scheduleबिहिवार आश्विन २ गते, २०७६

राष्ट्रपति भण्डारी चीन प्रस्थान, यस्तो छ भ्रमण तालिका


काठमाडौं, ११ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान गरेकी छन् । बेइजिङमा दोस्रो पटक आयोजना हुन लागेको बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन सम्मेलनमा भाग लिन राष्ट्रपति बुधबार बिहान बेइजिङ प्रस्थान गरेकी हुन् ।

राष्ट्रपति कार्यालयबाट प्राप्त जानकारीका अनुसार उनी नेपाल वायु सेवा निगमको उडान नम्बर आरए ००१ बाट ११ बजे सियान हुँदै बेइजिङतर्फ प्रस्थान गरेकी हुन् । भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए । चीन प्रस्थानअघि उनलाई नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो ।

आजदेखि सुरु हुने चीनको राजकीय भ्रमणका क्रममा नेपालले रेलदेखि सुरुङमार्गसम्मका परियोजनामा चिनियाँ अनुदान ल्याउने प्रयास गर्ने भएको छ । नेपालले बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) सम्बन्धी परियोजनाका ९ वटा सूची तयार पारेको छ । जसमा ल्हासादेखि काठमाडौंसम्मका अन्तरदेशीय विद्युत् प्रसारण लाइन बनाउने र नौबिसेदेखि काठमाडौंसम्म सुरुङ खन्ने प्रस्तावलगायत छन  ।

नेपालका तर्फबाट सुरुमा ३५ परियोजना पेस भएकामा प्राथमिकताका आधारमा १० भन्दा कममा झार्न चीनले सुझाव दिएपछि नेपालले ९ वटा सूची तयार गरेको हो । हुम्ला जोडिने हिल्सा नाका र मुस्ताङसँग जोडिएको केरला नाका खोल्न, गल्छीदेखि केरुङसम्मको बाटो स्तरोन्नति गर्ने प्रस्ताव पनि नेपालको छ । भ्रमणका क्रममा राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षी सी चिनफिङबीच द्विपक्षीय वार्ता हुनेछ ।

त्यसपछि दुवै देशबीच व्यापार तथा पारवहन सन्धिको प्रोटोकलमा हस्ताक्षर हुनेछ । नेपालका राष्ट्रपतिलाई पहिलोपटक कार्यकारी भ्रमणको निम्तो दिएको चीनले भण्डारी नेतृत्वको टोलीलाई बेइजिङमा उच्च सम्मान दिँदै छ । ५० सदस्यीय टोलीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सांसदहरू, उच्च सरकारी अधिकारीहरूलगायत सहभागी हुनेछन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा पनि टोलीमा सहभागि हुनेछन् ।

राष्ट्रपति भण्डारी वैशाख १९ गते एयर चाइनाको उडान नम्बर सीए ४०७ विमानबाट काठमाडौं फर्किने छिन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage