scheduleबुधवार श्रावण ८ गते, २०७६

उपत्यकाबासीको पीडा: जारको पानी ट्वाइलेटमा

माधव प्याकुरेल

जारको पानी ट्वालेटमा प्रयोग गर्नु मेरो लागि सामान्यजस्तो भैसकेको थियो तर, त्यो देखेर मेरो साथीले अच्चमित हुँदै भन्यो, ‘हेर साथी गाउँतिर बुढापाखाले भन्ने एउटा उखान छ नि पुग्यो भन्दैमा फेरुवा नओड्नु पुगेन भन्दैमा राडी नओछ्याउनु ! कमसेकम ट्वाइलेटमा त अर्को पानी पनि त प्रयोग गर्न सकिन्छ नि !’

उसको कुरा सुनेर म मन्द मुस्कुराएँ ! सायद उस्ले म किन मुस्कुराएँ मेसो पाउन सकेन ।

एकैछिनको आरामपछि लामो सुस्केरा हाल्दै उसले भन्यो, ‘सायद मेरो गोडा गन्हायो जस्तो छ खै मलाई अलिकति पानी देऊ त म खुट्टा धोएर आउँछु ।’

मेरोपालो मैले उसलाई जारबाट एक जग पानी झिकिदिएँ । अनि ऊ थप अचम्मितँ हुदै पुलुक्क मेरो अनुहारतिर हेर्दै सरासर बाथरुम तिर लाग्यो । अनि बाथरुमबाट फर्किंदा त केटोले आदि जग पानी बचाएर लेराएछ । सायद केटोले बाथरुम छिरेपछि मेसो पाएछ कि यो घरमा पानीको कसरी प्रयोग गर्नुपर्दो रहेछ, जहाँ सबैथोकको लागि जारको पानी नै प्रयोग गर्नुपर्ने बाध्यता छ ।

त्यसकै भोलिपल्ट असोज १ गते अर्थात् राष्ट्रिय विज्ञान दिवसको अवसरमा अस्कल क्याम्पसद्वारा सञ्चालित अन्तर विश्वविद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगितामा सहभागी हुने अवसर जुटेको थियो । त्यहाँ फाइनल राउन्डका अनेक प्रश्हनरुमध्ये एउटा प्रश्न थियो- ‘विश्वको जलस्रोतको दोस्रो धनी देश कुन हो ?’

माधव प्याकुरेल

प्रश्न सकिन नपाउँदै मैले छातीमा हात राखेर जवाफ फर्काएँ, ‘नेपाल ।’ तालीको गड्गडाहट भयो । प्रतियोगितामा हामीलाई प्रथम घोषणा गरियो । हलनै खुसीले रन्कियो, गद्गद् भयो ।

तथापि, पानीको अभावमा आफ्नो दैनिकी नै काकाकुल भएको मेरो मन भने अन्तरहृदयदेखि नै खुसी/गदगद हुन भने सकेन । तर पनि आफुले आफैलाई कन्भिस गर्ने प्रयास गरेँ ।

मनमनै सोचेँ- हाम्रो देश नेपालमा पानीको कमि भएको कहाँ हो र ? पानी त सबैले पिइराखेका छन् । फरक यति मात्र हो कसैले ढलको पानी पिउँछन् त कसैले मिनिरल वाटर !

कसैले प्रति बोतल २० रुपैयाँको पानी पिउँछन् त कसैले प्रतिबोतल १५ हजार रुपैयाँको !

केही वर्ष यता उपत्यकामा दिनानुदिन पानीको हाहाकार मच्चिरहेको छ । घरमा, पसलमा, अफिसमा, होटेलमा, विद्यालयमा, यति मात्रै नभएर हुँदाहुँदै अस्पतालमा पनि पानीको चरम अभावले गर्दा मानिसको दैनिकीमाथि अत्यन्तै नकारात्मक प्रभाव परेको बताइन्छ । पानीको अभाव केही हदसम्म पूर्ति गर्नलाई मानिसहरूले कहिकतैबाट जोहो गरेको पानीलाई भण्डार गर्नलाई विभिन्न खानेपानीका ड्रमहरु प्रयोग गरिराखेको पाइन्छ । केही हदसम्म त्यस्ले पानी सञ्चित गर्न सहयोग पुगेपनि जताततै ड्रमको लाइन नै लाइनले गर्दा आफ्नो बासस्थानको डेकोरेसन कुरुप भैरहेको कुरामा स्वयं उपत्यकाबासी सचेत हुनपर्ने देखिन्छ ।

बढ्दो गर्मीसँगै उपत्यकामा खानेपानीको माग बढेको छ । खानेपानीको माग बढेसँगै उपत्यकामा आपूर्ति हुने पानी गुणस्तरहीन पाइएको छ । व्यवसायीले उपभोक्तालाई पिउनयोग्य नभएका पानी वितरण गरिरहेका छन् । राजधानीमा पानीको माग बढेसँगै ट्यांकर व्यवसायीले मुहानको शुद्ध पानी भन्दै फोहोर ठाउँबाट संकलन गरिएका पानी उपभोक्ताको घरघर पुर्‍याउने गरेका छन् । योसँगै उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर देखिन थालेको छ ।

महंगोमा ट्यांकरबाट किनेको पानी गुणस्तरहीन हुँदा छालाको समस्या देखिएको उपभोक्ता बताउँछन् । उपभोक्ताकोमा पुर्‍याउने पानी त गुणस्तरहीन छँदैछ, व्यवसायीहरु व्यवसाय पनि बिनादर्ता सञ्चालन गरिरहेका छन् । यसबाट पानीमा कालोबजारी गर्नेको चलखेलसमेत बढेको छ । स्रोतको पानी र ट्यांकर व्यवसाय दर्ताको स्पष्ट कानुनी प्रावधान छैन । स्पष्ट कानुनी प्रावधान नहुँदा उनीहरू दर्ता प्रक्रियामा सामेल भएका छैनन् ।

करिब ४० लाखको हाराहारीमा जनसंख्या रहेको उपत्यकालाई मध्यनजर गर्दै काठमाडौं उपत्यका खानेपानी लिमिटेडले दैनिक करिब ८ करोड लिटर खानेपानी वितरण गरिरहेको बताएको छ । तर उपत्यकाको खानेपानी माग दैनिक ३७ करोड लिटर हो । सहरी एरियामा प्रतिव्यक्ति पानीको माग २५० लिटर सरदर हो । केयुकेएलको उक्त तथ्यांकलाई मध्यनजर गर्ने हो भनेपनि उपत्यकाको करिब एक चौथाई जनसंख्या खानेपानीको अभावमा पिल्सिरहेको स्थिति हो ।

त्यसो त, उपत्यकाका केहि ठाउँमा प्राचीन शैलीका ढुङ्गे धारा, कुवा, पोखरी, पाटी-पौवा, साने पोखरी आदि भने नभएका होइनन् । उच्च जनसंख्या वृद्धि, अव्यवस्थित सहरीकरण, अव्यवस्थित फोहोर-मैला, ढलनिकास र भुकम्पीय जोखिमका कारण पछिल्लो समय त्यस्ता परम्परागत खानेपानीका स्रोतहरुको अस्तित्व दिनानुदिन मेटिँदै गैरहेको छ ।

दिनप्रतिदिन पानीका मुलहरु सुक्ने क्रम भने जारी छ । हिउँदे सिजनमा लगभग सुख्खा रहने ती मुलहरु बर्षायामको शुरूवातसंगै थोर मात्रामा भएपनि रसाएका हुन्छन् । सुकि नसकेका ती परम्परागत शैलीका खानेपानीका वैकल्पिक प्राकृतिक/मानवनिर्मित स्रोतहरुमा भने उपत्यकाबासीको घुइँचो छ। तछाडमछाड छ । हानाथाप छ । पानी थाप्ने बाल्टिन, ड्रम, जर्किन आदि लाइनमा राख्दा राख्दा कहिलेकाही लाइननै सडकमा पुगेर सवारी साधनको सुरक्षामा समेत आँच आइरहेको कुरा छर्लङ्गै छ । तर यो स्थिति सिर्जना हुनु कसैको रहर नभएर बाध्यता हो, बाँच्नु परेन ?

उपत्यकाका करिब ९०% घर हरु इनारविहिन छन् । बाँकी इनार भएका करिब १०% घरहरुको स्थिति भने झन नाजुक/जिर्ण छ । किनकी, प्राय इनारबाट रातो, खैरो र धमिलो फोहोर पानी आउँछ । उक्त पानी प्रायजसोले लुगा धुने, नुहाउने, भाँडाकुँडा माझ्ने, ट्वाइलेट बाथरुमको प्रयोजनका लागि प्रयोग गरेपनि कतिपय भने सो पानी पिउन पनि बाध्य छन् ।

मेलम्ची खानेपानी आयोजना : क्यारेम बोर्डको स्ट्राइगर

त्यसो त वि.सं. २०५५ सालमा भएको मेलम्ची खानेपानी आयोजनाको सुरुवातसंगै कतिपयले निकटतम भविष्यमा नै उपत्यकाको खानेपानीको अभावको निराकरण हुँदैजाने आंकलन समेत नगरेका भने होइनन् । आयोजना सुरुवातको करिब २० बर्ष बितिसक्दा पनि आयोजना निर्माणको प्रमुख समस्या जिउँका तिउ रहेको कतिपय विज्ञहरुले बताउँदै आएका छन् । दिनानुदिन समस्याको गाँठो झन्झन् खुकुलो हुने आकलन गरिए तापनि पछिल्लो दिनमा उक्त गाँठो झन्झन् सुर्किएको (कस्सिएको) बताइन्छ ।

यसकै कडीको रुपमा पछिल्लो समय २०५५ सालदेखि अलपत्र परेको राष्ट्रिय गौरवको आयोजनाको जिम्मा लिएको ठेकदार कम्पनि नै यतिबेला काम छाडेर हिँडेको छ । सीएमसी कम्पनिसंग जोडिएर आएका विभिन्न विवादहरु संसददेखि सडकसम्म छताछुल्ल छन् । तर विकास समिति गठन भएको २० वर्षसम्म आइपुग्दा पनि पानी काठमाडौं आउने वातावरण निर्माण भएको छैन । उक्त कम्पनी हिँडेदेखि मेलम्ची आयोजना सुनसान छ । आयोजनाको काम रोकिएको छ । आयोजनाका स्थानीय ठेकेदारहरुले मात्र करिब १ अर्बको रकम भुक्तानी पाएका छैनन् । कामदार र श्रमिकहरुले समेत ५ महिनादेखि तलब पाएका छैनन् ।

तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०४८ सालको चुनावप्रचारको क्रममा बानेश्वरमा भाषण गर्दै ‘म मेलम्चीको पानी ल्याएर काठमाडौंको सडक पखाल्छु’ भनेका थिए । यही आयोजनाकै विषयलाई लिएर अहिले खानेपानी सचिव र मन्त्रीबीच आयोजना रोकिनुमा एकअर्कालाई दोषारोपण गरिरहेका छन् । तत्कालीन सचिव गजेन्द्र ठाकुरको यही विवादका कारण सरुवा समेत भएको बताइएको छ ।

यसरी आयोजनाको सुरुवात २०५५ यता हालसम्म १८ प्रधानमन्त्री, २४ विभागीय मन्त्री र २७ सचिव तथा अध्यक्ष फेरिएका छन् । सरकार फेरिएपिच्छे आयोजना झनै द्रुतगतिमा अगाडि बढनु त कता हो कता हरेक सरकारले आयोजनालाई क्यारेम बोर्डको स्ट्राइगर झैं नचाइरहनुले मेलम्चीको खानेपानीले आफ्नो गलो रुझाउन आतुर उपत्यकाबासीको झिनो आशा निराशामा परिणत हुने कुरामा कुरा दुइमत नै छैन ।

अबको बाटो
परम्परागत शैलीका खानेपानीका वैकल्पिक प्राकृतिक/मानव निर्मित स्रोतहरुको संरक्षण, सम्बर्धन र प्रवर्द्धन गर्दै उच्च जनसंख्या वृद्धि, अव्यवस्थित सहरीकरण, अव्यवस्थित फोहोरमैला, ढलनिकास र भुकम्पिय जोखिम आदि जस्ता गम्भीर समस्याको न्यूनीकरण गर्नेतर्फ सम्बन्धित निकाय र सरोकारवालाले ध्यान दिनु अत्यन्तै जरुरी देखिन्छ ।

काठमाडौं उपत्यकाबासीको तिर्खा मेटाउने लक्ष्यले अघि बढाइएको मेलम्ची खानेपानी आयोजनाका कयौं उतारचढावहरु, कमजोर सरकारको फाइदा उठाउने मनसायले काममा हुने ढिलासुस्ती, विभिन्न बहानाबाजी गर्दै ठेकेदार कम्पनीले गर्ने बन्द हड्ताल आदि जस्ता अनेकौं समस्याहरुको निराकरण गर्ने तर्फ सबन्धित निकायहरुको ध्यानाकर्षण हुन जरुरी छ ।

यसका साथै उपयोगकर्ताले पनि पानीको प्रयोगलाई मितव्ययी बनाउन सकेको खण्डमा मात्र निकट भविष्यमा पानीको अभावले हुने विभिन्न भयावह जोखिमको न्यूनीकरण गर्न टेवा पुग्दछ । आगे जो मर्जी !

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob