scheduleबिहिवार श्रावण २ गते, २०७६

नेपाली स्कूलमा चिनियाँ भाषा पढाई हुन थालेपछि भारतमा हल्लाखल्ला


काठमाडौं, ३२ जेठ । नेपालका केही विद्यालयहरुमा विद्यार्थीका लागि चिनियाँ (मेन्डरिन) भाषा सिकाई सुरु गरिएको भन्दै भारतीय सञ्चारमाध्यमहरुले हल्लाखल्ला सुरु गरेका छन् ।

केही भारतीय सञ्चार माध्यमहरुले नेपाली विद्यालयहरुमा चिनियाँ भाषा अनिवार्य गरिएको भन्दै समाचार लेखेका छन् । भास्कर डट कम लेख्छ, ‘नेपाली स्कूलहरुमा चिनियाँ भाषा सिकाई अनिवार्य गरिएको छ । चीन सरकारले भाषा शिक्षकलाई दूतावासमार्फत तलब दिने निर्णय गरेपछि मेन्डरिन भाषाको अनिवार्य शिक्षा सुरु गरिएको छ ।’

भास्करले नेपाल सरकारले स्कूलमा कुन विषय अनिवार्य गर्ने भन्ने अधिकार सरकारसँग मात्रै रहेको बताएको उल्लेख गरेको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार नेपालका १० ठूला विद्यालयहरुमा यसरी अनिवार्यरुपमा पढाउन सुरु गरिएको उल्लेख गरेको छ । एलआरआई स्कूलका फाउण्डर शिवराज पन्तको भनाई उद्धृत गर्दै लेखिएको छ, ‘पोखरा, धुलिखेल र देशका केही भागमा रहेका निजी स्कूलमा पनि मेन्डरिनलाई विद्यार्थीको लागि अनिवार्य गरिएको छ ।’
युनाइटेड स्कूलका प्राचार्य कुलदीप एन.का अनुसार दुई वर्षअघि देखि नै मेन्डरिनलाई अनिवार्य विषयको रुपमा पढाउन सुरु गरिएको समाचारमा उल्लेख गरिएको छ ।

भाषा सिकाईका लागि चिनियाँ दूतावासले निःशुल्करुपमा शिक्षकको व्यवस्था गरेको खबरमा बताइएको छ । नेपालका स्कूलमा पाठ्यक्रम तयार गर्ने जिम्मा सरकारको पाठ्यक्रम विकास केन्द्रसँग भए पनि मेन्डरिन पठाइएको बारे उक्त निकायलाई कुनै जानकारी नभएको भास्करले लेखेको छ ।

खबरमा पाठ्यक्रम विभागका सूचना अधिकारी गणेशप्रसाद भट्टराईको भनाई उल्लेख गर्दै भनिएको छ, ‘स्कूलमा विदेशी भाषा पठाउने अनुमति छ । तर विद्यार्थीका लागि कुनै विषय अनिवार्य गर्न सक्दैनन् । कुनै विषय अनिवार्य गर्नुपर्‍यो भने यो निर्णय सरकारले नै गर्छ । यो विद्यालयको अधिकारको कुरा होइन ।’

खबरमा शुभतारा स्कूलका प्राचार्य के. तिमल्सिनाको भनाई उद्धृत गर्दै भनिएको छ, ‘हामीलाई थाहा छ, विद्यार्थीलाई आफ्नो रुचिअनुसार भाषा पढ्ने अनुमति दिनुपर्छ । यदि कोही जापानीज वा जर्मन भाषा पढ्न चाहन्छ भने हामी उनीहरुको चाहनाको स्वागत गर्दछौं ।’

एपेक्स लाइफ स्कूलका प्राचार्य हरि दाहालले भने चिनियाँ शिक्षकको आतेजाते भाडा र खाजाको व्यवस्था आफैंले गर्ने गरेको स्पष्ट पारेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob