scheduleमगलवार भाद्र ३१ गते, २०७६

गाउँघरमा पर्यटनः पेशाकर्मी उत्पादन वा गन्तव्यको पहिचान

ज्योति अधिकारी

पर्यटन पेशाकर्मी उत्पादन गर्ने क्षेत्रको पहिचान
नेपालमा पर्यटनको पेशाकर्मीहरु र पछिल्लो समय उद्यमीहरु उत्पादन गर्ने क्षेत्रको रुपमा यो भूगोल (धादिङ १ ख) लाई चिनिन्छ । पेशाकर्मी उत्पादन गर्ने क्षेत्रको यो पहिचान जोगाउन कडा मेहनत गर्नसक्ने र वर्तमानको चुनौती र सम्भावनालाई चिन्न र उपयोग गर्न सक्ने युवा जनशक्तिहरुलाई थप प्रोत्साहन र हौसलाको वातावरण सिर्जना गर्दै अगाडि बढ्नुपर्छ । यो जनशक्तिसँगसँगै बालबालिकालाई उचित खानपान, शिक्षा (पर्यटनका विभिन्न विधाहरुको परिचयात्मक शिक्षा पनि विद्यालय अवस्थामा नै दिने) र खेतबारी अर्थात् माटोमा खेल्दै हुर्कने संस्कार र संस्कृतिको विकास हुने उचित वातावरण बनाउन जनप्रतिनिधिहरु संवेदनशील हुनैपर्छ ।

कठिन भूगोलमा खेल्दा खेल्दै हुर्केका बालबालिकाहरुले नै हो भोलिको पर्यटन व्यावसायमा नविनता र दिगोपना थप्ने ।

सिङ्गो पृथ्वी एउटा घर

सिङ्गो पृथ्वी एउटा घर हो । उचित क्षमताका युवा जनशक्तिहरु भएको समाज नै आजको विश्वमा भाईचाराको सम्बन्ध कायम गर्न सफल प्रगतिउन्मुख विश्व विजेता हुन् । त्यसैले सिङ्गो संसार नै मेरो कर्म क्षेत्र हो भन्ने सोच बोकेर आफ्नो क्षमताले सक्ने आँखा अगाडिको सानो भनिने कामहरुमा दृढतापूर्वक निरन्तर लागि रहन सक्ने जनशक्ति उत्पादन हुने वातावरण निर्माण गर्न सबै जनप्रतिनिधिले ध्यान दिनुपर्दछ । यस्तो अवस्थामा मात्र तीनै जनशक्तिमार्फत संसारका सबै समृद्धिका सम्भावनाहरु तपाईकै अगाडि आउने छन् ।

मानव निर्मित वस्तुहरु नै पर्यटकको गन्तव्य
मानव निर्मित वस्तुहरु नै कालान्तरमा पर्यटकको गन्तव्य हो । यदि हामीले पर्यटन गन्तव्यको पहिचान खोजेको हो भने दिगो रहन सक्ने सबै मानव निर्मित वस्तुहरु नै कालान्तरमा पहिचान बन्दछ र सारा मान्छेहरुको गन्तव्य हुन सक्दछ । यसका लागि हामीलाई प्राकृतिकरुपमा प्राप्त यो धर्तिको सबै प्राणी र प्रकृतिको वर्तमान स्वरुपको विनाश रोक्न आजै अभियान थाल्नुपर्छ । विकासको बहस र कार्यक्रम सञ्चालन हुँदैछ भने तपाईको नेतृत्वको विकास तपाई र तपाईपछिको थुप्रै पुस्ता त्यसको उपयोग गर्न तयार रहन्छ की रहँदैन गहनतापूवर्क सोच्नुहोस् ।

पन्ध्र पुस्ताको मिहेनत बेवारिसे बन्दैछ
झन्डै १५ पुस्ताले निरन्तर आफ्ना सन्तानको भरण पोषणको लागि जङ्गल फाँडेर, खोरिया खोस्रेर, बिना आधुनिक औजार ढुङ्गा फोडेर बनाएका घर, बारी बस्ती र फाँटहरुलाई एउटै पुस्ताले किन बेवारिसे बनाउँदैछ । यसको उत्तर खोज्नुहोस् ।

अनि मात्र अन्य क्षेत्रले खाईनखाई बचत गरेर तपाईलाई पठाएको बजेट वितरणमा तपाई न्याय गर्न सक्नुहुनेछ । विचार गनुहोस् । तपाईले योजना छनोट र निर्माणमा बलियो र स्थानीय पहिचान झल्कने कलात्मक बनाउन सक्नुभएन भने तपाईले अघिल्लो पुस्ताको सम्मान गर्न त सक्नु हुन्न नै भावी पुस्ताले पनि धिक्कार गर्नेछ । यो अवस्था भनेको बजेटको दुरुपयोग हो । एक स्थान र शीर्षकमा एकपटक खर्च गरिसकेपछि २०औं वर्ष भवितव्य बाहेकमा फेरी अन्य स्रोतको बजेट उपयोग गर्नै नपर्ने अवस्था र त्यसको निरन्तर उपयोग भयो भने मात्र त्यो सहि अर्थमा विकास (दीगो) हो ।

हाम्रा प्रत्येक स्थानीय गाउँ वा भुगोल पर्यटकीय गन्तव्य बन्न सक्दछन् जसका लागि गर्नैपर्ने कार्यहरुका लागि केहि उपयोगी टिप्सहरु-

क. बस्ती सुन्दर बनाइदिनुहोस् 
सकेसम्म तपाईं हुर्केको बेला तपाईको आँखा वरपरका सबै भन्दा राम्रा घर बस्ती भन्दा तपाईको नेतृत्वमा बन्ने घर बस्ती सुविधाजनक र आकर्षक हुनैपर्दछ । अन्य पेशाबाट आर्जन गरेर र सधै माथिबाट या बाहिरबाट बजेट या स्रोत जम्मा गरेर बाँचेको बस्ती या गाँउहरुमा अब लगभग अन्तिम पुस्ताका मान्छेहरु बसोबास गरिरहेका छन् भन्ने नभुल्नुहोस् । यस्ता ठाउँमा बजेट लगानी गर्दा कम्तिमा पनि सबैभन्दा अन्तिम समयसम्म बस्ने मान्छेहरुबाट पनि उपयोग र संक्षण हुन सक्ने आयोजनाहरुमा मात्र ठूलो रकमको बजेट खर्च गर्न तम्सनुहोस् ।

ख. अतिथी गृह बनाउन प्रोत्साहन गर्नुहोस्
तपाईको क्षेत्रको सबैभन्दा रामाईलो तथा सुविधाजनक स्थलमा कम्तिमा ८ या १० जना एकैसाथ बस्न सक्ने र तपाईको भूगोलको आफ्नोपन भएको तर सबैखालका आधुनिक सुविधासहितको होटल या अतिथीगृह बनाउन प्रोत्साहन गर्नुहोस् । यसमा तपाईका क्षेत्रमा रहेका पर्यटन व्यवसायी या विदेशमा रहने तथा राम्रो आय आर्जन गर्ने नेपाली समुदायलाई प्रोत्साहन गर्न सक्नुहुनेछ । त्यसरी बनेका अतिथिगृहहरुको उचित मूल्यसहित व्यापक प्रयोगमा जोड दिनुहोस् । जसले बाहिरका मान्छेहरु सपरिवार या साथीहरुसँग फेरी फेरी पनि आउन प्रोत्साहन गरोस् । तपाईको क्षेत्रको उत्पादनको त्यसमा संयोजन गर्न नभुल्नुहोस् ।

ग. मानवनिर्मित तलाउहरु निमार्ण गर्ने अभियान चलाउनुहोस्
बर्षायाममा झण्डै ६ महिनासम्म पानी बगिरहने खोला या खोल्चाहरुबाट नजिकमा सुख्खा याममा पनि पानी जम्नसक्ने सकेसम्म धेरै मानवनिर्मित तलाउहरु निर्माण गर्ने अभियान चलाउनुहोस् । जसले त्यस वरपरका कृषक, जंगल र पशुपंछी या जनावरलाई जीवन्त बनाउँदछ ।

घ. तपाईको क्षेत्र प्लाष्टिक र बोटल मुक्त बनाइदिनुहोस्
बाटोघाटो, देउराली भन्जाङ्गे, कुलो, खोला, भिरपाखा तथा पँधेरालगायत सुन्दर चौर, जंगल तथा फाँटहरु लगायतका तपाईको क्षेत्र प्लाष्टिक र सिसाका बोटलको भण्डारण क्षेत्र बनिरहेका छन् । तपाईको क्षेत्र अब प्लाष्टिक र सिसाका बोटल मुक्त क्षेत्र बन्नैपर्दछ, बनाइदिनुहोस् ।

ङ. सार्वजनिक धारा तथा पँधेराहरु आर्कषक बनाउनुहोस्
सार्वजनिक धारा तथा पँधेराहरु ढुङ्गे या पितलका बुट्टेदार बनाउनुहोस् । जनावर पशुपन्छीले पिउने पानी साबुन तथा विभिन्न रसायन वा केमिकल मिसिएका पदार्थबाट टाढा राख्न लगाउनुहोस् । चौतारा तथा सार्वजनिक स्थलहरु परम्परागत निर्माण सामग्रीहरुबाट आकर्षक बनाईदिनुहोस् ।

च. बाटो या सडक टिकाउ र सुन्दर बनाउनुहोस्
बाटो या सडक जति बनाउन सक्नुहुन्छ, त्यति टिकाउ र सुन्दर देखिने बनाउनुहोस् । सकेसम्म चौतरा, पुराना रुख, झर्ना, तलाउ तथा चट्टानहरु जोगाउनुहोस् । देउराली र भञ्ज्याङ्गको सुन्दरतालाई सडक सञ्जालमा पनि जोड्ने प्रयास गर्नुहोस् ।

छ. जमिन अथवा खेतबारी बाँझो नछोड्नुहोस्
जमिन अथवा खेतबारी बाँझो राख्ने छुट कसैलाई नदनिुहोस् । बजारमा उत्पादनको मुल्य जेमा राम्रो हुन्छ त्यसैमा खेती या अन्य पेशा गर्न प्रोत्साहन गर्नुहोस् । बाँझो राख्नै पर्ने अवस्थामा राम्रो चरण या खर्कमा रुपान्तरण गर्ने, वृक्षारोपण तथा डाले घाँसजस्ता अवस्थामा राख्नैपर्ने बाध्यात्मक अवस्था सृजना गर्नुहोस् । बस्तीमा बढ्दै जाने बाँझोपनले बाँकी बस्तीमा समेत निराशा आउँदछ र भविष्यप्रति शंका र अविश्वास बढाउँदै लान्छ ।

ज. उच्च गुणस्तरको उत्पादनमा प्रोत्साहन गर्नुहोस्
पानी बगिरहने खोला या खोलाका तल्लो खोचहरु र त्यसका वरपर रहेका खेत या फाँटहरुमा ठूला खालका तलाउ र उक्त पानीको ब्यापक उपयोग गर्ने नीति लिनुहोस् । अंगुर, किवी, माछा तथा उच्च गुणस्तरको पानी उत्पादनको लागी प्रोत्साहन गर्नहोस् ।

झ. बस्तीहरुलाई रोजगार तथा उत्पादन समन्वय गर्नहोस्
माथिल्लो पहाडका बस्तीहरु रोजगार तथा उत्पादन र बजारसँग सामिप्यता राख्ने स्थलहरुमा स्थानन्तरणको अभियान चलाउनुहोस् । आधुनिक सेवा सुविधा पुर्‍याउन खर्चिलो स्थलहरु ठूला खालका व्यावसायिक प्रयोजनबाहेक आधुनिकताको लागी मैत्रीपूर्ण हुँदैनन नै । स्पस्ट हुनुहोस् ।

ञ. प्रकृतिमैत्री वा जैविक खाद्यान्न उत्पादनको अभियान नै चलाउनहोस्
केमिकल या देशिमल ताथ आधुनिक औषधि पूर्ण निषेध अभियान नै चलाउनहोस् । एक फाँट एक परिकारको बाली उत्पादन अभियान तथा उक्त उत्पादनलाई आवश्यक सबैखालका पुँजी र प्रविधि किसान या उत्पादकलाई उपलब्ध गराउने अभियान नै चलाउनुहोस् । किसानलाई प्रोत्साहन हुने उचित मूल्यमा संकलन केन्द्रमार्फत् सबै उत्पादन खरिद गर्ने त्यसको ब्यान्डिङ्ग गरेर बजार पठाउने कार्यमा पनि स्थानीय सरकारको आवश्यकता छ । ढिलाई नगर्नुहोस् ।

प्रदेश सरकारले कम्तिमा पनि केहि क्षेत्रमा हरेक वर्ष हात खोलेर आँखालाग्दो बजेटको व्यवस्थापन गर्नैपर्दछ । उदाहारणको लागि गंगाजमुनाको ४ र ५ वडा तथा त्रिपुरासुन्दरी गाउँपालिकाको केहि भाग समेटर बगुवाखोलाको उद्गमस्थलदेखि यसको अन्तिम विन्दूसम्मको फाँटहरु समेटेर एकीकृत उत्पादन क्षेत्र बनाउन सकिन्छ । यस क्षेत्रमा अंगुर, माछा, उच्चकोटीको पिउने पानी तथा वाइन उत्पादनको उच्च सम्भावना छ । भित्री र मध्य पहाडका यस्ता धेरैस्थलहरु उचित योजना, लगानी र क्षमतावान नेतृत्वको पर्खाइमा छ ।

ट. अथाहा सम्भावना भएका क्षेत्र
मासु र मल उत्पादन गर्ने ठूला जनावर मात्र हैन, हजारौं हाँस या कुखुरा फाँटहरुमा चराएर प्राकृतिकरुपमा पालेको कल्पनालाई व्यवहारमा उतार्ने प्रयास सफल पार्नुभयो र ठूला बजारको विश्वास जित्नु भयो भने त्यो प्रकृतिमैत्री र उच्च गुणस्तरको या उत्पादन हेर्न आउने देशी विदेशी तथा त्यसको उपयोग गर्नेले तपाईले सोचेजस्तै मूल्य तिर्न तयार हुन्छन् भन्ने नभुल्नहोस् ।

तर्सथ, मान्छे प्रकृति मन पराउँदछ, जो हामीसँग अथाह छ । साथमा मान्छे र मान्छेले गर्ने या गरिरहेको चमत्कार या प्रगति तथा स्वाद र सुविधा सँगै हुनुपर्दछ । तब मात्र आम्दानी गर्न सकिन्छ । कृषि वा यस्ता खालका सबै उत्पादनसँग हाम्रो पर्यटन मज्जासँग जोड्न सकिन्छ । र, यो क्षेत्र अथाहा सम्भावनाको गन्तव्य बन्न सक्दछ ।

ठ. यो पनि नभुलौं
आफ्नो क्षमता विकास, उत्पादन तथा सुन्दरतामा प्रतिस्पर्धा गर्दा आधुनिक शहर बजारमा हुने वा गरिने विकास निमार्णमा सहकार्य र त्यो भन्दा पनि सुविधाको हिसाबले उत्कृष्टता देखlएन भने तपाईको क्षेत्र मानव बस्तीको लागि लामो भविष्य नभएको क्षेत्रमा परिणत हुन पनि सक्दछ ।
ठूला सहर र ठूला बस्तीहरुसँग जोडिने पूर्वाधारहरु, बजेट जसको बास्केटमा पुगे पनि पहिले पूर्वाधार बन्नै पर्दछ । बजेट छरेर विपरित स्थलबाट विकासका कार्यक्रम शुरु गर्नुभयो भने त्यो उल्टो विकास हो । त्यस्तो विकासको प्रतिफलमा कसैको विश्वास हुँदैन ।

यस्तो अवस्थामा तपाई जनप्रतिनिधिहरुकै घर घडेरीको व्यवस्था अन्तै हुन थाल्नेछ । त्यो अवस्था आयो भने तपाईहरु लोकतन्त्रको विकासको नाममा कलंकको रुपमा परिभाषित हुनुपर्ने छ । तपाईले पाउनु भएको पद तपाईको बडापन देखाउने र मस्ति गर्न कसैले दिएको उपहार हैन । स्थानीय निकायको यो शक्तिशाली पद जनताको तर्फबाट दिएको जिम्मेवारी हो । नभुल्नुहोस्, यो त ५०औं बर्ष लोकतन्त्रको लागि त्याग र बलिदान दिनेहरुको नासो मात्र हो ।

(पर्यटन व्यवसायी अधिकारीले २६ बैशाख २०७६ मा धादिङमा प्रदेश नं. ३ द्वारा आयोजित एक कार्यक्रममा व्यक्त गर्नुभएको विचारको सम्पादित अंश)

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage