scheduleबुधवार आश्विन १ गते, २०७६

मध्यपूर्वमा अमेरिकी सेना कमजोर हुँदै गएको छ : इरानी कमाण्डर

सुनिल बराल/एजेन्सी, १२ जेठ । मध्यपूर्वमा अमेरिकी सैन्य उपस्थिति इतिहासमा नै कमजोर भएको एकजना वरिष्ठ इरानी सैन्य अधिकारीले बताएका छन् ।

इरानको रिभोलुसनरी गार्डका उप-प्रमुखले मध्यपूर्वमा अमेरिकाको सैन्य उपस्थिति हालसम्मकै कमजोर भएको बताएका हुन् । रिभोलुसनरी गार्डका उप-प्रमुख एडमिरल अलि फदाभीले फार्स समाचारसँगको कुराकानीमा उक्त धारणा राखेका थिए ।

‘अमेरिकाले मध्यपूर्वमा सन् १८३३ देखि नै सैन्य उपस्थिति जनाउँदै आएको छ’, इरानको अर्ध-सरकारी समाचार संस्था फार्समा फदाभीलाई उद्धृत गर्दै लेखिएको छ, ‘र अहिले त्यस्तो उपस्थिति इतिहासमा नै कमजोर देखिन्छ ।’ अमेरिका र इरानबीच वाकयुद्ध चलिरहेको बेला फदाभीको उक्त भनाइ बाहिर आएको हो ।

यता राष्ट्रपति चुनिएदेखि नै डोनाल्ड ट्रम्पले इरानप्रति कडा नीति अपनाउँदै आएका छन् । गत वर्ष ट्रम्पले  ६ शक्तिराष्ट्र र इरानबीच भएको आणविक सम्झौताबाट अमेरिका बाहिरिएको घोषणा गरेका थिए । अमेरिकी सरकारले ट्रम्पको घोषणासँगै इरानमाथि पुन: आर्थिक नाबाबन्दी लगाउने नीति लिएको थियो ।

त्यस्तै ट्रम्पले केही समयअघि मध्यपूर्वमा रहेका अमेरिकी सेनाको संख्या बढाउने घोषणा गरिसकेका छन् । अमेरिकी सरकारले इरानको महत्वपूर्ण सैन्य संगठन रिभोलुसनरी गार्डलाई आतंकबादीको सूचीमा समेत राखिसकेको छ । ट्रम्पले शनिबार  इरानको क्षैत्रीय प्रतिस्पर्धी साउदी अरबलाई अरबौं डलर बराबरका विभिन्न हातहतियार बेच्ने बताएका थिए ।

तर इरानले भने अमेरिकी कदमलाई ‘मनोवैज्ञानिक युद्ध’ र ‘राजनीतिक खेल भनेर आलोचना गर्दै आएको छ । ट्रम्प प्रशासनले इरानी सत्ताका कारण मध्यपूर्वमा रहेका अमेरिकी सेना र स्वार्थमाथि खतरा बढेका कारण कडा नीति लिएको विश्लेषकहरु बताउँछन् ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage