scheduleबिहिवार आषाढ़ ५ गते, २०७६

चालक फेरिनासाथ बस खस्यो, ७ जनाको मृत्यू (अपडेट)


आदमघाट (धादिङ), ५ जेठ । गजुरी गाउँपालिका-६ बन्छेटारस्थित त्रिशुली नदीमा आइतबार बिहान बस खस्दा सात जनाको मृत्यु भएको छ । आदमघाट बजारबाट नजिकै रहेको दुर्घटनामा परी घटनास्थलमै ४ जनाको मृत्यू भएको हो भने बाँकीको उपचारको क्रममा मृत्यू भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ।

काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३ ८७ नम्बरको रात्री बस गजुरी गाउँपालिकाको बन्छेटारमा घुम्तीबाट त्रिशूली नदीमा खसेको छ । मृत्यू हुनेमा काठमाडौंको चन्द्रागिरि नगरपालिकाकी ३५ वर्षकी सीता थपलिया, थानकोटका ५१ वर्षका राजकुमार सुवेदी, कन्याम इलामका २० वर्षका विशाल गिरी र धादिङका राजन आचार्य रहेका छन् ।

दुर्घटनामा परी मृत्यू हुने प्रकाश श्रेष्ठ, शेखर मगर र उज्वल पाण्डेको ठेगाना खुल्न सकेको छैन । घाइते मध्ये १७ जनाको काठमाडौंको ट्रमा सेन्टर तथा अन्यको धादिङको गजुरी र जिल्ला अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । बसमा कतिजना यात्रु थिए भन्ने अझै खुल्न सकेको छैन ।

दुर्घटनामा परी घाइते भएका चालक फणिन्द्रबहादुर कार्कीले चालक परिवर्तन भएपछि दुर्घटना भएको बताउँछन् । उनी चालक फेरिएपछि निद्रा नलागे पनि आँखा चिम्म गरेर बसिरहेका थिए । एक्‍सासी गड्याम्म आवाज आएपछि सबै यात्रुहरु चिच्याउँदा चिच्याउँदै गाडी खोलामा पुगिसकेको उनी सम्झन्छन् ।

गाडी नदीमा खसे पनि होसमै रहेका उनी ढोकाबाट निस्कन खोजे पनि सकेनन् । नदी गहिरो छ जस्तो लागेर उनी ड्राइभरको सिटको झ्यालबाट हाम फालेको स्मरण गर्छन् ।

अस्पतालमा उपचार गराइरहेका कार्की भन्छन्, ‘गाडी खसेको भीर पाखाभरी घाइतेहरु छट्पटाइरहेका थिए। के गर्ने कसो गर्ने अत्यास लाग्यो। उत्निखेरै गाउँलेहरु आइपुग्नुभयो । मेरो ज्यान पुरै दुखेको थियो तर कहाँ के भएको आफैंले थाहा पाइनँ। गाउँलेहरु सबै मिलेर घाइतेको उद्धारमा सहयोग गर्न थाले ।’

उद्धारमा सेना र प्रहरी आइपुगेपछि स्थानीयले आफूलाई अस्पताल पुर्‍याएको उनले बताए ।

चालक कार्कीका अनुसार दुर्घटना हुनुभन्दा ३-४ किलोमिटरवर बसमा तेल राखिएको र तेल राखिएपछि चालक परिवर्तन गरिएको थियो । उनले भने, ‘चालक परिवर्तन भएको केहीबेरमै दुर्घटना भयो ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob