scheduleशनिवार श्रावण ३२ गते, २०७६

मुक्त कमैया शिविरमा पानीको हाहाकार


भीमदत्तनगर, २७ वैशाख । कञ्चनपुरको बेदकोट नगरपालिका–५ धरमपुरको मुक्त कमैया शिविरमा पानीको हाहाकार भएको छ । बिहीबार बेलुकी बस्तीमा रहेको धारामा पानीमा लाइन बसेकी अनिता विकलाई हरेक दिन पानीका लागि लाइन बस्नु बाध्यता बनेको छ ।

‘गर्मीयामका तीन महीना त प्यास मेटाउनै मुश्किल पर्छ’, धरमपुरकी विकले भनिन्, ‘मुक्तभएपछि यहाँ बसेयता पानीको समस्या हरेक वर्ष झेल्नुपरेको छ ।’ फागुनदेखि असार महीनामा आकाशबाट पानी नपरुञ्जेलसम्म बस्तीमा पानीको समस्या हुने गरेको विकको भनाइ छ ।

‘सयौँ परिवार रहेको गाउँमा मुश्किलले दुई÷तीन वटा नल्का (धारा) मा थोरथोरै पानी आउँछ’, उनले भनिन्, ‘यहाँ राति १२ बजेसम्म पानी भर्न धारामा बस्नुपर्ने बाध्यता छ ।’ त्यसैगरी बस्तीकै सुनिता थारुले पनि पानीकै कारण बस्तीभरि समस्या रहेको बताइन् ।

‘कमैयाबाट मुक्त भएपछि स्वतन्त्र भएको आभास त भयो’, थारुले भनिन्, ‘तर सामान्य सुविधासमेत बस्तीमा नहुँदाको पीडा हामीलाई मात्रै थाहा छ ।’ सिँचाइको अभावले करेसाबारीमा तरकारी फलाउन पनि समस्या हुने गरेको मुक्तकमैया बस्तीका स्थानीयवासीको दुखेसो छ ।

‘जहिल्यै तरकारी किनेर खानुपर्छ’, उनले भनिन्, ‘कृषिमै निर्भर रहेपनि थारु समुदाय मजदूरी गरेर परिवार पाल्दैछन् ।’ विसं २०५८ मा पुनःस्थापना भई शिविरमा बसेयता पानीको समस्या रहेको स्थानीय लक्ष्मी औजीले बताइन् । बस्तीमा पानीका लागि बोरिङ जडानको काम भइरहेको भए पनि त्यसको निर्माण गति सुस्त रहेको उनको भनाइ छ ।

‘अठार वर्षदेखि यहाँ पानीको समस्याबाट मुक्त हुन सकेनौँ”, औजीले भनिन्, ‘हाम्रो बस्तीसम्म पनि स्वच्छ खानेपानी पुग्ला र ?’ स्थानीय कल्पना डगौराले पानी नहुँदा नुहाउन र लत्ताकपडा धुन टाढाको खोलामा जानुपर्ने बाध्यता रहेको बताइन् । रासस

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage