scheduleबिहिवार भाद्र ५ गते, २०७६

ओलीको जस्तै विद्यावारिधिले मोदीका २ मन्त्री विवादमा

एजेन्सी, १८ जेठ । नरेन्द्र मोदीको नयाँ मन्त्रीमण्डलका दुईजना मन्त्रीको शैक्षिक योग्यतामाथि प्रश्न उठेको छ ।

मोदीको नयाँ मन्त्रीमण्डलमा मानव संशाधन विकास मन्त्रालयको जिम्मेवारी पाएका रमेश पोखरियाल निशंक र महिला, बालबालिका तथा कपडा मन्त्री स्मृति ईरानीको शैक्षिक योग्यतामाथि विपक्षी दलले प्रश्न उठाएका हुन् ।

श्रीलंकास्थित एक अन्तर्राष्ट्रिय विश्वविद्यालयले रमेश पोखरियाल निशंकलाई २ वटा मानार्थ विद्यावारिधि प्रदान गरेको थियो । सन् १९९० को दशकमा निशंकले गरेको शैक्षिक योगदान स्वरुप उनलाई साहित्यमा मानार्थ विद्यावारिधि प्रदान गरिएको हो । केही वर्षपछि विज्ञानमा पुर्‍याएको योगदानलाई कदर गर्दै सोही विश्वविद्यालयले पुन: निशंकलाई दोस्रो विद्यावारिधि प्रदान गरेको थियो ।

तर निशंकलाई विद्यावारिधि प्रदान गर्ने विश्वविद्यालय श्रीलंकामा आधिकारिक रुपमा दर्ता नभएको भारतीय समाचार माध्यमले जनाएका छन् । उक्त विश्वविद्यालयलाई दर्ता नगरिएको श्रीलंकाको विश्वविद्यालय अनुदान आयोगले जनाएको छ । यति मात्रै होइन । गत वर्ष  पेश गरेको व्यक्तिगत विवरण समेत अपूर्ण रहेको, राहदानी र बायोडाटामा उल्लेखित जन्ममिति समेत फरक परेका कारण निशंक विवादमा तानिएका थिए ।

त्यस्तै मन्त्री स्मृति ईरानीको शैक्षिक योग्यतामाथि समेत प्रश्न उठेको छ । ईरानीले सन् २००४ मा दिल्ली विश्वविद्यालयबाट आर्टमा स्नातक गरेको तर २०१४ मा भने सोही विश्वविद्यालय कमर्समा स्नातक गरेको विवरण पेश गरेको भनेर विपक्षीले आरोप लगाएका छन् । लोकसभा चुनावका ईरानीको शैक्षिक योग्यतालाई दिएर विपक्षीले उनमाथि हमला गरेका थिए ।

स्मरणीय छ, नेपालका प्रधानमन्त्री केपी ओलीले हालसम्म यस्तै प्रकृतिका चारवटा विद्यावारिधि हासिल गरेका छन् । यसमध्ये पछिल्लो मानार्थ विद्यावारिधि यसैसाता ओलीले दक्षिण कोरियाको एक क्रिश्चियन मिसनरी विश्वविद्यालयबाट ग्रहण गरेका छन् । प्रधानमन्त्री ओलीको यो विद्यावारिधि समेत नेपालमा चर्को आलोचनाको विषय बनेको छ । प्रधानमन्त्री जस्तो मानिसले जहाँ पायो त्यहीबाट मानार्थ विद्यावारिधि ग्रहण गरेको भनेर सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage