scheduleशुक्रवार कार्तिक १ गते, २०७६

‘मेरो सपनाको हिंडने विश्वकोष’

कथा

हात फतक्क गलिरहेको रहेछ । लौन के भएछ मेरो हातलाई भनी यसो आँखा उघारेको, हातमा कसैले धेरै पाना भएको मोटो विश्वकोष थमाइदिएको रहेछ । एकछिन त अलमल परेँ कसले राखिदिएछ भनी । म सोचिरहेको पनि थिएँ, यसलाई उघारौंकी यत्तिकै अरु किताब थन्किइरहेका र्‍याकमा थन्काइदिऊँ !

तर, मेरै छेउमा बसेर मेरी आमा मलाई किताब खोल्ने संकेत गरिरहनु भएको रहेछ । आमाको कुरालाई काट्न सकिनँ र जुरुक्क खाटबाट उठेर थचक्क कुर्सीमा बसेर अगाडिको टेबुलमा विश्वकोष राखी नियाल्न थालेँ ।

ठूलो गाताको अघिल्लो पानामा ‘हिँड्ने विश्वकोष’ लेखिएको रहेछ । पहिला त म नाम हेर्दैमा अचम्ममा परेँ । अनि बल्ल मलाई पाना पल्टाउने उत्सुकता बढ्यो । यसो पल्टाउन खोज्दै थिएँ, बाल्यकालमा मानिस कतै ठोक्किएर निधारमा सानो खत बसेजस्तो, सानो खोपिल्टो देखेँ गातामा ।

मेरो ध्यान पुनः त्यतै मोडियो । के भएको रहेछ ? यसो कोट्याएर हेरेँ, खासै केही होइन रहेछ । विश्वकोष अलि पहिलाकै रहेछ क्यारे !

अनुषा आचार्य

कसैले पढ्ने, बुझ्ने क्रममा कोतरियो होला भन्ठानेँ । यसो सुम्सुम्याएजस्तो गरी गातापछिको एउटा पाना पल्टाएँ । पाना निकै चमकदार थियो, मानौं, कसैले अगाडिको पूरै सेता दाँत देखाएर हाँसेजस्तो गरी टिलिक्क टल्किरहेको ।

मैले अन्कनाई अन्कनाई विश्वकोष उघारेँ । त्यो सेतो पानाले ऊर्जा थपेछ क्या हो ? म बिस्तारै अरु पाना पल्टाउन खोज्दै थिएँ । आँखा प्रकाशित मितिमा पुगेछ । अनि खुसी भएँ । मेरै जन्म महिनामा प्रकाशित भएको रहेछ ।

म पाना पल्टाउँदै, पढ्दै जाँदा दुईचार दिनमै त्यहाँभित्रको शब्द अनि त्यसको अर्थमा रमाउन थालिसकेको रहेछु ।

विश्वकोषको एक भाग पनि पल्टिएको थिएन, म आफ्नै कार्यव्यवस्तताले, जहाँ पुगेथेँ पढ्दै, त्यहीँनेर सानो कागजको टुक्रा च्निह राखी विश्वकोष बन्द गर्न बाध्य भएँ ।

ठ्याक्कै त याद छैन । यस्तै तीनचार महिनाको अन्तरालपछि फेरि विश्वकोष खोल्ने समय निकालेँ । योभन्दा अगाडि पनि प्रयास त गरेको थिएँ तर कार्यव्यस्तताले गर्दा सकेको थिइनँ । बिस्तारै पहिलेको चिन्ह राखेको ठाउँबाट पढ्न थालेँ ।

शब्द निकै गहकिला र भरपर्दा थिए विश्वकोष भित्र । मानौं, कतै कसैले अविश्वास गर्ने ठाउँ नै थिएन ।

कहिले विज्ञानका कुरा त कहिले धर्मका कुरा गर्दै जीवनको अनौठो भोगाई थियो त्यसमा । तिनीहरुले मलाई अचम्भित पार्दै थिए र म बढो उत्सुकताका साथ एकएक गर्दै पाना पल्टाउँदै थिएँ ।

कुनै हरफ त सामान्य लाग्थ्यो । कुनै हरफ चाहिँ ‘ए आमा, यस्तो पनि हुन्छ विश्वका मानिसहरुसँग’ भनेर एकछिन छक्कै पर्थेँ । सायद मैले जीवन धेरै नभोगिसकेकोले होला ! तर मैले बुझ्न चाहिँ राम्रैसँग बुझिरहेकी थिएँ ।

म हरेक दिनजसो समय मिलाएर पुस्तकको पानाहरु पल्टाउने कोसिस गर्थेँ र पल्टाइरहेको पनि थिएँ । एउटा शीर्षकले मेरो ध्यान अझ बढी आकर्षित गरायो । शीर्षकको नाम थियो, ‘आधुनिक विश्वको म ।’ मेरा आँखा टक्क त्यही अडिन पुगे, जहाँ लेखिएको थियो, ‘विश्व आधुनिकतामा छिरेको धेरै भइसक्यो र विश्वका सबै मानिसहरुलाई त्यही आधुनिकतामा छिर्न र बग्न प्रेरित पनि गर्छु तर म बग्न चाहन्नँ । म सिर्फ सोचमा आधुनिकता राख्न चाहिँ सक्छु । व्यवहारमा होइन ।’

मलाई यो विश्वकोषको यी लाइनले अचम्भित बनायो र धेरै बेरसम्म बुझ्ने कोसिस गरेपछि बल्ल एकछिन पछि बुझेँ । र, सोचेँ, यी लाइनहरुलाई रातो रङ्को हाइलाइटरले हाइलाइट गरी राख्छु । अनि हाइलाइटर खोज्न लागेँ । हाइलाइटर खोजुञ्जेल, हावाले अर्को पाना पल्टाई यसो ती लाइन हाइलाइटरले छुन मात्र खोजेको थिएँ, विश्वकोष अलिक पर सर्‍यो ।

म जति हाइलाइट गर्न खोज्थेँ, विश्वकोष उति टाढा हिंड्न थाल्यो र कतै पानाका बीचबाट आवाज आउन थाल्यो, म सादा नै ठिक छु । बिन्ती छ मलाई रंगीन नबनाइदिनू ।’

मलाई विश्वकोषबाट निस्किएको आवाजले थप अचम्भित बनायो । विश्वकोष हिंड्दै झ्यालनेर पुगेर मलाई चिहाइरहेको थियो । म मनमा अनेक तर्कनासहित विश्वकोष पकड्ने र त्यो भित्रकोलाइन रङ्गाउने शुरमा उसलाई पकड्ने कोसिस गर्दै दौडिरहेकी थिएँ ।

दौडने क्रममा म कतै ठेस लागेर लड्न पुगेँ । अनि झल्याँस्स ब्युझिएँ ।

यसो छेउतिर हेरेको, सँगै सुतेकी बहिनीका गोडासँग मेरा गोडा ठोक्किएर म बिउँझन पुगेछु । आँखा एक्कासि झ्यालतिर घुम्यो तर, विश्वकोष देखिनँ । एकछिन टोलाइरहेँ । यो कस्तो सपना देखेँ मैले !

बिहान नृत्यकर्म सकेर घरबाट बाहिर निस्कने क्रममा ऐना अगाडि उभिएर आफ्नो सादापनलाई रंग्याउने कोसिस गरेँ तर, सधैंझैं मेरा हात काप्न थाले र म ऐनाबाट पर भागेँ ।

यत्तिकैमा घरबाट निस्किएँ । बल्ल थाहा पाएँ, सादा विश्वकोष मेरो रातो हाइलाइटरदेखि किन पर भागेको थियो ।

यदि म आफैं सादा जीवनमा खुसी छु र हुन्छु भने, उसको पनि त आफ्नै सोचाई होला । यस्तै सोचेँ ।

‘अर्कोदिन सपनामा हिंड्ने विश्वकोष भेटिएला ? भेटियो भने माफी माग्नेछु,’ यस्तै के के सोच्दै दैनिक कर्मतर्फ लागेँ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage