scheduleशनिवार आश्विन ४ गते, २०७६

देशभरका स्थानीय तहको केन्द्रसम्मको सडक कालोपत्र गरिने

काठमाडौँ, २ असार । देशभरका स्थानीय तहको केन्द्रसम्मको सडक कालोपत्र बनाउन पूर्वतयारी शुरु भएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागले अध्ययन शुरु गरेको हो ।

सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमा पालिका केन्द्रसम्म कालोपत्र गर्न पाँच अर्ब छुट्याइएको विभागले जनाएको छ । देशभरका ७५३ पालिकामध्ये ३६९ पालिकाको केन्द्रसम्मको सडक कालोपत्र नभएको पाइएको छ । सातै वटा प्रदेशले त्यहाँ रहेका स्थानीय तहसम्मको सडक कालोपत्र गर्ने विभागका महानिर्देशक रामचन्द्र श्रेष्ठले बताए ।

उनका अनुसार प्रदेश सरकार र सङ्घीय सरकारको लागत सहभागितामा योजना सञ्चालन गर्ने लक्ष्य रहेको छ । उनले भने, ‘अहिले हामीले योजना कसरी अघि बढाउने भनेरै प्रदेश सरकारसँग छलफल गरिरहेका छौँ ।’

योजनाअन्तर्गत देशभरमा गरेर चार हजार २०० किलोमिटर सडक कालोपत्र हुने महानिर्देशक श्रेष्ठले बताए । नेपाल सरकारले आगामी आव २०७६/७७ मा छुट्याएको बजेट योजना सम्पन्न गर्न चाहिने जम्मा बजेटको तुलनामा न्यून रहेको छ । उनले भने, ‘यस सडकमा सहयोग गर्न चाहने वैदेशिक दाताको पनि खोजी गरिनेछ ।’ योजना सम्पन्न गर्न झण्डै रु दुई खर्ब लाग्ने अनुमान गरिएको छ । रासस

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Nepali Patro
Vianet
default-addImage