scheduleआइतवार जेष्ठ ५ गते, २०७६

७८ लाख धरौटी तिरेर रिहा भए अख्तियारको पूर्व आयुक्त पाठक


काठमाडौं, १ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक रिहा भएका छन् । भ्रष्टाचारको आरोपमा पक्राउ परेका उनी ७८ लाख धरौटी तिरेर रिहा भएका हुन् ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले उनलाई धरौटी लिएर रिहा गर्ने आदेश दिएको हो । उनीमाथि ७८ लाख घुस लिएको अभियोग लागेको थियो । भ्रष्टाचारको मुद्दा खेपिरहेका पाठकसँग अदालतले ७८ लाख नै धरौटी माग गरेको हो ।

उनलाई बैंक ग्यारेन्टीमा रिहा गर्न अदालतले बिगो बराबरको धरौटी माग गरेको थियो । नेपाल बंगलादेश बैंकको बैंक ग्यारेन्टीपछि पाठकलाई रिहा गर्न प्रक्रिया अघि बढाइएको विशेष अदालतले जनाएको छ ।

उनीसँगै प्रतिवादी बनाइएका लम्बोदर न्यौपाने भने अझसम्म फरार छन् । अख्तियारले आफ्नै पूर्व आयुक्तलाई मुद्दा हालेको यो पहिलो पटक हो ।

पाठकविरुद्ध घुस लिएको प्रमाणित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । विशेष अदालतले उनीसँग बयान लिँदै आजै थुनछेक बहस सम्पन्न गरेको थियो । सरकारी वकिल र पाठकका कानुन व्यवसायीको बहसपछि धरौटी माग गरी रिहा गर्ने आदेश अदालतले दिएको हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob