scheduleमगलवार आश्विन २८ गते, २०७६

‘विदेश जाँदा पनि जातिले पछ्याउन छाड्दैन’

काठमाडौं । डा. पायल तडवीको आत्महत्याले दलित छात्रछात्राको उत्पीडनको बहस थप तीव्र बनाइदिएको छ र यसबाट विदेशमा पढ्न जाने दलित विद्यार्थीसँग जोडिएका जातिको समस्यातर्फ पनि ध्यान आकर्षित गराएको छ ।

सुरज येंगदे अमेरिकामा पढ्छन् । उनी विदेशमा हुने जातिगत भेदभावका सवालहरु उठाउँछन् ।

उनी महाराष्ट्रको नांदेड इलाकाबाट आएका हुन् र बेलायत र दक्षिण अफ्रिकामा कानुनको पढाई अगाडि बढाइरहेका छन् ।

यतिबेला उनी अमेरिकाको हावर्ड विश्वविद्यालयमा पोष्ट डक्टरल फेलो हुन् ।

उनी आफूजस्ता कयौं विद्यार्थी भारतबाट टाढा पुगेपनि उस्तै भेदभावको सामना गर्न अभ्यस्त हुनुपरेको स्वीकार्छन् ।

बीबीसी मराठी सेवाले सुरजसँग यी मुद्दाबारे कुराकानी गरेको छ । यहाँ उक्त कुराकानीको प्रमुख अंशहरु प्रस्तुत गरिएको छ-

एक दलित विद्यार्थीको रुपमा विदेशमा तपाईंको अनुभव कस्तो रह्यो ?
जब म उच्च शिक्षाका लागि विदेश गएँ, मैले बेलायतको विश्वविद्यालयमा अन्तर्राष्ट्रिय मानवअधिकार कानुनको पढाई रोजेँ ।
मैले पहिले सोचेको थिएँ- मैले उच्च शिक्षा हासिल गर्नेछु । बाबा साहेब अम्बेडकरजस्तै डिग्री हासिल गर्नेछु र देशको सेवा गर्नेछु । म यस्तै सोच बनाएर त्यहाँ गएको थिएँ । मैले भारतको अन्य राज्यबाट आएका मानिसहरुसँग कुराकानी गर्ने र मित्रता गर्ने मौका मिल्ने विश्वास पनि लिएको थिएँ ।

किनकी नांदेडमा रहँदा म ती राज्यहरुमा जान पाएको थिइनँ ।

जब म इङ्ल्याण्ड आएँ तब मैले धेरै भारतीय विद्यार्थीहरु भेटेँ । उनीहरु एमएलएम, एमबीएम आदि कोर्ष पढिरहेका थिए ।

सुरुमा इङ्ल्याण्डमा बस्नु मेरा लागि एक सांस्कृतिक झड्का समान थियो । म एक्लोपन महसुस गर्दथेँ ।

यसैबीच मेरो एक भारतीय विद्यार्थीसँग मित्रता बन्यो । एक दुई महिनामा उनीसँग गाढा मित्रता भयो । तर जब उनले मेरो फेसबुक पेजबाट मेरो जातिको बराेमा थाहा पाए, त्यसपछि उनको रवैया नै बदलियो ।

उनले एकप्रकारले मलाई बहिस्कार नै गरे । उनले कुनै पनि सामूहिक कार्यक्रममा बोलाउन बन्द गरिदिए ।

दुई महिनासम्म हामी एकसाथ घुम्यौं । एकसाथ खायौं । हामीले धेरै कुराहरु बाँढ्यौं । तर जब मेरो निकटका मित्रलाई लाग्यो कि म आफ्नो समुदायबारे लेख्छु र आफ्नो समुदायविरुद्ध हुने उत्पीडनमाथि आफ्नो पक्षधरता देखाउँछु, जब उनलाई यो कुरा मन परेन । मेरो जाति र आरक्षणमाथि उनी धावा बोल्न थाले ।

एकपटक मैले जाति र लिंगलाई लिएर एउटा प्रिजेन्टेसन तयार गरेको थिएँ । त्यसमा खैरलान्जी नरसंहारका पीडित सुरेखा भूतमांगेको बारेमा उल्लेख गरेको थिए ।

मेरा साथीहरुले सुरेखाको बारेमा अपमानजनक भाषा प्रयोग गरे र उनीहरुले ममाथि पनि निशाना सोझ्याए । उनीहरुको दावी थियो कि तिमी केटाकेटी नै छौ, तिमीसँग कुनै योग्यता छैन र तिमी आरक्षणवाला मानिस हौ । यस्तो अनुभवले मेरो स्वतन्त्र सोच र ऊर्जालाई दबाउँछ ।

के तपाईंले कहिल्यै उत्पीडिनको सामना गर्नुपर्‍यो ? त्यतिबेला तपाईंको प्रतिक्रिया के थियो ?

म यस्तो दलित इलाकाबाट आएको हुँ जहाँ उच्च जातिको थरसम्म पनि सुनेको थिइन् ।

हामीलाई उच्च जातिबाट टाढा बस्न सधैंजसो भनिन्थ्यो र यी कुराहरुद्ये ममाथि केही हदसम्म असर छाड्यो । यसकारण मैले मनमनै दृढ निश्चय गरेको थिएँ कि अपमानका बावजुद पनि यस्ता मुद्दाहरु अत्यधिक उठाउनेछैन ।

अन्ततः यो मेरो लागि अत्यधिक अजिब र निजी मसला बन्न गयो । मैले यसलाई सहन सकिनँ । मेरो अनुपस्थितिमा उनीहरु घन्टौं मेरो बारेमा कुरा गर्दथे ।

म पनि यही सोच्थेँ कि उनीहरु किन मेरो बारेमा कुरा गरिरहन्छन् । मलाई लाग्यो, मैले यसबारे गुनासो/उजुरी गर्नुपर्छ । तर, कहाँ गरुँ ? कसले यसलाई बुझ्ला कि म के भन्न खोजिरहेको छु । यो अरुका लागि बुझ्न गाह्रो थियो ।

अर्कोतिर म सोच्थेँ- पहिला मैले चुपचाप पढाई पूरा गर्नुपर्छ । यो पनि सम्झना भयो कि म वकिल हुँ र म त्यो समुदायबाट आएको हुँ जहाँ मजस्ता युवायुवतीहरु दैनिक यस्ता उत्पीडन व्यहोर्छन् । कहिलेसम्म चुप रहन सक्छु र मैले पढेको के फाइदा भयो !

यसकारण मेरो कोठामा बस्ने उत्तर भारतीय ब्राह्मण छात्रले ममाथि हात छोड्दा मैले प्रहरीमा उजुरी थिएँ ।

प्रहरीले मेरो कुरा सुन्यो र मलाई सम्झाउने प्रयास गर्‍यो । प्रहरीको भनाई थियो- यदि कारबाही अगाडि बढ्यो भने ती विद्यार्थीको भिसामा समस्या हुनसक्छ र कोर्ष सकिन केही महिना मात्र बाँकी छ ।

प्रहरीले ऊसँग टाढा रहनू नै ठिक भन्ने सुझाव दियो । यस्तो सुझावपछि मैले अरु कुनै कदम उठाइनँ ।

हामीले यस्तै समस्या पायल तडवीको सवालमा पनि देख्यौं । उनकी आमाका अनुसार उनी उजुरी गर्न चाहन्थिन् तर पायले उनलाई गर्न दिइनन् किनकी उत्पीडन थप बढ्ने डरले उनलाई सताइरहेको थियो ।

उनले सोचिन् कि ती युवतीको भविष्य किन बिगार्ने ? यसरी नै मेले सोचेँ, ती विद्यार्थीको भविष्य किन बिगारिदिने ?

तर मनमा त घाउ बनेर बसिरह्यो । ममाथिको उत्पीडन त्यहीँ सकिएन । मेरो सक्कली सर्टिफिकेटको फाइल उसले चोर्‍यो ।

यस्तो अनुभव वास्तवमा निराशा/हतासले पूर्ण बनाउने हुन्छ । मलाई सघाउने कुनै सहयोग समूह थिएनन् । एकदिन नांदेडका एक साथीले मलाई भावनात्मक सहारा दिए ।

यस्ता घटना केवल तपाईंमाथि मात्रै भयो वा आरक्षित जाति वा आरक्षित जनजाति छात्रमाथि पनि यस्तै केही भयो ?

जब मैले विद्यार्थीलाई संगठित गर्न सुरु गरेँ तब धेरै विद्यार्थीहरुले आफ्ना अनुभव मसँग बाँढे ।

धेरैलाई यस्तै अवस्थाको सामना गर्नु परेको थियो । उच्च जातिका विद्यार्थी यस्तो पृष्ठभूमिको बारेमा जानेपछि पनि सवाललाई गिजोल्न छाड्दैनथे ।

दलित युवतीको अनुभव त थप दर्दनाक छ । उनीहरुलाई सधैं डरको छायाँमा बाँच्नुपर्छ । यी छात्राहरु दलित छात्रसँग पनि सम्पर्क राख्दैनन् ।

भविष्यमा पायल तडवीजस्ता घटना हुन नदिन, यसलाई रोक्नका लागि कस्तो उपाय अपनाउनुपर्ला ?

अहिले पनि भारतमा मानिसलाई उनीहरुको जातको आधारमा हेरिन्छ र यही आधारमा उनीहरुको मूल्यांकन गरिन्छ ।

पायल तडवीको मृत्यू एक अमानवीय र गैरसंवैधानिक घटना हो । आउँदो डेढ दशकमा भारत सबैभन्दा बढी युवा जनसंख्या भएको देश बन्दैछ । यदि ती युवा पनि जातिवादी नै बने भने उनीहरुको ऊर्जाको के काम !

भारतमा उच्च शिक्षण संस्थाहरुमा तत्काल सर्वेक्षण गर्नुपर्छ र हामीले यी मुद्दाहरुमा एक विविधता सूचक बनाउनुपर्छ ।

यस्तो सूचकले हाम्रा शैक्षिक संस्थाहरु कति समावेशी छ भन्ने कुरा अगाडि ल्याउँछ ।

यी संस्थाहरुमा कति आरक्षित जाति, आरक्षित जनजाति, अरु पिछडिएका वर्गहरु र महिला पढ्छन् । यस्तो विविधता सूचक बनाउनु एकदमै महत्वपूर्ण छ ।

मानव संशाधन मन्त्रालयका अनुसार, भारतीय विश्वविद्यालयमा ७६ प्रतिशत प्रोफेसर उच्च जातिबाट छन् ।

एक प्रतिशतभन्दा कम मुस्लिम महिला प्रोफेसर छन् र आरक्षित जातिबाट आउनेवाली महिला प्रोफेसर दुई प्रतिशतभन्दा पनि कम छन् ।

प्रतिनिधित्वको मुद्दा एकदमै महत्वपूर्ण छ । जस्तो कि पायलको मामलामा देखिन्छ कि उनलाई कुनै आवश्यक औपचारिक वा अनौपचारिक सहयोग मिलेन जुन आरक्षित जाति/जनजाति/समुदायका लागि अत्यावश्यक हुन्छ ।

अमेरिकी शैक्षिक संस्थामा एक डायभर्सिटी अफिस हुन्छ । यस्तो कार्यालयले ती विद्यार्थीको मद्दत गर्छ जो यस्तै समुदायबाट आएका हुन्छन् र विभिन्न कारणले ऐतिहासिक रुपले कमजोर रहँदै आएका हुन्छन् ।

भारतमा एससी-एसटी (आरक्षित जाति-आरक्षित जनजाति)को मद्दतका लागि विद्यार्थी निर्देशकको एक पद छ । तर एससी-एसटी विद्यार्थीलाई उक्त पदमा बसेकाले कति सघाउँछन्, त्यो एक रहस्य नै छ ।

(विविधतायुक्त देश नेपालका लागि पनि सन्दर्भ सामग्री हुने अपेक्षासहित बीबीसी हिन्दीबाट अनुदित)

को हुन डा. पायल ताडवी ?


उत्तरी महाराष्ट्रको जलगाउँकी पायल बाल्यकालदेखि नै डाक्टर बन्ने सपना देख्थिन् । उनी आफ्नो पढाई पूरा गरेर उत्पीडित आदिवासी क्षेत्रमा सेवा गर्न चाहन्थिन् । दलित समुदायबाट आएर पढाई र पहिचानका लागि संघर्षरत पायलले एमबीबीएसको पढाई सकेपछि पढाई अझै अगाडि बढाउने सोचिन् । पोस्ट ग्र्याजुएट गर्दैगर्दा उनीमाथि केही डाक्टरहरुले दलित भनेर हेप्दै उत्पीडित गरेपछि उनले २२ मेमा आत्महत्या गरिन् । उक्त घटनाले भारतीय लोकतन्त्र र जाति व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage