scheduleबुधवार श्रावण ८ गते, २०७६

नेपाली समाजको रुपान्तरण र समाजवाद

अधिवक्ता सुदर्शन जोशी

‘शान्ति, न्याय र समृद्धिका लागि प्रणाली बनाउनुछ । हामीसँग सबै चिज छ । अब मेहनति, इमान्दार, निस्वार्थी र इच्छाशक्ति भएको नेतृत्व जन्माउनुछ ।’
यो गीत सबैले सुन्नुभएको नै छ- ‘एक युगमा एक दिन… आउछ … लाटा सिधा बोल्न थाल्छन…..’

अब हामी सबैले गाउनु पर्दछ । किनकी यस गीतले हामीलाई नेपाली समाज रुपान्तरणको लागि बल, शक्ति, साहस र प्रेरणा दिन्छ । हाम्रो कर्तव्यरुपी आँखा निदाएको छ । त्यसलाई ब्युझाउँदछ ।

जति धेरै वाद, सिद्धान्तको आधारमा विश्लेषण, संश्लेषण गरेपनि वस्तुगत रुपमा नै समस्या बेरोजगार र असमानता हो । त्यसको मुल कारण भष्ट्राचार नै हो । हामीले बुझिराखेका छौं, सुनिराखेका छौं, सुशासनयुक्त प्रणाली आवश्यक छ भनी बोलिराखेका पनि छौं । तर समस्या, हामी त्यही दलदलमा फसिराखेका छौं ।

सुदर्शन जोशी

नेपाली समाज रुपान्तरण गर्ने आँट, अठोट गरेका राजनीतिक दल, अभियानहरु सबैलाई गहन अध्ययन गर्दा चाहे त्यो बिपीको होस्, चाहे त्यो पुष्पलालको होस्, सबैको विचारधारा समाजवादसँग सम्बन्धित छ । अहिलेको हाम्रो संविधानले पनि समाजवाद कै विचारधारा बोकेको प्रष्ट देखिन्छ । यति मात्र हो कि समाजवाद लोकतान्त्रिक कि जनतान्त्रिक भन्ने मात्र हो । जुन तान्त्रिक भएपनि त्यसले सामाजिक न्यायका सिद्धान्तहरु छोडेको छैन । जनताका दुःखलाई सुखमा बदल्ने संकल्प गरेको नै छ । तर समस्या व्यवहारमा छ । वस्तुस्थितीको अध्ययन गर्दा व्यबहारिक, मौलिक, मातृभुमीलाई सुहाउदो नेपाली समाज सुहाउदो प्रणाली चाहिने देखिन्छ । त्यसको लागी आट गर्ने नेतृत्व चाहिएको छ । जुन नेतृत्वले भ्रष्टाचार, असमानता र बेरोजगारको अन्त्य गर्ने आट गर्छ उसले मात्र नेपाली समाजको रुपान्तरण गर्न सक्दछ ।

हामीले बढो धैर्यताका साथ निरन्तररुपमा चिन्तन गर्नुपर्ने बिषय भनेको हाम्रो समाजको चरित्र, आर्थिक अवस्था, उत्पादन पद्धति, श्रम र पुँजिको ढाँचा, मान्यता, सोच, अन्तरविरोध, वर्गीय समस्या नै हुन् । यी प्रणालीका आधारहरु वा नेपाली समाज रुपान्तरणको लागि संघर्ष गर्ने जिम्मा नेपाली कै हो । प्रत्येक परिवर्तनका आन्दोलनहरुलाई हेर्दा नेपालीले योगदान गरेको नै देखिन्छ । तर, हाम्रो देशको बिडम्बना भनेको नै नेतृत्व नै हो । मुख्य मिओ जो बन्छ उसैमा समस्या देखिने रोग नै बनेको छ । अब यसलाई नयाँ पिँढीले सरुवा रोग हुन नदिन रोकथाम गर्नुपर्दछ ।

हामी सबैलाई सुन्दर, शान्त देश चाहिएको छ । वैज्ञानिक प्रणाली, सुदृढ दृष्टिकोणबाट देश चलेको हेर्न नचाहने कोही छ जस्तो लाग्दैन । तर यो कुरा, गफमा मात्र सीमित भै राखेको छ, किन ? किनकि हाम्रा नेतृत्वहरुमा दृढ इच्छाशक्तिको कमि छ । न्याय, स्वतन्त्रता र अधिकारको रक्षा, प्रयोग र विकासको लागि स्वामित्व बोध गरी अधिकारको खोजी संगसंगै कर्तव्यपथमा लम्किरहने नेतृत्वको जरुरी छ ।

स्रोतको धनी छ हाम्रो देश । आवश्यकता छ उचित व्यवस्थापनको । त्यसको लागि दीर्घकालीन सोच, दृष्टिकोण चाहिन्छ । तर हामी पूर्वाग्रही मनसाय लिएर क्षणिक लोकप्रियतामा दौडी राखेका छौं । यसलाई त्यागी लाखौं विदेश जान बाध्य जनशक्त लाई दक्षताका साथ नेपाल मै रोजगार सृजना गर्ने बिषयमा लाग्नुको विकल्प छैन । त्यसको आधार कृषि र औद्योगिक उत्पादनलाई लिनुपर्दछ ।

भन्न सकिन्छ, नेतृत्वको बोलीमा मिठोपनको साथमा नियत र सोच राम्रो हुनुपर्दछ । बल्ल नेपालको मुहार फेरिन्छ । त्यसैले सबैभन्दा ठूलो वाद व्यवहारवादलाई रोजौं । संकल्प शक्तिलाई बढाऔं ।

मुलुकमा चल्दैआएका र चलिरहेका मुल ऐतिहासिक र आधारभूत समस्याहरु के-के हुन् ? के कुराले हाम्रो सम्पूर्ण प्रणालीलाई गाँजेको छ त ? भनी खोज्दा वा प्रश्न गर्दा भन्न सकिन्छ- विधि विधानमा, आचारसंहितमा हुने बलमिच्याइ एउटा विकृति रहेछ । हाम्रो मुल चरित्र भनुँ वा विचित्र भनुँ त्यो भनेको शारीरिक वा बौद्धिक कुनै परिश्रम नगरी गफगाफ, मिच्याईंको भरमा नकमाएको सम्पत्तिमा, नकमाएको आयमा बाँच्ने, हाँस्ने र तीन पुस्तासम्मलाई पुग्ने गरी साँच्ने हो । हाम्रो अर्थतन्त्र, अर्थ व्यवस्थालाई हेर्दा हामी पराधिन छौं । अनुदानमा चलेका छौं । साँच्चिकै देश बनाउने, न्यायपूर्ण समाज निर्माण गर्ने हो भने हाम्रो जीवनशक्तिलाई पहिचान गर्न जरुरी छ । हामीभित्र रहेको शक्तिको पहिचान गरी सदुपयोगका साथ परिचालन गर्नु आजको समय सान्दर्भिक रणनीति हुनेछ । त्यसको लागि सक्रियता, जागरुपता, सिद्धान्त र व्यवहारको एकरुपता प्रत्यक्ष देखिने गरी चाहिन्छ ।

नेपाली माटो सुहाउँदो व्यवहारिक, वैज्ञानिक, मौलिक समाजवाद र सामाजिक न्यायका सिद्धान्तहरुमा रहेर कार्यदिशा दिनको लागि एवम् मातृभुमिको मुहार हँसिलो पार्नको लागि उत्पादनका साधनहरुमा सामाजिकीकरण गर्ने व्यवस्थाको जति सकिन्छ । जे सकिन्छ सुरुवात गरौं । त्यसले वस्तुको उत्पादन, व्यवस्थापन र वितरणलाई सामाजिक हितको, सामाजिक नियन्त्रणको माध्यमबाट नै चलाउँदछ । हामीले कल्पना गर्न सकिन्छ कोही पनि गास, बास, कपास, शिक्षा, स्वास्थ्य, उपचार, रोजगार र मौलिक हकबाट बञ्चित हुनु पर्दैन । सबैले आ–आफ्नो आवश्यकता र योगदान अनुसारको काम एवम् हिस्सा प्राप्त गर्दछन् । यस्तो प्रणालीको विकासले प्रत्येक नागरिक आफ्नो अधिकारको खोजी सँगसँगै आफूले गर्नुपर्ने कर्तव्य पूरा गर्न तर्फ पनि लाग्दछ ।
‘सजगतासहितको निस्पक्षता, स्वतन्त्रता, समानता हाम्रो चाहना । विभेद र उत्पीडनको अन्त्य गर्नु अनिवार्य नै छ नबनाई कुनै बहाना ।’

(लेखक कानून, राजनीतिशास्त्र र ग्रामिण विकासमा स्नातकोत्तर गरी बेवारिसे सडक मानव बिषयमा विद्यावारिधि गर्दै कानून व्यवसायीको रुपमा कार्यरत छन्)

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob