scheduleमगलवार आषाढ़ ३१ गते, २०७६

कार्यवाहक राष्ट्रपति भन्छन्- खेलकूदमा लगानी बढाउन आवश्यक छ


बाँके, ११ वैशाख । कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनले खेल क्षेत्रमा सरकारले थप लगानी गर्न आवश्यक रहेको बताएका छन् ।

नेपालगञ्जस्थित नेपालगञ्ज रङ्गशालामा आयोजित आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता समापन समारोहलाई सम्बोधन गर्दै उनले राष्ट्रलाई स्वस्थ राख्न खेलकूद अपरिहार्य भएको बताउँदै अन्तरराष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीलाई सशक्त भूमिका निर्वाह गर्न आग्रह गरे ।

उनले भने, ‘नेपालको राष्ट्रिय झण्डालाई विश्वसामु फहराउन खेलकूदको विकास जरुरी छ ।’ निर्धारित समयमै खेलकूद सम्पन्न गरेकामा सरकारप्रति धन्यवाद ज्ञापन गर्दै उनले बाँकी रहेका पूर्वाधार सम्पन्न गर्नका लागि पनि अनुरोध गरे ।

उनले बाँकी रहेका भौतिक पूर्वाधारका काम सम्पन्न गर्दै १३ औँ दक्षिण एशियाली खेलकूदको तयारीमा जुट्न आग्रह गरे ।

कावा राष्ट्रपति पुनले प्रतियोगितामा सहभागी खेलाडी, प्रशिक्षक तथा आयोजकलाई धन्यवाद पनि दिए । यही वैशाख ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको समापन उपराष्ट्रपति पुनले गरेका हुन्।

उपराष्ट्रपति पुन आज कोहलपुरमा रहने र बिहीबार बर्दियाको बाँसगढी नगरपालिकास्थित केदारेश्वर धामको औपचारिक उद्घाटन गरी काठमाडौँ फर्किने बताइएको छ । रासस

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob