scheduleबिहिवार आश्विन २ गते, २०७६

कानून बदलिँदा पनि काम गर्ने सोच, तरिका र शैली फेरिएन : प्रचण्ड


चितवन, २९ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरानो राज्य संरचनाका कारण काम गर्न कठिन भएको बताएका छन् । अच्युतराज सुवेदी स्मृति प्रतिष्ठानले बुधबार चितवनमा आयोजना गरेको अच्युत स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार २०७६ वितरण समारोहलाई सम्बोधन गर्दै उनले आन्दोलनको बलले नयाँ नेतृत्वको सरकार आए पनि पुरानै राज्य संरचनाका कारण सोचेअनुसारको काम गर्न कठिन भएको बताए ।

हिजो राजाहरु निरङ्कुश हुँदा शुरु भएको स्कूल नभत्किएको भन्दै दाहालले भने, ‘यही स्कूल छ, राज्य संरचनाको स्कूल । पञ्चायतको बेलामा जे छ त्यही स्कूलमा चलेको छ ।’ नियम कानून पनि तिनै रहेको भन्दै उनले कानून बदलिँदा पनि काम गर्ने सोच, तरिका र शैली उही रहेको उल्लेख गरे ।

परिवर्तन पछि राजनीतिक नेतृत्वले जित्छ कि परम्परागत ढङ्गले चल्दै आएको राज्य संरचनाले जित्छ भन्ने थाहानै नपाई लडाइँ चल्ने गरेको उनको भनाइ थियो । राजनीतिक नेतृत्वले अब जित्न नसके मुलुक ठूलो दुर्घटनामा जाने दाहालले बताए ।

दुई तिहाइको सरकारबाट जनताले ठूलो अपेक्षा गरेको उल्लेख गर्दै उनले त्यसतर्फ सरकार अघि बढिरहेको भए पनि सफलता प्राप्त गर्न कठिन भइरहेको बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले भने, ‘जनताको अपेक्षालाई हामीले जुन उचाइ र गहिराइबाट सम्बोधन गर्न सक्नु पथ्र्यो सायद हामीले त्यही स्तरबाट गर्न सकेनौँ ।’ प्रयास भने जारी रहेको भन्दै उनले यद्यपि प्रयास पर्याप्त हुन नसकेकामा चिन्ता व्यक्त गरे । उनले थपे, ‘जनताले हामीबाट अझ धेरै त्याग र मेहनत चाहेका छन् ।’

छिमेकी दुई देशलाई जोडेर नेपाललाई समृद्ध मुलुक बनाउनुपर्ने उनको भनाइ थियो । रासस

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage