scheduleबिहिवार भाद्र ५ गते, २०७६

सांस्कृतिक राष्ट्रवाद नबहुलाओस् !

डा. लक्ष्मीप्रसाद खतिवडा

यस संसारमा जन्म लिएपछि देव ऋण, पितृ-मातृ ऋण र गुरु ऋणको अभिभारा बोक्नुपर्छ र समयक्रममा ती ऋण तिर्दै जानुपर्छ । अनि कुनै देशको नागरिक भएपछि राष्ट्र ऋणको अभिभारा बोक्नुपर्छ र समयक्रममा सो ऋण पनि तिर्नुपर्छ ।

नेपालमा सांस्कृतिक राष्ट्रवादको अपहेलना भएको अनुभूति भइरहेको छ । सांस्कृतिक राष्ट्रवाद समाजको यस्तो रूप हो जसमा जनताका साझा संस्कृति परिभाषित गरिएको हुन्छ। सांस्कृतिक राष्ट्रवाद भनेको जातीय राष्ट्रवादलाई नागरिक राष्ट्रवादसँग जोड्ने मध्यस्थ विन्दु हो। कुनैपनि देशमा सांस्कृतिक परम्पराले विचारको उत्पादन गरेको हुन्छ । सांस्कृतिक राष्ट्रवाद मूलतः निम्न कुरामा अडिएको हुन्छ-

१. राज्यमा आमजनसमुदायका व्यवहारको तस्बिर
२. सामाजिक, भाषिक, सांस्कृतिक रसायनले जोडेको समुदाय
३. समाजमा उदारवादी राष्ट्रवादको अवलम्बन
४. जातिवादी र विस्तारवादी राष्ट्रवादको बहिस्कार

सांस्कृतिक राष्ट्रवाद विभिन्न किसिमबाट प्रतिबिम्बित भएको हुन्छ जसमा;
राज्य भनेको विशिष्ट सभ्यता हो जहाँ राजनीतिक विचारधाराले जातीय विशिष्टता सुरक्षित गरेको हुन्छ । राज्यमा जातीय भाषिक सांस्कृतिक समुदायको प्रतिनिधित्व हुन्छ र सीमाहरू लचिला र लगातार सामाजिक अन्तरक्रियाको माध्यमबाट पुनः पुनः उत्पन्न हुन्छन् ।


साझा ज्ञान र मान्यता प्राप्त सामाजिक व्यवहार र परम्परागत संस्कृतिको प्रतिकले राजनीतिक अभिव्यक्तिको उत्पादन गर्दछ । जातीय नस्ल सामाजिक संगठन होइन, सांस्कृतिक एकाई मात्र हो भन्ने मनोवैज्ञानिक मान्यताको वैचारिक घर बनाउनुपर्छ ।

नागरिकको परिचय र पहिचान एउटै वस्तु होइनन् । जातीयताको अवधारणा भनेको सामाजिक संरचनाको एकाइ हो र पहिचान भनेको सामूहिक परिचयको समष्टि रुप हो । अर्थात् थर, गोत्र, मानिसको रुप, रङ्ग, आकारप्रकार भनेको परिचय हुनसक्छ जो व्यक्तिगत हुन्छ ।

पहिचान हुनका लागि समुदाय, भाषा, संस्कृति, लोक साहित्य हुनुपर्छ । नागरिकता, पासपोर्ट जस्ता कुरा नागरिक हुनुका परिचय हुन्, पहिचान होइनन् । विभिन्न भाषा, संस्कृति, धर्म, परम्पराले सामाजिक संरचनाका एकाइलाई जोडेको हुन्छ । जसरी इट्टा ढुङ्गा, रड आदिलाई सिमेन्टले जोडेको हुन्छ । त्यसरी नै हरेक समुदायलाई सांस्कृतिक राष्ट्रवादले जोडेको हुन्छ । तर, हामी कहाँ त जाति, थर, गोत्र, रुप, रङ्ग, आकार प्रकारलाई नै पहिचान भनेर नागरिकको परिचय ओझेलमा पारेको अवस्था छ ।

परिचय हरायो, अपरिभाषित पहिचान बाँकी छ । अनि तेरो र मेरो थर गोत्र फरक पर्ने बित्तिकै एकअर्काका विरोधी तत्व हुन् भनेर तराई मधेश, काला-गोरा, क्षेत्री-बाहुन-जनजाति, मधेशी पहाडी विपरितार्थक तत्व हुन् भनेर पाठ्यक्रम मै राखेर बालबालिकालाई पढाउने अनि द्वन्द्व उत्पादन गर्ने सरकारी परिपाटी भएपछि सामाजिक र नैतिक सदाचार कहाँबाट सिक्ने ? अनि विखण्डनवाद उत्पादन नभएर के हुन्छ त ?

स्मरण रहोस्-

सांस्कृतिक राष्ट्रवाद बहुलायो भने कुनै नेता वा सरकार वा राजनीतिक विचारले पनि समाज सम्हाल्न सक्दैन । व्यक्तिमन विचलित भएजस्तै सामाजिक मन विचलित हुन्छ । विचार संस्थागत भएन भने व्यक्ति बौलाए जसरी समाज पनि बौलाउँछ । बेलैमा सोचौँ र सामाजिक सद्भाव वा समन्वयको बाटो समातौँ । विचार संस्थागत गर्ने काममा लाग्दा राष्ट्र ऋण पनि तिरिन्छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage