scheduleमगलवार आषाढ़ ३१ गते, २०७६

अलमलमै बित्यो नेकपाको एक वर्ष, सुरु भयो वैचारिक मतभेद

काठमाडौं, ४ जेठ । एक वर्षअघि काठमाडौंको राष्ट्रिय सभागृहमा खचाखच भरिएका कार्यकर्ता र शुभचिन्तकका बीच शिर्ष नेताहरूको उपस्थितिमा नेकपाले एकताको औचारिक घोषणा गर्‍यो । ३ महिनाभित्र एकताका सबै प्रक्रिया सक्नेदेखि देखि २ वर्षभित्र महाधिबेशन गर्नेसम्मका घोषणा भए । अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डको भनाइ थियो, ‘अब हामी अन्तरघुलित भयाैं, पार्टीमा कुनै धार छुट्टिँदैन ।’

तर यसबीचको समय नेकपाको एकता प्रक्रिया सरल रेखामा अगाडी बढेन । नेकपाले राजनीतिक, वैचारिक र सङ्घठनात्मक रूपमा केही सुधार गरेको जस्तो देखिए पनि वैचारिक र सङ्गठनात्मक एकताको विषय पटक पटक बल्झियो । शीर्ष नेताहरू एकमत नभएपछि तल्लो तहका कार्यकर्तामा आशङ्का र अलमल देखियो ।

एउटै पार्टी बने पनि एउटै संस्कार र संस्कृति निर्माण समस्या देखिएको जानकारहरु बनाउँछन् । पुरानो संस्कार र संस्कृतिलाई नयाँ र उन्नत राजनीतिक संस्कारले विस्थापित गर्न नसक्दा यस्तो समस्या देखिएको हो ।

नियुक्ति, सरुवा, बढुवादेखि अन्तराष्ट्रिय स्तरका कार्यक्रम सम्मन्वय र सहभागिताका विषय सरकार र पार्टीबीच मतभेदका विषय बने । सङ्घीयता कार्यान्वयनका बारेमा नेताहरूबीच विचारमा विविधता र असन्तुष्टि सुनियो, यसकारण जिल्ला तहका नेताले पनि घुलमिलको महससुस गर्न पाएनन् । सचिवालय गठनदेखि प्रदेश, जिल्लास्तरको संगठन निर्माणमा नै नेताहरूमा गुट र उपगुटको छनक देखियो ।

यसबीचमा पार्टीभित्रको मतभेद न शीर्ष नेताहरूले लुकाउन सके, न सबैको चित्त बुझाउन नै सके । नेकपाले आफ्नो सैद्धान्तिक तथा वैचारिक नीतिमाथि बहस नै गर्न पाएन । यसले नेकपालाई एकीकरण प्रक्रिया नसकिंदै कमजोर बनाउने विश्लेषक विष्णु सापकोटा बताउँछन् ।

कुटनीतिक र अन्तराष्ट्रिय परिवेशलाई बुझ्ने सन्र्दभमा पनि दुई अध्यक्षबीच फरक बुझाइ देखियो भने तत्कालीन एमालेले लिएको जनताको बहुदलीय जनवादलाई स्वीकार गर्ने कि नयाँ विचार जन्माउने भन्नेमा अझैँ सहमति जुट्न सकेको छैन ।

नेकपाले समसामयिक विषयमा पनि समान धारणा बनाउन सकेन । तीन महिनामा सक्ने भनेको पार्टी एकताको काम १२ महिनामा पनि सकिएन । शीर्षदेखि स्थानीयस्तरबाट आईरहेका विचारलाई ठूलो पार्टी हुनुको सौन्दर्य ठान्दै एकताका काम सक्ने वा विचारको विविधतालाई वेवास्ता गरी तत्कालन महाधिबेशन सकेर पार्टीका निर्णय, नीति, सिद्धान्तलाई औपचारिकता दिने भन्नेमा शीर्ष नेतृत्व अझैँ प्रभाव र दवावमा देखिन्छ ।

यसैबीच सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपामा वैचारिक मतभेद देखिएको छ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार पार्टी जनताको बहुदलीय जनवादको सिद्धान्तबाटै अगाडि बढ्ने बताए । २६ औं मदन–आश्रित स्मृति दिवस तथा नेकपा एकीकरणको एक वर्ष पुगेको अवसरमा नेकपाले काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रचण्डको सम्बोधनपछि सम्बोधन गरे ।

उक्त क्रममा ओलीले प्रचण्डका कतिपय भनाईंहरुको घुमाउरो भाषामा खण्डन नै गरे । उनले बहुदलीय जनवादको विकल्प हुन नसक्ने धारणा राखे । मदन भण्डारीले अघि सारेका बिचारबाटै पार्टी अहिलेको अवस्थामा पुगेको भन्दै ओलीले स्वर्गीय भण्डारीका विचार बाहेक अर्को बाटो नभएको धारणा राखे ।

प्रधानमन्त्री ओलीले पार्टीभित्र असान्दर्भिक प्रसंग चल्ने गरेको भन्दै आक्रोशमा अभिव्यक्ति नदिन पनि नेता तथा कार्यकर्तालाई अध्यक्ष ओलीले सचेत गराए ।

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मदन भण्डारीको विचारलाई परिमार्जन गर्दै अगाडि बढ्ने धारणा राखेका थिए । मदन भण्डारीको विचार बोकेर बस्ने कि अगाडि बढ्ने भन्ने बहसको बिषय भएको भन्दै प्रचण्डले जनताको बहुदलीय जनवादलाई सुत्रको रुपमा घोक्ने, कण्ठ गर्ने नभई विज्ञानको रुपमा प्रयोग गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob