scheduleबिहिवार श्रावण २ गते, २०७६

गुठी विधेयकका कारण नेकपाभित्र विवाद, मानन्धरले मागे सञ्चारमन्त्रीको राजीनामा


काठमाडौं, ३२ जेठ । गुठी विधेयकका कारण सत्तारुढ नेकपाभित्र विवाद उत्पन्न भएको छ । शनिबार नेकपाका सांसदले सञ्चारमन्त्रीको राजीनामा मागेपछि विवाद छताछुल्ल भएको हो ।

शनिबार सत्तारुढ दल नेकपाका सांसद रामवीर मानन्धरले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको राजीनामा मागेका थिए । राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा मानन्धरले गुठी प्रथालाई ‘सामन्तवाद’ भनेको भन्दै सन्चारमन्त्रीको राजीनामा मागेका हुन् ।

सांसद मानन्धरले सडकमा ओर्लिएका जनतालाई सान्त्वना दिनुपर्नेमा मन्त्री बाँस्कोटाले आगोमा घिउ थप्ने काम गरेको भन्दै सन्चारमन्त्रीले कि क्षमा माग्नुपर्ने कि राजीनामा दिनुपर्ने बताए । मानन्धरले गुठियारहरुलाई अपमान गर्ने मन्त्रीहरुको दिनगन्ती सुरु भएको जिकिरसमेत गरे ।

त्यस्तै उक्त कार्यक्रममा बोल्दै कांग्रेस सांसद भीमसेनदास प्रधानले गुठी विधेयक फिर्ता नभएसम्म संसद चल्न नदिने बताएका थिए । गुठी विधेयककै कारण संघीयतासमेत धरापमा परेको भन्दै उनले प्रधानमन्त्री नै संघीयताविरोधीका रुपमा देखापरेको जिकिर गरे ।

कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्यसचिव डा. गोविन्द टण्डनले गुठी विधेयकले संस्कृतिमाथि हस्तक्षेप गर्न खोजेको भन्दै गुठियारहरुको सम्पत्तिको सम्मान गर्दै उचित निर्णय लिन सुझाव दिएका थिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob