scheduleशनिवार जेष्ठ ३२ गते, २०७६

रुवान्डा नरसंहारः जहाँ भएको थियो १०० दिनमा ८ लाख मानिसको कत्लेआम

एजेन्सी, २४ चैत । ‘जुन दिन मेरा छोराको हत्या भयो, त्यो दिन बिहान उसले आफ्नो साथीसँग कसैले मेरो गर्दन काट्ला जस्तो लागेको बताएको थियो । यो कुरा सम्झिदा अहिले पनि मेरो मेरो मुटु चुडिएजस्तो हुन्छ । त्यो दिन सेलिस्टिान दुई आक्रमणकारीसँग मेरो घरमा आएका थिए । उनीहरुसँग लामा लामा तरबार थिए । हामीले ज्यान बचाएर घरबाट भाग्ने कोशिस गर्‍यौं । तर सेलिस्टिनले आफ्नो तरबारले काटेर मेरा दुई छोराको हत्या गरे ।’

यी शब्द रुवान्डामा तुत्सी र हूतू समुदायबीच भएको भयानक नरसंहारमा बाँचेकी एक आमा ऐन–मेरी उभिमानाको हो । उनका दुई छोरा मार्ने सेलिस्टिन अरु कोही नभएर उनकै छिमेकी थिए ।

सेलिस्टिनजस्तै हूतू सुमदायका तमाम मानिसहरु ७ अप्रिल १९९४ देखि १०० दिनसम्म तुत्सी समुदायसँग सम्बन्धित छिमेकीदेखि आफ्नै पत्नी र नातेदारको हत्या गर्न उत्रिए । यो नरसंहारमा करिब ८ लाखको मृत्यु भयो । तुत्सी समुदायका तमाम महिलाहरुलाई यौनदासी बनाएर राखियो ।

कसरी सुरु भयो नरसंहार ?
यो नरसंहारमा हूतू जनजातिसँग जोडिएको चरमपन्थीले अल्पसंख्यक तुत्सी समुदायका मानिस र आफ्ना राजनीतिक विरोधीलाई निशाना बनाए । रुवान्डामा ८५ प्रतिशत जनसंख्या हूतू समुदायको छ । तर लामो समयदेखि तुत्सी अल्पसंख्यको दबदबा कायम थियो । सन् १९५९ मा हूतूले तुत्सी राजतन्त्रको अन्त्य गरे ।

यसपछि हजारौं तुत्सी जातिका मानिसहरु आफ्नो ज्यान बचाउन छिमेकी युगान्डा र अन्य देशतिर पलायत भए । यसपछि निष्कासित तुत्सी समूहले विद्रोही संगठन रुवान्डा प्याट्रिएक फ्रन्ट (आरपीएफ) बनाए ।

यो संगठन सन् १९९० को दशमा रुवान्डा आयो र संघर्ष सुरु भयो । यो लडाई सन् १९९३ मा शान्ति सम्झौता भएसँगै अन्त्य भयो । तर ६ अप्रिल १९९४ को रात तत्कालीन राष्ट्रपति जुभेनल हाबयारिमाना र बुरुन्डीका राष्ट्रपति केपरियल नतारयामिरालाई लिएर गइरहेको विमानलाई किगाली रुवान्डामा खसाइयो । जसमा सवार सबैको मृत्यु भयो । कसले जहाज खसाएको थियो भन्ने अहिलेसम्म स्पष्ट भएको छैन ।

कतिपयले यो घटनाका लागि हूतू चरमपन्थीलाई जिम्मेवार ठहराइरहेका छन् भने केही मानिस रुवान्डा प्याट्रिएक फ्रन्ट (आरपीएफ) लाई जिम्मेवार मान्छन् । तर यी दुवै नेता हूतू जनजातिका भएकाले उनीहरुको हत्यामा हूतू चरमपन्थीले आरपीएफलाई जिम्मेवार भएको आरोप लगायो । त्यसलगत्तै हत्या हिंसा सुरु भयो ।

आरपीएफले आम नरसंहारको बहाना बनाउन विमान हूतू चरमपन्थीले नै झारेको आरोप लगायो । यो नरसंहारअघि अत्यन्तै सावधानीपूर्वक पूर्व चरमपन्थीलाई सरकारको आलोचना गर्नेको नामको सूची थिइयो ।

यसपछि यो सूचीमा सामेल मानिस र उनको परिवारलाई समेत मार्न सुरु गरे । हूतू समुदायका मानिसले तुत्सी समुदायका छिमेकीको पनि हत्या गरे । यतिमात्रै होइन केही हूतू युवकले आफ्नै पत्नीको पनि हत्या गरे । त्यसबेला सबै मानिसको परिचयपत्रमा कुन जनजातिको हो भन्ने उल्लेख थियो । यसकारण लडाकूले सडकमा नाकाबन्दी गरे र छानीछानी तुत्सीलाई धारिलो हतियारले हत्या गरे । हजारौं तुत्सी महिलालाई अपहरण गरी यौन दासी बनाएर राखियो ।

रुवान्डामा जिल्ला देखि सरकारसम्म अत्यन्तै नियन्त्रित समाज थियो । लडाकू समूहमा बदलिएको त्यसबेलाको पार्टी एमआरएनडीको युवा संगठन इन्तेराहाम्बेले यी हत्याको जिम्मेवारी थियो । स्थानीय समूहले हतियार र विरोधीको सूचीका कारण उनीहरुलाई विपक्षी कहाँ छन् भन्ने जानकारी थियो ।

हूतूले सुरु गरेको एउटा रेडियो स्टेशनले नै प्रोपोगान्डा फैलाउँथ्यो । त्यसलै नै तुत्सी समुदायमाथिको आम नरसंहारलाई उक्साइरहेको थियो । हत्या हुने व्यक्तिको नाम रेडियोबाट नै प्रशारण गरिन्थ्यो । चर्चमा शरण माग्न गएका पादरीलाई समेत हत्या गरियो । १०० दिनमा करिब ८ लाख तुत्सी र उदारवादी हूतू समुदायका मानिसहरु यो नरसंहारको सिकार भए ।

कसैले रोक्ने कोशिस गरे ?

रुवान्डामा संयुक्त राष्ट्र संघ र बेल्जियमका सेना थिए । तर उनीहरुलाई हत्याहिंसा रोक्ने अनुमति थिएन । सोमालियामा अमेरिकी सैनिकको हत्याको एक वर्षपछि अमेरिकाले अफ्रिकी देशको विवादमा नपर्ने निर्णय लिएको थियो । बेल्जियमका १० सैनिक मारिएपछि बेल्जियम र राष्ट्रसंघले आफ्ना शान्ति सैनिक फिर्ता बोलायो ।

हूतू सरकारको सहयोगी फ्रान्सले आफ्ना नागरिकलाई बाहिर निकाल्नका लागि एक विशेष सैन्य दस्ता रुवान्डा पठायो र एक सुरक्षित इलाका बनायो । तर फ्रान्सले यो हत्या रोक्नका लागि कुनै भूमिका नखेलेको आरोप लाग्ने गरेको छ ।

रुवान्डाका वर्तमान राष्ट्रपति पल कागामेले फ्रान्समाथि हत्या गर्नेहरुको नै समर्थन गरेको आरोप लगाएका थिए । पेरिसले यो आरोप अस्वीकार गर्यो ।

कसरी अन्य भयो नरसंहार ?

युगान्डा सेना समर्थित, सुव्यवस्थित आरपीएफले विस्तारै विस्तारै अधिकांश इलाका कब्जामा लियो । ४ जुलाई, १९९४ मा यसका लडाकू राजधानी किगाली प्रवेश गरे ।

बदलाको कारबाहीका डरले त्यहाँका जनता र हत्यामा सामेल मानिस समेत रहेको हूतू समुदायका मानिस प्रजातान्त्रिक गणतन्त्र कंगोमा पलायन भएर गए । केही तान्जाजिया र बुरुन्डीतर्फ लागे । मानवअधिकारवादी संस्थाका अनुसार आरपीएफका लडाकूले हजारौं हूतू नागरिकको हत्या गरेको थियो ।

यो भन्दा पनि बढी हत्या उनीहरुले इन्तराहाम्बेलाइ लखेट्दै कंगोमा गरे । आरपीएफ यो आरोप अस्वीकार गर्छ । कंगोमा हजारौंको हैजाका कारण मृत्यु भयो । सहायता समूहले पनि अधिकांश सहयाता हूतू लडाकूलाई लिएको आरोप लगोको थियो ।

कंगोमा के भयो ?

रुवान्डामा हाल आरपीएफ सत्तामा छ । यसको समर्थक सेनाको भिडन्त कंगोको सेना र हूतू लडाकूसँग भएको थियो । विद्रोही समूहले कंगोको राजधानी किन्सासातर्फ प्रदर्शन गर्दा रुवान्डाले समर्थन गर्‍यो ।

जसले मोबुतु सेसे सेको सरकार ढाल्यो र लरेन्ट कबिलालाई राष्ट्रपति बनायो । तर नयाँ राष्ट्रपति हूतू लडाकूलाई नियन्त्रित गर्न उदासिन रहे । त्यसका कारण सुरु भएको युद्ध ६ देशमा फैलियो र साना साना लडाकू समूह बने । उनीहरु खनिजको सम्पन्न यस देशका अलग अलग भाग कब्जा गर्नका लागि लडेका थिए ।

यस विवादका कारण ५० लाख मानिस मारिए र यसको अन्त्य २००३ मा भयो । केही हतियारधारी समूह अहिले पनि रुवान्डाको सीमा क्षेत्रमा छन् ।

के कसैलाई सजाय भयो ?

रुवान्डा नरसंहारको धेरै पछि २००२ मा अन्तर्राष्ट्रिय अपराध अदालत गठन भयो । तर त्यसबेलाको हत्यामा जिम्मेवारलाई कारबाही भएन । यसको स्थानमा संयुक्त राष्ट्र संघ सुरक्षा परिषदले तान्जानियामा एक अन्तर्राष्ट्रिय अपराध अदालत गठन गरियो ।

जसले ९३ जनालाई दोषी ठहर गर्‍यो र पूर्व सरकारका दर्जनौं हूतू अधिकारीलाई पनि सजाय दिइयो । रुवान्डामा समाजिक अदालत बनाइयो । ताकि नरसंहारका लागि जिम्मेवार हजारौं संदिग्धमाथि मुद्दा चलाउन सकियोस् । मुद्दा चलाउनुभन्दा अघि नै १० हजार जनाको मृत्यु जेलमा नै भयो ।

एक दशकसम्म यो अदालत पूरै देशमा हरेक साता बस्दथ्यो । अक्सर बजार र कुनै रुखको फेदमा बस्दथ्यो । यसमा १२ लाख घटना दर्ता भएका थिए ।

अहिले कस्तो छ अवस्था ?
आन्तरिक संघर्षमा नराम्ररी फँसेको यो देशलाई सही बाटोमा फर्काएको श्रेय राष्ट्रपति पल कागामेलाई दिइन्छ । जसको नीतिले देशमा तिव्र आर्थिक विकासको गति अघि बढाएको छ । उनले रुवान्डालाई प्रविधिको हब बनाउने कोशिस गरे र आफैं ट्विटरमा सक्रिय छन् ।

तर उनका आलोचकले विरोधीको आवाज नसुनेको र देशबाहिर पनि उनका विरोधीको रहस्यमय मृत्यु भएको बताउने गरेका छन् । जनसंहार रुवान्डामा अहिलेपनि एक संवेदनशील मुद्दा हो र जनजातीयताका बारेमा बोल्नु गैरकानुनी मानिन्छ ।

सरकारले थप रक्तपात हुन नदिन यस्तो निर्णय गर्नुपरेको बताएको छ । तर कतिपयले यसबाट असल मेलमिलाप हुन नसक्ने दाबी गर्छन् । कागामे तीन पटक राष्ट्रपति बने र २००७ को चुनावमा उनले ९८.६३ प्रतिशत मत ल्याएका थिए । हाल रुवान्डामा ७.२ प्रतिशतको आर्थिक वृद्धिसहित विकासको मार्गमा अघि बढिरहेको छ । बीबीसी

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob