scheduleबुधवार बैशाख ११ गते, २०७६

इजरायली प्रधानमन्त्री नेतान्याहुको दल विजयी


एजेन्सी, २७ चैत । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु पाँचौं पटक प्रधानमन्त्री हुने सम्भावना रहेको इजरायली सञ्चार माध्यमहरुले जनाएका छन् । प्रधानमन्त्री नेतान्याहुको लिकुड पार्टीले सोमबार सम्पन्न आमनिर्वाचनमा सबैभन्दा बढी स्थानमा जितेर ठूलो पार्टी बनेको छ ।

तर नेतान्याहुले पूर्ण बहुमत सहितको सरकार गठन गर्न साना दलसँग सहकार्य गर्नुपर्ने अवस्था देखिएको छ । भ्रष्टाचारको आरोप खेपिरहेका ६९ वर्षीय वरिष्ठ नेता नेतान्याहुमाथि उदारवादी पूर्व सैनिक बेन्नी गान्जको दलले कडा चुनौती दिएको थियो ।

करिब ९७ प्रतिशत मतगणना भइसक्दा १२० सदस्यीय इजरायली संसद (नेसेट) मा नेतान्याहुको लिकुड पार्टी र त्यसका सहयोगी पार्टीले ६५ स्थानमा विजय हासिल गरेका छन् ।

मतदान पछिको मतसर्वेक्षणमा पनि नेतान्याहु र गान्जको नेतृत्वमा रहेको ब्लू एन्ड ह्वाइट पार्टी दुबैबीच कडा प्रतिस्पर्धा हुने देखिएको थियो । तर दुवै पार्टीले स्पष्ट बहुमत भने प्राप्त गरेका छैनन् ।

साना दलको समर्थनमा सरकार बनाउनुपर्ने अवस्था रहे पनि लिकुड पार्टीले इजरायलका अतिवादी दक्षिणपन्थी दलहरुको समर्थन प्राप्त गर्नेछ । प्रधानमन्त्री नेतान्याहुले तेलअभिभमा बुधबार आयोजित एक कार्यक्रममा चुनावमा जनताले अभूतपूर्व समर्थन जनाएको भन्दै आमजनतालाई धन्यवाद दिए । ‘अबको सरकार दक्षिणपन्थीकै हुन्छ, तर म सबैको प्रधानमन्त्रीका रुपमा कार्य गर्नेछु’, नेतान्याहुले भने ।

तर ब्लू एण्ड ह्वाइटका अध्यक्ष गान्जले आफ्नो दलले सबैभन्दा बढी स्थान जित्ने भएकाले राष्ट्रपतिले आफूहरुलाई सरकार गठन गर्न बोलाउनु पर्नेमा जोड दिए । इजरायली चुनाव आयोगले मतदानको अन्तिम नतिजा बुधबार नै सार्वजनिक गर्ने तयारी गरेको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC
Sajhajob