scheduleबिहिवार भाद्र ५ गते, २०७६

समाजवाद किन, कस्तो र कसरी ?

डम्बर खतिवडा

संविधानतः नेपाल ‘समाजवादउन्मुख’ राज्य हो । नेपालका अधिकांश राजनीतिक दल सिद्धान्तले ‘समाजवादी’ छन् । व्यवहारमा सिद्धान्त प्रतिबिम्बित छ छैन, त्यो अर्कै कुरा । शब्दमा भने सबै एक से एक समाजवादी । एउटा भनाई छ– ‘तपाई समाजवादी हुनुस् नहुनुस् तपाईको खुशी तर राजनीतिमा सफल हुन चाहनुहुन्छ भने कुनै न कुनै प्रकारले समाजवाद जप्न कहिल्यै नछोडनुस्, किनकी समाजवाद राजनीतिको बजारमा सबैभन्दा सजिलोगरी बिक्ने मालवस्तु हो ।’ एउटा कोणबाट हेर्दा आज नेपालको अवस्था यस्तै छ ।

नेपाली काङ्ग्रेस– प्रजातान्त्रिक समाजवादी । सत्तारुढ नेकपादेखि माले, मसाल, नेमकिपा, बैद्य र विद्रोही विप्लवसम्म मार्क्सवादी–लेनिनवादी–माओवादी समाजवादी । यहाँसम्म कि बिल्कुल नयाँ पुस्ताको राजनीतिक पहलकदमी विवेकशील नेपाली दलले ‘स्वतन्त्रता, समानता र भातृत्वको गतिशील सन्तुलनबाट मानवतावादको प्रवर्द्धन गर्ने’ धारणा राख्दछ । शब्दमा समाजवाद नभनिए पनि अर्थ र मर्मको दृष्टिकोणले यो ‘समाजवादी दर्शन’ नै हो ।

यतिधेरै समाजवादीहरुको बीचमा भर्खरै समाजवादलाई नै विचार, सिद्धान्त, दर्शन र मूल आदर्श बनाएर समाजवादी पार्टी, नेपाल निर्माण भएको छ । घोषित रुपमा आफूलाई समाजवादी नभन्ने दुईवटा मात्र दल देखिन्छन् नेपालमा– राप्रपा र साझा विवेकशील पार्टी । राप्रपाले सम्वर्द्धनवादलाई आफ्नो राजनीतिक दर्शन बनाएको छ । साझाले परोपकारी लोकतन्त्रमा आधारित पुँजीवादलाई ।

डम्बर खतिवडा
अर्को कोणबाट हेर्दा समाजवादप्रतिको यो मोह एक सकारात्मक परिघटना हो । अंग्रेजीमा एउटा भनाई छ– ‘एक्जिस्टेन्स कम्स बिफोर इसेन्स ।’ यसको सामान्य अर्थ भनेको विचारलाई वस्तुले निर्धारण गर्दछ । यसलाई राजनीतिमा भन्न सकिन्छ- कुनै पनि राजनीतिक अवधारणा यथार्थमा परिणत हुनु अघि सघन विमर्शमा हुनुपर्दछ । समाजवाद अधिकांश पार्टीहरुको एजेण्डा बन्दै जानु नेपाल निकट भविष्यमा समाजवादतिर प्रवृत हुने लक्षण पनि हो । जसरी हिजो गणतन्त्र, लोकतन्त्र, संघीयता विमर्शमा थिए, आज यथार्थमा परिणत भए, त्यसरी नै आज समाजवाद जुनस्तरको छलफलमा छ, त्यो भविष्यमा अवश्य व्यवहारमा परिणत हुनेछ ।

तर, कुन समाजवाद ? कस्तो समाजवाद ? किन समाजवाद ? कसरी समाजवाद ? आदि प्रश्न अझै अनुत्तरित छन । यी सबै दलहरुले भनेको समाजवाद एउटै हो कि फरक-फरक हुन ? एउटै हो भने एउटै उद्देश्यका लागि यतिका धेरै दल किन चाहियो ? फरक-फरक हुन भने समान शब्दाबलीले सृजना गर्ने भ्रम वा अन्यौलबाट कसरी मुक्ति पाउने ? के आधारमा मतदाताले यी दलका समाजवादी मान्यताको फरक छुट्याउने ? यी प्रश्नमा प्रवेश गर्नु अघि सम्भवत् राजनीतिक दर्शनहरुको सामान्य ज्ञान आवश्यक पर्दछ ।

राजनीतिक दर्शन मूलतः ११ प्रकारका देखिन्छन् । सम्बर्द्धनवाद, उदारवाद, साम्यवाद, समाजवाद, राष्ट्रवाद, फासीवाद, धार्मिक कट्टरतावाद, संघवाद, जैविकतावाद, अराजकतावाद र महिलावाद ।

सम्बर्द्धनवादको सारतत्व ‘समाजको परम्परागत मौलिक चरित्रको रक्षा र रुढीवादी नैतिक मूल्यको संरक्षण’ हो । मूलतः यो थोमस हब्सको चिन्तनमा आधारित राजनीतिक दर्शन हो । बेलायतको टोरी यो विचारधाराको दृष्टिकोणबाट ऐतिहासिक दल हो । अमेरिकाका रिपब्लिकनहरु राजतन्त्र त मान्दैनन् अरु विषयमा कन्जरर्भेटिभ नै हुन्छन् । सम्बर्द्धनवाद कुनै क्रान्तिकारी विचारधारा हैन । क्रान्तिबाट डराएका कुलिनहरुको आत्मरक्षाको कवच हो । नेपालमा राप्रपा विशेषतः कमल थापा समूहले यो विचारधाराको प्रतिनिधित्व गर्दछ ।

फ्रि म्यान ( स्वतन्त्र व्यक्ति ) र फ्रि मार्केट ( स्वतन्त्र बजार) अर्थात् ‘स्वतन्त्रता’ उदारवादको सारतत्व हो । यो विचारधारा जोह्न लकको दर्शन र बेलायती गौरवमय क्रान्तिबाट अनुप्रेरित भएको हो । बेलायतको ह्वीग पार्टी जसको नाम फेरेर ‘लिवरल डेमोक्र्याट्स’ बनाइयो, यो विचारधाराको मुख्य ऐतिहासिक दल हो । हुनतः नेपाली कांग्रेसले आफूलाई प्रजातान्त्रिक समाजवादी नै भन्न रुचाउँछ तर, सन् १९९० यताका उसको सम्पूर्ण व्यवहारहरु उदारवादमा आधारित छन् ।

साम्यवादले ‘समानता’ लाई मुख्य तत्व मान्दछ । यो मार्क्सवादको लेनिनवादी धारा हो । निजी सम्पति, राज्य, वर्ग, बजार र अतिरिक्त मूल्य (मुनाफा) को अन्त्य नै मानवमुक्ति हो भन्ने सोच साम्यवाद हो । प्रारम्भमा यो समाजवादी विचारधारा भित्रकै एक हाँगो थियो । सन् १९१७ पछि जब लेनिनले आफ्नो पार्टीको नाम ‘रुसी सामाजिक जनवादी मजदुर पार्टी’ फेरेर ‘कम्युनिष्ट पार्टी’ बनाए, समाजवादी अन्तर्राष्ट्रिय परित्याग गरी, कम्युनिष्ट अन्तर्राष्ट्रिय ‘कोमिन्टर्न’ गठन गरे, लोकतन्त्रको साटो सर्वहारा राज्य र सोभियत प्रणालीका नाममा एकदलीय प्रणाली अबलम्बन गरे, साम्यवाद समाजवादी आन्दोलनबाट फरक भयो ।

नेपालमा नेकपाका सबै घटक वा समूह यही चिन्तनबाट जन्मिएका हुन् । तर, आज उनीहरु चरम वैचारिक संकटबीच छन् । एकातिर मार्क्सवाद, लेनिनवाद, स्टालिनवाद, माओवाद, टिटो, क्यास्त्रो र किम इल सुंगको विरासतबाट आफूलाई स्वतन्त्र र मुक्त घोषण गर्न पनि सक्दैनन् अर्कोतिर आफूलाई लोकतन्त्रवादी प्रमाणित गर्ने हज्जार मिथ्या प्रयास पनि गरिरहन्छन् । जसरी नेपाली कांग्रेस सैद्धान्तिक औपचारिकताले प्रजातान्त्रिक समाजवादी तर व्यवहारले उदारवादी दल हो, ठीक त्यस्तै नेकपाका घटकहरु औपचारिक सिद्धान्तले साम्यवादी तर व्यवहारले सामाजिक फासीवादी समूहहरु हुन् ।

राष्ट्रवादले ‘जन्म, जन्मस्थान वा भाषिक सांस्कृतिक मनोविज्ञानका कारण एकै प्रकारका भएका मानव समूहको आत्मगौरव’ लाई मुख्य तत्व मान्दछ । फ्रान्स, जर्मनी र इटलीको एकीकरण युद्धको समयमा यो विचारधारा जन्मिएको थियो । यो मूलतः हिगेलको दर्शनमा आधारित सोच हो । यसले विवेकपूर्ण कार्यका लागि जनसहमतिको आवश्यकता नहुने मान्यता राख्दछ । नेपालमा राष्ट्रवादलाई मात्र मुख्य दर्शन बनाएको कुनै दल छैनन् । दलहरुले आफ्नो राजनीतिक सिद्धान्तमा यो ‘कम्पोनेन्ट’ लाई आ-आफ्नो तरिकाले समावेश गरेको छन् ।

फासीवाद राष्ट्रवादी चिन्तनको अतिवादी धार हो । मूलतः यो नित्सेको दर्शनमा आधारित छ । फासीवादले ‘विवेकपूर्ण शासन र राज्यको सर्वोपरिता’ मा विश्वास गर्दछ । ‘श्रेष्ठ जातिसंग श्रेष्ठ ज्ञान र विवेक हुन्छ, श्रेष्ठ विवेकले श्रेष्ठ राज्य, श्रेष्ठ साम्राज्य र श्रेष्ठ सभ्यता निर्माण गर्छ’ भन्ने सोच नै मूलतः फासीवाद हो । विनिटो मुसोलिनीको फासिष्ट पार्टी र हिटलरको नाजी पार्टी यस विचारधाराका मुख्य दल हुन् । नेपालमा फासीवादलाई औपचारिक दर्शन बनाएको कुनै पार्टी नभए पनि बेलाबेला ‘एक्स्ट्रिम’ राष्ट्रवादीहरु देखिने गरेका छन्, त्यसको स्रोत फासीवाद नै हो ।


धार्मिक कट्टरतावादले ‘निश्चित धार्मिक भावनाबाट अभिप्रेरित राज्य र समाज नैतिकरुपमा बलियो हुन्छ, विपरित धर्मसंगको प्रतिरोधबिना धर्म रक्षा र विस्तार गर्न सकिन्न । तसर्थ धर्मयुद्ध (जेहाद) स्वभाविक र जायज हो’ भन्ने मान्यता राख्दछ । सबै धर्मालम्बीहरुमा यस्ता सोच पाइन्छन् । मुस्लिम ब्रदर हुड, तालेवान, बोकोहराम, अल काइदाजस्ता मुस्लिम संगठनहरु यही दर्शनका उपज हुन् । युरोपमा क्रिश्चियन डेमोक्र्याटस पार्टीहरु यही सोचबाट उदित भएका थिए, पछि सम्बर्धनवादमा रुपान्तरण गरे । भारतमा शिवसेनालाई प्रारम्भमा यस्तै दल मानिन्थ्यो, अहिले मराठी राष्ट्रवादतिर अभिप्रेरित छ । नेपालमा भने धार्मिक कट्टरतावादी दल अहिलेसम्म देखिएको छैन । यो सुखद पक्ष हो ।

संघवादी चिन्तनमा ‘देश फरक राष्ट्रियताहरुको संयुक्त राजनीतिक एकाई हो । समरुप राज्य असम्भवप्राय छ । जाति, भाषा, धर्म, संस्कृति, इतिहास, भुगोल र मनोविज्ञानको भिन्नता स्वभाविक हो । राज्य बहुसांस्कृतिक अस्तित्व हो । जातीय, भाषिक र सांस्कृतिक समूहहरुको कूलयोग देश हो । राज्य त्यसको संरचना र प्रणाली । तसर्थ, स्वशासन, साझेदारी शासन, स्वायक्तता, समावेशिता र आत्मनिर्णयको अधिकार जरुरी हुन्छ’ भन्ने सोच राखिन्छन् । मूलतः यो शक्ति अकेन्द्रणको दर्शनमा आधारित छ । राजनीतिमा संघवादी चिन्तन निक्कै पुरानो हो । तर, आधुनिक भनिएको पोष्टमोर्डानिज्मले संघवादलाई समर्थन गर्दछ । मूलतः महाआख्यानको अन्त्य, केन्द्रभंग र बहुकेन्द्रको स्थापनाजस्ता दार्शनिक सोचले संघवादी राजनीतिक दर्शनलाई पुष्टि गर्दछ ।

जैविकतावाद भने प्रकृतिवादी दर्शनबाट प्रेरित विचारधारा हो । यसले सामाजिक बेथिति र मानवीय दुःखको मुख्य कारण प्रकृति र मान्छेको सम्बन्धमा हुने असन्तुलनलाई मान्दछ । वातारणीय विनाश, तापमान वृद्धि, जलवायु परिवर्तन, दीगो विकास आदि अवधारणा यस दर्शनसँग जोडिएका छन् । युरोपियन ग्रिन पार्टीहरु यस विचारधारालाई अबलम्बन गर्ने राजनीतिक दल हुन् । नेपालमा यही दर्शनबाट प्रेरित भएर ‘हरियाली पार्टी’ बनेको थियो । अहिले पनि ‘नेपाल ग्रिन पार्टी’ नामको एउटा सानो समूह छँदैछ ।

अराजकतावादले ‘आधिकारिकताको विघठन र स्वस्फूर्त सहकारी संगठन’ मा जोड दिन्छ । यस विचारमा ‘निजी सम्पति’, ‘वैवाहिक संस्था’, ‘राज्य’ र ‘धार्मिक सम्प्रदाय’ प्राधिकारका स्रोत हुन् । यिनीहरुको अन्त्यपछि मात्र मानव समाज खुशी र सुखी हुन सक्दछ । यो विचारधारा मिखायल बाकुनिन, पिटर क्रोपटकिनजस्ता दार्शनिकहरुले अगाडि बढाएका थिए । घोषित रुपमा आफूलाई अराजकतावादी बताउने राजनीतिज्ञ प्रुधो थिए । नेपालमा यो धारको पनि कुनै दल छैन ।

महिलावाद लैङ्गिक प्रश्नहरुको राजनीतिक अभिव्यक्ति हो । महिला मताधिकार, महिला शिक्षा, सम्पतिमा महिला अधिकार, वंश परम्परा, विवाह, बसाईसराई तथा अन्तर्देशीय विवाहमा महिला नागरिकताको प्रश्न, प्रजनन स्वास्थ्य तथा गर्भपतनको अधिकार, रोजगारीमा महिला आरक्षण र सुरक्षा, महिला कार्यघण्टा र महिलाजन्य बिदा तथा सुविधाहरु, महिला विरोधी प्रथा र अन्धविश्वास विरुद्धको सामाजिक जागरण, प्रेम विवाह र सम्बन्धविच्छेदको अधिकार, स्त्रिभ्रुण हत्या विरुद्धको आन्दोलन र गर्भसुरक्षा, राजनीतिमा महिला सहभागिता आदि महिलावादी राजनीतिका मुख्य एजेण्डा हुन् ।

समाजवादको मौलिकता भने ‘समानता र स्वतन्त्रता अभिभाज्य छन्’, स्वतन्त्रताको अभिव्यक्तिका रुपमा ‘लोकतन्त्र’ र समानताको अभिव्यक्तिका रुपमा ‘समाजवाद’ अक्षुण हुन्छन् भन्ने सोचबाट निर्मित छ । यसले उदारवाद र साम्यवादको प्रतिद्वन्दितालाई कृत्रिम र अर्थहीन मान्दछ । व्यक्ति र समाज अविभाज्य छन् । व्यक्ति बिना समाज र समाज बिना व्यक्ति हुँदैन । तसर्थ, व्यक्तिवाद र सामुहिकताबीचको प्रतिद्वन्द्विता अर्थहीन छ ।

आर्थिक हैसियत बिना राजनीतिक स्वतन्त्रता प्राप्त हुँदैन । राजनीति स्वतन्त्रता बिना आर्थिक हैसियत प्राप्त हुँदैन । तसर्थ, खुशी र सुखी मानव समाज निर्माण गर्न आर्थिक समानता र राजनीतिक स्वतन्त्रता अभिभाज्य छन् । राजनीतिक स्वतन्त्रताका लागि लोकतन्त्र र आर्थिक अवसरका लागि सामाजिक न्यायसँगसँगै लागू हुनु पर्दछ । ‘लोकतन्त्र भनेको अरु केही हैन, त्यो समाजवादमा जाने बाटो हो, समाजवाद भनेको अरु केही हैन, त्यो अझ उन्नतस्तरको लोकतन्त्र’ हो भन्ने मान्यता नै समाजवादी दर्शनको सार हो ।

उदारवादले खुल्ला बजार, साम्यवादले बजार अर्थतन्त्रको अन्त्य र समाजवादले सामाजिक बजार अर्थतन्त्रको पक्षपोषण गर्दछ ।
बेलायती छापाहरुका ‘सोसलिष्ट’ शब्दको प्रयोग सन् १८२७ तिरबाट शुरुवात भएको थियो । सन् १८३० पछि बेलायतमा रबर्ट ओवेन र फ्रान्समा सेन्ट साइमनका अनुयायीले आफूलाई औपचारिक रुपमा ‘सोसलिष्ट’ घोषित गरे । ‘सोसलिष्ट’ शब्द ल्याटिन भाषाको ‘सोसियर’ बाट बनेको विश्वास गरिन्छ, जसको,अर्थ हुन्छ–संयुक्त वा साझेदारी । ‘प्रकृतिमा विद्यमान फरक प्रवर्गहरुले एकअर्कालाई निषेध हैन, अस्तित्वका लागि साझेदारी गरिरहेका हुन्छन’ भन्ने चिन्तनलाई समाजवाद भनिन्छ ।

सन् १८६३ मा फर्डिनान्ड लासालको नेतृत्वमा गठन भएको ‘जनरल जर्मन वर्कर्स एशोसिएसन’ विश्वको पहिलो समाजवादी राजनीतिक संगठन थियो । सन् १८६९ कार्ल लिब्नेख्त र अगष्ट बेबेलले ‘डेमोक्र्याटिक बकर्स पार्टी अफ जर्मनी’ गठन गरे । सन् १८७५ मा यी दुई पार्टीहरु मिलेर ‘सोसलिष्ट बर्कस पार्टी अफ जर्मनी’ बन्यो । यो पार्टीको कार्यक्रमलाई ‘गोथा कार्यक्रम’ भनिन्छ । कार्ल मार्क्सले यसको खण्डन गर्दै ‘गोथा कार्यक्रमको आलोचना’ लेखेका थिए ।

यही विन्दूबाट विश्व राजनीतिमा ‘कम्युनिष्ट’ र ‘सोसलिष्ट’ धार फरक हुन थालेको हो । सन् १९१७ को रुसी अक्टोबर क्रान्तिपछि एकदलीय प्रणाली अपनाइयो । समाजवादीहरुमा एकदलीय प्रणालीको कल्पनासम्म थिएन । लेनिनसँग सोसलिष्टहरुको घनघोर वैचारिक संघर्ष भयो । विशेषतः क्रान्तिकारी समाजवादी धारबाट नेतृ रोजा लक्जेम्बर्गले लेनिनको चर्को आलोचना गरिन् । संशोधनवादी धारबाट कार्ल काउत्स्कीले लेनिनको उत्तिकै आलोचना गरे ।

तर, लेनिनले मानेन् । ‘सोसलिष्ट इन्टरनेशनल’ परित्याग गरी कम्युनिष्ट पार्टीहरुको विश्व संगठन ‘कोमिन्टर्न’ बनाए । यो घटना कम्युनिष्ट र सोसलिष्टहरुको विभाजनको निर्णायक मोड थियो । लेनिनवादीहरुले विश्वभरि कम्युनिष्ट नाम प्रयोग गरे । समाजवादी धारमा भने विभिन्न नाम प्रयोग गर्ने प्रचलन थियो । जस्तै, ‘लेवर पार्टी’, ‘बकर्स पार्टी’, ‘सोसलिष्ट पार्टी’ ‘लेफ्ट–डेमोक्र्याट पार्टी’, ‘सोसलिष्ट रिभोल्यूसनरी पार्टी’, ‘सोसल–डेमोक्र्याट पार्टी’ ‘सोसलिष्ट युनिटी एण्ड सोलिडारिटी पार्टी’ ‘लिवरल सोसलिष्ट पार्टी’ आदि ।

अबको युगमा राजनीतिक विचारधाराहरु एकअर्काबाट स्वतन्त्र र मुक्त छैनन् । हरेक राजनीतिक दर्शन आफैमा राजनीतिक आन्दोलन बन्न सजिलो छैन । जस्तो कि जैविकतावाद युरोपेली ग्रिन पार्टीका रुपमा भिन्नै राजनीतिक आन्दोलन बन्यो । तर, पछिल्लो चरणमा अरु विचारधाराका दलहरुले पनि जैविकतावादी चिन्तनलाई आफूमा समाहित गरे । महिलावाद बेलायती उदारवादी आन्दोलनको एक अभिन्न अंग थियो, कन्जर्भेटिभहरु त्यसको विरुद्धमा थिए । महिलावादी दर्शनमा आधारित भएर भिन्नै राजनीतिक दल बनाउने प्रयास पनि विश्वमा नभएका हैनन् तर ती प्रयास सफल भएनन् ।

एक्काइशौं शताब्दिको नेपालका लागि राजनीतिक विचारधारा निर्माण गर्दा सम्बर्द्धनवाद, धार्मिक कटट्रतावाद, फासीवाद र अराजकतावाद बिल्कुल असान्दर्भिक देखिन्छन् । राष्ट्रवादलाई नयाँ अर्थमा विनिर्माण गर्नुपर्दछ । अन्यथा, त्यसले सामाजिक फासीवादको बाटो समाउने खतरा छ । साम्यवादको विश्वसंकटपछि नेपालका कम्युनिष्टहरुले राष्ट्रवादलाई आधार बनाएर अस्तित्व रक्षाको प्रयास गरेको देखिन्छ । दर्शनमा साम्यवाद, अर्थनीतिमा नवउदारवाद, नारामा समाजवाद र राजनीतिमा राष्ट्रवादको समिश्रण भएर प्रकारान्तले नेपालका कम्युनिष्टहरु ‘सामाजिक फासीवादी’ बन्न पुगेका छन् ।

नेपालमा जैविकतावाद, महिलावाद, संघवाद र समाजवादको एक विशिष्ट संश्रय बन्न जरुरी छ । त्यो सकारात्मक विकासक्रम हुनेछ । भर्खरै घोषणा भएको समाजवादी पार्टीले आफ्नो सिद्धान्तलाई ‘समुन्नत संघीय समाजवाद’ भनेर त्यसको संकेत गरेको छ । मधेसी, जनजातिलगायतका सीमान्तकृत जनसमुदायका आन्दोलनहरु समाजवादी पार्टीमा एकीकृत हुनु मूलतः संघवाद र समाजवादको विशिष्ट संश्रय हो । यो घटनासंगै नेपालको राजनीति उदारवाद, समाजवाद र साम्यवादको त्रिकोणात्मक संघर्षमा अभिव्यक्त हुने निश्चितप्राय छ ।

हुनतः नेपाली कांग्रेस र नेकपाले पनि आफूलाई समाजवादी नै भन्दछन् । यसर्थ कांग्रेस, कम्युनिष्ट र सोसलिष्टबीचको भिन्नता छुट्याउन मतदातालाई त्यति सजिलो हुनेछैन । यो भिन्नता अब व्यवहारिक प्रयोजनको प्रश्न बन्ने छ । सन् १९९० यता कांग्रेसले अबलम्बन गरेका नवउदारवादी आर्थिक नीतिहरु पछि आफूलाई सोसलिष्ट भन्ने नैतिक अधिकार तथा व्यवहारिक प्रयोजन खासै रहँदैन । माथि चर्चा भएझैं नेकपा भने एक भयानक वैचारिक द्विविधाको तासे महल हो । यो सोभियत संघ, पूर्वी युरोप वा पश्चिम बंगालझैं कतिखेर गर्लाम्मगुर्लुम्म ढल्छ, यसै भन्न सकिन्न ।

राजनीतिक दर्शन बीच समाजवादी दर्शनको भिन्नता जस्तै समाजवादी धारभित्रकै हाँगाबिँगाहरुको चर्चा उत्तिकै आवश्यक छ । समाजवादी धारमा मुख्यतः युटोपियन समाजवाद, फेवियन समाजवाद, प्रजातान्त्रिक समाजवाद, उदार समाजवाद, सामाजिक लोकतन्त्र, ह्युमानिटारियन समाजवाद, स्केडिनेवियन समाजवाद, गान्धियन समाजवाद, सेन्डिकालिज्मजस्ता धारहरु छन् । त्यसो त हिटलरको नाजी पार्टीले पनि ‘राष्ट्रिय समाजवाद’ भन्ने गर्दथ्यो ।

युटोपियन समाजवाद– समाजवादको एक प्रारम्भिक आर्दशवादी तथा काल्पनिक चिन्तन थियो । थोमस मूरको किताब ‘युटोपिया’ बाट यो नाम लिइएको हो । थोमस मुर, तमोजा काम्पानेल्ला, रवर्ट ओवेन, सैन्ट साइमन, चार्ल्स फुरियर यो धारका मुख्य चिन्तक थिए ।
फेवियन समाजवाद– समाजवादको बेलायती हाँगा हो । जर्ज बनार्ड शाँजस्ता चर्चित लेखकहरु यो अभियानमा जोडिएका थिए । मूलतः यो धारले क्रान्तिकारी आन्दोलनबाट हुने मानवीय क्षतिलाई रोकी शान्तिपूर्ण आन्दोलनबाटै समाजवादी आन्दोलनका लक्ष्य पुरा हुनुपर्ने धारणा राख्दथ्यो ।

प्रजातान्त्रिक समाजवाद– मार्क्सवादमाथि एक संशोधनवादी आलोचना थियो । जर्मन संशोधनवादीहरु एडर्वट बर्नस्टिन र कार्ल काउत्स्की यो धारका नेता थिए । उनीहरुले सामान्य संसदीय प्रणालीको अभ्यासबाटै समाजवाद संभव हुने धारणा राख्दथे ।

उदार समाजवाद– यो समाजवादी चिन्तनको इटालियन धारा हो । कार्लो रोसेली यो धाराका मुख्य चिन्तक थिए । यो चिन्तनमा लिवरल भ्यालुहरु राजनीतिक औजारहरु हुन र त्यसको उद्देश्य स्वतन्त्रता र न्याय हो । समानता एक अमूर्त शब्द भएको हुँदा त्यसको ठाउँमा समाजवादको आदर्श चिन्तन स्वतन्त्रता र न्याय हुनुपर्दछ भन्ने सोचलाई उदार समाजवाद भनिन्छ ।

सामाजिक लोकतन्त्र– समाजवादको एक क्रान्तिकारी हाँगो हो । मूलतः यसले रेडिकल डेमोक्रेसीको कुरा गर्दछ । यो धारको आर्दश चिन्तक रोजा लम्जेम्बर्गलाई मान्ने गरिन्छ । हाबर्ट माक्र्युज, जाँ पाल सार्त्र, सिमोन द बाउभिर तथा फ्रेकफर्ट स्कुल अफ थटका अनुयायीहरुले ‘नववामपन्थी’ दृष्टिकोणबाट यो धारलाई परिमार्जित गरेका थिए । यो धारले मार्क्सवाद र उदार लोकतन्त्र दुवैका कमजोरहरुको चित्रण र समाधानका विन्दूहरु सिफारिस गर्दछ ।

ह्युमानिटारियन समाजवाद– यो समाजवादको अमेरिकी हाँगो हो । यसले समाजवाद र लोककल्याणकारी राज्यको अवधारणालाई मिश्रण गरी सामाजिक न्याय र सामाजिक सुरक्षाको पक्षपोषण गर्दछ । अमेरिकी समाजवादी पार्टी खासै प्रभावशाली हुन नसकेपछि उनीहरु डेमोक्रेटिक पार्टी भित्रैबाट यस्ता सोचहरु अगाडि बढाउँदछन् । अहिलेका चर्चित डेमोक्र्याटिक सिनेटर बर्नी स्यान्डर्स यही धारका समाजवादी हुन ।

स्केन्डिनेवियन समाजवाद– यो मूलतः नार्डिक शासन प्रणालीलाई आर्दश मान्ने समाजवादी धार हो । यसले प्रत्यक्ष लोकतन्त्र, गैरपदसोपानीय समाज र संस्कृति, मध्यम वर्गको विस्तारमार्फत् आर्थिक समानताको प्रत्याभूति, कोक्रोदेखि चिहानसम्म राज्य नागरिकसँगै हुने अवधारणालाई जोड दिन्छ ।

गान्धीयन समाजवाद– समाजवादको भारतीय संस्करण हो । गान्धीबाट प्रेरित भारतीय कांग्रेसभित्रका समाजवादीहरु मूलतः जयप्रकाश नारायण र डा. राममनोहर लोहियाले यो धारलाई अभिप्रेरित गरे । भारतमा यो धारका थुप्रै राजनीतिक दल छन् । नारायणको ‘सम्पूर्ण क्रान्ति’ र लोहियाको ‘सप्त क्रान्ति’ यसका मानक मान्यता हुन् । भारतीय जनता पार्टीका संस्थापक नेता अटल बिहारी बाजपेयीले एकपटक भनेका थिए, ‘भारतमा समाजवादको कुरा गर्नेहरुले यदि गान्धीयन समाजवादको कुरा गरेको हो भने त्यसमा विजेपीको कुनै आपत्ति छैन ।’

सेन्डिकालिज्म– समाजवादको फ्रान्सेली धारा हो । यो धारले ट्रेड युनियन आन्दोलनमार्फत् उद्योगधन्दाहरुको स्वामित्व कामदारहरुले लिने, कर्पोटेरिज्मलाई समाप्त गर्ने, ट्रेड युनियनहरु राजनीतिक दलहरुदेखि स्वतन्त्र हुनु पर्नेआदि धारणा राख्दछ ।

नेपालको सन्दर्भमा समाजवादको कुरा गर्दा यी कुनै पनि धारलाई जस्ताको त्यस्तै पछ्याउनु हुँदैन । नेपालको सामाजिक तथा ऐतिहासिक विकासक्रम अनुरुप निम्न विशेषताहरु भएको समाजवाद ‘समुन्नत संघीय समाजवाद’ हुन सक्छ ।

एक– लोकतन्त्रलाई एक आर्दश राजनीतिक प्रणालीका रुपमा स्वीकार गर्ने तर संसदीय प्रणालीमा मात्र सीमित नहुने । प्रत्यक्ष, सहभागितामुलक, समावेशी र समानुपातिक अवधारणाहरुमा आधारित लोकतन्त्रको विकास गर्ने । त्यसका लागि राज्यका सबै तहमा प्रत्यक्ष निर्वचित कार्यकारी, पूर्ण समानुपातिक संसदको व्यवस्था गर्ने । राजनीतिक दलहरुभित्र प्रत्यक्ष तथा समानुपातिक निर्वाचन र प्राइमर निर्वाचन हुनै पर्ने कानुनी व्यवस्था गर्ने ।

दुई– निजी, राजकीय, सहकारी र सामुदायिक स्वामित्वबीच प्रष्ट क्षेत्रगत विभाजन हुने समन्वयात्मक अर्थतन्त्र अर्थात् सामाजिक बजारअर्थतन्त्रको ढाँचा अबलम्बन गर्ने । सुरक्षा, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, सार्वजिनक अवसरको वितरणआदि सरकारी स्वामित्वमा ल्याउँने । ठूला उद्यमशील अर्थतन्त्रका क्षेत्र निजीलाई दिने । स्थानीय अर्थतन्त्र सहकारीलाई दिने । जंगल, सार्वजनिक जमिन, सामुदायिक सेवा आदि सामुदायिक क्षेत्रलाई व्यवस्थापन गर्न दिने ।

तीन– समाजवादलाई गरिबीको समान वितरणको रुपमा हैन, समृद्धिको समन्यायिक वितरणका रुपमा बुझ्ने र सोही बमोजिमको आर्थिक नीति अबलम्बन गर्ने । आर्थिक बृद्धि, समन्यायिक वितरण, दीगो विकास र आत्मिक खुशीमा आधारित चारआयामिक समातामुलक समृद्धि लागु गर्ने ।

चार– संघीयतालाई पहिचान, स्वशासन, स्वायत्तता, साझेदारी, सहभागिता, आत्मनिर्णय र आत्मसम्मानको आधार हुने गरी पुनव्र्यवस्थापन गर्ने । बहुभाषिक नीति अनुरुप सरकारी कामकाज र प्रादेशिक भाषाहरुको व्यवस्थापन गर्ने । यसमा लागि प्रदेशहरुको पुनर्सीमाङ्कन गर्ने ।

पाँच– सुशासन र सदाचारलाई समाजवादको आधारशीला बनाउँने । कर्मचारीतन्त्र र अख्तियारको पुनर्गठन गर्ने । निर्वाचन प्रणाली परिवर्तन गर्ने । प्रणाली र कानुनी व्यवस्थका आधारमा राजनीतिक लागत र निर्वाचन खर्चको पारदर्शीता कायम गर्नु । राजनीतिक दलहरुको खर्चका लागि स्टेट फन्डिङ्ग गर्ने । वास्तविक कारोवारमा आधारित कर प्रणाली लागू गर्ने । चुस्त र मितव्ययी सरकारको अवधारणा मार्फत् चालु खर्च ४% भन्दा मुनी झार्ने र पुँजीगत खर्चमा तीव्र बृद्धि गर्ने ।

नेपालमा यदि कसैले समाजवादको कुरा गर्दछ भने त्यसको प्रस्थानविन्दू यिनै हुन् । यी प्रश्नमा प्रवेश नगर्ने तर समाजवादको रटान नछोड्ने तरिका राजनीतिक झुठ र बेइमानी बाहेक केही हैन ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage