scheduleबुधवार आश्विन १ गते, २०७६

नेकपाः सांसद र नेता छन् तर पार्टी छैन


काठमाडौं, ३० जेठ । व्यवस्थापिका संसदको बैठक विभिन्न सवालहरुमा सत्तापक्षकै सांसदहरुको मत बाझिने गरेको छ ।

जारी व्यवस्थापिक संसदको वैठकमा स्थानीय तहका लागि लोकसेवा आयोगले आह्वान गरेको नौ हजार एक सय ६१ कर्मचारीको विज्ञापन खारेज र त्यसलाई कायम राख्नुपर्ने विषयमा बहस चलिरहेको छ । यसबारेमा सत्तापक्षका सांसदबीचमा नै मत बाझिएको छ ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन फिर्ता लिन निर्देशन दिएपछि सहि र गलतको पक्षमा बहस हुँदै आएको छ ।

संसदको राज्यव्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र लोकसेवा आयोगलाई सोमबार निर्देशन दिएको थियो ।

पूर्वमाओवादी पृष्ठभूमिका सांसद लोकसेवाले समितिको निर्णय पालन गर्नुपर्ने अडानमा देखिन्छन् । पूर्वएमाले पक्षधरले आफू चर्चामा आउन विषयवस्तुको गहिराइमै नपुगी समितिले निर्णय गरेको प्रतिक्रिया दिएका छन् ।

संघीयता र समानुपातिक-समावेशितालाई स्वीकार्ने कुरामा पूर्वएमाले समूहमा समस्या देखिएको पूर्वमाओवादी पक्षको आरोप छ ।

निर्णयमा पुग्नुअघि पटक–पटक बसेका समिति बैठकमा पनि उनीहरुबीच मतभेद रहँदै आएको थियो । फरक धारणा भएकै कारण समितिले निर्देशन दिने क्रममा एमाले पृष्ठभूमिका सांसदहरु विजय सुब्बा र झपटबहादुर रावल बैठक मै बसेनन् ।

सुब्बाले निर्णयप्रति असहमति रहेको जानकारी नै गराएका थिए । समितिमा नेकपाका अध्यक्ष प्रचण्ड पनि सदस्य छन् । तर, उनी कुनै बैठकमा सहभागी नै भएनन् ।

यी मुद्दाहरुमा एकातिर फरक स्कूलिङको प्रभाव देखिन्छ भने अर्कोतिर अध्यक्षद्वयको असमझदारी । तर, समस्या नेकपा भन्ने पार्टी पार्टीजस्तो बन्न नसक्नुमा अन्तरनिहित रहेको कतिपय नेताहरुको बुझाई छ ।

‘एकीकरणपछि नेकपा विशाल आकारमा विशाल पार्टी त बन्यो तर, यो विशाल पार्टी वास्तविक कामकाजी पार्टी बन्न सकेन,’ नेकपाका एक नेता भन्छन्, ‘पार्टीलाई सीमित नेताहरुले चलाए, विशाल संगठन र नेता कार्यकर्ता बेरोजगार भए ।’ नेकपाका ती नेताका अनुसार सांसदमा एउटै विषयमा मत बाझिनुलाई पार्टी प्रणाली व्यवस्थित नहुनु र पार्टीभित्रको लोकतन्त्र खुम्चिनुको परिणामको रुपमा अर्थ्याउँछन् ।

‘पार्टीको बैठक बस्दैन, पार्टीको केन्द्रीय समितिको बैठक बसेकै छैन,’ उनी भन्छन्, ‘केन्द्रीय समितिको अधिकार सीमित नेताले लिएका छन्, ती सीमित नेताभन्दा शक्तिशाली अध्यक्षद्वय छन् । एक अध्यक्ष त झनै शक्तिशाली छन् । उनकै हाउभाउ बुझेर बोल्नुपर्ने अवस्थामा सांसद छन् ।’

अर्का नेता भने नेकपाको भद्रगोल अवस्थाले नै भए पनि संसदमा सांसदहरुले लागेको कुरा व्यक्त गर्न पाउने अवस्था सिर्जना हुनुलाई ‘नकरात्मकताले सिर्जना गरेको सकरात्मकता’को रुपमा चित्रण गर्छन् । उनले व्यंग्य गर्दै भने, ‘पार्टीभित्र लोकतन्त्रको अभ्यास नहुँदा कम्तिमा सांसदले त लोकतन्त्रको अभ्यास गर्न पाएका छन् । कति ह्वीप मान्नु सांसदहरुले ?’

यसैबीच नेकपाका अध्यक्ष प्रचण्डले भने मिडिया काउन्सिल विधेयक, लोकसेवा विज्ञापन विवाद र गुठी विधेयकबारे अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली यूरोपबाट फर्केपछि संस्थागत निर्णय लिने बताएका छन् ।

प्रतिनिधिसभाको बैठक आज पनि बिहान ११ बजे बोलाइएको छ । मन्त्रालयगत बजेट शीर्षकमा छलफल भएपनि सांसदहरुको भनाई लोकसेवा आयोगको विज्ञापन र गुठीका विषयमा केन्द्रीत देखिएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage