scheduleसोमवार भाद्र २ गते, २०७६

नेताहरुले जनताको हातबाट गणतन्त्र खोसे

रवीन्द्र श्रेष्ठ


गणतन्त्रबारे प्रधानमन्त्रीको बुर्जुवा परिभाषा दिनुभएको छ । गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्रीले टुँडिखेलबाट गणतन्त्रको परिभाषाबारे व्याख्यान दिनुभएको छ । तर उहाँले गणतन्त्रको बारेमा मार्क्सवादी लेनिनवादी परिभाषा दिनुभन्दा पनि गैरमार्क्सवादी परिभाषाको वकालत गरेर भाषण गर्नुभएको छ ।

गणतन्त्रबारे प्रधानमन्त्रीले भन्नुभएको छ-
गणतन्त्र- गणहरु, सर्वसाधारणको शासन व्यवस्था ।
गणतन्त्र- जनताका प्रतिनिधिहरुले जनताकै अभिमतमा आधारित भएर शासन गर्ने उच्चतम लोकतान्त्रिक प्रणाली ।
गणतन्त्र- जनताका सन्तान मुलुकको सर्वोच्च प्रतिनिधि, राष्ट्राध्यक्ष बन्न पाउने प्रणाली ।
गणतन्त्र- जनताले रुचाएको र जनताले रोजेको व्यक्तिबाट मुलुकको शासन व्यवस्था सञ्चालन हुने प्रणाली ।

यदि प्रधानमन्त्री खड्ग ओलीको परिभाषा मान्ने हो भने अमेरिकादेखि युरोप, भारत, पाकिस्तान आदिका सबै राजा नभएका देशहरुमा उहाँले भन्नु भएझैं ‘सर्वसाधारणको शासन व्यवस्था’ रहेको मान्नुपर्ने हुन्छ । यदि ती देशहरुमा सर्वसाधारणको शासन ब्यवस्था रहेको भए राजा नभएका विश्वका सबै देशहरुमा जनताको बहुदलीय जनवादी क्रान्ति, नयाँ जनवादी क्रान्ति, समाजवादी क्रान्ति आदि सबै अनावश्यक ठहर्ने हुन्छ ।

तर के यो सत्य हो ? के विश्वका राजा नभएका र चुनावबाट सरकार चुन्ने व्यवस्था भएका सबै देशहरुमा वास्तविक जनपक्षीय गणतन्त्र रहेको छ ? के ती देशहरुमा खड्ग ओलीले भन्नु भए झैं ‘सर्वसाधारणको शासन व्यवस्था’ रहेको छ ? कदापि छैन ।

के ती देशहरुमा ‘जनताका प्रतिनिधिहरुले जनताकै अभिमतमा आधारित भएर शासन गर्ने उच्चतम लोकतान्त्रिक प्रणाली’ रहेको छ ? कदापि छैन । के ती सबै देशहरुमा खड्ग ओलीले भन्नुभएझै ‘जनताले रुचाएको र जनताले रोजेको व्यक्तिबाट मुलुकको शासन व्यवस्था सञ्चालन हुने प्रणाली’ रहेको छ ? कदापि छैन ।

मार्क्सवाद लेनिनवाद माओवादले हामीलाई सिकाएको एक प्रमुख विषय भनेको शासन व्यवस्थाहरु वर्गीय स्वरुपका हुन्छन् र वर्ग निरपेक्ष हुँदैनन् भन्ने हो । यसको अर्थ हो, गणतन्त्र मुख्यतः दुई प्रकारका हुन्छन्- मुठ्ठिभर शोषक वर्गको गणतन्त्र र बहुसंख्यक शोषित वर्गको गणतन्त्र ।

जस्तै- उहाँले आफ्नो मन्तव्यमा उल्लेख गर्नुभएका प्राचीन नेपाल र प्राचीन विश्वका गणतन्त्रहरु- दास मालिकहरुको अधिनायकत्व थियो । ती गणतन्त्रहरुमा सरकार दास मालिकहरुले चुन्थे, तर त्यहाँ दासहरुलाई मत दिने अधिकार थिएन । दासहरु जनता नै थिए, तर उनीहरुलाई किनबेच गरिन्थ्यो, पशुपंक्षीलाई जस्तै । किसानहरुलाई अर्ध-दासको रुपमा दमन गरिन्थ्यो ती गणतन्त्रमा । महिलाहरुलाई सती प्रथाको नाममा जिउँदै जलाइन्थ्यो- नेपाल र भारतका प्राचीन गणतन्त्र सरकारले ।

रवीन्द्र श्रेष्ठ
तसर्थ, गणतन्त्र भन्ने बित्तिकै सबै जनताको हुन्छ भन्ने भ्रम राजनैतिक बेइमानी मात्रै हो ।

युरोपका गणतन्त्रहरुमा समेत शुरुमा महिलाहरुलाई मतदानको अधिकार थिएन भन्ने ओली कामरेडले किन बिर्सनु भयो ?

के भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अमेरिका, युरोप आदिका अहिलेका गणतन्त्र ओली कामरेडले भन्नु भएजस्तै सर्वसाधारणको शासन व्यवस्था, जनताले रुचाएको र जनताले रोजेको व्यक्तिबाट मुलुकको शासन व्यवस्था सञ्चालन हुने प्रणाली आदि हो ? यदि त्यसो हो भने यी देशहरुमा कम्युनिष्ट पार्टी किन चाहियो ? त्यहाँ जसले जीतेको छ, त्यो नै बहुसंख्यक जनताले चाहेको शासक हो ? कदापि होइन ।

भारतको अहिलेको चुनावलाई हेर्ने हो भनेपनि भारतका ९० करोड मतदाता मध्ये ३० करोडले मतदान नै गरेनन्, गर्न पाएनन् । केवल ३७ प्रतिशत भोट मात्रै भाजपाले पाएको छ । अर्थात् नयाँ बन्ने भाजपा सरकार अल्पमतको सरकार हो । भाजपा गठबन्धनले पनि केवल ४५ प्रतिशत मात्रै मत पाएको छ ।

भारतको वर्तमान संसद चुनावमा ५४५ सांसद मध्ये ४७५ सांसद करोडपति रहेका छन् । बुर्जुवा गणतन्त्रमा मनि र मशल भएकाहरुले नै जित्ने हुन्छन् । किनभने भारतको गणतन्त्र बुर्जुवा गणतन्त्र हो, यो सर्वसाधारणको गणतन्त्र होइन ।

नेपालमा जनताले सर्वसाधारण जनताको गणतन्त्र ल्याउन खोजेका थिए । तर ठूला नेताहरुले यसलाई धनीमानीको गणतन्त्रमा बदले । यसलाई उनीहरुले दलाल तथा नोकरशाही पूँजीपति वर्गको गणतन्त्रमा बदले ।

नेपालमा राजा ज्ञानेन्द्रले सत्ता लिएपछि कांग्रेस एमालेलगायतका नेताहरुले जनता समक्ष अब उप्रान्त भ्रष्टाचार बेइमानी आदि गर्ने छैन, जनताको पक्षमा काम गर्नेछु भनेर माफी माग्दै आन्दोलनमा उत्रन आह्वान गरेका थिए । जनताले जनपक्षीय गणतन्त्रको लागि ठूलो बलिदानीपूर्ण जनआन्दोलन र जनयुद्ध लडे । गणतन्त्र स्थापना नेपालको इतिहासमा एक ऐतिहासिक पाइला थियो । राजतन्त्रविरुद्धको ऐतिहासिक लडाईमा जनताको ठूलो विजय थियो ।

तर ठूला नेताहरुले यस ११ वर्षमा जनताको हातबाट गणतन्त्र खोसेर दलाल तथा नोकरशाही पूँजीपतिको गणतन्त्र बनाए । एक राजाको तन्त्र समाप्त भयो । तर धेरै नवराजाहरुको तन्त्र शुरु भएको छ ।

जनताले जनपक्षीय गणतन्त्रको लागि फेरि एकपटक आन्दोलन गर्न बाध्य वन्ने स्थिति आउँदैछ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage