scheduleबिहिवार भाद्र ५ गते, २०७६

ओलीले ‘ईश्वर’ खटाएपछि प्रचण्डले ‘सहमति’ सम्झिए

फाइल फोटो

काठमाडौं, १८ जेठ । मिति- ३ जेठ । स्थान- मदननगर बल्खु । सन्दर्भ- मदन-आश्रित स्मृति दिवस ।

नेकपाका दोस्रो वरियताका अध्यक्ष प्रचण्डले मदन–आश्रित स्मृति दिवसका दिन पूर्वएमालेको आँगनमा उभिएर भने, ‘पार्टीका केही साथीहरू अझै पनि मदन भण्डारीलाई दोहोर्‍याउने कुरा गर्छन्, हामी मदन भण्डारीलाई दोहोर्‍याएर बसिरहने कि अघि बढ्ने ?’

प्रचण्डले यो प्रश्न यत्तिकै गरेका थिएनन् । यसको लागि पृष्ठभूमि बनाएका थिए नेकपाका एक नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले । एकीकृत पार्टीको लाइन जबज नै हुने अभिव्यक्ति ईश्वरको मुखबाट आएपछि त्यसको लागि निर्देशन ओलीबाट आएको बालुवाटार स्रोतको छ ।

पार्टी एकीकरणको बेला माओवादीको एक्काइसौं शताब्दीको जनवाद र एमालेको जनताको बहुदलीय जनवाद थाती राखेर त्यसभन्दा अगाडि बढेको नयाँ कार्यदिशा एकीकृत पार्टीले अंगाल्ने सहमति भएको खबर प्रकाशन/प्रशारणमा आएको थियो ।

तर बिना प्रसंग जबजको बहस ईश्वर पोखरेलको नेतृत्वमा अगाडि बढाइएपछि प्रचण्ड झस्किए । ओलीलाई भारत विदाई गरेपछि प्रचण्डको एउटा अन्तर्वार्ता बाहिरियो । त्यहाँ प्रचण्डले सुविचारित ढंगले सहमति सम्झाउने प्रयास गरेका छन् । इतिहास सम्झाउने प्रयास गराएका छन् र भविष्य पनि ।

ईश्वर पोखरेलले देशव्यापी रुपमा जबज ब्युँझाउन पहल गर्छु भन्दै देशदौडाहा गर्ने घोषणा गरेपछि प्रचण्डले सुविचारित ढंगले सहमति सम्झाएको पूर्वमाओवादीका एक नेता बताउँछन् ।
प्रचण्डको बुझाईमा ईश्वर पोखरेलको यो घोषणा केवल ईश्वरको मात्रै सनकमा आएको होइन, उनले पूर्वएमालेभित्रको ओली गुटकै प्रतिनिधित्व गर्छन् । यसबीचमा स्थायी समिति र सचिवालयको शक्ति सन्तुलनका लागि नेताहरु चोर्ने अभ्यासहरु पनि भइरहेकै छन् । बादलले प्रचण्ड छाडेको समाचार मिडियाहरुमा सुनियोजित ढंगले ल्याइएको प्रचण्ड समूहको बुझाई छ ।

लामो समयपछिको प्रयासपछि नेकपा एकता जिल्ला तहसम्म टुङ्गो लागेको छ । विषेश परिस्थिति भन्दै मापदण्ड उल्लङ्घन गरेर ‘एक व्यक्ति, एक पद’ लाई किनारा लगाउँदै अघि बढेको एकता पक्रिया अन्तिम चरणमा छ ।

तर, आलोपालो सहमतिका विषयमा बाहिर ल्याएर प्रचण्डले बहसलाई पुरानै ठाउँमा पुर्‍याइदिएका छन् । नेपाल कम्युनिस्ट पार्टी नेकपाले आज शनिबारका लागि सचिवालयको बैठक स्थगित नै भएको छ । अन्तिम समयमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नफर्किदै बैठक २ दिन पछि सारिएको हो ।

सरकार र पार्टी चलाउने विषयमा बाहिर आएको अध्यक्ष प्रचण्डको भनाइ र लगत्तै त्योसँग जोडेर आउन थालेको नेताहरूको अभिव्यक्तिको असर बैठकमा परेको छ ।

बैठक सरेपनि प्रधानमन्त्री ओलीको सचिवालयका एक सदस्यका अनुसार आज नै दुई अध्यक्षबीच भेटघाट हुनेछ । त्यसका आधारमा आउँदो सोमबार सचिवालयको बैठक बस्नेछ । लामो समयदेखि गठन हुन नसकेको पोलिटव्युरो र विभाग गठन टुङ्गो लगाउन सचिवालयको बैठक बोलाइएको थियो ।

अध्यक्ष ओली भारत भ्रमणमा रहेका बेला बाहिर आएको प्रचण्डको भनाइले बहस ‘एक व्यक्ति, एक पद’ मा फर्किएको छ । त्यो बहसले वरिष्ठ नेता माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलाई सहयोग पुगेको छ । जसले सुरुदेखि नै ‘एक पद, एक व्यक्ति’ मुख्य एजेण्डा बनाइरहेका थिए ।

यो बहसलाई अगाडि बढाउँदा प्रचण्ड पूर्व एमाले र पूर्व माओवादी गुट मात्रै नबनोस् र खासगरी पूर्वएमलाे गुट भत्कियोस् भन्ने चाहन्छन् । त्यसैसको सफलता उनलाई वामदेवको अभिव्यक्तिसँगै मिलिसकेको छ । झलनाथ र माधवलाई पनि यसको लागि तयार बनाउन सके आफू सफल हुने प्रचण्डको बुझाई रहेको पूर्वमाओवादीका एक नेताले बताए ।

आजको भेटमा ओलीले प्रचण्डकै मुखबाट आफैले बोलेको कुरा खण्डन गराउने पयत्न गर्ने अनुमान पनि गरिएको छ । अन्यथा ‘एक व्यक्ति एक पद’ मान्न ओली तयार नहुँदा मौन रहेका प्रचण्डको भनाइले पार्टीभित्र महाधिवेसन केन्द्रित समिकरणको बहस सुरु भएको सङ्केत गरेको छ । त्यसको असर पार्टीभित्र मात्रै होइन सरकारमा पनि देखिनेछ ।

यो बहसमा अब ओली र प्रचण्ड मात्र रहेनन् । आ-आफ्ना गुटका नेता कार्यकर्ताहरु पनि सामाजिक सञ्जालमा बहसमा उत्रिइसकेका छन् । पूर्वएमाले प्रचार विभाग उपप्रमुख सूर्य थापा लेख्छन्, ‘गत निर्वाचनमा पूर्ववर्ती एमालेको ७१% र माओवादीकेन्द्रको २९% मत हो । नेकपामा यही आधारमा हिस्सा निर्धारण गर्नु न्यायसंगत हुन्छ ।’ थापाको अभिव्यक्तिले ओली समूहको तयारी कुन हदसम्मको छ भनेर बुझ्न गाह्रो हुँदैन ।

त्यसो त, प्रचण्ड पनि राजनीतिका चानचुने खेलाडी होइन । ओलीको व्यवहारका कारण वाक्क बनेका नेकपाका ठूलो हिस्सालाई उनी आफ्नो पक्षमा ल्याउन चाहन्छन् । ‘एक व्यक्ति, एक पद’को नारा यसको लागि जादुमय हुने प्रचण्डको ठहर छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage