scheduleबिहिवार भाद्र ५ गते, २०७६

चिवा भञ्ज्याङ–झुलाघाट डायरी–७

दैलेखको ठूलै गाउँ रहेछ, वस्तकोट । ढुंगा र माटोले बनेका पहाडी घरहरु । तर, जाजरकोटभन्दा फरक यहाँका अधिकांश घरहरु जस्तापाताले छाएका थिए । जाडोबाट बच्न दलिन र निदालसम्म सिनित्त रातो माटोले लिपिएका घर । ढोकाको आग्लो लगाएपछि जाडो छिर्ने कुनै चान्स थिएन ।

साँझ वस्तकोट स्कुलको मैदानमा जनसंवादको १२५ औं कार्यक्रम हुँदै गर्दा जाडो निक्कै तीखो थियो । स्थानीय कलाकारहरु देउडा गाउँदै कार्यक्रम लम्ब्याउँदै थिए । जाडोले कार्यक्रम छिटो सकिए हुन्थ्यो भन्ने लाग्न थालेको थियो । रातको बास कस्तो पर्ला भन्ने चिन्ता थियो नै । एउटा सानो कोठमा ५ जना घुस्रिएर सुत्यौं । अलिक साँघुरो त भयो, तर, जाडो भएन ।

१२ गते बिहान झिसमिसेमै उठेर हिड्यौं । निक्कै लामो बाटो छिचाल्नु थियो आज । साँझ पर्नुअघि अछामको मंगलसेन पुगेर कार्यक्रम गर्नु थियो, बास बस्नु थियो । हिजो साँझ बास बस्ने घर पुग्दा ९ बजेको थियो रातको । आज बिहान ५ बजे नै उठेर हिंडियो । बास दिने घरबेटीको अनुहारसमेत राम्रो हेर्न, चिन्न पाइएन । राती सोलरका चिमहरुको प्रकाश मधुरो थियो । बिहान आँगनबाटै बिदा मागेर हिड्यौं ।

करिब १ घण्टा गाडीमा हुइँकिएपछि थोरै उज्यालो देखियो । नदीको किनारमा दुईवटा स-साना चियापसल देखिए । गाडी रोक्यौं र चिया खायौं । अगाडिको बाटोबारे अन्यौल थियो । अगाडि तीनवटा बाटा थिए । कुन बाटो मध्यपहाडीको ट्रयाक हो, कुन बाटो सजिलो र छिटो राकम कर्णाली पुग्छ, कसैले राम्ररी बताउन सकेनन् । हामी झुक्कियौं । जे पर्ला, भीरको साँघुरो बाटोतिर लाग्यौं ।

बर्दियाका साथी विपीन पौडेल र डा. भटटराईको गाडीमा रहेका रोशन पोख्रेलको फोन आइरह्यो । बुझिन्थ्यो– हाम्रो गाडी मात्र हैन, सबै साथीहरु झुक्किएका थिए । कुन गाडी कुन बाटोबाट गए, यकिन भएन । अरु एकघण्टा हिडेपछि एउटा सानो बजार भेटियो ।

यो रामघाट बजार रहेछ । हिजो अगाडि बढेका दुई टोली साथीहरु यहाँ आएर बासका रहेछन् । कर्णाली करिडोरको बाटो आएर जोडिदो रहेछ यो बजारमा । यहाँबाट कालोपत्रे सडक भेटियो ।

डम्बर खतिवडा

कर्णालीको किनारैकिनार उत्तर हान्नियौं । यो कालोकोट हुँदै मुगु, हुम्लातिर जाने बाटो रहेछ । राकम कर्णाली भन्ने बजारमा पुगेर आजको पहिलो जनसंवाद गर्नु थियो । बजारमा पुगेर पर्चा र पुस्तिका बाँढ्यौं । केही बेन्च र कुर्सी खोजेर कार्यक्रम स्थल ठिक्क पर्‍यौं । तर, डा. भट्टराईलगायत अरु साथीहरु आईपुग्न निक्कै ढिलो भयो । बाटो भुलिएर अघिपछि गर्दा समय त्यसै खर्किएको थियो ।

सुदुर पश्चिम प्रदेशका साथीहरु कर्णालीको पुलपारी आएर पर्खिरहेका थिए । उनीहरु समय खर्किएकोमा चिन्तित थिए । आजै समयको चाप थियो । आजै सबैभन्दा सबेरै हिंडियो । तर, यति लामो यात्रामा आजैका दिन ढिलो पनि भयो । कालीकोटबाट एक गाडी साथीहरु आएर मिसिए । हतारहतार राकमका तीनवटा कार्यक्रमहरु सकेर हामी कर्णाली तर्‍यौं ।
फेरि उहाँ कर्णाली प्रदेशबाट सुदुरपश्चिम प्रदेशमा प्रवेश गरेको औपचारिकता । कर्णालीका पार्टी संयोजक रामबहादुर बोहरा र सुदुरपश्चिम प्रदेशका इन्चार्ज कृष्णकुमार चौधरीले छोटो भाषण गरी हात मिलाए । अब गाडीहरु हतारमा हुइँकिन थाले– हामीलाई अब यथाशिघ्र पुग्नु थियो, अछामको पञ्चदेवल, विनायक । मध्यपहाडी लोकमार्गको तयार हुन लागेको बाटो । लमजुङमाझैं सजिलो बाटो ।

अछामको अचम्म
अछाम जिल्लाको नामाकरणबारे दुई चर्चित किंबदन्ती रहेछन् । पहिलो– खस राज्यको राजधानी सिंजा उपत्यकामा रहेको हुँदा खस राजाहरुलाई सिंजापति भन्ने चलन थियो । कुनै पुस्ताका सिंजापतिले आफ्ना छोरीहरुको स्वयंवरको उर्दी गरेका थिए । संगसंगै पुराण लगाइएको थियो । मंगलसेनका एक पण्डितले एक अत्री गोत्री बाहुन युवालाई पुराणमा सहयोग गर्न लिएर गएका थिए । अरु सबै छोरीले क्षेत्रीय वर छाने । कान्छी छोरीले त्यही बाहुनलाई बर स्वीकार गरिन । त्यो त्यस समयको लागि अचम्मको कुरा थियो । पछि संजापति राजाले त्यो अचम्मको वर छान्ने छोरीलाई एउटा भिन्नै दरबार बनाएर ज्वाईलाई राज्य दिए । मंगलसेन दरबार र राज्य त्यसरी बन्यो । तिनै छोरीका सन्तानहरु अत्री गोत्री शाहहरु हुन्, जसलाई अहिले पनि अछामे राजाखलक भनिन्छ । अचम्मको वर छान्ने छोरीलाई दिएको राज्य हो– अछाम ।

दोस्रो किंवदन्ती अनुसार– कुनै हिन्दी भाषी व्यापारीले मंगलसेनको एक गाउँमा आँप टिपेर खाँदै भने– ‘अच्छा आम’ । त्यसैबाट अछाम भयो । कुन किंवदन्ती सही हो थाहा भएन– तर हाम्रो लागि अछामका कार्यक्रमहरु अचम्मसँग भव्य भए । पार्टीकी अछाम जिल्ला संयोजक पवित्रा तिम्सिना काठमाडौंदेखि नै अछाममा कस्तो होला भनेर चिन्तित देखिन्थिन् । पञ्चदेवल प्रवेश गर्ने डाँडोमा भेटिइन् उनी । मोटरसाइकलको पछाडि बसेर बढो व्यग्रतापूर्वक आफ्नो जिल्लाका कार्यक्रमहरुको तयारीको चिन्ता गरिरहेकी थिइन ।

विनायक र मंगलसेन– दुवै कार्यक्रमहरु राम्रो तयारीमा गरिएका ठूला आमसभा जत्रो थिए । नयाँ शक्ति पार्टीको संगठनात्मक क्षमता यति ठूला कार्यक्रम गर्न सक्ने गरी विस्तारित भइसकेको छैन, त्यहाँ । तर जनसंवाद यात्रा टोलीप्रति जनसुमदायमा अभूतपूर्व आकर्षण देखियो । स्वस्फूर्तरुपमा अछामे जनताहरु विनायक र मंगलसेन दरबार अगाडि भेला भएका थिए । यी दुवै कार्यक्रममा डा. भट्टराई लगायतका वक्ता साथीहरुले जनसंवाद यात्राको उद्देश्य र देशको अवस्थाबारे अलिक लामै भाषण गरे ।
मंगलसेनमा पवित्राले स्वागत भाषण गर्दै भनिन्– ‘आज मेरा हड्डी हाँसेका छन् ।’ पछि मैले सोधे–
‘के भनेको त्यो ?’
सुदुरपश्चिममा असाध्यै धेरै खुशी व्यक्त गर्न ‘हड्डी हाँसेको’ भनिँदोरहेछ ।

आजको बास मंगलसेन मै भयो । सबै चिज ठीक ढंगले चलिरहेको थियो । सुत्ने बेला पार्टी संरक्षक परिषद सदस्य तथा अछामका लागि अभियानभरि खट्न कैलालीबाट आउनुभएका साथी– खड्गबहादुर साउद भीरबाट लडेको खबरले सबैलाई चिन्तित बनायो । साथीहरुले राती नै बयलपाटा अस्पताल पठाएको खबर पाए । प्रारम्भिक रिपोर्टमा ठूलो चोट छैन भन्ने थाहा पाएपछि मात्र निन्द्रा लाग्यो । यति लामो यात्रामा हामीले अनेक जटिलताहरु सामना गरेका थियौं तर यतिका दिन त्यस्तो कुनै अशुभ घटना भएको थिएन । धन्य, खड्गजीलाई राती निक्कै अग्लो भीरबाट खसेर पनि ठूलो चोट लागेको थिएन ।

सदरमुकाम मै छाउगोठहरु
१३ गते बिहानै यात्रा अगाडि बढ्यो । मंगलसेनबाट बयलपाटा पुग्न करिब एकघण्टा लाग्दो रहेछ । गाडीहरु वलयपाटा अस्पातलमा रोक्यौं । खड्गजीको शरीर कक्रेको थियो तर हाँस्दै उनी हाँस्दै थिए । सामान्य उपचारपछि सँगै जान सक्छु भन्ने भाव देखियो उनको अनुहारमा । त्यहाँबाट हिड्यौं– अबको पुग्नु थियो साँफे बगर ।

साँफेबगरमा रोकियौं । साँफेबगरको सानो विमानस्थल, धनगढीबाट हप्तामा एक उडान हुन्छ रे । तथापि एयरपार्ट बजारको गौरव थियो, स्थानीय बासिन्दामा । यहाँ चियानास्ता गर्‍यौं । यहाँको कार्यक्रम स-सानो भयो । बिहानै भएर हुनसक्छ, जाडोमा मान्छेहरु खासै सल्बलाएका थिएनन् बजारमा । अछामबाटै मध्यपहाडी लोकमार्ग बाजुरा हुँदै बैतडीतिर लाग्छ रे । तर, सेती नदीमा पुल बनी नसकेको र ठाउँठाउँमा मोटर गुड्न योग्य ट्रयाक नभएकोले त्यो बाटो जाने सम्भावना थिएन । डोटी सदरमुकाम पुग्नु अघि साँझघाट भन्ने सानो बजार भेटियो । यहाँ स्थानीय कमिटी रहेछ, नयाँ शक्ति पार्टीको । अभियन्ताहरु रहेछन् । भेटभाट मात्र भनेर त्यहाँ रोकिएका थियौं । तर, जनसंवादको एक श्रृंखला थपिन पुग्यो ।

हामी पुग्दा सिलगुडी बजार सुनसान थियो । सिडियो कार्यालयको अगाडि गेटमा सेन्ट्री बाहेक चरोमुसो थिएन । पार्टी सचिवालय सदस्य दुर्गा सोब दिदीको गृहथलो हो, डोटी । साथीहरु– ‘आयो डोटी खायो रोटी, जाने बेला धोती न टोपी’ भन्दै जिस्किँदै थिए । दुर्गा दिदीले भनिन्– ‘हामी डोटेलीसँगै छौं है, अलिक होस गरेर बोल्नोस् ।’

दुर्गा दिदीले सिडियो कार्यालय अगाडिको थुम्कोबाट तलतिर देखाउँदै भनिन– ऊ त्यो तलको गाउँमा जन्मिएकी हुँ म । स्कुल पढ्न धनगढी गए । त्यसपछि काठमाडौं । दाङ बिहे भयो । अहिले काठमाडौं बसाई । स्थानीयहरु खासै चिन्दिन । यहाँ हाम्रो कार्यक्रमको खासै कोही स्थानीय आयोजक थिएन । बजारमा माइक घुमायौं । करिब १ घण्टा पर्खिदा एक सयजति मानिस चोकमा भेला भए । त्यही चल्यो, जनसंवाद ।

त्यसपछि नगरपालिकाले जनप्रतिनिधिसंग अन्तक्रिया राख्यो । महिला मेयर रहेछिन् यहाँ माला मलासे । उनी भन्दै थिइन्– ‘सदरमुकाम वरिपरिका गाउँ र वडाहरुमा मात्र करिब ३०० छाउगोठहरु छन् यहाँ । यहाँका पढेलेखेका, शिक्षित, धनी र शहरियाहरुमा पनि महिलाको शरीर र महिनाबारीबारे ठूलो भ्रम छ । छाउपडी संस्कृति यहाँको सबैभन्दा लज्जाको विषय हो । नगरपालिका मै यस्तो छ, गाउँतिर के हालत होला ?’

सुदुरपश्चिमका केही अन्धविश्वासहरु आश्चर्यजनक छन् बाँकी देशका लागि । लोकेन्द्रबहादुर चन्द र शेरबहादुर देउवा– देशले दुईदुई वटा प्रधानमन्त्री पाइसक्यो, त्यो क्षेत्रबाट, यति स-साना सामाजिक विकृति विरुद्ध किन आक्रमक अभियानहरु नभएका होलान् ? ताज्जबु लाग्छ ।

रन्थनिएको दिपायल
सिलगडीको कार्यक्रम सकेर दिपायल पुग्दा नपुग्दै पानी पर्न थाल्यो । सेती नदी तर्ने बित्तिकै फाँटिलो ठाउँ रहेछ, दिपायल । माथि डाँडोमा सिलगडी, तल फाँटमा दिपायल । यी दुई मिलेर बनेको रहेछ– सिलगडी दिपायल नपरपालिका । देश संघीय हुनु अघि सुदूरपश्चिम अञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम । अहिले पनि प्रदेशको नाम सुदरपश्चिम नै रहेका छन् कांग्रेस– कम्युनिष्ट मिलेर । तर, सदरमुकाम दिपायलमा छैन, धनगढीमा छ । कैलालीकै गोदावरी क्षेत्रमा प्रदेश राजधानी सार्ने भनेको छ, प्रदेश सभाले । यसले दिपायलको भविष्यलाई संदिग्ध बनाईदिएको छ । रन्थनिएका छन् दिपायलबासीहरु ।

प्रदेश सीमांकनको समय सुदुरपश्चिमका पहाडमा ‘सुप’ आन्दोलन चल्यो । कांग्रेसका बीरबहादुर बलायर र एमालेका प्रेम आलेले आआफ्नो पार्टीको संगठन यस काममा उपयोग गरे । उनीहरुलाई शेरबहादुर देउवा र भीम रावलको समर्थन थियो । माओवादीहरु विभाजित थिए । एक, त दोस्रो संविधानसभामा माओवादीको सीट घटेको थियो, अर्कोतिर त्यस क्षेत्रका प्रभावशाली माओवादी नेता लेखराज भट्ट ‘सुप’ आन्दोलनतिरै लागे ।

कैलालीका थारुहरुले कैलाली कञ्चनपुर टुक्राएर भारततिर गाभ्न खोजेको चर्को प्रचार गरियो पहाडतिर । थरुहट भिन्नै प्रदेश बने गोदावरीभन्दा माथि थारुहरुले नुन, तेल, चामल सबै रोकी दिने हल्ला पिटाइयो । अधिकांश पहाडबासीले थोरबहुत घडेरी किनेका हुन्छन्, कैलाली कन्चनपुरमा । उखान नै रहेछ– ‘माटीका गाँठ, हड्डीका गाड ।’

अर्थात् जग्गा जोडे धन हुन्छ, पशुपाले खोलामा लगेर बगाउने हो । ती जग्गा भिन्नै प्रदेश भए घडेरी भारततिर सित्तै जाने मनोवैज्ञानिक भय सृजना गरियो । यो कुरा दिपायलबासीले पनि पत्याए– ‘सुप’ आन्दोलनलाई साथ दिए ।

अहिले बुझ्दा यो अवधारणलाई साथ दिएवापत दिपायललाई झन बढी घाटा भएको छ । पहाडका ७ जिल्लाको एक प्रदेश हुन्थ्यो भने सायद प्रदेश राजधानी दिपायल मै हुन्थ्यो । जब प्रदेश राजधानी धनगढी सारियो पहाडमा मानिस झनै रोकिन छोडे । दिपायलमा होटल र लजहरुको अकुपेन्सी शतप्रतिशत थियो, अहिले ५०% भन्दा तल झरेको छ । मैले केही स्थानीयबासीसँग कुरा गरे, उनीहरु पछिल्लो घटनाक्रमबाट सन्तुष्ट थिएनन् । कांग्रेस कम्युनिष्टहरुले आफूहरुलाई गलत तरिकाले भट्काएको, सही ढंगले संघीयता र क्षेत्रीय विकासको अवधारणालाई बुझ्न नदिएको भावना उनीहरुमा विकास भइरहेको थियो ।

सम्भवत् यो पनि एउटा कारण थियो कि दिपायलबासीहरु डा. भटटराईको कुरा सुन्न उत्सुक थिए । बारम्बार पानी पर्दै, रोकिँदै गर्‍यो । साँझ पर्न लागेपछि बाध्य भएर कार्यक्रम शुरुवात गर्‍यौं । झरीमा भिज्दै सयौं मान्छेहरु जनसंवाद कार्यक्रम वरिपरि भेला भए । डा. भट्टराईले बढो प्रष्ट शब्दमा यो समस्यालाई छोइदिए– ‘संघीयतामा हरेक ठाउँ आफैमा एक केन्द्र हुन्छ । कोही नगिच हुँदैन, कोही सुदूर हुँदैन । सुदूर पश्चिम काठमाडौंले तपाईहरुलाई भन्ने हो । हिजो पंचायतले भनेको हो । त्यही नाम राख्नु थियो भने संघीयता किन चाहिएको थियो ? तपाईहरु खप्तडी होला, डोटेली होला, अछामी होला, अरु केही होला, तपाईहरुको आफ्नो पनि त कुनै पहिचान होला । अखण्ड सुप भन्नेहरुले प्रदेश राजधानी धनगढी लगे । दिपायललाई के फाइदा भयो ? आज न थारुहरु खुशी छन्, न पहाडीहरु खुशी छन् । तपाईहरु यस्तै मोडेलको संघीयतामा सन्तुष्ट हुनुहुन्छ भने मलाई केही भन्नु छैन, तपाईहरुको स्वतन्त्रता हो । तर, एक क्षेत्रीय विकास अवधारणाको विद्यार्थी र प्राक्टिसनरका रुपमा भन्छु, यो काम संघीयताको अवधारणासँग मिलेको छैन ।’

चिसो नगरका ताता मान्छे
आजको बास दिपायल मै पर्‍यो । १४ गते बिहान उठेर डडेलधुराका लागि हिड्यौं । यस बीचमा पनि बाक्ला बस्तीहरु रहेछन् । तर,साथीहरुले कार्यक्रम राखेका थिएनन् । आज बाटो धेरै काट्नु छ । बास बस्न बैतडी सदरमुकाम गोठालापानी बजार पुग्नु छ । दुईवटा मात्र कार्यक्रम छन् बीचमा– डडेलधुरा सदरमुकाम अमरगढी र बैतडीको पाटन बजार ।

यो क्षेत्रको प्रमुख स्थानीय भाषा डोटेल हो । ठाउँठाउँमा ट्राफिक नियम डोटेल भाषामा लेखिएका बोर्डहरु देखिन्थे । केही बोर्डहरु पढ्न खोजे । पढ्न त पढे, सम्झिन गाह्रो भो । जस्तो ‘जेन्तेई तेन्तेई हर्न जिन बजाया’ अर्थात् ‘जथाभावी हर्न नबजाउनु होस्’, ‘गाडीका माथामी यात्रा जिन बसाया’ अर्थात् ‘गाडीको हुटमा बसेर यात्रा नगर्नुस्’ आदि । तर, बैतडेली र अछामी भाषा डोटेल भाषाका उपभाषा जस्ता छन् । यही उपभाषिक मनोविज्ञानले यहाँका मान्छेहरुको मनोविभानलाई विभाजित गरेको छ ।

७ जिल्लाको प्रदेश र दिपायल राजधानी हुने हो भने डोटेली बर्चश्व बढ्ने ठान्छन्– अछामी र बैतडेलीहरु । सुप आन्दोलन प्रभावशाली हुनुको एउटा कारण यो पनि हो । डोटेली बर्चश्व बढ्नु भन्दा बरु कसैको नहोस्, राजधानी पनि मधेश नै जाओस्, भाषा पनि नेपाली नै रहोस् । यसरी बैतडी र अछामको उपमनोविज्ञानले डोटेली भाषा, सभ्यता र इतिहासमा आधारित संघीयताको अभ्यासलाई कुन्ठित गर्दिएको छ । कर्णालीमा सिञ्जा मनोविज्ञान छ । त्यही भएर उनीहरु प्रदेश ७ सँगसँगै रहन तयार भएनन् । तुरुन्तै आन्दोलन भट्कियो र भिन्नै कर्णाली प्रदेश बनाउन नेताहरु बाध्य भए ।

बिहान १० बजे अमरगढी पुग्यौं । डडेलधुरा बजारको बसपार्कमा उभिएर अपी र सैपाल हिमाललाई हेर्दा खोटाङको नुनथलाबाट सगरमाथा हेरेजस्तै लाग्यो । साँच्चै चिसो बजार डडेलधुरा । गंगाजी र म एउटा सानो पसलको छेऊमा उभियौं । त्यहाँ एउटा फुच्चे केटा थियो– पातुलो फिलफिले सर्ट लगाएर हाँसिरहेको । हामी जाडोले काँपेको देखेर डोटेलमा आफ्नो साथी भन्यो– ‘हामीलाई जाडो नाई, बाहिरका किन काम्या हुन् ।’ यस्तै केही । मैले उसले बोलेको ठीक बाक्य संझिन सकिन । भएभरका सबै लुगा लगाएर पनि हामी जाडोले काँपेको उसलाई स्वभाविक लागिरहेको थिएन ।

नयाँ शक्ति जिल्ला संयोजक लक्ष्मीकान्त पनेरु कोठाभित्र कार्यक्रम गर्ने कि भन्दै थिए । जनसंवादका अधिकांश कार्यक्रम खुल्ला सडकमा गर्ने सोच हो हाम्रो । डडेलधुरा बजारमा हामीले माइक बजायौं । केहीबेर मै मान्छेहरु झुरुप्प भए । स्थानीयहरुले केही प्रश्न राखे । करिब एक घण्टा डा. भट्टराईको प्रतिउत्त्तर भाषण चल्यो । ठीक अघिल्लो दिन मात्र कांग्रेस सभापति शेरबहादुर देउवालगायत शीर्षस्थ नेताहरु हेलीकप्टर चडेर नयाँ शक्ति निखार्न रसुवा पुगेका थिए र रित्तो हात फर्किएका थिए । त्यो झोंक अलिअलि छँदै थियो । डडेलधुरा बसपार्कमा उभिएर मैले एउटा फेसबुक स्टाटस हालेँ– ‘कांग्रेसी मित्रहरुले हिजो मात्र हेलिकप्टरमा रसुवा पुगेर नयाँ शक्तिबारे अनर्गल प्रचार गरेको भोलिपल्ट हामी पारदर्शी जनसंवादका लागि देउवाजीको गृहजिल्ला पुगेका छौं ।’

पक्कै डडेलधुरा चिसो नगर थियो । तर, यहाँका मान्छेहरु उत्तिकै न्याना र सहयोगी थिए । विशेषतः कांग्रेसहरु धेरै भएको जिल्ला । तर, सबैले डा. भट्टराई र नयाँ शक्तिप्रति सद्भाव देखाए । केही कांग्रेस समर्थकहरुले खुलेर पनि भने– ‘कांग्रेसले गरी खाला जस्तो छैन, कम्युनिष्ट हुन सकिँदैन । देशलाई एक लोकतान्त्रिक विकल्प चाहिँएकै छ । सानो छौं, भनेर हरेश नखानु होला ।’

बैतडीको कुरा
अमरगढीबाट हिंडेर करिब २ बजे बैतडीको पाटन बजार पुग्यौं । स्थानीय बाजा बजाएर भव्य स्वागत गरे पाटनबासीले जनसंवाद यात्रा टोलीको । यहाँका केही स्थानीय बाजाहरु पूर्वका पञ्चे बाजाभन्दा फरक थिए । धेरैवटा विनहरु एउटै कपडाको खलातीमा जोडेर बजाइने बाजालाई ‘माजोक बाजो’ वा यस्तै केही नाम भनेका थिएँ, बिर्सेको आवाज हामीले यात्रा प्रारम्भ गर्दाको च्याङथापुको च्याब्रुङसँग मिसिएजस्तो विचित्रको मधुर धुन अनुभूत भयो मलाई ।

पाटनको कार्यक्रम सकेर गोठालापानी हिंड्दा एकजना स्थानीय पार्टी अभियन्ता नरेन्द्र भट्ट थपिए हाम्रो गाडीमा । यो विचित्रको संयोग थियो– यहाँको भूगोल, जनजीवन र राजनीतिबारे हामीलाई जानकारी दिन थपिएको दूतजस्तो बने उनी । उनी निक्कै प्रखर, बौद्धिक र भद्र मान्छे थिए । यो क्षेत्रको बारेमा गहिरो ज्ञान थियो उनलाई । नरेन्द्र भट्टको विश्लेषणमार्फत बैतडीको मनोविज्ञान र कथाव्याथालाई बुझ्न खोज्यौं हामीले ।

महाकाली पारि भारतको– उत्तराखण्ड छ । यो क्षेत्रमा अधिकांश हुनेखानेका छोराछोरीहरु पढ्न पिथौरागढ, नैनीताल वा देहरादुन जान्छन् । बद्री केदार लगायतका मन्दिरहरु त्यही क्षेत्रमा छन् । संस्कृत भाषाको प्रभाव परेको हुन्छ, स्थानीय भाषामा । स्कन्द पुराणमा यो क्षेत्रको भूगोलको वर्णन पाइन्छ रे । बैतडी– शब्द वायु उत्तडबाट बनेको अनुमान गरिँदो रहेछ । त्यसको अर्थ हुँदो रहेछ– धेरै हावा चल्ने डाँडो ।

नरेन्द्रजी सुरनैयाका बासिन्दा थिए । उनले घनघस्याको कुरा निकाले । ‘घनघस्याको उकालो’ स्कुलमा पढेको तारानाथ शर्माको निबन्ध । उनी त्यहीका बासिन्दा थिए । गाडीको झ्यालबाट हामीलाई देखाउँदै भने– ‘ऊ त्यता पर्छ घनघस्याको डाँडो ।’ त्यसपछि घनघस्याको अर्थ लगाउन थाले– ‘कुनै समय एउटा गाउँले बन्चरो भनेर घन बोकी हलेन काट्न हिँडेछ ।’
‘हलेन’ भनेको के ? बुझिन मैले । सोधे । उनले भने– ‘हलो र जुवाको बीचमा एउटा लामो काठ हुन्छ नी, हल्लुड अड्काउने ।’
‘ए हरिश’ मैले भने ।


हो, त्यसलाई यता हलेन भनिन्छ । हरिश त यता मान्छेको नाम हुन्छ । रघुवंशी राजा हरिशचन्द्रबाट बनेको । उनी भन्दै गए– ‘डाँडोमा पुगेपछि उसले थाहा पायो बन्चरोको साटो घन लिएर गएछ । तर हलेन त बनाएरै फर्किनु थियो । उसले डाँडोको ढुंगामा घनलाई घसेर धार निकाल्यो । एक दिनमै ७ वटा हलेन काट्यो । घन घसेको डाँडो भनेर त्यसलाई घनघस्या भनेको हो ।’ रमाइलो लाग्यो ।

भट्टजीका अनुसार पारितिर हिन्दीभन्दा बढी गढवाली भाषा प्रयोग हुन्छ । गढवाल र डोटी फरक राज्य थिए । तर, जातीय संचरना, भाषा र संस्कृतिमा खासै फरक थिएन, अहिले पनि छैन । उनीहरु नेपालीहरुलाई डोट्याल भन्छन अहिले पनि । कहाँको नेपाली हो मतलब हुन्न । झापाली, काठमाडौंली होस् वा बैतडेली, उनीहरुका लागि डोट्याल हो । गढवालीहरु पहिले डोट्याल भन्दा गरिब थिए । बेसाहा खेप्न आउँथे यतातिर । डोट्याललाई छोरी दिन पाउँदा खुशी हुन्थे । आज ठीक उल्टो भएको छ । ती हिजोका डोट्यालहरु कामका खोजीमा उत्तराखण्ड जान्छन् । उनीहरु धनी भएका छन्, यता गरिबी छ । हिजो उताका धनीका छोरीहरुको बिहे यता हुन्थ्यो । यताका गरिबका छोरीहरुको बिहे उता हुन्थ्यो । आज त्यो परिदृष्य पनि उल्टो भाको छ । उताका गरिबका छोरीहरु यता दिन्छन् । यताका धनीका छोरीहरु उता दिन्छन् ।

भट्टजी भन्दै गए –‘यहाँका मान्छेहरुमा धार्मिक विश्वास र अन्धविश्वास दुवै बढी छ । वैतडी त शक्ति पीठहरुको जिल्ला हो । १२ सैनीहरुको जिल्ला । देवतालाई ‘सैन’ र देवीलाई ‘सैनी’ भनिदोरहेछ । बैतडीको एउटा मुख्य शक्तिपीठ निगालासैनी हो । हामी जाने बाटोले छुन्छ । समय मिल्यो भने उत्रेर हेरौंला । तर हामी उत्रेनौं । गाडीबाटै हेर्‍यौं, निगलासैनीको मन्दिर ।
गोठालापानी पुग्दा साँझ पर्‍यो । स्थानीय साथीहरुले बास मिलाए । दिपायलदेखि नै रमेशलाई ज्वरो आउन थालेको थियो । यहाँ पुग्दा झनै हनहन्ती भयो । रमेश झुलाघाट नजाने, यही आराम गर्ने कुरा भयो । भोलिको कार्यक्रमको मेसो मिलाउन स्थानीय साथीहरुसँग बैठक गरियो र सुतियो । भोलि बिहान ८ बजेभित्र हिड्नु थियो र पुग्नु थियो यो यात्राको अन्तिम गन्तव्य झुलाघाट ।

पुगियो झुलाघाट
आज फाल्गुन १५ गते । ठीक १ महिना अगाडि चिवाभञ्ज्याङमा थियौं हामी । आज हाम्रो यात्राको अन्तिम दिन थियो । २ वटा मात्र कार्यक्रम थिए आज, एक झुलाघाटमा, अर्को फर्किएर बैतडी जिल्ला सदरमुकाम गोठालापानी बजारमा अन्तिम समापन कार्यक्रम । आज पनि नरेन्द्रजी हामीसँगै थिए । झुलाघाट जाने बाटोको मोडनेर उनले भने– ‘यो नगरपालिकाको नाम सहिद दशरथ चन्द नगरपालिका हो । दशरथ चन्द जन्मिएको गाउँ यहाँबाट नजिकै छ, ऊ त्यता जानु पर्छ ।’

बाटोमै ललितत्रिपुरा सुन्दरीको मन्दिर रहेछ । बढो भव्य र प्रसिद्ध मन्दिर । यहाँ भने हामी रोकियौं । मन्दिरको अवलोकन, दर्शन र परिक्रमा गर्‍यौं । बाटोबाट देखिने घरबस्ती हेर्दा कर्णालीभन्दा डोट्याल क्षेत्र बढी विकसित र आधुनिक लाग्थ्यो । सम्भवत् यो भारततिरको विकासको प्रभाव पनि हो ।

केहीबेरमा महाकाली नदी भेटियो । तर, झुलाघाट पुग्न नदीको किनारैकिनार उत्तरतिर लाग्नुपर्ने रहेछ । नरेन्द्रजी व्याख्या गर्न थाले– ‘झुला भनेको हिन्दीमा कोक्रो हो । झुलुङ्गे पुललाई क्रोक्रोजस्तो पुल भनेर झुला भने । झुलाघाटमा अंग्रेजको पालमा बनाएको झोलुङ्गे पुल छ– झोलुङ्गे पुलको लम्बाई घटाउन महाकाली नदी सबैभन्दा साँघुरो भएको ठाउँ खोज्दै जाँदा त्यहाँनेर पुल बनेको रे ।’

हामीले सोध्यौं– ‘यहाँ ठूलो वा पक्का पुल किन नबनेको होला ?’ उनले भने– ‘पञ्चेश्वर बन्यो भने यो क्षेत्र डुबानमा पर्छ भन्ने भारतीय पक्षको भनाई छ ।’

मेरो दिमागमा टनकपुरको लोकसन सेट थियो । भने– ‘पञ्चेश्वरको साइट यहाँबाट अझै उत्तरमा छ हैन र ?’ हैन रहेछ । भट्टजीले भने ‘हैन यहाँबाट दक्षिणमा पर्छ । हाइड्याम बन्यो भने पानी फुल्ने क्षेत्र यो पनि हो ।’

त्यसपछि महाकाली सन्धी र पञ्चेश्वर योजनाबारे बहस भयो एकक्षण हामी बीच । प्रशान्तजीको तर्क थियो– ‘भारतका लागि बिजुली हैन, पानी समस्या हो । तराईमाभन्दा पहाडी रिजर्भ्वायरको लागत निक्कै कम हुन्छ । तसर्थ भारत कुनै न कुनै विन्दूमा महाकाली सन्धी लागू गर्न र पञ्चेश्वर बनाउन बाध्य हुन्छ ।’

म भने यो तर्कसँग खासै कन्भिन्स हुन सकिनँ । २०५४ मा यो सन्धी हुँदा, एमालेको छैठो महाधिवेशनमा विवाद हुँदा र पार्टी फुट्दाका कयौं घटनाक्रमहरु मैले नजिकबाट नियालेको थिएँ । अहिले २० बर्ष बढी भएछ । ६ महिनामा बनाउने भनिएको डिपिआर अझै बनेको छैन । महाकाली सन्धी एमाले राजनीतिमा एउटा महत्वपूर्ण मोड थियो । एमालेमा वर्तमान प्रधानमन्त्री केपी ओलीको उदयको आधार पनि यही थियो । यही घटनापछि उनी भारतीय संस्थापन पक्षसंग नजिकिएका थिए । उनको गुट एमालेभित्र बलियो हुँदै गएको थियो । मेरो अनुमानमा पञ्चेश्वर बन्छ भन्न कहिल्यै छोडिँदैन । तर, त्यतिखेरसम्म बन्दा पनि बन्दैन जबसम्म भारतका लागि शारदा ब्यारेज डेटस्पायर हुँदैन । प्रशान्तजीकै तर्कलाई मान्ने हो भने पनि महाकालीको पानी अहिले नै शतप्रतिशत भारततिर गइरहेको छ । पानी आधाआधा गर्नुपर्ने सन्धी कस्ले किन लागू गर्छ ?

नेपालपट्टि बढो अप्ठ्यारो ठाउँमा रहेछ, झुलाघाट । नेपालतिर ठाडो भीर भारततिर महाकालीले बनाएको सानो फाँट । पुल खासै लामो र ठूलो हैन । लोकेसन त साँघुरो नै खोजिएको रहेछ । पुलमाथि हामी हिंड्दा लोड धेर हुने चिन्ताले भारतीय पुलिस हैरान थियो । उसले छि-छिटो पुल पार गर्न, फोटो खिचेर नअल्मलिन र पुलमाथि धेरै लोड नपार्न बारम्बार अनुरोध गरिरहेको थियो ।

पारि तरियो । एकफेर झुलाघाट बजार हेरियो । भारततर्फ पनि बजारमा एक प्रकारको सनसनी थियो । मान्छेहरु भन्दै थिए, ‘काठमाण्डौंसे भट्टराई साब और उनका आदमी आया है ।’
रमाइलो संयोग– चिवा झन्ज्याङ्गमा यात्रा प्रारम्भ गर्दा पनि बिहानको ९.३० बजेको थियो । झुलाघाटको जनसंवाद शुरुवात हुँदा पनि बिहानको ठीक ९.३० बजेको थियो । जनसंवाद कार्यक्रममा स्थानीय व्यापार संघका सभापतिले भने– ‘व्यापारीले कमाउँन पाएन भने देश बर्बाद हुन्छ । नेताले कमाउन थाल्यो भने देश बर्बाद हुन्छ । नेपाल बर्बाद भएको कारण यही हो– हामी व्यापारीहरु कमाउन नसक्ने भएका छौं । नेताहरु राम्रो कमाउन थालेका छन् ।’ पछि उनको यो भनाई डा. भट्टराईले संघीय संसदको आफ्नो भाषणमा नै उद्घृत गरिदिए ।
करिब १ घण्टा बिताएर हामी झुलाघाटबाट फर्कियौं ।

गोठालापानीको भद्रगोल
गोठालापानीमा करिब तीन घण्टा लामो भव्य समापन सभा गर्ने योजना थियो, हाम्रो । गाउँगाउँबाट सहभागीहरु आउँदै गरेको खबर थियो । स्थानीय बासिन्दाहरु उल्लेखनीय रुपमा एकीकृत हुन थालेका थिए । यात्रा टोलीमा कलाकार मित्रहरु गणेश गुरुङ्ग र सुमित्रा लामाले रोचक सांगीतिक प्रस्तुतिको तयारी गरेका थिए । निर्मल रतौकीलगायतका बैतडी पार्टीका साथीहरु तयारीमा जिलोज्यान दिएर खटेका थिए । स्थानीय कलाकारहरुले छलिया नाँच लगायत साँस्कृतिक कार्यक्रमको तयारी गरेका थिए । जनसंवाद यात्राको यो अन्तिम अर्थात् १४४ औं कार्यक्रम मैले संचालन गर्नु पर्ने थियो ।

तर, दूर्भाग्य कार्यक्रम शुरुवात गर्ने बेलामा मौसम नराम्ररी बिग्रियो । आकाशमा रात परेझैं अन्धकार छायो । पानी दर्किन थाल्यो । हिउँफूल खस्न थाल्यो । हिउँ पर्नुअघि झर्ने कनिकाजस्तो जमेको पानीको ढिक्कालाई हिउँफूल भनिदोरहेछ । तथापि कार्यक्रम सञ्चालन गर्न मैले माइक समाते । बोल्न खोजे । मेरो ओठहरु जाडोले काँपिरहेका थिए । ओठ मात्र हैन, गाला र चिउँडो नै काम्न थाल्यो । मनमा एउटा शब्द सोच्थे, शब्द ठीक ढंगले मुखबाट निस्कदैनथ्यो । तथापि मान्छेहरु बजारको छेउछाउ ओतिएर कुरा सुन्न पर्खिरहेका थिए । गाउँबाट हिंडेका गाडीहरु हिउँले बाटोबाटो मै रोकिएको खबर आयो । सामाजिक सञ्जालमा पर्यटनमन्त्री रविन्द्र अधिकारी चडेको हेलिकप्टर ताप्लेजुङमा दुर्घटनाग्रस्त भएको खबर छ्याप्छ्याप्ती थियो ।

कार्यक्रम स्थगित गर्न साथीहरुले तारन्तार सुझाब दिन थाले । सञ्चालकका रुपमा मैले डा. भट्टराईसँग सल्लाह गरे । सबै कार्यक्रम काटेर डा. भट्टराईको छोटो समापन मन्तव्य मात्र राख्ने कुरा भयो । यतिखेरसम्म स्टेजमाथिको पाल हावा र पानीले च्यातिसकेको थियो । स्वयंसेवक साथीहरुले डा. भट्टराईलाई छाता ओडाए । भद्रगोल पाराले समापन मन्तव्य सकियो । हतारहतार हामी सबै आआफ्ना गाडीमा चड्यौं । हिटरले गाडी ततायौं ।

आजको बास पनि गोठालापानी मै बस्न योजना थियो । तर, प्रहरीको सुचनामा सतबाँझदेखि बुडरसम्मको इलाकामा भीषण हिमपात भइरहेको थियो । रातभरि हिउँ परेमा हिउँ झनै बाक्लो हुन्थ्यो । बिहान कट्न संभव हुन्थेन । बरु अहिल्यै हिउँ पातलो होला, त्यो क्षेत्र कट्नु पर्छ भन्ने सल्लाह भयो । १ मिनेटमै हामीले आफ्नो निर्णय बदल्यौं । गोठालापानीबाट १० मिनेटभित्र सबै गाडी मुभ हुने उर्दी भयो । स्थानीय बासिन्दा र साथीहरुसंग राम्ररी बिदाबारी पनि हुन नपाई हामी हतारहतार दौडियौं ।

यात्रान्त
निगालासैनीको मन्दिरदेखि नै अलिअलि हिउँ खस्न थाल्यो । गाडीको सिसा र हुटमा हिउँको दबाब प्रष्ट भयो । कुहिरो उत्तिकै बाक्लो थियो । गाडीहरु घिस्रिएजस्तो सुस्त गतिमा हिडिरहेका थिए । सतबाँझ क्षेत्रमा झनै बाक्लो हिउँ खसिरहेको थियो । साथीहरु एकक्षण उत्रिएर हिउँ खेले । नरेन्द्र भट्टजी सतबाँझमा उत्रिए । रमेशलाई अझै हन्हन्ती ज्वरो आइरहेको थियो । मेरा खुट्टाहरु चिमोटेको समेत थाहा नपाउने गरी लाट्टिएका थिए । म गाडीमै बसिरहे । हिउँ खेल्न उत्रिनँ ।

अगाडि खोड्पे र अनारखोलीको लेक बाँकी नै थियो । सेताम्य घर, सेताम्य जंगल, सेताम्य डाँडाहरु । जीवनमा पहिलोपल्ट यस्तो विचित्रको दृष्य देख्दै, भोग्दै थिएँ । अगाडि कहाँ गएर बास बस्ने टुंगो थिएन । बाटो कति सम्म छिचोलिन्छ, टुंगो थिएन । डडेलधुरा बजारमै हिउँ खसिरहेको हुँदा सबै लज होटलहरु बन्द भइसकेको सुचना थियो । गोठालापानी र पाटनबजारबाट काठमाडौं र धनगढीका लागि छुटेका रात्रीबसहरु यत्रतत्र अलपत्र थिए ।

प्रशान्तजीको गाडी हिउँमा पनि हिड्न सक्छ भनेर हामी ढुक्क थियौं । तर बसहरुले जताततै बाटो ब्लक गरेका थिए । यात्रा टोलीमा केही साथीहरुका गाडी टु-ह्वील मात्र थिए । ती गाडीहरु हिउँबाट कट्लान्, नकट्लान् भन्ने अर्को चिन्ता थियो । टिकापुरका साथीहरुको गाडी बारम्बार हिउँमा फस्दै थियो ।

रातको १ बज्यो । मुस्किलले डडेलधुरा पुग्यौं । करिब १ घण्टापछि सबै गाडीहरु हिउँक्षेत्रबाट कटेको सुचना पायौं । डा. भटटराईको गाडी रेस्क्यू गर्न प्रशासनले केही डोजर खटाएको थियो । त्यही कारणले सबै गाडीले खोड्पे र अनारखोलीको लेक कट्न सके ।

तर, डडेलधुरामा कहाँ बस्ने ? प्रशान्तजीले चिनेका एक जना साथी रहेछन्– श्याम भट्ट । उनले हाम्रो टिमलाई बास दिन सक्ने तर पुरै यात्रा टोलीलाई व्यवस्थापन गर्न नसकिने बताए । हिजो डडेलधुरा आइपुग्दा खाना खाएको होटलले दाल भात बनाइदिने आँट गर्‍यौं । अनेक ससाना होटलहरुमा बाँडिएर रात काट्यौं । श्याम भट्टजीले नयाँ लज बनाउँदै रहेछन् । तर, तयार भइनसकेको । गंगा, प्रशान्त र रमेशसंग स्लिपिङ्ग ब्याग थियो । मसंग थिएन । मैले श्यामले लजका लागि बनाउँदै गरेका ३ वटा सिरक खापे । तापक्रम शून्य डिग्री थियो ।

१६ गते बिहान डडेलधुरा बजारमा मान्छेहरु हिउँ उप्काउँदै र पन्छाउँदै थिए। तर, अगाडि अगुल्टेको लेक बाँकी थियो । बुडर–डोटी र कैलालीको सीमानानेर पर्ने बजार । बुडर पुगेर मात्र हिउँ छिचोलियो । करिब ५० किमी हिउँको बाटो गाडीहरु सकुशल निस्किए । साँझ कोहलपुर पुगेर बास्न बस्यौं– बुद्ध सुनारजीको सहयोगमा । १७ गते हान्नियौं, काठमाडौं । ३० दिनको यो यात्रा पूरा गर्न अगाडि र पछाडिको समयलाई समेत जोड्दा हामीलाई ३६ दिन लाग्यो । ३६ दिन निरन्तर यात्रा । यो मेरो मात्र हैन, धेरै साथीहरुको जीवनमा अहिलेसम्मकै सबैभन्दा लामो अविछिन्न यात्रा थियो ।

समाप्त

यो पनि पढ्नुहोस्-

चिवा भञ्ज्याङ्ग-झुलाघाट डायरी-१

चिवा भन्ज्याङ्ग–झुलाघाट डायरी–२

चिवा भन्ज्याङ्ग–झुलाघाट डायरी-३

चिवा भञ्ज्याङ-झुलाघाट डायरी–४

चिवाभञ्ज्याङ-झुलाघाट डायरी-५

चिवा भन्ज्याङ-झुलाघाट डायरी–६

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage