scheduleआइतवार भाद्र १ गते, २०७६

टुटफुट र दुई तिहाईको सरकारसम्म

काठमाडौँ,  ९ वैशाख। नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ७० वर्ष बितेको छ । सात दशकपछि निर्वाचनको माध्मबाट दुई तिहाइ मतसहितको सरकार गठन गरेको छ । यसलाई नेपाली कम्युनिष्ट आन्दोलनको ठूलो उपलब्धिको रूपमा लिइएको छ । शक्तिशाली सरकार गठनसम्मको यात्रा तय गर्न कम्युनिष्ट पार्टीले थुप्रै टुटफुट र एकताको श्रृङ्खला पार गर्नुपरेको छ । तत्कालीन राणा सरकारको विरोधमा जनमत निर्माण गरी देशमा सामाजिक रुपान्तरण र जागरणका लागि पुष्पलाल श्रेष्ठको अगुवाइमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । सिद्धान्ततः माक्र्सवाद र लेनिनवादमा विश्वास गर्ने भएपनि शुरुमा एउटै नाममा रहेको कम्युनिस्ट पार्टीमा समयक्रममा मतभेदसँगै अनेक विभाजन आए ।
नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द वैद्य र नारायण विलास जोशीको पहलमा २२ अप्रिल वि.सं. २००६ सालमा भारतको कलकत्तामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । कम्युनिस्ट पार्टीको स्थापनापछि सन् १९४९ सेप्टेम्बर १५ मा पहिलो घोषणा–पत्र जारी गरिएको थियो ।
‘पहाड, पर्वत, खोलानाला जग्गाजमिन सबको, मालिक हामी दास बनौं किन ? हिस्सा सबमा सबको’ भन्ने उद्घोषकासाथ पहिलो घोषणापत्रले लोकजनवादी नेपालको निर्माण ग¥यो । पार्टीले सामन्तवाद, साम्राज्यवाद विरोधी नेपाली क्रान्तिको दिशा अवलम्वन गरेको थियो ।

कम्युनिस्ट पार्टी स्थापनाको चार वर्षपछि २०१० मा पार्टीको पहिलो महाधिवेशन भयो । त्यस महाधिवेशनबाट मनमोहन अधिकारी महासचिवमा निर्वाचित हुनुभयो । दोस्रो महाधिवेशनबाट केशरजंग रायमाझी महासचिव हुनुभयो । तर शुरुदेखि रायमाझी दरवार निकट रहनु भएकाले २०१७ सालमा पहिलो पटक पार्टी विभाजन भयो ।
वि.सं. २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्र शाहले शासनसत्ता हातमा लिएर निर्वाचित प्रधानमन्त्री विपी कोइरालालाई काराबास पठाएको घटनालार्ई केशरजङ्ग रायमाझीले स्वागत गर्नुभयो । पुष्पलाल, मोहनविक्रम सिंह, तुलसीलाल अमात्य र मनमोहन अधिकारी रायमाझीको विपक्षमा उभिनुभयो, पार्टी विभाजनको रेखा त्यहीबाट कोरियो ।
समयक्रममा पूर्व मेची कोशी प्रान्तीय कमिटी पनि बन्यो तर अर्कोतिर रायमाझी समूह तयार भयो । त्यसपछि २०२५ सालमा पार्टी पुनः विभाजनमा प¥यो । २०२८ सालमा झापा जिल्ला कमिटी र केन्द्रीय न्यूक्लियस गरी दुईटा समूह बन्यो । एउटाको नेतृत्व सिपी मैनाली र अर्कोको नेतृत्व मोहनविक्रम सिंहले गर्नुभयो ।
२०३८ सालमा रायमाझी समूह पनि विभाजन भयो । २०२८ सालतिर केपी शर्मा ओली झापाली समूहको सक्रिय युवा नेता हुनुहुन्थ्यो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्यतिबेलाका कुनै धारमा नभए पनि पुष्पलालसँग राम्रो सम्बन्ध बनाउनुभएको थियो । तर उहाँ पुष्पलालसँग बस्नु भएन । उहाँ मोहनविक्रम सिंहसँग रहनुभयो ।
यता, झापाको विद्रोही समूहले आफ्नो पार्टीलाई परिमार्जन गर्दै अखिल नेपाल को–अर्डिनेसन कमिटी बनायो । यही समूह मिलेर २०३५ मा सिपी मैनालीको नेतृत्वमा नेकपा (माले) बन्यो । वि.सं. २०३६ सालमा मनमोहन अधिकारीले गठन गर्नुभएको नेपाल कम्युनिस्ट पार्टी जनमत संग्रहमा बहुमतको पक्षमा लाग्यो । तर त्यतिबेला गठन भएको मालेले जनमतसंग्रह बहिष्कार ग¥यो ।
पुष्पलालको निधनपछि उहाँको समूहलाई सम्हाल्दै आउनुभएका बलराम उपाध्याय र साहना प्रधानले २०४३ सालमा मनमोहन अधिकारीको पार्टीसँग एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी) बनाउनुभयो ।
वि.सं. २०४६ को जनआन्दोलनमा मनमोहन सिहं नेतृत्वको पार्टी र सिपी मैनालीको मालेसहित अन्य साना समूह मिलेर संयुक्त वाम मोर्चा गठन गरेको थियो । जनआन्दोलनले पञ्चायती शासनको अन्त्य गरेपछि नेकपा माक्र्सवादी र नेकपा माले बीच एकता कायम भयो । एकतापछि एकीकृत नेपाल कम्युनिष्ट पार्टी (एमाले) बन्यो र त्यसको महासचिवमा मदन भण्डारी हुनुभयो ।
वि.सं. २०५० जेठ ३ गते मदन भण्डारीको निधनभएपछि माधवकुमार नेपाल महासचिव बन्नुभयो । महाकाली सन्धिलाई लिएर पार्टीमा विवाद हुँदा वामदेव गौतमले २०५४ सालमा पार्टी फुटाएर सिपी मैनालीसँग मिलेर माले गठन गर्नुभयो । पछि वामदेव गौतम एमालेमै फर्किनुभयो ।
जनमत संग्रहमै २०३६ मा मोहनविक्रम सिंहको चौथो महाधिवेशन पनि विभाजित भयो । त्यसबाट निर्मल लामा निस्केर नेकपा (चौम) गठन गर्नुभयो । मोहनविक्रम सिंहको साथमा रहनुभएका ‘प्रचण्ड’ सक्रिय नेता हुनुहुन्थ्यो । त्यसक्रममा २०४१ सालको पाँचौं महाधिवेशनबाट मोहन वैद्य (किरण) महामन्त्री हुनुभयो । पछि सो पार्टीबाट फेरि मोहनविक्रम सिंह अलग हुनुभयो ।
मोहन वैद्यले नेकपा मशाल बनाउनु भयो र मोहनविक्रमले मोटो मशाल बनाउनुभयो । प्रहरी बुथ आक्रमण गर्ने सेक्टर घटनापछि बैद्य नेतृत्वमा रहनु भएन । २०४५ सालमा नेकपा मशालले प्रचण्डलाई महामन्त्री बनायो ।
पञ्चायतको अन्त्य र बहुदलको पुनःस्थापनपछि प्रचण्ड नेतृत्वको पार्टी नेकपाले मशाल, निर्मल लामाको पार्टी नेकपा चौम, सर्वहारावादी श्रमिक संगठन र रूपलाल विश्वकर्माको समूह मिलेर नेकपा (एकता केन्द्र) बनाउने निर्णय ग¥यो ।
एकताको दुई वर्ष नबित्दै सशस्त्र युद्धको विषयलाई लिएर सो पार्टीमा मतभेद शुरू भएको थियो । त्यही मतभेदका कारण २०५१ मा निर्मल लामा, नारायणकाजी श्रेष्ठ, अमिक शेरचन, लिलामणि पोख्रेल लागयतले नेकपा (एकता केन्द्र) गठन गर्नुभयो । गाेरखापत्रमा खबर छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage