यसकारण ‘प्रचण्ड’लाई टेन्सन !

काठमाडौं, १ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तनावमा परेका छन्। बुधबार राष्ट्रिय सभागृहमा आयोजित युवा संघको २९ औं स्थापना दिवस समारोहमा उपस्थित दाहालले आफु टेन्सनमा परेको बताएका हुन् ।
युवा संघको कार्यक्रममा १ बजे पुगेका दाहाल चिनियाँ राजदूत होउ यान्छीका कारण तनावमा परेका हुन्।
चिनियाँ राजदूत यान्छीले ४ बजे भेटवार्ताका लागि दाहालसँग समय लिएकी थिइन। निर्धारित समयअनुसार यान्छी भेटवार्ताका लागि दाहाल निवास खुमलटार समेत पुगेकी थिइन। तर, दाहाल युवा संघकै कार्यक्रममा भुलिएपछि उनलाई तनाव भएको हो।
कार्यक्रम लम्बिएर ४ बजे आफ्नो सम्बोधनको पालो आएपछि दाहालले सार्वजनिक रुपमै आफू तनावमा परेका बताएका थिए।