scheduleबिहिवार बैशाख १२ गते, २०७६

राष्ट्रवादी हिस्टेरिया

वासुदेव थापा

मानिस स्वभावैले सामाजिक प्राणी हो । कुनै सनकी व्यक्ति कन्दमुल खाएर एक्लै जंगलमा जीवन बिताउन सक्ला तर उसको सर्वाङ्गीण विकास सम्भव छैन जसका लागि समाज नै चाहिन्छ । यसका साथमा मानवीय मूल्य मान्यता, संस्कार, सभ्यता, आचार व्यवहार समेत समाजका हरेक सदस्यको अनिवार्य तत्व हुन् । यिनको अभावमा समाज रुग्ण, निरस र अमानवीय चरित्रको बन्छ ।

मानवीय सम्वेदना, भावनात्मक सम्बन्ध जस्ता विषयको समुचित विकास समेत समाजमै हुन्छ । मानिस चेतनशील प्राणी भएकोले मानव मात्रै होइन आम प्राणी रक्षाको बारेमा समेत लाग्नु पर्ने दायित्व छ । यी कुराहरू नहुने हो भने अन्य प्राणी र मानवमा के कुरामा भिन्न हुन्छ र ? मानव वंश पनि पशु जीवनबाट विकास हुँदै आएर सभ्य मानव बनेको हो त्यही कारण मानवमा पशुत्व भाव हुन्छ । पशुत्व भावले जितेका बेलामा अमानवीय क्रियाकलाप गर्दछ । मानवीय भावले जितेका बेलामा असल धार्मिक क्रियाकलाप गर्दछ । अर्को मानिसलाई चोट लागेको बेलामा आफुलाई पनि त्यसको मर्म वा सम्वेदना जागृत हुनुपर्छ । यस्तो अवस्थामा उल्लास, हाँसो खुसी मनाउने कुरा अमानवीय हर्कत नै हुन् ।

मानिस जन्मने बेलामा अति सामान्य केही पनि नलिईकन जन्मिन्छ । पछि त्यसकालाई धर्म नामको सम्प्रदायको सदस्य बनाइन्छ, जातको सदस्य, राष्ट्रको सदस्य, यो पद, यो विचार यावत कुरा जोडेर मानिस मेरो पहिचान भन्छ । यी सबै वस्तु पछि जोडिन आएका मात्रै हुन जुन मानवीय भाव र सम्वेदनासँग कुनै अर्थ राख्दैनन् । यी अरु माथि तुजुक देखाउने, वा तिनको शक्ति दुरुपयोग गरेर हैकम लाद्ने प्रपञ्च हुन् ।

बरु प्रेम, सदभाव, करुणा, माया जस्ता कुरा मानव मनमै उब्जने कुरा हुन । यी विषयबाट मानिसले आफ्नो परिचय बनाउन सक्नुपर्छ । संसारका सबै मानिस अत्यन्तै प्रेमी र करुणामय भए के को फरक देश र धार्मिक सम्प्रदाय चाहिन्छ र ? मानिसमा सामान्य विषयमा अति सनकी र पागलपना देखाउने प्रवृत्ति हुन्छ । धार्मिक सम्प्रदाय, राष्ट्र वा जातको नाममा मानिस आफैं बम बनेर पड्किन तयार हुन्छ यो चरम स्थितिको हिस्टेरिया हो । पछिल्लो चरणमा झन यस्ता प्रवृत्ति हावी भएका छन्, शक्तिशाली भएका छन् ।


पछिल्लो अमेरिकी राष्ट्रपतिको निर्वाचनमा डोनाल्ड ट्रम्पको मुख्य एजेण्डा मेक्सिकोको सिमानामा पर्खाल लगाउने थियो । यो उग्र राष्ट्रवादको नाराले धेरै स्वेत अमेरिकीको भोट तान्न सफल भए । जुन काला जाति विरोधी नश्लवादी मत हो । मेक्सिकोको सिमा क्षेत्रबाट अमेरिकामा हुने विविध घुसपैठलाई बन्द गर्नैपथ्र्यो तर यसको मतलब आजको सभ्य मानव युगमा पनि पर्खाल लगाउनु अमानवीय चरित्र हो । जुन चरित्र ट्रम्पले प्रदर्शन गरिरहेका छन् ।

हालसालै भारत पाकिस्तानको सम्बन्धमा चिसोपना मात्रै होइन भयानक युद्ध नै हुने पो हो कि भन्ने परिस्थिति सृजना भयो । यो आफसेआफ वा स्वतःस्फुर्त रूपमा बनेको परिस्थिति हो कि नियोजिक वा प्रायोजित परिस्थिति हो ती दुई देश नै जानुन् ।

भारतीय लोकसभाको आम निर्वाचनको संघारमा यो परिस्थिति सृजना हुनुलाई स्वयम् भारतीय विश्लेषकहरूले अर्थपूर्ण रूपमा लिएका छन् । जसलाई वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको यस पटकको निर्वाचनमा गतिलो विकाउ हुने नारा नभएपछि आफु भयङ्कर ठूलो राष्ट्रवादी बन्नका लागि सृजना गरिएको नाटकका रूपमा बुझेका छन् । पाकिस्तानको जंगलमा १२ वटा सैन्य विमानद्वारा गरिएको बम वर्षाबाट चार सय जना आतङ्कवादी मारिए भनी हल्ला पिटियो । जसमा देशव्यापी रूपमा राष्ट्रवादका चर्का नारा लागे ।

यसमा भारतीय मिडियाहरू झन अति राष्ट्रवादी देखिन थाले । पाकिस्तान विरोधी गतिविधि वा सामग्री पस्कन थाले । यी विचमा पाकिस्तानमा बन्दक भएका पाइलटलाई दुई दिन भित्रमै पाकिस्तानले विना सर्त रिहा गरेर आफ्नो देशमा पठाइदियो । पाकिस्तानी प्रधानमन्त्री इमरान खानको जुन विशाल छाती र मानवीय भावना देखियो त्यसको तुलनामा भारतीय सत्तापक्ष र मिडियाहरू पूर्णतः अन्ध राष्ट्रवादी वा राष्ट्रवादी हिस्टेरियाले ग्रस्त देखिए । संसारभर अहिलेसम्म युद्ध बन्दीलाई ससम्मान दुई दिन भित्रै रिहा गरेको इतिहास पाइदैन । साँच्चै संसारले सिक्नैपर्ने पाठ पाकिस्तानले देखाएको छ । विरोधी देशका नागरिकलाई पनि आफ्नै नागरिक सरह घर पठाउनु निकै उच्च स्तरको कार्य हो । यति मात्र होइन हिन्दू धर्म विरुद्ध अभिव्यक्ति दिएका मन्त्रीलाई मन्त्री पदबाट मुक्त गराइयो । अनि पाकिस्तानमा हिन्दू विरोधी गतिविधि भैरहेको छ भनेर भारतले मच्चाउने हल्ला पूर्णतः सफेद झुट सावित हुन पुगेको छ । पाकिस्तानले सर्ब धर्म सम भावको व्यवहार गरेको प्रष्ट भयो ।

आज भारतले देखाएको बेमौसमी राष्ट्रवादी हिस्टेरियाले आफैंलाई लज्जाजनक स्थितिमा पुर्‍यायो । यस्तै खालको मौसमी राष्ट्रवादको चर्का कुरा हाम्रो देशमा पनि नउठ्ने होइन । चुनावका बेलामा, वा विशेष परिस्थितिमा यस्ता राष्ट्रवादी हिस्टेरिया सतहमा आउछ । जसले देशका आधासरो मानिसलाई अराष्ट्रवाद वा दलाल बनाउँछ । आफु चाहिँ अब्बल दर्जाको मानिस, आफु राज्यको सर्वाधिकार सम्पन्न अरु दोस्रो दर्जाका नागरिक सोच्छ र त्यही व्यवहार गर्छ । यो कुनै खास विचार दर्शन होइन अनावश्यक रूपमा मानिसलाई उत्तेजित बनाउने हिस्टेरिया मात्रै हो । जसले तत्कालका लागि केही स्वार्थ समुहलाई लाभ हुन्छ । दीर्घकालीन हित कसैलाई पनि गर्दैन ।

यस्तो उग्र राष्ट्रवादको लत परेपछि मानिस सम्वेदनाहिन, करुणाहिन, अमानवीय चरित्र हावी हुन्छ । यस्ता खालका जमान सृजना गर्दै जाँदा समाज र देश नै यस्तो होला तर यसबाट कसैले केही लाभ पाउँदैन । मेरो देश भनेर मरिमेटिरहँदा, मेरो प्रदेश, मेरो जिल्ला, मेरो गाउँ, मेरो टोल, मेरो परिवार, अनि मसम्म आइपुग्छ । यो चरम व्यक्तिवादी चरित्र हो । यो चरित्रले कसैले कसैलाई सहयोग, मद्दत, सदभाव राख्दैन दुनियाँ भाडमे जाय भन्छ । धर्म अन्धबेदी पनि यस्तै हुन्छ, मेरो धर्म, मेरो जात, मेरो वंश, मेरो परिवार मसम्म नै ल्याउँछ । यस्ता कुराले राजनीतिक खिचडी पकाउनेहरू एक दुई पटक त सफल होलान् तर यसले समाजलाई अत्यन्तै गलत दिशातर्फ लगिरहेको हुन्छ जसको परिणाम आफैंलाई सिध्याउँछ ।

पहिला आफ्नो धर्मलाई सबै भन्दा सर्वश्रेष्ठ ठान्ने, आफ्नो जातलाई सबैभन्दा प्रमुख ठान्ने उच्च जातीय अहंकार हावी भयो । अहिले आफैं मात्रै यहाँको रैथाने सोच्ने जनजातीय अहंकार पनि त्यत्तिकै हावी भैरहेको छ । यी दुबै सोच गतिला होइनन् । यस्ता खालको उग्र वा तुच्छ हिस्टेरियाग्रस्त हुन पुगियो भने समाज तहस नहस हुन्छ । यसबाट मुक्त हुन जरुरी छ । एउटै देशमा बसोबास गर्ने त्यही देशको नागरिक सबै बराबर हुन, सबै क्षेत्रमा बराबर अधिकार हुन्छ । कोही जातले, धर्मले वा कुनै भेग विशेषले सर्वश्रेष्ठ कहलिँदैन । सर्वश्रेष्ठ त असल गुण र विचार हुने हो । विचार महान व्यक्ति हुँदैमा सर्वश्रेष्ठ हुँदैन । ऊ असल पनि हुनुपर्छ । सामाजिक गतिविधिमा कहिल्यै सरिक नहुने मानिस जतिसुकै विद्वान भएपनि अर्थ हुँदैन । जुन विद्वता समाज हितका लागि प्रचुर मात्रामा प्रयोग हुन्छ तब त्यो आफैं उच्च हुन्छ कसैले उच्च बनाउनै पर्दैन ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob