लाखौं नक्कली भारतीय नोटसहित विमानस्थलबाट पक्राउ परे युनुस
काठमाडौं, १० जेठ । युनुस अन्सारीलाई लाखौं नक्कली भारतीय नोटसहित पक्राउ परेका छन् । युनुस पहिला पनि नक्कली नोट काण्डमा जेल परेका थिए।
उनि कतारबाट आएका २ जना पाकिस्तानी नागरिकलाई लिन गएका बेला विशेष ब्युरो र विमानस्थल प्रहरीद्वारा पक्राउ परेका हुन् । ‘उनीबाट लाखौं रकम बरामद भएको छ, हामी गन्ने काम गरिरहेका छौं,’ एक प्रहरी अधिकारीले भने।
उनीसँगै कतारबाट आएका २ जना नेपाली र तीन जना पाकिस्तानीलाई पनि प्रहरीले पक्राउ गरेको छ।प्रहरीको विशेष ब्युरोले उनलाई ११ माघ ०७० मा ३५ लाख नक्कली भारतीय रुपैयाँसहित ललितपुरबाट पक्राउ गरेको थियो ।
पूर्वमन्त्री सलीममिया अन्सारीका छोरा युनुश पहिलो पटक पक्राउ पर्नुअघि नेशनल टेलिभिजनका सञ्चालक थिए । उनको दाउद इब्राहिमको सञ्जालसँग सम्बन्ध रहेको भनी भारतीय प्रशासनले पटक–पटक दाबी गर्दै आइरहेका छन् । युनुसको राजनीति पनि बाबुको राजनीतिक पदचापअनुसार नै अघि बढेको थियो। तर, पछिल्लो चरण यिनी नक्कली नोट प्रकरणमा पर्न थालेपछि राजनीतिक भूमिकाबाट टाढै रहे। त्यसमाथि जेलभित्रै रहँदा यिनीमाथि गोली प्रहारसमेत भयो।