scheduleआइतवार भाद्र १ गते, २०७६

समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा

काठमाडौं, १२ वैशाख । थाईल्यान्डमा जारी एसीसी यू-१६ इस्टन रिजन प्रतियोगितामा नेपाल समुह ‘ए’ को विजेता बन्दै सेमिफाईनलमा उक्लिएको छ ।

वर्षाका कारण खेल अवरुद्ध भएपछि नेपाल र घरेलु टोली थाईल्याण्डले विहीबार एक-एक अंक बाँडेका छन् । अहिलेसम्म ३ खेल खेलेको नेपालले २ खेलमा जित हाँसिल गर्दै कूल ५ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

त्यसअघि थाईल्यान्डको प्रेम इन्टरनेशनल स्कुलमा टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको नेपाली यू १६ टोलीले थाइल्याण्डका सामू २ सय ३५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले निर्धारित ३५ ओभरमा ७ विकेट गुमाउँदै २ सय ३४ रन जोडेको थियो । नेपालले दिएको विशाल लक्ष्य पछ्याएको थाइल्याण्डले १.५ ओभरमा १ विकेट गुमाउँदै शून्य रनमा रहँदा वर्षाका कारण खेल विथोलिएको थियो ।
नेपालका लागि विशाल रन जोड्न आईस भट्टराईले ७३ बलमा ९ चौकासहित ५८ रनसहित क्याच आउट भए । उनले कप्तान विशाल विक्रम केसीसँग ७३ रनको साझेदारी गरेका थिए । कप्तान केसीले २७ ओभरको चौथो बलमा क्याच आउट हुनु अघि ३१ बलमा ४ चौका र २ छक्का हिर्काउँदै ३८ रन जोडेका थिए ।

नेपालका लागि ओपनर दिपक बोहोराले ३६ बलमा ५ चौका र १ छक्कासहित ३५ रन जोडे भने सुशान्त थापा शून्यमै प्याभेलियन फर्किए । त्यसैगरी प्रशान्त महत ९ र कृष कार्की ११ रनमा आउट भए ।

विशालकुमार पटेलले २३ बलमा ५ चौका सहित २८ र निखिल कुमार सिंहले १२ बलमा २ चौका र १ छक्का सहित २२ रनमा अविजित रहे ।

थाईल्यान्डका नरवत नुनतरचले ३ र योदस्कले २ विकेट लिए पनि नेपाली ब्याट्सम्यानहरुले उत्कृष्ट प्रदर्शन गरिरहे । नेपालले पहिलो खेलमा म्यानमारलाई ७ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा मलेसियालाई ३९ रनले हराएको थियो ।

नेपालले समूह ‘बी’ को उप-विजेतासँग सेमिफाईनल खेल खेल्नेछ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage