scheduleमगलवार आषाढ़ ३ गते, २०७६

विश्वास गुमाएका वैकल्पिक शक्तिहरू

सन्तोष लामिछाने

नेपालको परिपेक्षमा भन्नुपर्दा हालको पद्धतिविहिन र व्यक्तिकेन्द्रित राजनीतिभन्दा अलग समाजको सेवाको लागि पूर्ण इमान्दारी र निष्ठाको साथ गरिने राजनीति नै वैकल्पिक राजनीति हुन्छ । केही मुद्दा उठान गरेर र केही योजनाहरुमा राम्रो काम गरेर पनि समाजमा परिवर्तन गर्न सकिन्छ । तर वैकल्पिक राजनीति त्यति सीमित परिभाषामा सीमित भने पक्कै हुन्न । वैकल्पिक राजनीतिले हालको व्यवस्था र नेतृत्वको विकल्प भएर शक्ति आर्जन गर्दै व्यवस्था र पद्धति बसाल्न सक्नुपर्छ । त्यो गर्न इमान्दार, निष्ठावान र पद्धतिपालक भएर शक्ति आर्जन गर्ने राजनीति नै गर्नुपर्छ । संगठनका बनाउनुपर्छ ।

विकल्प दिने शक्ति बन्न गर्ने राजनीति नै वैकल्पिक राजनीति हो । यो खाले राजनीतिको पनि सामान्य नियम सहि बाटोबाट शक्ति आर्जन गर्नु नै हुन्छ । जसमा संगठन निर्माणले ठूलो भूमिका खेल्छ । सही मुद्दाको उठान, पारदर्शिता र परिपक्क पद्धति पालनले त्यसमा सहयोग गर्छ ।

सन्तोष लामिछाने

समाजका सबैखाले स्वार्थको व्यवस्थापन गर्न नसक्ने, खाली आदर्शमा मात्र राम्रो सुनिने, खाली बुढा नेता र पार्टीले केही गर्दैनन् भनेर ऐतिहासिक परिप्रेक्ष्य पूर्ण ज्ञान नराखी, नबुझी, फेसबुक र टुइटर रङ्याउने, विदेशी आकाशमा पानी पर्‍यो भनेर नेपालीले छाता ओड्नुपर्छ भन्ने, युवा वा नयाँ बाहेक अरु बेकार भन्ने खाले सोच राख्ने, सबै शक्तिहरूको सही मुल्यांकन नगरी ठूला-ठुला शब्द, सिद्धान्त ओकल्ने तर लचकता, धैर्यता र नेतृत्व कौशलले सबै वैकल्पिक शक्ति समर्थकलाई एकतावद्ध गर्दै शक्ति आर्जन गरेर विकल्प दिन नसक्ने राजनीति वैकल्पिक राजनीति हुन सक्दैन ।

नयाँ बर्ष सन् २०१९ को सुरुवातमै नेपाली वैकल्पिक राजनीतिका शुभचिन्तकमाथि एउटा ठूलो प्रहार भयो । त्यो प्रहार अरु कसैको नभएर वैकल्पिक राजनीतिको हिमायती मानिएको विवेकशील साझा पार्टीको फुटले गरेको प्रहार थियो । कुनै समय स्वच्छ, सुसंस्कृत र पद्धति पालन गरेर राजनीति गर्दै समृद्धि हाम्रै कालमा ल्याउने भनेर लागेका विवेकशील र साझा दुई अलग पार्टी मिलेर जाने निर्णयले संसारभरका नेपालीहरूलाई जुन आशा ल्याएको थ्यो त्यो आशामा चिसो पानी यो फुटले खन्यायो ।


यो फुटको बारेमा धेरै विश्लेषण, टिका टिप्पणी भए । दोष, आरोप, प्रत्यारोप जसले जसलाई लगाएपनि जुन क्षति नेपाली वैकल्पिक राजनीतिलाई यो फुटले भएको छ- कुनै पनि किसिमले त्यसको क्षतिपूर्ति छोटो समयमा नहुने देखिन्छ । केही समय पर्खेर अलि शान्त भएपछि केहि धारणा राख्ने हेतुले अहिले करिब चार महिना पछि यो विश्लेषण तयार गरेको छु ।

विवेकशील पार्टी साझासँग एकता हुनु अघि नै मिल्नु हुन्न भन्ने केही व्यक्तिहरू पार्टीमा रहेको जगजाहेर छ । सायद मिल्नु हुन्न भन्ने केही साझामा पनि हुनुहुन्थ्यो होला तर अधिकांशले मिल्ने भनेर नै दुई पार्टी जोडिन पुगेका हुन् । काम गर्दै जाँदा, विवेकशीलबाट आएका साथीहरूलाई बिस्तारै साझाका साथीहरूको काम गर्ने शैली मन नपरेको र आन्तरिक मतभेद हुदै गएको देखिन्छ ।

काठमाडौँ क्षेत्र नम्बर १ बाट को उठ्ने, राष्ट्रियसभाको चुनावमा राधेश्याम अधिकारीलाई समर्थन गर्ने कि नगर्ने जस्ता निर्णयदेखि नै विवेकशील र साझाबाट आउनेहरूमा प्रक्रिया र पारदर्शीतामा मतभिन्नता हुँदै गएको देखिन्छ । विवेकशीलका अधिकांश नेतृत्व गर्नेहरू राजनीतिलाई पेसा बनाउनु हुन्न भनेर फुल टाइम काम गर्ने तर साझाबाट नेतृत्वमा आउनेहरू अधिकांश फुर्सदिला र काम व्यवसाय नगर्ने भएकाले कतिपय मिटिङ्ग गर्दा विवेकशीलहरूलाई बिदाको दिन मात्र अनुकुल पर्ने तर साझाबाट आउनेहरूको अनुकुल मिटिङ्ग र निर्णय हुँदै गएको पनि देखिन्छ ।

प्रदेश संयोजकहरूको नियुक्तिमा असन्तुष्ट भएर रहेको संयोजन समितिलाई सबैभन्दा उत्तेजित पार्ने कदम भने उज्वल थापाको चुनावपछिको पार्टीको गतिविधि समीक्षा प्रतिवेदन केद्रीय समितिमा छलफल हुनुभन्दा पहिले नै मिडियामा आउनुले गरेको देखिन्छ । त्यसपछि साझा पक्षधरहरूले केन्द्रीय समितिमा सदस्य थप्ने, केन्द्रिय विभागहरू विघठन गर्ने र महिला तथा युवा संगठन खोल्ने जस्ता निर्णय आफू अनुकुल गरेको, प्रक्रिया र पारदर्शीता नअपनाएको र विवेकशील पक्षलाई पेल्दै लाने नीति लिएको भन्ने आरोप छ ।

उज्वल थापाको प्रतिवेदन नआउँदासम्म दुवैतर्फबाट जसरी तसरी मिल्दै मिलाउँदै जाने नीतिनै अख्तियार भएको देखिन्छ । तर उक्त प्रतिवेदनले फुटसम्म पुग्न ठूलो भूमिका खेलेको यो पंक्तिकारलाई लाग्छ । सुरुमा त, पार्टीको संयोजकको हैसियतमा भएका उज्वलले आफ्नो आन्तरिक प्रतिवेदन आन्तरिक नै राख्नु पर्थ्यो । बाहिर ल्याएछि विवेकशील पक्षधरको भनाइ यो छ कि प्रस्तावित केन्द्रीय कमिटीको बैठकमा उक्त प्रतिवेदन छलफल गर्न भनेर अजेण्डामै राखिएन । तर आफैं संयोजक पनि रहेका उज्वलले केन्द्रीय समितिमा उपस्थित भएर मौखिकरुपमै छलफल चलाउन सक्थे ।

पार्टी फुटेपछि भएको पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता सूर्यराज शर्माका अनुसार केन्द्रीय कमिटिको बैठकमा उज्वल थापाको नामै तोकेर समीक्षाको विषय प्रस्ताव नगरिए पनि पार्टीका पछिल्ला गतिरोधहरु र समग्र समीक्षा भनेर एजेन्डा तयार गरिएको थियो । हुन त उज्वल थापाको नामनै तोकेर समीक्षा एजेन्डामा राख्नुनै उपयुक्त हुन्थ्यो- यस्ता बिशेष कुरामा लक्षित र ठोस भाषाको प्रयोग नै उपयुक्त हुन्थ्यो । बरु त्यसो नगर्दा भ्रम पैदा भयो र यही सम्बधि कुरामा सूर्यराज शर्मालाई किन ठोस भाषा प्रयोग नगरेको भनेर सोध्दा उनी उल्टो कुर्लिएर- राजनीतिक भाषा प्रयोग गरेको, पार्टी संयोजक जस्तो मान्छेको नामै तोकेर लेख्नु हुन्न भन्ने खाले आशयको अभिव्यक्ति दिए । त्यसैले आफू जस्तो अनुभवीको पनि गल्ति हुन सक्ने कुरा उनले नसोचेको प्रष्ट देखिन्छ ।

हो, उज्वल थापाको प्रतिबेदन सार्बजनिक गराइमा प्रक्रियागत त्रुटि थियो । तर त्यसपछि साझा पक्षधरहरूले बोलाएको केन्द्रीय समितिको बैठकमा उज्वल थापाको समीक्षा प्रतिबेदनसम्बन्धीको बहसको एकल मुद्दा हुनुपर्नेमा पहिलो खण्डमा ५ जना केन्द्रीय सदस्य थप्ने र दोस्रो खण्डमा पार्टीको समग्र समीक्षा गर्ने भनियो । यसरी बैठकले सुरुमै सदस्य थप्यो भने मिश्रपक्षको बहुमत पुग्न सक्ने र त्यसपछि आफूहरूलाई पार्टीमा कारवाही हुन सक्ने स्थिति आउन सक्ने आशंका विवेकशील पक्षधरमा भएको देखिन्छ ।

मुख्य त यिनै आशंकाहरूले पार्टी फुट्ने स्थिति आएको देखिन्छ । तर यहाँ पनि विवेकशीलले पार्टीनै फुटाउने निर्णय गर्नुअघि अझै एकपल्ट छलफल गरेको भए हुने जस्तो देखिन्छ । एकएक “छापामार” शैलीमा पार्टी फुट्नु साझा पक्षधरले नसोचेको स्थिति जस्तो देखिन्छ । यसरी प्रक्रियागत कमिमजोरी, मनमुटाव, मतभेद र दुवै तर्फबाट गल्तीहरू भएपनि पार्टीनै फुटाउनु पर्थ्यो जस्तो लाग्दैन । तर फुटको परिणामका भागीदार दुवै पार्टी हुन् । स्वच्छ, सफा र पद्दति बसाल्न राजनीति सुरु गर्नेहरूबाटै यस्तो कमजोरी हुनु नेपाली वैकल्पिक राजनीतिका पक्षधर नेपाली जनताको ठूलो दुर्भाग्य हो ।

साझा पक्षधरहरूले हामी परिपक्क थियौ, विवेकशीलहरू अपरिपक्क हुनुहुन्थ्यो भनेर पन्छिन पाउनुहुन्न । परिपक्क र जिम्मेवारले अरुलाई पनि परिपक्क र प्रक्रिया सिकाउँदै सबैको क्षमता, सीप र कौशल विकास गर्दै लानु पर्छ । त्यसैले साझाका पक्षधरको पनि कमजोरी भएकै हो । विवेकशील पक्षधरको पनि । तर बुझ्नु पर्ने कुरो के हो भने जस्तो सुकै साना तिना प्राविधिक गल्ति भए पनि फुटको गल्ति भने निक्कै ठूलो गल्ति हो । नेपाली राजनीतिको इतिहास राम्ररी नियाल्नेले फुटको राजनीतिले कहाँ पुर्‍याउँछ भन्ने राम्ररी बुझ्नु पर्थ्यो, फुट्नु अघि सोच्नु पर्थ्यो । फुट्नु भने महागल्ती हो । यसले वैकल्पिक राजनीतिलाई अतुलनीय क्षति भएको छ । नेपाल र नेपालीको आशा प्रति कुठाराघात भएको छ ।

अहिले आएर साझा पार्टीले अलि बढी चर्चित र “हाइ प्रोफाइल” व्यक्तिहरूलाई पार्टीमा नेतृत्व दिदै, संगठन गर्दै अघि बढ्ने नीति अख्तियार गरेको देखिन्छ भने विवेकशीलले उही पुरानै शैली, असल मुद्दा उठाउने र नेतृत्व प्राकृतिक रुपमै बिकास गर्दै ल्याउने नीति अख्तियार गरेको देखिन्छ । हामीले बुझ्नु पर्ने के छ भने कोही सेलेब्रिटी मात्र भएर जनताले विस्वास गर्छन् भन्ने छैन । एउटा सामान्य मान्छेले पनि असल मुद्धा उठाएर सबैको मन र समर्थन जित्न सक्छ ।

विवेकशील त्यस्तो पार्टी हो जसलाई केही बर्ष अघि कसैले चिन्दैनथे । त्यही पार्टीका युवाहरूले नेपाल बन्द बिरोधी लिएको मुद्धाले गर्दा हाल नेपालमा नेपाल बन्द हुन छोडेको छ । विवेकशीलले उठाएको “नोट चल्ने भोट नचल्ने” अभियान कुनै सेलेब्रिटीले चलाएर नेपालको अदालत ले “बिदेशमा भएका नेपालीले भोट हाल्ने व्यवस्था गर्नु” भनेर आदेश दिएको होइन । विवेकशीलका सामान्य युवाहरूले गरेको मिहेनतले धेरै मुद्धाहरू राष्ट्रको मुलधारसम्म आइपुगेका छन् ।

हो संगठन बनाउनु पर्छ, चर्चित र राम्रा व्यक्ति ल्याएर पार्टी र मुद्धाप्रति ध्यान केन्द्रित गर्नु पर्छ । तर युवाहरूको उर्जा, संकल्प र क्षमतालाई नजरअन्दाज गर्नु हुँदैन । आफूलाई युवा भन्नेहरूले पनि परिपक्क र अनुभवीलाई सम्मान गर्ने र सधै नयाँको मात्र वकालत गर्नु भन्दा परम्परागत कुराहरूको पनि महत्व बुझेर सम्मान गर्न सिक्नु पर्छ ।

कमी कमजोरीहरूबाट कोही अछुतो रहदैन, युवा होस् वा बुढो । सबैको क्षमता बिकास गर्दै देश र जनताले चाहेको समृद्धिका खातिर भरपूर लचकता, धैर्य र दृढ इक्षाशक्ती देखाएर अघि बढ्न सक्नेले मात्र वैकल्पिक राजनीतिमा लाग्नु राम्रो । नत्र वैकल्पिक राजनीति पनि विगत ३० बर्षमा बहुदलिय राजनीतिमा देखिएको राजनीति भन्दा केही फरक हुने छैन । फुट र गैरजिम्मेवार राजनीति नै दोहोरिने हो भने नेपाली जनताका सम्वृद्धिका आकांक्षा रित्तो आकाशमा बाफ भएर सकिनेछन् । देशको इतिहासमा थप दुई चार असफल पात्र र समूह नमिठो सम्झना भएर रहने छन् । एकपल्ट विश्वास जितेका विवेकशील र साझाले जनताको विश्वास गुमाएका छन् । आशा छ जनताको मन सधै जितिराख्न भविष्यमा भने बैकपिक शक्ति बन्न खोज्नेहरू अलि बढी गम्भीर हुने छन् र नेपालमा सम्वृद्धि, सुशासन र सदाचारको राजनीति मुलधारमा छिट्टै आइपुग्ने छ ।

(लेखक हाल अमेरिकाको म्याडिसन विस्कनसिनमा छन्)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob