scheduleशुक्रवार श्रावण ३ गते, २०७६

नेवार काे हुन् ? गुठी के हाे ?

रवीन्द्र श्रेष्ठ


उपत्यका बाहिरका धेरै जनसमुदायमा गुठी नभएपनि आफ्नो संस्कृति, जात्रा, पर्व आदि सबै चल्ने हुन्छ । तर उपत्यकाभित्र गुठीविना यहाँका बहुसंख्यक जात्रा, संस्कृति, पर्व आदि केही पनि चल्दैन । उपत्यकाका नेवार समुदायका लागि गुठी भनेको प्राण बराबर नै हो । गुठी र नेवार समुदायका बीचको सम्बन्ध बुझ्न पहिला नेवार समुदाय भनेको के हो भन्ने बुझ्नुपर्दछ ।

नेवार समुदाय भनेको कुनै एक जात होइन । यो कुनै एक धर्म मान्ने सम्प्रदाय पनि होइन । यस समुदायमा हिन्दू तथा बौद्ध धर्म मान्ने दुवै थरी छन् । नेवा मुस्लिम भनेर मल्लकालदेखि बसोबास गरिरहेका मुस्लिम धर्मालम्बीहरुपनि नेवार समुदायमा छन् । नेवार हिन्दूहरुलाई राजा जयस्थिति मल्लले चार जातमा बाँडेको इतिहास धेरैलाई सम्झना हुनुपर्दछ । नेवार समुदायको हिन्दूहरुमा चार जात अहिलेपनि विद्यमान छ ।

नेवार भनेका पृथ्वी नारायण शाहले उपत्यका कब्जा गर्नुभन्दा अगाडि उपत्यकामा रहेका नेवारी भाषा बोल्ने सबै जनता हुन् । पृथ्वीनारायणभन्दा अगाडि यहाँ जो-जो बसोबास गर्न आए, ती नेवार भए । नेवारलाई नेवारहरु नेवा भन्छन्, जसको पूरा अर्थ नेपालबासी हो । किर्तीपुरलाई नेवारहरु किपू भन्छन्, नारायणलाई नारां भन्छन्, त्यस्तै गरी नेपालबासीलाई छोटकरीमा नेवा भनिएको हो । नेवार भनेको उपत्यकामा बसोबास गर्ने त्यो बेलाका किराँत, लिच्छवि, मल्ल राज्यकालका बासिन्दाहरु हुन् ।

नेवार समुदायमा गुठीको चलन व्यापक हुनुको कारण यहाँको सभ्यता विकासको आदिम साम्यवादी पृष्ठभूमि नै हो । लिच्छवि र मल्ल राजाहरु तथा उनीहरुसँगै आएका अन्य समुदायहरु भारतबाट आएको इतिहास सिद्ध तथ्य हो । भारत र नेपाल पनि प्राचीनकालमा आदिम साम्यवाद थियो भन्ने इतिहासमा प्रमाणित विषय हो ।

भारतको प्राचीन समाजमा जमीनको स्वामित्व सामूहिक थियो भन्ने विषयमा मार्क्सले पनि कयौं ठाउँमा लेखेका छन् र अन्य इतिहासकारहरुले पनि स्वीकार गरेको विषय हो । भारतमा आदिम साम्यवाद थियो भन्ने कुरा महाभारतको यस श्लोकले पनि स्पष्ट गर्दछ । महाभारतमा भनिएको छ-
‘न वै राज्यम् न राजा न च दण्ड न दाण्डिक आसित्,
धर्मेण एव सर्वा प्रजा परस्परम् रक्षन्ति स्म ।’

अर्थात्, प्राचीन कालमा न राज्य थियो, न राजा थिए, न दण्ड थियो, न दण्ड दिने कुनै थिए, धर्मको माध्यमबाट सबै प्रजाले परस्परमा रक्षा गर्दथे । मार्क्सको आदिम साम्यवादको परिभाषा भित्र महाभारतको यो भनाई ठ्याक्कै मिल्दछ ।

रवीन्द्र श्रेष्ठ

उपत्यकामा अष्ट मात्रिका, नवदुर्गा, कुमारी पूजा जस्ता चलन छ । राजाले कुमारीसँग वर्षको एकपटक अनिवार्यरुपमा पूजा-आजासहित खड्ग साटेपछि मात्रै राजा पदमा कायम रहने परम्परा आदिले यहाँ आदिम साम्यवादमा रहने मार्क्सले भनेको मातृसत्तात्मक समाज थियो भन्ने पुष्टि हुन्छ ।

गुठी शब्द संस्कृतको गोष्ठिबाट बनेको हो । आदिम साम्यवादी प्राचीन समाजमा समाजका विभिन्न कामहरु विविध नामका गोष्ठिहरु (गुठीहरु)को माध्यमबाटै हुने गर्दथे भन्ने इतिहासमा प्रमाणित कुरा हो । त्रिविले प्रकाशित गरेको र प्रशिद्ध इतिहासकार धनबज्र बज्राचार्यले सम्पादन तथा अनुवाद गर्नु भएको ‘लिच्छविकालिन अभिलेखहरु’ पुस्तकमा आजभन्दा १५ सय वर्ष अगाडिका शिलालेखहरुमा गोष्ठिहरु (गुठीहरु)को वर्णन रहेको छ । ती शिलालेखहरुमा पानी गुठी, प्रवहण (पारवहन अर्थात यातायात गुठी), मल्ल युद्ध गुठी (मनोरञ्जन गुठी), वाजा गुठी, वेद अध्ययन गुठी, धूप गुठी, बत्ती गुठी, झण्डा ध्वजा गुठी, औषधालय गुठी आदिको उल्लेख गरिएको छ ।

समाजका विभिन्न कामहरु सामुहिक रुपमा गर्ने संस्था भएकोले गुठी भनेको आदिम साम्यवादी संस्था हो । यो सामन्तवादको उपज होइन । यो नेपाल उपत्यकाको आदिम साम्यवादी समाजको उपज हो । यसको जड यति मजवुत भयो कि नेपाल उपत्यकामा सामन्तवादको चरम अवस्थामापनि यो कायम रहन सक्यो । जमीनमाथिको सामूहिक स्वामित्वलाई क्रमशः नष्ट गर्दै व्यक्तिगत स्वामित्वमा लग्न थालिएपनि गुठी चलाउनका लागि जमीन दान गर्ने र आर्थिक कोष बनाउने चलन कायम रह्यो । गुठी र गुठीको सम्पतिलाई धार्मिक तरिकाले संरक्षण गरेर यसलाई अझ मजबुत बनाउने काम भयो ।

गुठीको सम्पतिलाई देवश्व भनियो र यसको अपचलन गर्नुलाई महापाप भन्दै राज्यलेपनि अपराध घोषित गर्‍यो ।

पृथ्वीनारायण शाहले उपत्यकाका राज्यहरु कब्जा गरेपनि गुठीलाई कब्जा र नष्ट गर्ने हिम्मत गरेनन् । तर राजा रणबहादुर शाहले पहिलो पटक गुठी तहसनहस बनाउने प्रयास गरे । उनले गुठी सम्पति कब्जा गरे जसलाई गुठी हरण भनियो । तर त्यो काममा उनी पूर्ण सफल हुन सकेनन् । राणा शासनकाल र पछि महेन्द्र तथा वीरेन्द्र कालमा गुठीलाई कमजोर बनाउन यसको सम्पत्ति र संस्कृतिमाथि अनेक तरिकाबाट हस्तक्षेप भयो । तर पनि यो टिकिरह्यो ।

जनताले विद्रोह गर्ने डरले जनताका सबै गुठी सामन्ती राजाहरुले छुने हिम्मत गरेका थिएनन् । तर, नेकपाको सरकारले यस्तो काम गरेर अपराधिक कार्य गरेको छ । यो भनेको रणबहादुर शाहको गुठी हरण भन्दापनि नांगो ज्यादति हो ।

राजा महेन्द्रले गुठी संस्थान बनाएर ठूला गुठीहरु सबै सरकारीकरण गरे । वीरेन्द्रले गुठीको जमीन निजीकरणको बाटो खोलिदिने गरी कानुन संशोधन गरे । एकातिर गुठी चलाउन आम्दानी हुने जमीनलाई निजीकरण गर्न दिने र अर्कोतिर गुठी चलाउन सरकारले बजेटको व्यवस्था नगरेर गुठीलाई कमजोर र नष्ट गर्ने प्रयास सामन्ती नायकहरुले थाले । सरकारी गुठीका जमीन भू-माफियाहरुले गुठी संस्थान र अन्य सरकारी निकायका भ्रष्टहरुको सहयोगमा कब्जा गर्ने अभियान नै चल्यो । गुठी संस्थान गुठीको सम्पति र संस्कृतिको रक्षक भन्दापनि भक्षक भएर निस्क्यो ।

पञ्चायती सामन्ती नाइकेहरुको कानूनमा जनताको सामूहिक स्वामित्वमा रहेका कयौं गुठीलाई नीजि गुठी भनेर जनता कै हातमा रहन दिएको थियो । वास्तवमा त्यो नीजि होइन कि परम्परा देखि रहेको सामूहिक गुठी नै हो । सर्वसाधारण जनताको गुठी हो । नेवारहरुको सबै जात्रा पर्वदेखि जन्म मृत्युसम्मका सबै संस्कारमा गुठी अनिवार्य हुने गर्दछ । जनताले विद्रोह गर्ने डरले जनताका सबै गुठी सामन्ती राजाहरुले छुने हिम्मत गरेका थिएनन् । तर, नेकपाको सरकारले उपत्यकाको प्राचीन आदिम साम्यवादी संस्थाको रुपमा रहेको जनताको सामूहिक गुठी सबै सरकारीकरण गर्ने, गुठीको काम सरकारबाट मनोनित कर्मचारीहरुले गर्ने, गुठीको सम्पति सरकारले बनाएको गुठी प्राधिकरणले बेचबिखन समेत गर्न पाउने प्रावधानसहितको विधेयक संसदमा दर्ता गरायो । सो विधेयकको दफा ३(३), दफा २३, दफा २४ र दफा ६४ ले स्पष्ट रुपमा यो अपराधिक कार्य गरेको छ । यो भनेको रणबहादुर शाहको गुठी हरण भन्दापनि नांगो ज्यादति हो ।

तस्बिरहरु- रासस

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob