scheduleबिहिवार आषाढ़ ५ गते, २०७६

बेलायती प्रधानमन्त्री बन्ने दौडमा रहेका गोभ भन्छन्- ‘पत्रकार हुँदा कोकिन सेवन गरेको थिँए, अहिले पश्चाताप लाग्छ’

एजेन्सी, २५ जेठ । बेलायतका वातावरण मन्त्री माइकल गोभले विगतमा आफूले कोकिन सेवन गरेको खुलासा गरेका छन् ।

मन्त्री गोभले २० वर्ष अघि आफूले कोकिन सेवन गरेको बताएका हुन् । बेलायती समाचार माध्यम डेली मेलसँग कुरा गर्दै गोभले भने, ‘२० वर्ष पहिला पत्रकारको रुपमा काम गर्थे र त्यतिबेला सामाजिक जमघटमा धेरै पटक कोकिन सेवन गरेको थिएँ ।’

गोभले युवाअवस्थामा कोकिन सेवन गरेर आफूले गल्ती गरेको समेत स्वीकार गरेका छन् । ‘कोकिन सेवन गर्नु एउटा गल्ती थियो र अहिले फर्केर हेर्दा सेवन नगरेको भए हुन्थ्यो जस्तो लाग्छ’, गोभले भने । लागू औषध सेवनले हरेक मानिसको जीवनमा हानि गर्ने र विगतको गल्ती सम्झेर निकै पश्चाताप लाग्ने समेत गोभको भनाइ थियो ।

शुक्रबार बेलायती प्रधानमन्त्री टेरिजा मेले कन्जर्भेटिभ पार्टीको नेतृत्वबाट राजीनामा दिँदै गर्दा गोभले आफ्नो अनुभवबारे खुलासा गरेका हुन् । गोभले कन्जर्भेटिभ पार्टीको भावी नेतृत्वका लागि आफूलाई अघि सारेका छन् ।कन्जर्भेटिभ पार्टीको नेतामा चुनिए भने गोभ बेलायती प्रधानमन्त्री बन्नेछन् ।

तर विगतको गल्तीका कारण आफू अयोग्य नभएको समेत गोभको तर्क छ ।  ‘यो २० वर्ष पहिला गरेको गल्ती थियो तर सोही गल्तीका कारण पार्टी नेतृत्वका लागि आफू अयोग्य छु जस्तो लाग्दैन’, गोभले थपे ।

राजनीतिमा औपचारिक रुपमा प्रवेश गर्नुपूर्व माइकल गोभ द प्रेस एण्ड जर्नलद टाइम्समा कार्यरत थिए । उनी सन् २००५ मा हाउस आफ कमन्सको सदस्य बनेका थिए । सन् २०१७ देखि वातावरण, ग्रामीण मामिला र खाद्यान्न मन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका गोभ यसअघि शिक्षा र कानुन मन्त्री समेत बनेका थिए ।

माइकल गोभ कोकिन सेवन गरेको स्वीकार गर्ने पहिलो कन्जर्भेटिभ सांसद भने होइनन् । यसअघि बेलायतका अन्तर्राष्ट्रिय विकास मन्त्री रोरी स्टिवार्ड र पूर्व विदेशमन्त्री बोरिस जोनसोनले समेत विगतमा कोकिन सेवन गरेको खुलासा गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob