scheduleआइतवार आषाढ़ १ गते, २०७६

हेलिकप्टरबाट कार्यक्षेत्र पुगे वडाअध्यक्ष

हुम्ला, ८ जेठ । जिल्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका वडा नम्बर छ का अध्यक्ष पाल्जोर तामाङ हेलिकोप्टर रिजर्भ गरेर कार्य क्षेत्र गाउँमा गएका छन् । बीस दिन सदरमुकाम सिमकोट बस्दा पनि गाउँ जाने बाटो नखुले पछि अध्यक्ष तामाङ हेलिकोप्टर रिजर्भ गरेर कार्य क्षेत्र गएका हुन् ।

गत बैशाख दोस्रो साता सिमकोट आएको भए पनि लिमी जाने दुबै नाका न्यालु र नारा नखुल्दा सिमकोटमा पर्खेको भए पनि बाटो नखुल्दा अब काम गर्न ढिलो हुने भएको हुँदा हेलिकोप्टर रिजर्भ गरेरै भए पनि जानु परेको वडा अध्यक्ष तामाङले बताए ।

आर्थिक बर्ष सकिन साढे एक महिना मात्र बाँकी हुँदा हिउँदमा हिमपात बाक्लो भएपछि धेरै काम गर्न बाँकी रहेको कारणले पनि पाँच जना मिलेर एक लाख पचास हजारमा हेलिकोप्टर रिजर्भ गरिएको उनले बताए ।

वडाका धेरै काम गर्न बाँकी भएपछि गाउँ जानुको अन्य विकल्प नभएकोले पनि हेलिकोप्टर रिजर्भ गर्नु परेको उनले स्पष्ट पारे । लिमी निषेधित क्षेत्र भएको कारण जिल्ला प्रशासन कार्यालयमार्फत् गृह मन्त्रालयबाट हेलिकोप्टर उडानका लागि अनुमति लिएर जानु परेको हो ।

गत मंसीरमा गाउँ छोडेका अभ्यक्ष तामाङले फागुनमा फर्कने तयारी गरेको भए पनि हिमपात कै कारण काठमाडाैं बस्दै आएका थिए । यस अघि पनि मानिस बिरामी हुँदा उद्धार गर्न दुई फ्लाईट हेलिकोप्टर साढे दश लाखमा काठमाडौं बाट रिजर्भ गर्नु परेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob