scheduleबुधवार मंसिर २५ गते, २०७६
Bajaj
Global IME

पुरानो बाटो हिँडेर नयाँ गन्तव्यमा पुगिँदैन

विरेन्द्र कटुवाल

हिँड्दैजाँदा,
एउटा पहेल्पुर वन आयो र दुईटा बाटा,
म दुःखी भएँ र एकछिन उभिएँ,
किनभने म एउटा बटुवा,
दुबै बाटो हिँड्न सक्दिन थिएँ ।
दुबै बाटाको क्षितिज नियाँले,
र, एकछिन अल्मलिएँ– कुन बाटो रौजौं ?……
अन्ततः मैले त्यो बाटो रोजेँ,
जुन बाटोमा मान्छे कम हिँडेका थिए ।
र, त्यसैले मेरो जीवनमा पूर्णतः फरक ल्याइदियो ।
-स्टेफन रबर्ट फ्रस्ट
अस्ति भर्खर, २०७६ साल वैशाख २३ गते सोमबार, नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपाल बीच पार्टी एकीकरण भयो । र, बन्यो नयाँ पार्टी– समाजवादी पार्टी नेपाल । यो एउटा राजनीतिक क्रिया भएकाले स्वाभाविकरूपमा यसले राजनीतिक प्रतिक्रियाहरू पनि जन्मायो । र, विचार सापेक्षिक हुने हुनाले यसले जन्माएका प्रतिक्रिया र आलोचनाहरूपनि फरकरूपमा प्रकट भए । जुन स्वाभाविक हो ।

कुनै पनि सङ्गठनले आलोचनात्मक प्रतिक्रियाहरू जन्माउनु भनेको त्यो सङ्गठनको भूमिकाले सामाजिक जीवनमा प्रभाव पारेको छ भन्ने कुराको प्रमाण हो । रचनात्मक प्रतिक्रिया र आलोचनाहरू हरेक सङ्गठनका ऊर्जा हुन् । आलोचनात्मक प्रतिक्रियाबिनाको सङ्गठन मृत बराबर हुन्छ । त्यसोभएको हुनाले ती तमाम आलोचना र प्रतिक्रियाहरूलाई समाजवादी पार्टी नेपालले स्वागत मात्रै होइन स-सम्मान ग्रहण गर्न सक्नुपर्छ । र, ग्रहण गर्नुको अर्थ सबै आलोचनाहरू जस्ताको तस्दै स्वीकार गर्नुपर्छ भन्ने होइन ।

विरेन्द्र कटुवाल

प्राप्त आलोचना र प्रतिक्रियाहरूलाई सैद्धान्तिक तथा वैचारिक ढिकीमा कुटेर व्यवहारिक नाङ्लोले निफन्नु पर्छ । त्यसोगर्दा प्रायोजित र पूर्वाग्रहपूर्ण आलोचना र प्रतिक्रियाहरू भुसको रूपमा निफनिएर बाहिरिन्छन । र, रचनात्मक आलोचना र प्रतिक्रियाहरू चामलको रूपमा व्यवहारिक नाङ्लोमा बस्छन् ।

चामलको रूपमा रहेको रचनात्मक आलोचनाहरूलाई ग्रहण गर्नुपर्छ । त्यसो गरियो भने पार्टी निर्माण र सङ्ठन विस्तारमा रचनात्मक आलोचनाहरूले ऊर्जाको काम गर्छ ।

रबर्ट फ्रस्टले माथि भनेजस्तै समाजवादी पार्टी नेपालले इतिहासमा कम मान्छेहरू हिँडिएको बाटो रोजेको छ । यो बाटो पक्कै पनि सजिलो छैन । त्यहाँ भड्खाला होलान् । ठूलाठूला नदीनाला होलान् । पूल नहोलान् । डरलाग्दा नरभंक्षी जनावर होलान् । छिचोल्न नसक्ने झाडी होलान् । बाटो अत्यन्त कठिन होला । र, यात्रीहरूसित यी सबै बाधाव्यवधानहरू पन्छाउने साधन र स्रोतको पर्याप्तता पनि नहोला । यसर्थ, यो बाटो निःसन्देह अप्ठ्यारो छ ।

तर, यतिबेला समाजवादी पार्टी नेपालको सामु पुर्खाले खनिदिएको मूलधारको सजिलोबाटो हुँदाहुँदै त्यो अप्ठ्यारो बाटो किन रोजे भन्ने प्रश्न उठिरको छ ? के यो जरुरी थियो ? यस आलेखमा यसैको उत्तर खोज्ने प्रयत्न गरिएको छ ।

यी प्रश्नको उत्तर खोज्दैगर्दा वर्तमानले इतिहाससित एउटा प्रश्न सोद्धोरहेछ । नेपालको एकीकरण अथवा गोरखा राज्यको बिस्तार भएको तीन शताब्दी बितिसक्नलाग्दा पनि नेपाली जनतालाई समृद्ध पार्ने त कुरै छोडौं, अझैसम्म पनि एकताको सूत्रमा जोड्न सकेको छैन, किन ? साना-साना राज्यरौजाटाहरूको सीमारेखा त बलपूर्वक मेटियो । तर, अहिलेसम्मका राज्यसत्ताहरूले जातीय र क्षेत्रीय विभेदको सीमारेखा मेट्न सकेका छैनन, किन ?

यसको सपाट उत्तर हुँदोरहेछ– पुरानै बाटो हिँडेर नयाँ गन्तव्यमा पुगिँदैन । गन्तव्य नयाँ निर्धारण गर्ने तर, बाटो पुरानै हिँड्ने कुराले फरक ठाउँमा पुर्‍याउँदैन । अथवा कुरा समृद्ध समाजवादको गर्ने, तर बाटो पुरानै राजनीतिक प्रणालीको हिँड्ने । यो प्रतिगामी कदम हो । र, यसको गन्तव्य दुःखान्त हुन्छ ।

दृष्टान्तस्वरूप वर्तमान सरकारलाई हेरौं– दुई ठूला कम्युनिष्ट पार्टी मिलेर एउटा विशाल कम्युनिष्ट पार्टी त बनेको छ । तर, नेताहरू श्रीपेचबिनाका राजा–महाराजा र महारानीहरू बन्नमा दत्तचित्त देखिन्छन् । प्रदेश सरकारलाई जनता तर्साउन राखेको बुख्याचा जस्तो बनाइएको छ । सरकार सार्वभौमसत्तालाई मुट्ठिभर नेताहरूको मुठीमा कैद गर्न तल्लीन देखिन्छन् ।

अथवा यसो भनौं समृद्धिको परिभाषा पुरानै सत्ताले भनेजस्तै बनाइएको छ । ‘मैले हिजो टायरका चप्पल लगाएर राजनीतिक क्रान्ति गरेँ । आज मसँग गाडी छ । बङ्गला छ । सत्ता छ । नोकर–चाकर छन । भजन गाउने पढेलेखेका मान्छेहरू पनि छन् । त्यसैले हामी समृद्धिको मालिक बनेका छौं ।’ वर्तमान सरकार व्यवहारबाट यसो भनिरहेका छन, कि चाँडै नै हामीहरू इतिहासका सम्पूर्ण राजामहाराजाहरू भन्दा समृद्ध हुनेछौं ।

के हामीले खोजेको समृद्धि यही हो ?

सत्तासीन कमरेडहरूको वर्गीय पक्षधरताले नाटकीय ढङ्गले दायाँ यूटर्न मारेको छ । किनभने उनीहरूले बाटोनै त्यही अबलम्बन गरेका छन् । ‘मै खाऊँ मै लाऊँ, सुखसयल वा मोज म गरुँ, मै हाँसू मै नाचू, अरु सब मरुन् दुर्बलहरु ।’ यो समाजवादको बाटो हुँनै सक्दैन । लेखनाथ पौड्यालले ऊ जमानामा भनेका थिए, ‘भनि दारा धस्ने अबुझ सठदेखि छकपरि, चिता खित्का छाडी अभयसित हाँस्यो मरीमरी ।’ यस्तो चिता हँसाउने समृद्धि र समाजवाद हामीले खोजेकै होइन ।

वीरसरका गीत, कथा र मिथकहरूले मधेस, हिमाल र पहाडमा बस्ने जनताको मन किन जोड्न सकेन ? किन दुई–अढाई सय वर्षदेखि निश्चित जाति, समुदायहरू मात्रै हली, कमैया, गोठाला, रैति, वादी आदि इत्यादि भइरहे ? र, किन एउटा निश्चित जाति, समुदाय र क्षेत्रलाई मात्रै निरन्तर राज्यबाट उपेक्षा र विभेदमा पारियो ?

र, किन राज्यसत्ताको बागडोर सँधैभरि निश्चित जाति र समुदायको हातमा मात्रै कैद भयो ? के आजपनि मूलधारका भनिएका राजनीतिक पार्टी, सञ्चार जगत, बुद्धिजीवी, राज्यका निकायहरू निष्पक्ष भूमिका खेलिरहेका छन ? निःसन्देह छैनन् । आजपनि राज्य त्यही जाति, नातागोता, समुदाय र क्षेत्रप्रति नै बायस छ ?

आजसम्मका राज्यसत्ताहरूले राज्य एकीकरण ताकाका वीर रसका गीतहरू र मिथकहरू कथ्ने काम त प्रशस्तै गरेको देखिन्छ । तर, जनताको फाटेको मनमुटु जोड्ने र चहराएको घाउमा मलमपट्टी गर्ने काम गरेको देखिँदैन । यहीकारण हो कि आजसम्म पनि नेपाली जनता राष्ट्र नै बन्न सकेका छैनन् । अझै पनि नेपाली जनताको ठूलो हिस्सा आदिवासी जनजाति, दलित, पिछडिएको वर्गकै रूपमा छन् । कति त कविलाकै रूपमापनि छन्– राउटे, चेपाङ्, मुसहर समुदाय ।

राज्यको पहिलो प्राथमिक काम नै ती आदिवासी जनजाति, दलित, पिछडिएका वर्ग र जनसमुदायलाई राष्ट्र बनाउनु हो । त्यसपछि मात्रै राष्ट्रिय समृद्धिको कुरा आउँछ । वास्तवमा राष्ट्रले समृद्धिको बाटो पहिल्याउन नसक्नुको मुख्य कारण भनेकै राज्यले गर्ने गरेको जातीय र क्षेत्रीय विभेद नै हो । र, त्यही ऐतिहासिक गल्तिको कारण आज मुलुक संघीयता र समानुपातिक प्रणालीमा जानुपरेको हो । हिजोका राज्यसत्ताहरूले जनताको समान विकास र उन्नतिको निम्ति काम गरिदिएको भए आज यो नौबत नै आउने नै थिएन ।

आजपनि हामीले संविधानमा समृद्ध समाजवाद भनेर नयाँ गन्तव्य त निर्धारण गर्‍यौं । तर, बाटो चाहिँ पुरानै रोज्यौं । २०४६/४७ को सालको जनआन्दोलन, १० बर्षे जनयुद्ध, २०६२–६३ को जनआन्दोलन, मधेश आन्दोलन, यी सबै आन्दोलनपश्चात् मुलुकमा उद्योग-धन्दाहरू धरासायी भएका छन्, बेरोजगार बढेको छ । तर, रातारात नयाँ-नयाँ करोडपति र अरबपतिहरू जन्मिएका छन् । राजधानीको मुटुमा नयाँनयाँ जमिनदार जन्मिएका छन् । र, हामी त्यसैलाई समृद्धि भन्दैछौं ।

न राउटे गुफाबाट बाहिर निस्किए । न चेपाङको हातबाट भाला र लिसो छुट्यो । न मुसहरहरूको चुलोमा मुसा पाक्न छोड्यो । न आदिवासी जनजाति, दलित, पिछडिएका वर्ग र समुदायले अस्पताल, विद्यालय र कलेजको मुख देख्नपाए । आफ्ना बूढा बाआमाले वृद्धभत्ता पाए, राष्ट्र समृद्ध भयो । समाजवाद आयो । झट्ट हेर्दा के देखिन्छ भने हाम्रा राजनीतिक क्रान्ति र आन्दोलनले नवधनाढ्य वर्ग जन्माउने कामभन्दा अरू केहि पनि गरेन । त्यसो भए के दोस आन्दोलनको हो त ?

होइन । बिलकुलै होइन । कुनैपनि आन्दोलनले उठाएका माग र मुद्दाहरू गलत थिएनन् । गलत थियो त तत्पश्चात गठन भएका सरकारले हिँडेका बाटाहरू । ती आन्दोलनहरूले तय गरेको गन्तव्यहरू नयाँ र फरक थिए, तर, सरकारले हिँड्ने बाटा सधैभरि पुरानै थिए । नीतिनियम, राज्य प्रणाली, सबै पुरानै थिए । परिणामस्वरुप राष्ट्रले हरेक दशकमा नयाँ क्रान्तिको आवश्यकता महसुस गर्‍यो ।

२०६२/६३ मा आम जनताहरू सडकमा पोखिएका बेला, दरबारको जस्केलामा बसेर त्यो आन्दोलनलाई, गोरुगाडामा स्वर्ग हिँडेको देख्ने मान्छे, आज सरकारको ड्राइभिङ्ग सिटमा छन् । र, भन्दैछन, ‘प्रदेश सरकार नेपाल सरकारका एकाइहरू हुन ।’ कहाँ गयो राज्यको पुनःसंचनाको मुद्दा ? कहाँ भयो शासकीय स्वरुपमा परिवर्तन ?

नयाँ संविधानमा हामी सबैले मिलेर तय गरेको गन्तव्य नितान्त फरक छ– समृद्धि र समाजवाद । तर, वर्तमान सरकारले रोजेको बाटो उही पुरानो छ ।
त्यत्रो बलिदानीपूर्ण संघर्ष र क्रान्तिले तय गरेको गन्तव्य–समृद्धि र समाजवाद, लगभग दुईतिहाई बहुमतको वर्तमान सरकार र, सरकारको भूमिका र गतिविधि– नेपालको इतिहासमा यो भन्दा भद्दा जोक अरु के हुन सक्छ ?

यो सब कारणले गर्दाखेरी समाजवादी पार्टी नेपालले तय गरेको– प्रदेशको पुनःसंरचना, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, निर्वाचन प्रणलीमा परिवर्तन, कर्मचारीको पुनर्गठन र सहभागितामुलक लोकतन्त्रको बाटो नयाँ गन्तव्यको लागि आवश्यकता मात्रै होइन अनिवार्य देखिन्छ ।

(कटुवाल साउदी अरबको जेद्धामा कार्यरत छन्)

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage