scheduleबुधवार आश्विन ६ गते, २०७८

यू-१९ विश्वकप छनोटः ओमनविरुद्ध नेपालको फराकिलो जित


एजेन्सी, ३ वैशाख । मलेसियामा जारी आईसीसी यू-१९ विश्वकप छनोटअन्तर्गत एसिया क्षेत्रको समूह चरणको चौथो खेलमा नेपालले ओमानविरुद्ध फराकिलो जित दर्ता गरेको छ ।

नेपालले दिएको २ सय ३० रनको लक्ष्य पछ्याएको ओमनले ४४.१ ओभर खेल्दा अलआउट भएर केवल ७९ रन मात्र जोड्न सकेपछि नेपालले १५० रनको फराकिलो जित निकालेको हो ।

ओमानका लागि अमनप्रित सिराह र जिल तन्नाले समान १३ रन बनाउन जोडे । उनीहरु बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । ओमनलाई ७९ रनमा सीमित गराउन नेपाली बलरहरुले कसिलो बलिङको जादू देखाए ।

११औं ओभरसम्म कमजोर रनरेटका बावजुद पनि टिकिरहेका ओमानी ब्याट्स्म्यान एडील अब्बासलाई ८ रनमा पवन सर्राफले क्याच आउट गराए । अब्बासलाई आउट गराउन सर्राफको बललाई भीम सार्कीले क्याच गरेका थिए । यो नेपालको पहिलो सफलता थियो । यसपछि विकेट गुम्ने क्रमले तीव्र निरन्तरता पायो । १२औं ओभरको तेस्रो बलमा कुशल मल्लले अजाम अलीलाई ८ रनमा बोल्ड आउट गरे भने १३ औं ओभरको पाँचौ बलमा पुनः पवन सर्राफले १ रन मात्रै दिएर नेभ पोजरीलाई पेभिलिएन फर्काए ।

भिमले १६ औं ओभरको चौथो बलमा कप्तान प्रथमेश कुम्बलेलाई सन्दीप जोराबाट ५ रनमा आउट गराए । त्यसैगरी, नवौं विकेटका लागि अमनप्रित सिराह र जिल तन्नाले १९ रनको साझेदारी गरे पनि ओमन नेपालभन्दा निकै पछि परिसकेको थियो । यस मेहता ३, अमनप्रित सिराह ८, मुजाहिर राजा शुन्य, जोइल बिजु ५, अर्जुन सरिथा ८ र सन्जय रविन्द्र २ रनमा प्याभेलियन फर्किएपछि ओमनविरुद्ध नेपालले फराकिलो जित निकालेको हो ।

नेपालका लागि पवन सरार्फले १० ओभरमा २ मेडन सहित २४ रन खर्चेर ३ विकेट लिए । सुर्य तामाङ र प्रतिस जिसीले समान २ विकेट लिए भने कमलसिंह ऐरी,कुशल मल्ल र भिम सार्कीले समान १ विकेट खसाले ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको नेपाल ४३.२ ओभरमा अल आउट हुँदै २ सय २९ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ८१ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ७५ रन जोडेर जितलाई निश्चित बनाए । भीम सार्कीले ४३ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ३९ रन जोडे ।

त्यसैगरी विस्फोटक ब्याटिङ गर्दै नेपालको इनिङ उकास्न प्रतिस जिसीले २३ बलमा २ चौका र ४ छक्का सहित ४१ रन जोडे । त्यसैगरी अन्तिम विकेटका लागि प्रतिस र सुर्य तामाङले ५१ रनको साझेदारी गरे । सुर्य तामाङ ७ रनमा अविजित रहे ।

४ खेलमा एक हार व्यहोरेको नेपालले आफ्नो अन्तिम खेल विहिवार कुवेतसँग खेल्ने छ । बिहिवारनै यूएई र ओमान भिड्ने छन् । उक्त खेलमा ओमान विजयी भएमा र नेट रन रेटले यूएई लाईपछि पार्न सके मात्र नेपाल विश्वकपको लागि छनोट हुने झिनो अंकगणीतिय सम्भावना नेपालसँग रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय