scheduleमगलवार आश्विन २८ गते, २०७६

को हुन् बाबुरामका मान्छे ?

रुद्रप्रसाद भट्ट


नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरमबीचको पार्टी एकता टुङ्गिएको छ । यसलाई धेरैले बाबुराम र उपेन्द्रको एकता भनेका छन् । यो सत्य होईन, न बाबुराम पार्टी हुन् न उपेन्द्र, यी दुवै व्यक्ति हुन् । त्यसैले व्यक्ति व्यक्तिबीच एकता हुँदैन, त्यो केबल सहकार्य मात्रै हुन्छ । यो त लाखौं समर्थक र शुभेच्छुकले रंगशालाबाट एकसाथ सपथ लिएर निर्माण गरेको नयाँ शक्ति पार्टी र मधेश र जनजाती आन्दोलनको जगमा निर्माण भएको संघीय समाजवादी फोरमबीच एकता भएको हो । पार्टी व्यक्तिको हुँदैन, नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकको पार्टी हुन्छ । एउटा संयोग चाहिँ मिलेकै हो की यी दुवै पार्टीका संस्थापक यिनै दुईजना हुन्, जो नेतृत्वको शीर्ष पदमा थिए र आज समाजवादी पार्टीमा पनि छन् । त्यसैले बाबुरामका मान्छे वा उपेन्द्रका मान्छे भनेर कसैलाई चिनाईनु गलत हो ।

अरु पार्टीमा बाबुरामले धेरै वर्ष बिताएपनि नयाँ शक्ति पार्टीमा बाबुरामको जत्तिकै उमेर एक लाख सदस्यको छ । २०७३ जेठ ३० गते रंगशालामा सपथ खाएपछिको उमेर नै नयाँ शक्ति पार्टीको वास्तविक उमेर हो । अनि नयाँ शक्तिले प्राप्त गरेको ८३ हजार मतमा सबैको बराबर हक छ । त्यसैले बाबुरामले यो पनि बुझ्न आवश्यक छ कि निर्णय गर्दा एकल र पारिवारिक होईन विधिसम्मत सामूहिक र कार्यकर्ताको भावना बुझेर अगाडि बढ्नु आवश्यक छ ।

संसफो र नयाँ शक्ति पार्टीको एकता आवश्यकता की बाध्यता भन्ने कुरा भविष्यले पुष्टि गर्ला । तर, बाबुरामका वा उपेन्द्रका मान्छे बनेर फेरी एकतालाई कमजोर बनाउने वा खास मान्छे भनेर पद र पावरमा बार्गेनिङ गर्नेहरुदेखि चाहिँ नेतृत्व सजग हुनुपर्ने देखिन्छ । समाजवादी पार्टी घोषणा भएकै दिन पनि केहि पात्रहरु बाबुराम र उपेन्द्रका मान्छे बनेर आफुखुशी पद लिन सफल भएका छन् । यो सुखद पक्ष होईन ।

जतिबेला देशमा जनयुद्ध चलिरहेको थियो, धेरैले भन्ने गर्थे त्यत्रो पढेको मान्छे डा.बाबुराम भटटराईले बुद्धि किन बिगारेको होला । पढेको मान्छे त पैसा कमाउन, ऐस आरामको जिन्दगी जिउन पो लाग्नुपर्छ । जनताका छोराछोरी भड्काएर युद्धमा लगेर आखिर के पाउँछन् ? मानौं, युद्धमा लागेर केहि त पाउनुपर्छ, केहि नपाउने ठाउँमा लागेर जीवन बर्बाद किन गर्नु ?

आफुलाई ठूलो विश्लेषक, जानकार, विद्वान, देशभक्त, क्रान्तिकारी, बुद्धिजिवी ठान्नेको जमातले १० बर्षे जनयुद्धमा यस्तै-यस्तै कुरा गरेर बाबुरामलाई ‘वचरा’ भन्ने गर्थे । अर्कोतिर केहि लोभीहरु भने ‘म बाबुरामको मान्छे’ भन्दै बाबुराम मरे पनि मरोस् तर, मैले ‘म बाबुरामको मान्छे’ भएर पद पाउनैपर्छ भनेर हिँडथे । जनयुद्धलाई मान्छे मार्ने, जंगली, आतंककारी र बाबुरामलाई हत्याराको नाईके भन्नेहरु नै शान्ति प्रक्रिया सुरु भएपि५ बाबुरामभक्त भए र आफुलाई बाबुरामको खाँटी मान्छे भन्न थाले ।

खासगरी प्रचण्ड नेतृत्वको सरकारमा बाबुराम अर्थमन्त्रि भएपछी ‘म बाबुरामको मान्छे’ भन्नेहरु दिन दुईगुणा र रात चारगुणा थपिदै गए । त्यहि समयमा आधाआधी ‘बाबुरामको मान्छे’ले राम्रो फाइदा पनि लिए । पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल प्रधानमन्त्री हुँदा ‘बाबुरामको मान्छे’ बनेर मन्त्री बन्ने, राजनीतिक नियुक्ति लिने र विदेश भ्रमण गर्नेहरु आज कोहि पनि बाबुरामसँग छैनन् । जब बाबुराम प्रधानमन्त्री भए, त्यो समयमा त झन फाईदा लिनेहरु बाबुरामकै मान्छे हुँ भन्नेहरु बढी देखिए । त्यो समयमा नियुक्ति खानेहरुले यतिचाहिँ इमान्दारिता देखाए की स्वदेश, विदेश जहाँ गएपनि ‘म बाबुरामको मान्छे हुँ’ भन्न चाहिँ छाडेनन् ।

‘बाबुरामको मान्छे’ भन्नेहरु पटक-पटक मन्त्री, सभासद, गर्भनर, योजना आयोग, विश्वविदयालय, महान्याधिवक्ता, राजदूत, विज्ञ, सल्लाहकार, जानकार हुनुपर्ने जति सबै भए ।

रुद्रप्रसाद भट्ट

युद्धको बेला सँगै हिंडेको, लाईन संघर्षमा पक्ष लिएको, शान्तिप्रक्रियामा आउँदा मेरो बाईक चढाएर लगेको, मेरो घरमा बास बसेको, फलानो कार्यक्रममा जाँदा मेरो घरदेखिसंगै हिँडेको, एउटै गाडीमा हिंडेको, पानी पिएको भनेर पनि ‘बाबुरामको खास मान्छे, बाबुरामको दाहिने हात, देब्रे हात, विश्वासिलो मान्छे’ बन्नेहरु धेरै भए । टेलिभिजन, पत्रपत्रिकामा अन्तरवार्ता दिनेहरुले आफुलाई बाबुरामको मान्छे हुँ भन्ने प्रमाणित गर्न बाबुरामकै जस्तो बोली बोल्ने अनि बाबुरामकै जस्तो टोपी लगाउन समेत छाडेनन् ।

जब बाबुरामले केहि गरौं भनेर नयाँ कुरा ल्याउन थाले र साथ खोजे । त्यसपछि बाबुरामको खास मान्छेहरु बिच्किए । बाबुरामको दाहिने हात भाँचिन थाल्यो । बाबुरामका आँखा हुँ भन्नेहरु धमिलो हुँदै गए, विश्वासिलो मान्छे भन्नेले घात गर्न थाले ।

संविधान जारी भएको बेला यो संविधानले सबैको भावना समेट्न सकेको छैन, आधा गिलास भरिएकोजस्तो मात्रै छ भन्दा बाबुरामलाई संविधानविरोधी भन्न थालियो । मधेसमा अन्याय भएको छ, मधेसी जनतालाई अधिकार दिईनुपर्छ भन्दा बाबुरामलाई मधेसीको पुच्छर, भारतीय दलाल भनियो । बाबुरामले पार्टीलाई यथास्थितिमा होईन नयाँ गतिमा अगाडी बढाऔं भन्दा बाबुरामलाई पार्टी भित्रैबाट उनकै मान्छे हुँ भन्नेहरुले धोखेवाज, गद्दार भन्न समेत पछि परेनन् । अनि बाबुरामले आर्थिक समृद्धिको कुरा गर्दा हावादारी, पागल भन्ने तर रेल, तेल र पानी जहाजका कुरा गर्नेलाई चाहिँ ‘हिरो’ र समृद्धिको नायक भनेर हात मिलाउँदै गला जोड्न थालियो । त्यति हुँदा पनि हिजो बाबुरामका मान्छे हुँ भनेर फाईदा लिनेहरुले चाहिँ बाबुरामलाई साथ छाड्दै गए ।

कहिलेकाँही बाबुरामलाई समेत तपाईँ त प्रचण्डको मान्छे हो ! बरु हामीचाहिँ खास तपाईँ (बाबुराम) को मान्छे भनेर उक्साउनेहरु आज बाबुरामले केहि दिन सक्तैन र ऊसँग केहि छैन भनेपछि बाबुराम बिग्रियो, बुढाले राजनीति गर्न जानेनन् भन्दै कुलेलम ठोक्न थाले ।

नयाँ शक्ति पार्टी गठनदेखि नै केहि अवसरवादीहरु पार्टीमा धमिराको रुपमा देखिए । तर बाबुरामले तिनलाई चिन्न सकेनन् वा चिनेर पनि बोल्न सकेनन्, त्यो चाहिँ उनै जानून् । नयाँ शक्तिको नाम तर प्रचण्डको दाममा देशविदेश घुम्ने, कार्यकर्तासँग एउटा कुरा तर व्यवहार चाहिँ बाबुरामलाई कसरी फेल गराउने भनेर लागिपरेका ती पात्रहरु अहिले बाबुरामले गरी खाँदैनन भनेर अन्तरवार्ता दिन थालेका छन् ।

हिजो बाबुराम बिनाको पार्टी भनेको विचारशून्यहरुको जमात हो भन्नेहरु आज बाबुराम केहि होईन, बाबुरामबाट केहि आश गर्न सकिन्न भन्दै निस्किए । यो क्रम बाबुरामले नयाँ शक्ति निर्माण अभियान सुरु गरेदेखि संसफोसँग एकता गर्ने दिनसम्म चलिरह्यो । नयाँ शक्ति निर्माणमा लाग्ने भनेर जब बाबुरामले संविधानसभा सदस्य, माओवादी पार्टीको उपाध्यक्षबाट राजीनामा दिए अनि ‘बाबुरामको मान्छे’ भन्नेहरु नै विस्तारै बाबुरामबाट टाढा हुँदै गए । एक हिसाबले यो उनीहरुको निर्णय सहि नै हो किनकी बाबुरामसँग अब उनीहरुलाई दिन केहि छैन । जे थियो, त्यो दिईसके ।

बाबुरामसँग जनयुद्धमार्फत् राजतन्त्र ढालेर गणतन्त्र ल्याउने सपना थियो । संविधानसभा निर्वाचन अनि संविधानसभाबाट जनताको संविधान लेख्ने संकल्प थियो । चीन र भारतसँग समदुरीको सम्बन्ध राखेर देशलाई विकासको दुत गतिमा लैजाने दृढता थियो । अनि बाबुरामसँग समृद्ध नेपाल बनाउने स्पष्ट खाका थियो । त्यो सबै बाबुरामले विचारमार्फत् दिईसकेका छन् ।

के चाहिँ साँचो हो भने बाबुरामसँग हावादारी गफ गर्ने फुर्सद थिएन । रेल, पानीजहाज, तेलको कुवा, हावाबाट बिजुली, पाईपबाट घर-घर ग्याँस दिन्छौं भनेर जनतालाई हँसाउने कला बाबुराममा थिएन । अनि दुई तिहाईको दम्भ देखाएर विपक्षीलाई थर्काउने हिम्मत पनि थिएन र छैन पनि ।

त्यसैले आज बाबुरामसँग ‘म बाबुरामको मान्छे’ भन्नेहरु पनि छैनन् । सम्भवतः अब बाबुरामसँग जहिले पनि उनको विचारमा साथ दिने, दुःख वा सुख जेसुकै भएपनि सहने तर ‘बाबुरामको मान्छे’ नबन्नेहरु मात्रै बाँकी छन् । अबको केहि समय नयाँ विचार, नयाँ योजना र नयाँ सम्भावना बाहेक बाबुरामसँग केहि पनि हुनेछैन ।

तर, संघीय समाजवादी फोरमसँगको पार्टी एकतापछि फेरी एकपटक हिजो बाबुरामलाई राष्ट्रघाती, भारतीय दलाल, मधेसीको पुच्छर भन्दै बिग्रियो, खत्तम भयो, बुद्धि बिगार्‍यो, सिद्धियो भन्ने ‘बाबुरामका मान्छे’हरु बजारमा दोहोरो चरित्रमा देखिएका छन् । ती बाबुरामको समाजवादी पार्टी भित्र र बाहिर दुबैतिर छन् । तिनलाई बेलैमा चिनेर अगाडी बढ्न नसके फेरी पनि बाबुरामलाई मात्रै होईन देशलाई नै धोका हुनेछ ।

नयाँ योजना र नयाँ बाटोमा सँगै हिँड्छु भनेर साथ दिनेलाई मात्रै अबको यात्रामा सँगै हिँडाउन सक्ने वा नसक्ने बाबुरामको लागि यो अन्तिम अग्निपरीक्षा हुनेछ । आशा छ, अबको उनको यात्रामा ‘बाबुरामको मान्छे’ भन्नेहरु हुने छैनन् । आगे उनकै मर्जी !

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage