scheduleशुक्रवार श्रावण ३ गते, २०७६

गुणस्तरीय शिक्षामा लगानी गर्न महासचिव गुटेरेसको आग्रह

संयुक्त राष्ट्रसंघ, २७ चैत । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गुणस्तरीय शिक्षामा लगानी बढाउन आग्रह विश्वका नेताहरु समक्ष गरेका छन् ।

आर्थिक तथा सामाजिक परिषद (इकोसोक)को युवा सम्मेलनको आठौँ सत्रको समापनका अवसरमा सम्बोधन गर्दै उनले गुणस्तरीय शिक्षामा लगानीको वातावरण बनाउन सके विश्वका युवाको जीवनमा नयाँ मोड आउने बताए ।

महासचिव गुटेरेसले गुणस्तरीय शिक्षाका क्षेत्रमा लगानी गरी युवा वर्गलाई बेरोजगार हुनबाट जोगाउनुपर्नेमा पनि जोड दिए । हाल विश्वमा युवावर्गको बेरोजगारी दर बढ्दै गएकोतर्फ चिन्ता व्यक्त गर्दै उनले यस्तो अवस्थाको न्यूनीकरणका लागि शिक्षाका क्षेत्रमा लगानी बढाउनुको विकल्प नरहेको धारणा राखे ।

हाल विश्वमा कम्तीमा ६ करोड ४० लाख युवा बेरोजगार रहेका, १ करोड ४५ लाख युवा गरिबीको चपेटामा रहेका तथा करिब ६१ करोड ७० लाख युवालाई सामान्य हिसाब पनि नआउने अवस्था रहेको महासचिव गुटेरेसले बताए ।

त्यसैगरी युवती पनि ठूलो संख्यामा शिक्षा र स्वास्थ्य जस्तो आधारभूत आवश्यकताबाट बन्चित हुन पुगेको उनको भनाई थियो ।

उनले युवाको तुलनामा किशोरीहरुलाई बिना ज्याला काममा लगाउने गरिएको र उनीहरुले बाँच्नकै लागि बाध्य भएर श्रम गर्नु परिरहेको पनि बताए । महासचिव गुटेरेसले विश्वका कतिपय क्षेत्रमा किशोरीहरुलाई बिना ज्याला काम लगाइने र बेरोजगार युवतीको संख्या युवाको तुलनामा झण्डै दोब्बर रहेको बताए ।

महासचिव गुटेरेसले संयुक्त राष्ट्रसंघले अघि सारेको दिगो विकाससम्बन्धी लक्ष पूरा गर्नका लागि पनि विश्वका देशहरु, नागरिक समाज र अन्तर्राष्ट्रिय समुदायले युवा लक्षित गुणस्तरीय शिक्षामा लगानी गर्न आग्रह गरे ।
रासस/ सिन्ह्वा

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob