scheduleशुक्रवार श्रावण ३ गते, २०७६

बै‌गलोरले दर्ता गर्‍यो सिजनको पहिलो जित, व्यर्थ भयो गेलको ९९ रन

काठमाडौं, १ वैशाख । इण्डियन प्रिमियर लिगको १२औं सिजनमा रोयल च्यालेञ्जर्स बैंगलोरले लगातार ६ हारपछि पहिलो जित दर्ता गरेको छ । मोहालीको आईएस बिंन्द्रा रंगशालामा खेलिएको खेलमा बैंगलोरले पञ्जाबलाई ८ विकेटले हराएको हो ।

बैंगलोरले टस जितेर बलिङ गर्ने निर्णय गर्‍यो । ब्याटिङको निम्तो पाएको किङ्ग्स इलाभेन पञ्जाबले २० ओभरमा ४ विकेटको क्षतिमा १७३ रन जोड्यो । १७४ रनको लक्ष्य पछ्याएको बैंगलोरले १९.२ ओभरमा २ विकेटको क्षतिमा १७४ रन बनाएर खेल जितेको हो ।

बैंगलोरको जितका लागि एबी डिभिलियर्सले ३८ बलमा ५९ रन र मार्क्स स्टोइनिसले १६ बलमा २८ रन जोडेर अविजित रहे । डिभिलियर्सले आफ्नो पारीको क्रममा ५ चौका र २ छक्का हिर्काए भने स्टोइनिसले ४ चौका हिर्काए । डिभिलियर्सले ३५ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए । यो उनको यो सिजनको तेस्रो र आइपिएलको ३१औं अर्धशतक हो ।

बैंगलोरका कप्तान विराट कोहली र पार्थिव पटेल आउट भएका थिए । पार्थिवले ९ बलमा ४ चौका हिर्काउँदै १९ रन जोडे । रविचंद्रन अश्विनको बलमा मयंक अग्रवालले उनलाई क्याच आउट गरे । उनी आउट हुँदा बैंगलोरसँग ३.५ ओभरमा ४३ रन थियो । विराट ४३ बलमा ६७ रन जोड्दै आउट भए । उनले ३७ बलमा ७ चौका हिर्काएर आफ्नो अर्धशतक पूरा गरेका थिए । यो उनको यो सिजनको दोस्रो र आईपीएलको ३६औं अर्धशतक हो । उनी आउट हुँदा बैंगलोरसँग १२८ रन थियो ।

विराटले आफ्नै रेकर्ड तोडे

विराट र डिभिलियर्स इण्डियन प्रिमियर लीगमा कुनै पनि विकेटका लागि सबैभन्दा धेरै रन जोड्ने खेलाडी बने । उनीहरुले आईपीएलमा २७९० रनको साझेदारी गरिसकेका छन् । विराटले यस्तो गरेर आफ्नो क्रिस गेलसँगको आफ्नै रेकर्ड तोडेका छन् । उनले गेलसँग २७८७ रनको साझेदारी गरेका थिए ।

गेल शतक बनाउनबाट चुके
यसभन्दा अघि पञ्जाबका लागि क्रिस गेलले यो सिजनको पहिलो र आईपिएलको ७औं शतक बनाउनबाट केवल एक रनले चुके । उनी ६४ बलमा ९९ रन बनाउँदै अविजित रहे । उनले १० चौका र ५ छक्का हिर्काए । त्यसैगरी मनदीप सिंह पनि १६ बलमा १८ रन बनाएर अविजित रहे । गेलले आफ्नो अर्थशतक २८ बलमा ६ चौका र ३ छक्का हिर्काएर पुरा गरेका थिए ।

पञ्जाबको तर्फबाट आउट हुने ब्याट्स्म्यानमा सैम करन, सरफराज खान, मयंक अग्रवाल र लोकेश राहुल रहे । राहुलले १५ बलमा १८ रन बनाए । मयंकले ९ बलमा १५ रन बनाए ।

त्यसैगरी सरफराजले १३ बलमा १५ रन बनाएर पभेलियन फर्किए । सैम करन भने केवल एक रन बनाएर आउट भए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob