scheduleशुक्रवार कार्तिक २९ गते, २०७६

मान्छेका कथाहरुको हत्याको विरोधमा

मान्छेका कथा
सुधीर नेपाली

आजदेखि म साझापोस्टमा नियमितरुपमा मेरो स्तम्भ ‘मान्छेका कथा’ लेख्दैछु । यहाँ मैले ‘पंक्तिकार लेख्दैछ’ भनिनँ । किनकि, मलाई आफ्नो लेखनीको स्वामित्व लिन मनपर्छ । त्योभन्दा अझ महत्वपूर्ण– किनकि, म ‘पंक्तिकार’भन्दा बढी ‘मान्छे’ हुँ । पंक्तिकार मान्छेजस्तो सम्पूर्ण हुँदैन । मैले मलाई ‘म’बाट पंक्तिकारमा गिराएँ भने वा पंक्तिकारमा उठाएँ भने– दुईमध्ये के भन्ने अझै मलाई एकिन भएको छैन– ‘म’बाट केही भत्किन सक्छ । केही चोइटिन सक्छ र म ‘म’ नरहन सक्छु । आगोले पोल्ने, पानीले छोइने, दुःखमा रुने, सुखमा हाँस्ने ‘म’ले हो । ‘पंक्तिकार’ त्यसमा अभ्यस्त नहुन सक्छ ।

पंक्तिकार त एउटा विचारक हो । कम्प्युटरको किबोर्डमा उसका औंलाहरु तर्क, बुद्धि र विचार पड्काउँछन् । त्यस्तो विचारैले मात्र औंला दौडाउने ‘म’ हुन सक्दैन । किनकि, म मान्छे हो र मान्छेका मनमा भावनाका छाल आइरहन्छन् । मान्छेका भावनाका छाल पंक्तिकारका विचारभन्दा कमजोर हुँदैनन् ।

पंक्तिकारले अक्सर पत्रिकाका ‘विचार’ पानामा लेख्छ । विचार पानामा भावना लेख्ने कुरा पनि भएन । पंक्तिकारले सायद ‘म’ भित्र पैदा भइरहने विभिन्न जीवरसका कारण मेरा मनमा आउने खुसी, दुःख, हाँसो र आँसुलाई नछोप्न सक्छ । रातमा आएका सपना, सपनामा भएको चिच्याहट, दिउँसै देखिएका सपना, अनि कैयौं सपना भत्किएर खण्डहर भएका मान्छेको विपना महसुस नगर्न सक्छ । मान्छेका कथा लेख्न मान्छेभन्दा एक तहमाथि उठेको पंक्तिकारलाई मुस्किल हुनसक्छ ।

इतिहासमा ‘विचार’ परम्पराको मुहान महान् जर्मन दार्शनिक कान्ट हुन् । एकथरी मान्छेहरुका अनुसार उनले जब उनका कृतिहरु लेख्न थाले, त्यतिबेला उनको दिमागमा एउटा ठूलो ट्युमर उम्रेको थियो । त्यो ट्युमरले उनलाई भावना महसुस गर्ननसक्ने बनाएको थियो । कतिपयको दाबी छ– उनको पूरै दर्शन त्यही ट्युमरबाट निःसृत थियो । यो कति सही हो कति गलत म भन्न सक्दिन ।

तर, के कुरा चाहिँ सत्य हो भने भावना महशुस गर्न छाडेको विचारक निकै डरलाग्दो हुन्छ । पूरै बीसौं शताब्दी त्यसको साक्षी छ । कहालिलाग्दो बीसौं शताब्दी । अझै बीसौं शताब्दीमै रुमल्लिरहेको मेरो देश र मेरा देशका मन्छे त्यसका साक्षी छन् ।

मान्छेका कथा ‘म’ले मात्र लेख्न सक्छ । त्यसैले ‘पंक्तिकार यस्तो ठान्छ’, ‘पंक्तिकार उस्तो मान्छ’ भन्नेमा तपाईँ अभ्यस्त हुनुहुन्छ भने मलाई कृपया माफ गरिदिनुहोला । म तपाईंलाई पनि ‘पाठक’ भन्दिनँ । तपाईं मान्छेबाट पाठकमा उक्लिनुभयो भने— यहाँनिर दुविधा छ मलाई– ‘उक्लिनुभो भने भनौं वा ओर्लनुभो भने भनौं— वा ओर्लनु भो भने मेरा भावनाका छालहरु तपाईंका लागि छोइने नहुन सक्छन् । त्यसैले म एकजना ‘मान्छे’ तपाईं साझापोस्ट अनलाइनको चौतारीमा सुस्ताउन आउने मान्छेहरुसित मान्छेका कथा सुनाउने कोशिस गर्दैछु ।

मैले यी मान्छेका कथा यहाँहरुसामु यसै पस्कन खोजेको पक्कै होइन । मान्छेहरुमात्रै होइन, मान्छेका कथाहरु पनि दिनदिनै मारिन नरोकिएकोले हो । मान्छेका शरीरहरु इन्काउन्टरमा पुलिसको गोलि दागिएर मारिन्छन् । मान्छेका कथाहरु विचारकका तर्कका चक्कुले रेटिएर मारिन्छन् । मान्छेका मृत शरीर मात्र होइन, मान्छेका कहालीलगाग्दा कथाहरु पनि अरबका खाडीबाट बन्दबाकसमा नेपाल फर्काइन्छन् । अनि लाससँगै दिनदिनै ती मान्छेका कथा पनि चिहानघारीमा दफनाइन्छन् । त्यसैले, फेरि एकपटक मान्छेका कथाहरुलाई उभ्याउन खोजेको हुँ । भ्याएसम्म जहाजमै बाकसबाट । नभ्याए, चिहानघारीमा माटोबाट ।

मान्छेहरु मान्छेलाई नायक र खलनायक बनाउँछन् । अनि मान्छेहरु नायकका गर्धनमा सयपत्रीका माला पहिर्‍याउँछन् र खलनायकका गलामा जुत्ताका माला । मान्छेहरुका गला रित्तै हुन्छन् । मान्छेहरु नायकका गालामा अविर घसिदिन्छन् र नायकलाई काँधमा बोक्छन् । मान्छेहरु खलनायकका गलामा कालोमोसो घसिदिन्छन् र उसलाई लात्तीले गर्धनमा भकुर्छन् । मान्छेहरुका गाला खालि हुन्छन् । तर, मान्छेका कथा नायक र खलनायकको बारेमा होइनन् । मान्छेका कथा नायक र खलनायकले लेख्दैनन् । मान्छेका कथा मान्छे मात्रका कथा हुन् । ती मान्छे जसका मनभित्र रात र दिनको, अँध्यारो र उज्यालोको, शिव र अशिवको निरन्तर कुस्ती चलिरहन्छ, हो तिनै मान्छेका बारेमा हो मान्छेको कथा ।

मान्छेले कथाहरुको हत्या, अझ भनौं आमहत्या अनेक तरिकाले गर्छ । उदाहरणको लागि मेरो आफ्नो क्षेत्रको कुरा गरौं सबभन्दा पहिले । म पश्चिमी दुनियाँको एउटा नामी विश्वविद्यालयमा पढ्छु । अझ भनौं, शोध गर्छु । पट्यारलाग्दा शोधमूलक लेख पढ्नु, तिनलाई निचोर्नु, चिराचिरा पार्नु र सिउनु मेरो पेशा हो । म मान्छेका नैतिक द्विविधाबारे, मान्छेका रंगबारे रुची राख्छु, मेरा शोधहरुमा । म कसरी आकाशमार्ग हुँदै पश्चिमी गोलार्दमा झरेँ, यसको झन् लामो कथा छ । तपाईंहरु हिन्दी फिल्म हेरेर कहिल्यै रुनु भएको छ भने, तपाईंले कहिल्यै झुम्पा लाहिरीको ‘लो ल्याण्ड’ पढ्नु भएको छ र उदयन मारिएपछि गौरीको दुःख पढेर मजस्तै रुनुभएको छ भने, यो अर्को कथाले पनि तपाईंका अश्रुग्रन्थी रसाउन सक्छन् । तर, त्यो लामो कथाका लागि आज समय र ठाउँ भएन । कथाहरु मलाई लेख भन्दै हाम्रा सामु आउँछन् भनेर अरुन्धती भन्छिन् । पक्कै पनि त्यो लामो कथा पनि लेखिने छ एक दिन ।

तपाईंहरु साझापोस्टको चौतारीमा सुस्ताउन आइरहनुभयो भने, कुनै रात हामी लामा कथाहरु पनि सुन्ने छौं । सुनाउने छौं । कथाहरुलाई गर्भमै मर्न दिने छैनौं । कसैले मार्न भ्याइसकेको रहेछ भने पनि हामी ती कथालाई फेरि एकपटक चिहान उदिनेर उभ्याउने छौं ।

मेरो शोधक्षेत्र समाज विज्ञान हो । समाज र राजनीतिबारे चासो राख्नु मेरो काम हो । मेरो यो क्षेत्रमा पनि दिनदिनै मारिन्छन् मान्छेका कथाहरु । मान्छेहरुलाई मानचित्रबाट मेटाइन्छ र अंकमा, अझ भनौं ‘स्ट्याटिस्टिक्स’मा परिणत गरिन्छ । मान्छे स्वयम्लाई अंगभंग बनाएर शोधपत्रका पानामा पोतिन्छ । एकथरीले मान्छेलाई उपभोक्ता बनाउँछन् । अर्काथरीले मान्छे सामाजिक जनावर हो भन्ने ठान्छन् । अनि अर्काथरीका लागि मान्छे अरु केही होइन, बरु तर्कशील व्यक्ति हो । ‘र्‍यासनल इण्डिभिजुअल’ हो भन्छन् अंग्रेजीमा । उनीहरुका लागि मान्छे कि त उदारवादी विचारवादी हो । कि त मान्छे सामाजवादी, साम्यवादी विचारवादी हो । अझ कसै कसैका लागि त मान्छे, पूरै ‘नयाँ विचार’ हो । तर ती कसैका लागि पनि मान्छे ‘मान्छे’ होइन ।

एउटा अजीवको भूत वा संकल्प चढेको छ– गएका पाँच वर्षदेखि ममा– मान्छेलाई फेरि मान्छेको तहमा खडा गराउने । ऊ जमिनमुनि झरेको भए तानेर जमिनमा ल्याउने । ऊ आकाशतिर उठेको भए तल गिराउने । त्यही ध्याउन्नमा आज म दुईजना मेरा सबभन्दा प्यारा मान्छेहरुलाई काठमाडौंका भिडभाडमा एक्लै छाडेर सात समुद्रपारि आएको छु ।

ती दुईजना प्यारा मान्छेको सम्झनाले मलाई हरेक रात रुवाउँछ । ती दुईजना पवित्र प्राणीको सम्झनाले हरेक बिहान अफिस जाने र पट्यारलाग्दा शोधपत्र पढ्ने रुची र जाँगर जुराउँछ । हरेकपट ती दुईजनाको यादले मलाई मान्छे बनाउँछ ।

ती दुईजना हरेकपटक मलाई एअरपोर्टका लागि विदा गर्दा अँगालो हालेर रुन्छन् । त्यसपछि कति रुन्छन्, त्यो मैले सुन्न पाउन्नँ ।
विदा हुनेबेला तिनले लगाइदिने अक्षता ठेगानमा पुगेपछि पुछ्दा वा नुहाएर पुछिँदा मलाई ननिको लाग्छ ।
ती दुईजनासित हरेक साँझ फेसटाइममा कुरा हुन्छ ।

ती दुईजनामध्ये एउटासित भेरो आँधी आइरहँदा, चट्याङ् परिरहँदा भेट भएको थियो । चट्याङ परेर कतिको ज्यान गयो । हामीले भने काललाई जितेछौं त्यो समयमा ।

बाह्रवर्ष अघि उनको सिउँदोमा सिंदुर नछरी हाम्रो विवाह भयो । विवाहको नाम पनि अर्कै थियो– प्रत्यय जोडिएको । चलनचल्तीको भाषामा हामी श्रीमान-श्रीमती हौं । उनी मेरी जीवनसाथी हुन् । तर, हाम्रो सम्बन्ध अझ गहिरो छ, अझ अनौठो छ । तर, मान्छेले बनाएका शब्दले मान्छेका सम्बन्धका गहिराइलाई व्यक्त गर्नै नसक्ने । शब्दसम्म आइपुग्दा हाम्रा सम्बन्धका गहिराइ नै पुरिने । तैपनि ‘जीवनसाथी’ शब्दले काम चलाइरहेका छौं ।

ती दुईमध्ये अर्को मान्छे हामीलाई भेट्न आएको नौ वर्ष पहिले हो । उनको मेरो जस्तै नाक छ । त्यो मान्छे, मेरी छोरी हो । काटिकुटी बाबाजस्तै छ छोरी, भन्छन् मान्छेहरु । छोरी हरेक दिन पाँचबजे स्कुलबाट एक्लै घर फर्किन्छे । आमा प्रायजसो साँझ ६ बजेतिर आइपुग्छिन् घर, अफिसबाट । हरेक साँझ स्कुलबाट फर्केपछि काठमाडौंमा रहेकी छोरीले सातसमुद्रपारिको बाबालाई फेसटाइम कल गर्छे । अनि भन्छे– बाबा ममी नआइन्जेल सँगै बसौं न । कहिले? भन्छे– बाबा आँधीहुरी आयो, डर लाग्यो । सँगै बसौं न ।

म, मेरी जीवन सँगिनी र छोरी– यी तीनजनाको कथाको ऐनामा देशको गएको साढे दुई दशकको चित्रकथा हेर्न चाहनुहुन्छ भने हरेक सोमबार साझापोस्टको मेरो पानामा फेरि-फेरि आउनुहोस् । तर, आजलाई यत्ति नै । बाई गाइज्, सि यु नेक्स्ट विक ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage