशक्ति गाउँमा बस्ने भनेको ३ महिना मात्र हो । असोज, कार्तिक मंसिर । दशैंतिहार त्यतिखेरै मानिने भो । बाँकी ९ महिना भारतको कुनै शहरमा रोजगारीका लागि जान्छन् । मुख्यतः लखनउँ, गोरखपुर, दिल्ली, मुम्बई, देहरादुन, नैनीताल, पञ्जाब, हरियाणा, गोवा, कर्नाटका र केरला । गत बर्ष मुम्बई जाँदा यो यथार्थ आफैले राम्ररी बुझ्न पाएको थिएन मैले । यस भेगका थुप्रै नेपाली कामदारहरु भेटेको थिए त्यहाँ । नेपालका शहरमा काम गर्नु भन्दा भारतीय बजारमा श्रम बेच्नु फाइदा छ । त्यहाँ कम्तीमा १० हज्जार भारु पाइन्छ । नेरु १६ हज्जार भयो । नेपालमा यतिका पैसा ठीकैको जागिर बराबर भयो ।
जाजरकोटेहरुको जीवनपद्धतिमा आधुनिकताको छनक देखिँदैन । लवाईखवाई वाटै विचित्रको अभाव र पिछडापनको अनुभूति हुन्छ, त्यो पक्कै त्यहाँको संस्कृति हैन होला ।

२ बजेतिर हामी दशेरा भन्ने ठाउँ पुग्यौं । त्यहाँ त्यो दिन लोकप्रिय मावीको बार्षिक उत्सव तथा अभिभावक दिवस रहेछ । डा. भट्टराईलाई कार्यक्रमको प्रमुख अतिथी बनाउने सल्लाह भएको रहेछ । क्यामेरामा नअटाउने भीड । छक्क परे । अभिभावक दिवसमा यत्रो भीड मैले तराईमा पनि कहिल्यै देखेको थिइन । वरिपरि आँखाले भ्याउजेल हेर्दा मुश्किलले १०० घर देखिँदैनन् । यतिको मान्छे चाहिँ कहाँबाट आए ?

सोधेँ, थाहा भयो– यी मान्छे टाढाटाढाका गाउँबाट ५ घण्टासम्म हिडेर आएका छन् रे । स्कुलको बार्षिक उत्सवसंगै डा. भट्टराईलाई हेर्ने, सुन्ने आकांक्षाले भेला भएका हुन रे । फर्किर जान ५ घण्टासम्म लाग्छ रे । राती ९–१० तिर पुग्दा हुन उनीहरु फर्किएर । भीडको बीचमा एकजना युवासंग चिनचान गरे । नाम बिर्सेँ, थापा थरका थिए उनी । मैले पूर्वतिरको मान्छे भनेँ । उनले भने– मेरो पनि एउटा दाई पुलिसमा छ । पाँचथर पुगेको बेला लिम्बुनी भाउजू ल्यायो । झापामा घडेरी किनेको छ रे । ऊ फर्किंदैन होला जाजरकोट । दाईलाई भेट्न पूर्व जानु पर्ने छ ।

उनी भन्दै थिए– ‘क्यार्ने सर । यस्तै छ जाजरकोट । आफ्नो ठाउँ हो, माया लाग्छ । यहाँका मान्छे कमाउन मात्र इन्डिया जाने हुन । बसाइँ जाने चलन खासै हुन्न यहाँ ।’

गुराँसको जंगलमा
कार्यक्रम सकिदा दशेरामै झमक्क साँझ पर्‍यो । स्थानीय साथीहरुसँग बुझ्दा यहाँ बासका लागि पर्याप्त घर होटल नहुन सक्छन् । साथीहरुले आफ्नै तरिकाले गाउँतिर बास खोज्नु भए राम्रो हुन्छ भन्ने कुरा आयो ।

‘अगाडि आउँ, जहाँ ससानो बजार पाइएला, त्यही बस्नु पर्छ’ भन्ने प्रस्ताव ल्याए भीम श्रेष्ठ भाइले । हामी हिड्यौं । कति अगाडि बढे कहाँनेर बास पाइएला, हामीलाई थाहा थिएन । अगाडि सुयडा भन्ने ठाउँ छ, त्यहाँ बास पाइन सक्छ– स्थानीयहरुको भनाई थियो ।

करिब १ घण्टा गाडीमा हिडेपछि सानो बस्ती भेटियो, त्यही रहेछ सुयडा । यहाँसम्म सुर्खेतबाट बस आउँदो रहेछ । स्थानीयहरुले आफ्नै घरबाट होटल लजजस्तो सेवा दिन थालेका

रहेछन् । बास पायौं । बिहान उठेर हेर्दा गाउँ त गुराँसको जंगलबीचमा रहेछ । वरिपरि गुराँसै गुराँस । गुराँसको बोट नदेखेको हैन । गुराँसको जंगल नदेखेको हैन । तर, गुराँसकै जंगलबीच घर र एक रातको बसाई । गज्जबको संयोग थियो । यहाँ आइपुग्दा बाँकी संसारबाट बिल्कुलै टुटेको एक यात्रीजस्तो लाग्यो आफूलाई । गुराँसको बोटमुनि एउटा फोटो खिँचे र फेसबुकमा पोष्टिदिए ।

डम्बर खतिवडा

दुल्लु दूर्भाग्य
१० गते दैलेख प्रवेश गर्‍यौं । यही सुयडाको डाँडो रहेछ जाजरकोट र दैलेखको सीमाना । दैलेखको पहिलो कार्यक्रम वेस्तडामा थियो । दोस्रो– दैलेख सदरमुकाममा । दैलेखको कार्यक्रम सकेर दुल्लु लाग्ने बेला गंगाजीको फोन आयो– ‘तपाई त्यो गाडी छोड्नुस, त्यसमा बीरेन्द्रजी जानुपर्ने भो, हाम्रो गाडीमा आउनुस् ।’

बीरेन्द्र श्रेष्ठ– यो यात्रा टोलीका आधिकारिक फोटोग्राफर । उनले मूल टोली र मूल कार्यक्रमहरु छोडन् मिल्दैनथ्यो । वागलुङमा छुटेको टिममा म दैलेख पुगेर फिर्ता भए ।

साथीहरुले एक रात टिमबाट छुटेर नुवाईधुवाई गर्ने योजना बनाउनु भएको रहेछ । अझ रमाइलो कुरा– आज गंगाजीको ५० औं जन्मदिन, प्रशान्त, रमेश र मनोजले जन्मदिन सेलेव्रेसन गर्ने योजना बनाएछन् । प्रशान्तजीको भनाई थियो– आफ्नो जिउ अरुलाई गन्हाएर खासै फरक पर्दैन, जब आफैंलाई गन्हाउन थाल्छ, समस्या भइसक्यो भनेर बुझ्नु पर्छ । हामीले धेरै दिनदेखि नुवाउने अवसर पाएका थिएनौं । म त पोखराबाट हिड्ने बिहान देवी दाईको होटलमा नुहाएदेखि नुहाएको थिइन ।

एक स्थानीय होटलमा रुम लियौं । मस्त तातो पानीमा नुवायौं । गंगाजीको जन्मदिनको केक काट्यौं । मस्त सुत्यौं । भोलिपल्ट बिहान उठ्दा शरीर चंगा भएको थियो । अरु सबै साथीहरु दुल्लु गएर बास बसेका थिए । ११ गतेका कार्यक्रमहरु दुल्लु वरिपरि थिए । धेरै बाटो काटनु थिएन आज ।

दैलेख र दुल्लु दुईवटा डाँडा रहेछन् । बीचमा ज्वालादेवीको मन्दिर । एउटा उखान सुनियो यहाँ– ‘दुल्लुका उल्लु, दैलेखी चोर ।’ स्थानीय बासिन्दालाई हियाउने यस्तो उखान बोल्न मलाई त डर लाग्यो । तर, यहाँका मान्छेहरु आफै भन्दा रहेछन् ।

दुल्लु सिंजाराज्यको हिउँदे राजधानी थियो । अनेक ऐतिहासिक स्तम्भ छन् यहाँ । दैलेखभन्दा अगाडि रहेछ दुल्लु विकासमा, सभ्यतामा, इतिहासमा । जब जिल्ला बन्यो दैलेखीहरुले राती आएर अड्डा चोरेर लगे । दुल्लुबासी निधाए, उल्लु भए । अडड दैलेखीहरुले चोरेको चोर्‍यौ पारे । अब विकास उतै गयो । दैलेखमा राम्रो नगर बनेको छ । दुल्लु शिथिल र सुक्दो छ ।

यो अडड चोरीको कथा अन्यत्र पनि सुनिएकै हो । रामेछाप र मन्थली बीच यही भएको थियो । बाग्लुङ र गल्कोट बीच यही भएको थियो । लुमुक र रुकुमबीच यो झगडा जारी छ अहिले पनि । प्रशासनिक केन्द्रमा विकासको भविष्य खोज्नु पर्ने, कठै ! हाम्रो विकास मोडेल ।

तर, दुल्लुको दूर्भाग्य जिल्ला सदरमुकाम चोरी हुनु मात्र हैन । यहाँको सबैभन्दा समस्या त गुठी रहेछ । यहाँको ७५ % प्रतिशत जमिन गुठीमा छ । किसानको नाम मोहीको महलमा लेखिएको हुन्छ । न बैंकले धितो स्वीकार गर्छ न जग्गा किनबेच नै हुन सक्छ । दुल्लुको विकास यही कारणले दाम्रिएको छ । स्वामित्वको समस्या हल नहुने भएपछि बाहिरबाट ठूला लगानीकर्ता आउँदैनन् । दुल्लुबासीले बारम्बार आन्दोलन गरे । कुनै सरकारले हल गरेन यो समस्या ।

यो यात्राको क्रममा थाहा भयो गुठी अझै नेपालको ठूलो समस्या रहेछ । बारम्बार यो समस्या सुन्नु पर्‍यो । पूर्वमा लेगुवाघाट र हलेसीमा । बीचमा खुर्कोट र आँखुखहरेमा । यहाँ दुल्लुमा । दुल्लुका मेयर घनश्याम भण्डारी भन्दै थिए– ‘यो नगरपलिकाले ७५% जमिनमा मालपोत वा एकीकृत सम्पतिकर उठाउँन पाउँदैन । बार्षिक आन्तरिक आम्दानी जम्मा ३२ लाख छ । गाउँगाउँमा सिंहदरबार पुर्‍याइयो भनेर मात्र के हुन्छ ?’

अर्का एकजना वडाअध्यक्षको चर्को आक्रोश थियो– ‘हामी पनि देशका मान्छे हौं भने यो गुठी समस्या अबिलम्ब हल गरियोस् । अहिले हामीलाई अरु केही चाहिएन । सडक पनि चाहिएन, गाउँगाउँमा सिंहदरबार पनि चाहिएन । जब आफ्नै घर भएको जमिन आफ्नो छैन, बाँकी संसार तिम्रो हो भन्दिएर मात्र के हुन्छ ?’

दुल्लुपछिको जनसंवाद जम्मुकाँध र वस्तकोटमा भयो । वस्तकोट नयाँ शक्ति पार्टीका जिल्ला संयोजक होमबहादुर कार्कीको गाउँ रहेछ । यहाँका वडाध्यक्ष थिए– नारायण रेग्मी ।

नेपाली कांग्रेसबाट जितेका । उनी भन्दै थिए– ‘पहाडमा मान्छेलाई बास दिनु ठूलो पून्यको कुरा हो । बास दिए गोरु जोतेको पाप कट्छ भन्ने विश्वास छ यहाँ । आफ्नो सन्तान जोतेको देखेर गोमाताको चित्त दुख्छ । गोमाताको चित्त दुखाएको पाप काट्न मान्छेलाई बास दिन पर्छ भन्थे मेरा पुर्खाहरु । मेरो बुबाले ३ पटक यहाँ बडाध्यक्ष जित्नु भो । म काठमाण्डौं बसेर पढेको मान्छे । नामांकनको अघिल्लो दिन आएर पनि चुनाव जिते । पुर्खाको त्यही पुन्यले कांग्रेसलाई यो वडामा जिताएको छ । अरु सबै कम्युनिष्टले जितेका छन् । एमाले र नेमकिपाले ।’

आजको बास उनकै वडाका घरहरुमा छरिएर बस्यौं ।

संगठनको विरासत विचित्रको हुन्छ नेपाली राजनीतिमा । २०५१ अघि नेमकिपा दैलेखको सबैभन्दा ठूलो पार्टी थियो । नेमकिपा राष्ट्रिय राजनीतिमा संकुचित हुँदै गयो । तर, अझै केही वडाहरु जितेको रहेछ दैलेखमा ।

(जनसंवाद यात्रामा सहभागी नेता तथा स्तम्भकार डम्बर खतिवडाको संस्मरणका केही श्रृंखलाहरु क्रमशः प्रकाशन गरिनेछ)

क्रमशः ….

यो पनि-

चिवा भञ्ज्याङ्ग-झुलाघाट डायरी-१

चिवा भन्ज्याङ्ग–झुलाघाट डायरी–२

चिवा भन्ज्याङ्ग–झुलाघाट डायरी-३

चिवा भञ्ज्याङ-झुलाघाट डायरी–४

चिवाभञ्ज्याङ-झुलाघाट डायरी-५

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob