scheduleबुधवार आषाढ़ ११ गते, २०७६

नयाँ अनुसन्धानको निचोड- गर्भको भ्रूणलाई पनि छाड्दैन सडकको धूलोले

सुनिल बराल/काडमाडौं, ५ जेठ । वायु प्रदुषण विश्वभर नै गम्भीर समस्या बन्दै गएको छ । प्रदुषणका कारण हरेक वर्ष लाखौं मानिसले ज्यान गुमाइरहेका हुन्छन् । मुटु, फोक्सो जस्ता महत्वपूर्ण अंगमा क्यान्सर हुनुको एउटा प्रमुख कारण वायु प्रदुषण पनि रहेको वैज्ञानिकहरुको ठहर छ ।

विश्वभरका ९० प्रतिशतभन्दा बढी मानिसहरु दुषित वायुको जोखिममा रहेका छन् । हरेक वर्ष वायु प्रदुषणबाट सिर्जित समस्याका कारण करिब ८८ लाख मानिसहरुले ज्यान गुमाइरहेको तथ्याङ्कले देखाउँछ । यो दर खैनी, सुर्ती र चुरोटका कारण ज्यान गुमाउने मानिसको संख्या भन्दा बढी हो ।

लामो समयको अध्ययनपछि हालै प्रकाशित एक लेखमा धूलोजन्य तथा वायु प्रदुषणबाट हाम्रो शरीरका हरेक अंग प्रभावित हुने कुरा उल्लेख गरिएको छ । मेडिकल जर्नल चेष्टमा प्रकाशित उक्त लेख अनुसार  धूलो तथा प्रदुषणले मानव शरीरका हरेक अंग प्रभावित हुने र पछि गएर शरीरका हरेक कोषमा घातक संक्रमण देखा पर्ने भनेर लेखमा उल्लेख गरिएको छ ।

‘वायु प्रदुषण निकै हानिकारक हुन्छ र यसले मानव शरीरका प्रत्येक अंगमा पछिसम्म हानि गर्छ’, उक्त जर्नलमा लेखिएको छ । प्रदुषित वायु र धूलोमा रहेका सुक्ष्म कणहरु सास फेर्दा फोक्सोभित्र जाने गर्छन् । त्यस्ता कणहरुलाई फोक्सोमा रहेका कोषले सोस्ने र अन्त्यमा रक्त सञ्चार मार्फत शरीरका हरेक कोषमा फैलिने गर्छन् ।

विशेषगरी बालबालिकाहरु  वायु प्रदुषणको जोखिममा रहेका हुन्छन् । प्रजनन् क्षमता, भ्रूण र बालविकासमा समेत दुषित वायुले नकरात्मक प्रभाव पार्छ । यसबाट बालबालिकाको सहज विकासमा समेत असर पर्ने गर्छ । बालबालिकाको फोक्सो र मुटु जस्ता संवेदनशील अंगहरुको सहज विकास समेत प्रभावित हुन्छ ।

वायु प्रदुषणका कारण विभिन्न खालका क्यान्सर हुने समेत अनुसन्धानकर्ताको निष्कर्ष छ । पेट र मुत्राशयमा हुने क्यान्सरको एउटा प्रमुख कारण वायु प्रदुषण रहेको उनीहरुको निचोड छ । यति मात्रै होइन । प्रदुषणबाट मानव हड्डी कमजोर हुने, छाला चाउरिदै जाने र चिलाउने समेत हुन्छ ।

हाम्रो शरीरमा हुने निरन्तरको संक्रमण नै क्यान्सरको मुख्य कारण रहेको इलिनोइस विश्वविद्यालयका प्राध्यापक डिन स्रफनेगल बताउँछन् । ‘प्रदुषित वायुका कणलाई रोग प्रतिरोधी कोषले ब्याक्टेरिया ठान्छ र यसलाई इन्जाइम र एसिड निष्काशन गरेर मार्ने प्रयास गर्छ’ स्रफनेगल भन्छन्, ‘ र यस प्रक्रियाबाट उत्पन्न हुने तापयुक्त प्रोटिन हाम्रो शरीरमा फैलिन्छन् र मृगौला तथा पाचनग्रन्थी जस्ता अंगहरु प्रभावित हुन्छन् ।

तर वायु प्रदुषणबाट उत्पन्न हुने खतराबारे कतिपय चिकित्सकहरु अनभिज्ञ हुनु चिन्ताको विषय रहेको स्रफनेगलको भनाइ छ । ‘कुनै कुनै चिकित्सकलाई उनीहरुले विशेषज्ञता हासिल गरेको अंगमा समेत वायु प्रदुषणले हानि पुर्‍याइरहेको हुन्छ भन्ने थाहा हुँदैन । यो कुरामा उनीहरुले तत्काल ध्यान दिनुपर्छ’, उनी थप्छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob