scheduleबिहिवार भाद्र ५ गते, २०७६

के तपाईंलाई थाहा छ भुटानका यी २८ राजनीतिक विशेषताहरु ?


काठमाडौं, १७ जेठ । छिमेकी मुलुक भुटान सार्क राष्ट्रको सदस्य पनि हो । पछिल्लो समय भुटानले विकास र समृद्धिमा छलाङ मारिरहेको छ । भुटानको छलाङमय विकास यत्तिकै सम्भव भएको होइन । त्यहाँको राज्य व्यवस्थाका केही विशिष्ट अभ्यास, गुण र सिकाईहरु छन्, जसले अहिलेको भुटान सम्भव भएको हो ।
प्रस्तुत छ भुटानका विशिष्ट राजनीतिक विशेषताबारे नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायले तयार पार्नु्भएको एक सामग्री-

भुटान किन बिशिष्ट छ ? नेपालका देखिएकाजस्ता विकृति त्यहाँ नआओस् भनेर कसरी भुटानले आफ्नो व्यवस्था डिजाईन गर्‍यो ?
भुटानको राजनीतिक विशेषता जुन विश्वमा अन्यत्र विरलै भेटिन्छ-

१. ६५ वर्ष नाघेकाहरू राजनीतिबाट रिटायर हुनुपर्छ ।
२. ग्रेजुअट (स्नातक) नपढेका सांसद हुन पाउँदैनन् ।
३. राजाउपर महाअभियोग लगाउने अधिकार संसदलाई छ ।
४. राजा पनि ६५ वर्ष पछि रिटायर हुनुपर्छ ।
५. दुई दलीय राज्य व्यवस्था छ ।
६. दल फुटाउन वा परिवर्तन गर्न पाईदैन ।
७. दुरूस्त सशक्त राज्यका संवैधानिक अंग छन् ।
८. विश्वकै दोस्रो सानो संविधान छ ।
९. संविधानमा मुलुकको फरेस्ट कभर (जंगल क्षेत्र) ६०% भन्दा बढी हुनुपर्ने उल्लेख छ ।
१०. एउटा पूरा धारा अध्यात्ममा केन्द्रित छ ।
११. एउटा पूरा धारा संस्कृतिमा केन्द्रित छ ।
१२. राज्यधर्म बज्रयान बुद्धिज्म भएको एकमात्र देश ।
१३. सांसद हुन विगतमा कुनै क्रिमिनल रेकर्ड नभएको हुनुपर्छ ।
१४. जनताले नचाहँदा नचाहँदै पनि राजाले नै जनतालाई सम्झाईबुझाई गरेर प्रजातान्त्रिक संविधान २००८ लागू गरिएको देश ।
१५. मन्त्रालय र मन्त्रीको संख्या तोकिएको देश ।
१६. कार्बन न्युट्रल र कूल राष्ट्रिय खुशियाली मुल नीति कायम गरी सोही आधारमा सबै नीति योजना र शासन व्यवस्थाको संयन्त्र बनेको मुलुक ।
१७. टेक्नोक्रेट र पेशाविदहरू सांसद र मन्त्री रहेको मुलुक ।
१८. विश्वमा व्याप्त लोकतान्त्रिक विकृतिलाई भुटान छिर्न नदिने संबैधानिक र कानुनी व्यवस्था भएको देश ।
१९. विदेशीहरूको हस्तक्षेपलाई पूरा नियन्त्रण गर्न हर-उपाय गरिएको देश ।
२०. प्रधानमन्त्रीको कार्यकाल बढीमा दुईपटक हुने देश ।
२१. सरकारले कार्यकाल पूरा गर्न पाउने देश, कुनै राजनीतिक अस्थिरताको चिन्ता गर्न नपर्ने ।
२२. सबै नेशनल रिजर्भ पार्कलाई एकआपसमा जोडेर वन्यजन्तु जुन ठाउँबाट जता जान मिल्ने पूर्वाधार भएको ।
२३. अन्तर्राष्ट्रिय ईस्युमा आफ्नो स्वतन्त्र धारणा र मत दिने देश । (हालै युएनमा जेरूसेलम ईस्युमा अमेरिका विरूद्ध नेपाल र भारतले विरोध गरेता पनि भुटान न्युट्रल रहेको)।
२४. सबै शिक्षा र स्वास्थ्य निशुल्क छ ।
२५. प्लाष्टिक र सुर्तिमुक्त छ ।
२६. ग्रीन अर्थतन्त्र छ ।
२७. संसदमा पक्ष विपक्ष दलका अलग्गै बेञ्चसीट हुँदैन निर्वाचन क्षेत्र क्र.सं. बमोजिम सीट रहन्छ ।
२८. निर्वाचन खर्च राज्यले नै बेहोर्छ । आफूखुशी पैसा बगाएर मतदातालाई जाँडरक्सी मासुभात खुवाउन व्यापारी कर्मचारीबाट उठाएर भ्रष्टाचार गरेको पैसा दुरूपयोग गर्न पाईदैन ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage