scheduleशनिवार श्रावण ४ गते, २०७६

बेला-बेला किन बहुलाउँछन बाबुराम !

रुद्रप्रसाद भट्ट

भनिन्छ- कुनैपनि लक्ष्य लिएर हिँडेको व्यक्तिलाई सारा दुनियाँले ‘पागल’ भयो नभनेसम्म उसले लक्ष्य भेट्टाउन सक्तैन । जब दुनियाँले पागल भनिरहन्छ अनि सम्झनुपर्छ की म सहि बाटोमा नै छु र लक्ष्यको नजिकै पनि छु । यतिबेला पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई फेरी बहुलायो वा पागल भयो भन्न थालिएको छ । तर बाबुरामलाई पागल भन्नेहरु कुनै डाक्टर वा मनोरोग विशेषज्ञ होईनन । आफुलाई भयंकर देशभक्त, लोकतन्त्रवादी, जान्नेबुझ्ने, विश्लेषक, विचारक, राजनीतिज्ञ भन्ने केहि मनोरोगीको जमातले पुनः बाबुरामलाई बहुलायो भन्न थालेका हुन् ।


हुन त यो नयाँ घटना भने होईन । जनयुद्धको नेतृत्व गर्दा, संविधानसभाको नारा उठाउँदा, राजतन्त्र ढाल्ने कुरा गर्दा, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता हुँदै माओवादी पार्टी र संसद सदस्य त्याग्दै आर्थिक समृद्धिको कुरा गर्दासम्म बाबुरामलाई ‘पागल’ भनिएकै हो । अहिले पनि आफुलाई मधेसको विज्ञ, पहाडको जानकार, राजनीतिको टिप्पणीकार भन्नेहरुले त्यसैलाई निरन्तरता दिईरहेका छन् ।

पछिल्लो समय नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरमबीच पार्टी एकता भएको छ । यसलाई दुवै पार्टीका शीर्ष नेताले वैकल्पिक राजनीतिक शक्ति निर्माणकै निरन्तरता भनेका छन् । प्रधानमन्त्री भैसकेका डा.भट्टराई संयोजक रहेको नयाँ शक्ति पार्टी र वर्तमान उपप्रधान तथा स्वास्थ्यमन्त्री रहेका उपेन्द्र यादव अध्यक्ष रहेको संघीय समाजवादी फोरमबीच एकतापछि बनेको समाजवादी पार्टीमा दुवै नेता अध्यक्ष भएका छन् ।

२०७३ जेठ ३० गते रंगशालामा पार्टी घोषणा हुँदा समृद्धिको नारासहित ५ ‘स’ लाई मुलमन्त्र बनाएर हिँडेको पार्टी र मधेस आन्दोलनको जगमा निर्माण भएको पार्टीबीचको एकताले अबको वैकल्पिक शक्ति निर्माणमा कस्तो भूमिका खेल्छन् र जनताको मन जित्न सक्छन् वा सक्तैनन् त्यो चाहिँ हेर्न बाँकी छ । यो एकता आवश्यकता की बाध्यता भन्ने कुरा पनि भविष्यले नै पुष्टि गर्ला ।

तर, १० वर्षको जनयुद्ध हुँदै शान्ति प्रक्रिया, संविधानसभा निर्वाचन, प्रचण्ड नेतृत्वको सरकारका सफल अर्थमन्त्री, पूर्व प्रधानमन्त्री, संविधान निर्माणमा मुख्य भूमिका निभाएका र पछिल्लो समय वैकल्पिक राजनीतिक शक्ति निर्माण गरी त्यसको नेतृत्व गरेका बाबुरामका लागि भने यो एकताले फेरी बाबुराम ‘बहुलायो’ भन्ने पुरानै आरोपको सामना गर्नुपर्ने भएको छ ।

२०५२ सालमा शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारलाई पेश गरेको ४० सुत्रिय माग सुनुवाई नभएपछि जनयुद्ध सुरु गर्दा पनि धेरैले बाबुराम बहुलायो नै भनेका थिए । त्यत्रो पढेको मान्छे पनि त्यसरी बुद्धि बिगार्दो रहेछ ! ‘विचरा’ बाबुराम पागल भयो अब उतै मर्छ समेत भने । आफूलाई नम्बरी देशभक्त, क्रान्तिकारी, बुद्धिजिवी भन्नेहरुले बाबुरामलाई विचरा भन्दै आतंककारी, जंगली, हत्यारा भनेकै हुन् ।

त्यही जनयुद्धमा लागेर बहुलाएको ‘विचरा’ बाबुरामले शुरु गरेको युद्धकै बलमा आएको गणतन्त्रमा ‘मेरो सरकार’ भन्न पाउने सम्माननीय राष्ट्रपति र प्रधानमन्त्री केपि शर्मा ओली समेतलाई त्यतिबेला अहिलेको सर्वोच्च पदमा पुगिएला भन्ने लागेकै थिएन ।
२०५२ सालमा बहुलाएका बाबुरामले शुरु गरेको त्यहि जनयुद्धले राजतन्त्र ढालेर देशमा गणतन्त्र ल्यायो । संविधानसभाको निर्वाचन भयो । त्यहि संविधानसभाले जनताको संविधान लेखियो र देशमा संघीयता लागू भयो । आज बाबुराम बहुलायो भन्नेहरु नै संघ र प्रदेशको नेतृत्व गर्दै नयाँ राजा बन्ने कसरत गरिरहेका छन् । अनि बाबुराम चाहिँ फेरी देश समृद्ध बनाउने सपना देखेर बहुलाएकै छन् ।

संविधान पूर्ण छैन भन्दा बहुलाए । माओवादी आन्दोलन विसर्जन भयो । अब नयाँ ढंगले पार्टी अगाडी बढाउनुपर्छ भन्दा बहुलाए अनि हिमाल, पहाड, तराई, महिला, आदिवासी जनजाति, मधेसी, थारुलाई अधिकार दिनुपर्छ भनेर पनि बाबुराम बहुलाए ।

जनयुद्धमा लागेर व्यर्थै बुद्धि बिगारेको भनिएका बाबुरामले सुशासन र समृद्धिको कुरा गरेर पनि बहुलाए । जब बाबुराम प्रधानमन्त्री भए त्यो समयमा उनले देश निर्माणको खाका ल्याए, बाटोहरु फराकिलो बनाए । राष्ट्रिय गौरवका आयोजनाहरु सुरु गरे । अनि चीन र भारतसँग समदुरीको सम्बन्ध राखेर विकासको गतिमा देशलाई अगाडी बढाउँदै सुखी र समृद्ध देश बनाउनुपर्छ भनेर पनि उनी बहुलाए । पटक-पटक बहुलाउने बाबुराम जब माओवादी पार्टी सकियो । अब पार्टीलाई नयाँ ढंगले अगाडि बढाऊँ भनेर पार्टीभित्रै नयाँ विचारको बहस सुरु गरे । त्यसपछि त झन उनलाई पागल भन्नेहरु उनकै पार्टीमा धेरै देखिन थाले । सायद त्यसैले होला बाबुरामको बहुलाउने क्रम रोकिएन र नयाँ शक्ति पार्टी घोषणा गरेर फेरी बहुलाए ।

पछिल्लो समयमा संसफोसँग पार्टी एकता गरेपछि त झन बाबुराम बहुलाए । अब सकिन्छन् भनेर मधेसका जानकार, पहाडका जानकार, बाबुरामका जानकार, विश्लेषक, विचारक, बौद्धिक, अगुवाजस्ता पगरीवालले बहस सुरु गरेका छन् ।

जब बाबुरामले दूरगामी सोच राखेर नयाँ-नयाँ कुरा बहसमा ल्याउँछन् । अनि एकाथरी मान्छेहरु भन्न थाल्छन् । अब बाबुराम सिद्धियो । पछिल्लो पटक संघीय समाजवादी फोरमसँगको पार्टी एकतापछि फेरी एकपटक हिजो बाबुरामलाई राष्ट्रघाती, भारतीय दलाल, मधेसीको पुच्छर भन्दै बिग्रियो । खत्तम भयो । बुद्धि बिगार्‍यो, सिद्धियो भन्नेहरु बजारमा देखिएका छन् । मधेसमा आगो बलिरहेको बेला मधेसमै पुगेर समस्या बुझ्ने र देशलाई गम्भीर खतराबाट बचाउनुपर्छ भन्ने बाबुरामलाई मधेसीको पुच्छर र भारतीय दलाल भनियो ।

आफ्नै पार्टीलाई यथास्थितिमा होईन । नयाँ गतिमा अगाडी बढाऔं भन्दा सहिद, घाईते, अपाङ्गलाई धोखा दिने गद्दार भनियो । अनि आर्थिक समृद्धि कुरा गर्दा हावादारी भनियो र रेल, तेल र पानी जहाजका कुरा गर्नेलाई चाहिँ समृद्धि नायक देखियो । तर, आज पार्टीलाई एमालेकरण गर्दा ती सहिद, बेपत्ता र घाईतेको अवस्था के भयो होला ? अनि बाबुरामले समृद्धिको कुरा गर्दा हावादारी भन्नेहरु जानी नजानी त्यहि नारा रटेर हिँडिरहँदा जनताले के ठानिरहेका होलान् ? अब यस्ता थुप्रै प्रश्नहरुको जवाफ पनि तीनै बहुलाएका बाबुरामले दिने की ‘मेरो सरकार’ले दिने ?

एक हिसाबले भन्ने हो भने बाबुराम बेला बेला बहुलाउनै पर्छ । यदि बाबुरामको ठाउँमा अरु कोही बहुलाउन थाल्यो भने देशले दुःख पाउँछ । बाबुराम बहुलाउँदा जनयुद्धमार्फत् राजतन्त्र ढालेर गणतन्त्र ल्याउन सकियो, संविधानसभा निर्वाचन अनि संविधानसभाबाट जनताको संविधान, संघीयता, धर्मनिरपेक्षता, विभिन्न जातजाति, भाषाभाषी, वर्षौंदेखि पछाडी पारिएकाको अधिकार सुनिश्चित भयो । देशले समृद्धिको यात्रा शुरु गर्‍यो ।

यदि बाबुराम नबहुलाएको भए यो सम्भव थिएन । यदि कसैलाई बाबुराम बहुलाएको मन पर्दैन र उनले गरेका काम पनि राष्ट्रको हितमा छैन भन्ने लाग्छ भने बाबुरामले गरेका सबै काम उल्टाईदिउँ । भारतसँगको बिप्पा खारेज गरिदिऊँ । फराकिलो बाटोमा भू-माफियालाई सटर बनाउन दिऊँ । राष्ट्रिय गौरवका आयोजना तुहाईदिऊँ । बाबुरामलाई कारबाही गरौं । अनि रेल, तेल, पानीजहाज, हावाबाट बिजुली, पाईपबाट घर–घरमा ग्याँस दिन्छौं भनेर जनतालाई हँसाएरै बसौं ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob