scheduleबिहिवार आषाढ़ ५ गते, २०७६

इमरानको अपिल- सबै नागरिकले सम्पत्ति घोषणा गर, ३० जुनभन्दा पहिला कर तिर


इस्लामावाद, २७ जेठ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सोमबार सम्पत्ति घोषणा योजना सार्वजनिक गरेका छन् । यस योजनाअन्तर्गत उनले नागरिकलाई उनीहरुको अघोषित सम्पत्तिको जानकारी मागेका छन् ।

इमरानले सबै नागरिकलाई यो योजनामा भाग लिन र ३० जुनसम्म कर तिर्न आह्वान गरेका छन् । अहिले पाकिस्तान गम्भीर आर्थिक संकटबाट गुज्रिइरहेको छ । पछिल्लो १० वर्षमा ऋण ६ गुणा बढेको छ ।

मंगलबार पाकिस्तान सरकारले आम बजेट पेश गर्दैछ । एक रिपोर्टका अनुसार, पाकिस्तानमा २० करोड नागरिकमध्ये हरेक वर्ष केवल १४ लाख नागरिकले मात्र आयबारे जानकारी दिन्छन् ।

इमरानले भनेका छन्, ‘तपाईं सबैलाई मेरो अपिल छ कि सम्पत्ति घोषणा योजनामा सहभागी हुनुहोस् । यदि तपाईंहरुले कर तिर्नुभएन भने देश अगाडि बढ्न सक्दैन । ३० जुनपछि तपाईंलाई यस्तो मौका मिल्ने छैन । सरकारी निकायसँग देशमा कोसँग कति बेनामी सम्पत्ति छ भन्नेकुरा जानकारी छ ।’

उनले भनेका छन्, ‘पाकिस्तानलाई सहयोग गर्नुहोस् । आफ्नो भविष्य सुरक्षित गर्नुहोस् । मौका हातबाट नजाओस्, यसको पहिलो स्किमबाट फाइदा उठाउनुहोस् । देशलाई आफ्नै खुट्टामा उभिन मद्दत गर्नुहोस् । देशका नागरिकलाई गरिबीबाट मुक्ति दिन सहयोग गर्नुहोस् ।’

इमरानले अगाडि भनेका छन्, ‘देश आर्थिक संकटबाट गुज्रिइरहेको छ । देशको विकासमा योगदान गर्नुहोस् । यदि हामी पाकिस्तानलाई महान देश बनाउन चाहन्छौं भने हामी आफैंले आफूलाई बदल्न जरुरी छ ।’

पाकिस्तान यस्तो देश हो, जहाँ संसारमै सबैभन्दा कम कर तिरिन्छ । रिपोर्टहरुका अनुसार पाकिस्तानको तहरिक-ए-इन्साफ सरकारले मेमा पहिलोपटक करमाफी स्किम घोषणा गरेको थियो । उक्त स्किममा नागरिकको अवैधानिक सम्पत्ति, बैंक खाता र विदेशमा जम्मा गरिएको धनसँग जोडिएका सवालहरु घोषणा गर्ने कुरा अगाडि ल्याइएको थियो ।

यस्तो घोषणा गरिएको यो दोस्रो अवसर हो । सरकारको यो योजनामा सेनाका उच्च अधिकारीले पनि तलब बढाउने काम रोकेको छ । नागरिकलाई अवैध सम्पत्ति घोषणा गर्न ४५ दिनको समय दिइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob