scheduleसोमवार भाद्र २ गते, २०७६

कृषिप्रधान देशमा किसानको गुनासो– ब्याड राख्नेबेला भयो, बिउ नै छैन


विरगञ्ज, ३० जेठ । नेपाल कृषिप्रधान देश हो । तर, किसानप्रति सरकारी रवैया हेर्दा कृषिप्रधान देशको भाष्यमाथि नै प्रश्नचिह्न उठ्ने गरेको छ ।
कृषिप्रधान देशमा कृषिजन्य वस्तु निर्यातको तथ्यांक डरलाग्दो छ । कृषकहरु कृषि पेशामा नै निर्भर रहेर जीविकोपार्जन गर्न नसक्ने अवस्थामा छन् । सरकारी नीति तथा कार्यक्रमले किसानलाई पर्याप्त मात्रामा सघाउन सकिरहेको देखिँदैन ।

कतै कृषि उपजले बजार र मूल्य नपाएको चर्चा चलिरहेको छ भने कतै किसानले सिजनमा मल नपाएर आन्दोलनमा उत्रिनुपरेको खबर आइरहेको छ ।
पछिल्लो समय विरगञ्ज आसपासका किसानहरुलाई धानको बिउको अभाव खड्किरहेको समाचार सार्वजनिक भएको छ ।

केहि दिनअघि वर्षा भएपछि तराई मधेसका किसान धानको ब्याड राख्ने तयारीमा छन् । तर स्थानीय बजारमा धानको राम्रो बिउ नपाईएकाले भारतीय बजारबाट कमसल बिउ किन्नु परेको किसानहरुको गुनासो छ ।

पर्साको कालिकामाई गाउँपालिकाका अयोध्या चौहान स्थानीय तहले किसानलाई धानको बिउ उपलब्ध गराउन कुनै सहयोग नगरेको गुनासो गर्छन् । धानको ब्याड राख्ने बेलामा नेपाली बजारमा बिउ र मलको चरम अभाव रहेको पर्साको किसानको गुनासो छ ।

स्थानीय किसानलाई सीमावर्ती भारतीय सिकटा, भेलाही, मैनाटाड लगायतका बजारमा पुगेर धानको बिउ र रासायनिक मलको जोहो गर्नुपर्ने बाध्यता छ । तर, सीमा क्षेत्रमा प्रहरीले दुःख दिने गरेको किसानहरु बताउँछन् ।

किसानका समस्याका बारेमा स्थानीय सरकार र प्रशासनलाई जानकारी गराएको भएपनि कुनै सम्बोधन नभएको किसानहरुको गुनासो छ । किसान हकहित संघर्ष समिति पर्साका अध्यक्ष सहारुम राउत गदी आफुहरुको गुनासोको सुनुवाई नभएको बताउँछन् ।

मुलुक संघीय संरचना गएपछि हरेक स्थानीय तहमा कृषि शाखा छ । तर त्यस्ता निकायबाट किसानका लागि प्रभावकारी काम भईरहेको छैन । कालिकामाई गाउँपालिका पर्साका प्रमूख नथुनी प्रसाद कुशवाहा कर्मचारी अभावले काम प्रभावकारी नभएको बताउँछन् । पर्साका किसान जनप्रतिनिधीको जवाफबाट सन्तुष्ट छैनन् । बाली लगाउने समयमा बिउ नपाउँदा पनि स्थानीय सरकार गम्भीर नभएको उनीहरुको गुनासो छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage